धनी मानिसहरू अत्यधिक मेहनत गर्दा रहेछन्

- अश्विनी कोइराला

कार्तिक १६, २०७२-

हिक्मत थापा, कोषाध्याक्ष, गैरआवासीय नेपाली संघ

हिक्मत थापा अफ्रिका महादेशकै सबैभन्दा धनी र विश्वका धनीहरूमध्ये ७६ औं स्थानमा रहेको अलहजी अलिकोको कम्पनी डान्गोटे ग्रुपका जनरल फुड म्यानेजर हुन् । थापा अफ्रिकाको नाइजेरियामा मुख्यालय रहेको डान्गोटे ग्रुपमा झन्डै १० वर्षदेखि खाद्य विशेषज्ञका रूपमा कार्यरत छन् । उनकै प्रयासमा डान्गोटे कम्पनीले नेपालमा ५५ अर्ब रुपैयाँ लगानी गरेर दक्षिण एसियाकै ठूलो सिमेन्ट कम्पनी खोल्दैछ । नाइजेरियामा नेपालीहरूका लागि सक्रिय हिम्मत यसपटक विदेशमा बस्ने नेपालीहरूको संस्था एनआरएनको कोषाध्यक्षमा निर्वाचित भएका छन् । रमाइलो कुरा, उनी अहिले अस्ट्रेलियाका ९९ औं धनी शेष घलेको नेतृत्वमा काम गरिरहेका छन् । टीकापुर कैलालीको मध्यमवर्गीय परिवारमा जन्मिएका हिक्मतले धरानमा खाद्य प्रविधि विषयमा स्नातक तहसम्म अध्ययन गरेका हुन् । यसपटक साप्ताहिकले दसैंको रमझम सकिएलगत्तै हिक्मतसँग अन्तरंग कुराकानी गरेको थियो ।

 

तपाईं धनी व्यक्तिको संगतमा हुनुहुन्छ । धनी व्यक्तिहरूको सबैभन्दा अचम्मको विशेषता के देख्नुभयो ?

धनी मानिसहरू अत्यधिक मेहनत गर्दा रहेछन् । भाग्यले धनी हुनेहरू पनि होलान् तर त्यो दिगो हुँदैन । चुप लागेर बस्नै नसक्ने, जोखिम लिन सक्ने र योजना बनाएको कुरा फत्ते गरेरै छाड्ने बानी हुँदो रहेछ । 

कर्मचारी एवं साथीभाइप्रति धनी मानिसहरूको व्यवहार कस्तो पाउनुभयो ?

म यो कम्पनीको बोस हुँ । मेरो कुरा सबैले मान्नैपर्छ र म नै सही हुँ भन्ने घमन्ड गर्दैनन् । सानोतिनो कुरामा इगो पनि राख्दैनन् । यद्यपि आफ्नो योजना कार्यान्वयन गराउन उनीहरू जुनसुकै मूल्य चुकाउन पनि पछि पर्दैनन् । आफ्ना कर्मचारी एवं साथीभाइसमक्ष आफ्नो कुरा शान्तिपूर्वक राख्छन् र त्यो नै अन्तिम सत्य हो भन्ने कुरामा विश्वास दिलाउँछन् । काम फत्ते भएपछि त्यसमा सहयोग पुर्‍याउनेहरूलाई धन्यवाद भन्न बिर्संदैनन् । मैले गरेर मात्र यो सब भएको हो भन्ने भावना उनीहरूमा कमै देख्छु । 

अहिले दोस्रो पटक पनि शेष घले एनआरएन अध्यक्ष चुनिनुभएको छ । उहाँ पनि विश्वका धनी व्यक्तिमध्ये पर्नुहुन्छ । उहाँलाई कस्तो पाउनुभयो ?

उहाँ नेपालको एउटा सामान्य परिवारबाट उठेर त्यहाँसम्म पुग्नुभएको हो । उहाँ टेक्निकल मानिस हो । उहाँ लक्ष्य लिएपछि त्यसलाई जसरी पनि पूरा गर्न चाहनुहुन्छ । हुन त यसपटक मात्र म उहाँको बोर्डमा कोषाध्यक्षमा चुनिएको छु । सबै व्यवहार त थाहा छैन । तैपनि उहाँ राजनीतिक मान्छे होइन । उहाँ राजनीति जान्नु पनि हुन्न र गर्नु पनि हुन्न । मेरो विचारमा सफल मानिस दुई थरीका हुन्छन् । एउटा, राजनीतिक बाटोबाट सफल हुन्छन्, अर्को व्यवसायिक मार्गबाट । राजनीतिक मार्गबाट माथि जानेहरू सबैसँग उत्तिकै सम्पर्क राख्छन् । व्यक्तिगत सम्बन्ध राखेजस्तो गर्छन् । काम लिनुपर्दा जस्तो सुकै हतकण्डा अपनाउन पनि तयार हुन्छन्, तर व्यवसायिक मानिसहरू कामसँग मात्र मतलब राख्छन् । उनीहरू लामो कुरा गर्दैनन् । आफ्नो भनाइ छोटकरीमा व्यक्त गर्छन् र काममा तल्लीन भैहाल्छन् । हाम्रा अध्यक्ष शेष घले दोस्रो प्रकारको सफल मान्छे हुनुहुन्छ भन्ने लाग्छ । 

उहाँ आफ्नै व्यवसायलाई पनि समय दिन सक्ने अवस्थामा हुनुहुन्नथ्यो । तैपनि एनआरएनमा दोस्रो पटक अध्यक्ष हुने रहर किन गर्नुभएको होला ?

उहाँ पहिलो पटक अध्यक्ष भएपछि केही नयाँ काम सुरु गर्नुभएको थियो । त्यसमध्ये नेपालमा एनआरएनको आफ्नै भवन भनाउने काममा लाग्नुभएको थियो । १३ करोडमा उहाँको नेतृत्वले जग्गा खरिद गरिसकेको थियो । उहाँ आफ्नै कार्यकालमा भवन बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यसका लागि उहाँले सबैबाट २५ करोडजति जुटाइसक्नुभएको अनुमान मैले गरेको छु । दोस्रो कुरा, उहाँले भूकम्पपीडितहरूका लागि एनआरएनका तर्फबाट कम्तीमा १ हजार वटा घर बनाउने घोषणा गर्नुभएको थियो । साढे ३ लाखका दरले १ हजार घरका लागि विश्वभरका सदस्यहरूबाट ३३ करोड उठिसकेको छ । पैसा उठिसकेपछि यो महत्त्वाकांक्षी योजना सम्पन्न गर्न उहाँकै नेतृत्व चाहिन्छ भन्ने सबैलाई सहसुस भयो । तेस्रो तर महत्वपूर्ण कुरा खाडी क्षेत्रमा काम गर्ने श्रमिक नेपालीहरूका लागि एउटा राम्रो कल्याण कोष बनोस् भन्ने उहाँको चाहना थियो । दैनिक विभिन्न दुर्घटना वा मृत्यु हुने, बेखर्ची हुने श्रमिक नेपालीहरूको अवस्था भयावह छ । उक्त कोषमा उहाँले व्यक्तिगत रूपमा १ करोड रुपैयाँ लगाउनुभएको छ । यो कोषमा संसारभरबाट पैसा जम्मा गरेर एउटा राम्रो कोष खडा गर्न उहाँको आवश्यकता महसुस गरिएकाले पनि उहाँ दोस्रोपटक अध्यक्ष हुनुभएको हो । 

यसपालि तपाईं कोषाध्यक्ष चुनिनुभएको छ । तपाईंलाई यो पदका लागि किन पत्याए होलान् ?

एनआरएनमा अफ्रिकाको प्रतिनिधित्व गर्दा समावेसी हुन्छ भन्ने कुरा उठिरहेको थियो । अफ्रिकामा एनआरएन विस्तारमा मैले खेलेको भूमिका साथीहरूले याद गरिरहनुभएको रहेछ । यसअघि म अफ्रिका संयोजक भएर काम गरिरहेको थिएँ । मेरो काम राम्रो थियो भनेर नै साथीहरूले मलाई चुन्नुभएको हुन सक्छ । म आफूले पनि अफ्रिकामा एनआरएन विस्तार गर्न, आर्थिक स्रोत जुटाउन एवं अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न रातदिन लागिरहेको थिएँ । 

कोषाध्यक्ष पद आफैं​मा महत्त्वपूर्ण पद हो । एनआरएनको नेतृत्व टिममा परेपछि तपाईंका आफ्ना कुनै एजेन्डा पनि त होलान् नि ?

यो सामूहिक कार्य हो । यसमा व्यक्तिगत एजेन्डालाई पनि सामूहिक रूपमा लिइन्छ । मेरो काम अध्यक्षको सोचमा सहयोग गर्ने हो । तैपनि ३ वटा कुरामा म अलि बढि नै फोकस हुनेछु । जस्तो– खाडी मुलुकमा काम गर्ने श्रमिक एनआरएनलाई पनि मूलधारमा समेट्नु अहिलेको चुनौती हो । एनआरएन भनेको धनी–मानीहरूको संस्था भन्ने जुन भ्रम छ, त्यसलाई चिर्न पहल गर्नुपर्नेछ । यसलाई श्रमिक मैत्री संस्था बनाउन जे–जे गर्न सकिन्छ, त्यसमा लाग्नेछु । 

यसका लागि यसको सदस्यता शुल्क घटाउनुपर्छ । एनआरएनको सदस्यता शुल्क महँगो छ । किनभने यही शुल्कबाटै हामीले कार्यालय एवं कर्मचारी खर्च टार्दै आएका छौं । त्यसैगरी सम्मेलनमा भाग लिने शुल्क पनि महँगो छ । आउने–जाने प्लेन र अन्य खर्च पनि व्यक्तिगत रूपमा बेहोर्नुपर्छ । जबसम्म यी सबै कुरा घटाइँदैन, तबसम्म यो संस्था श्रमिकमैत्री हुँदैन । 

मेरो विचारमा यो संस्थाले स्थायी आम्दानीको स्रोत बनाउनुपर्छ । यस्तो आम्दानी राम्रो भयो भने व्यक्तिगत खर्च कम गर्न सकिन्छ । कतिपय अवस्थामा संस्थाले गरेको आम्दानीलाई श्रमिकमैत्री बनाउन सकिन्छ । यी दुई कुरा एकआपसमा जोडिएका छन् । 

मेरो तेस्रो बुँदा चाहिँ एनआरएनभित्रै वैदेशिक लगानी युनिट निर्माण गर्नुपर्छ भन्ने हो । एनआरएनका धेरै सदस्यले वैदेशिक लगानी ल्याउन सक्नुहुन्छ । उहाँहरूको पहिचान छ । विदेशीलाई नेपालमा कसरी लगानी गर्ने, कति गर्ने, कुन क्षेत्रमा गर्ने भन्ने खासै जानकारी हुँदैन । हामीले आम्दानी हुने क्षेत्र खोजिदिने, त्यसलाई नेपाल सरकारसमक्ष पेस गरिदिने, उनीहरूको लगानी सुरक्षाको ग्यारेन्टी गरिदिने र अन्य प्राविधिक सहयोग गर्ने काममा सहजिकरण गर्न सक्छौं । यस्तो काम गर्दा संस्थालाई नियमित आम्दानी हुन्छ । अर्को कुरा हाम्रो प्रयासमा देशमा लगानी आउँछ । अहिलेसम्म विदेशी लगानी ल्याउन हाम्रो आफ्नो व्यक्तिगत प्रयासले मात्र काम गरेको छ । हामीले यसमा सामूहिक प्रयास गर्ने हो भने त्यसले देशको कायापलट गर्न सहयोग पुर्‍याउँछ । 

तपाईंको व्यक्तिगत प्रयासमा नेपालमा ५५ अर्बको लगानी भित्रिएको छ । कस्तो लागेको छ ?

व्यक्तिगत रूपमा खुसी लाग्छ नै । हाम्रो कम्पनी अफ्रिकाको सबैभन्दा ठूलो कम्पनी हो । यसले एसियामा आफ्नो नेटवर्क विस्तार गर्ने योजना बनाएको थियो । कम्पनीले भारत, म्यानमार र हङकङलाई महत्व दिएको थियो । उक्त कुरा थाहा पाएपछि मैले नेपालमा पनि सम्भावना भएको कुरा बताउँदै यसमा विचार गर्न आग्रह गरेको थिएँ । मैले नेपालमा जलविद्युत्, पर्यटन, सिमेन्टजस्ता क्षेत्रमा ठूलो सम्भावना रहेको बताएको थिएँ । कम्पनीले मलाई नै त्यसको सम्भाव्यता अध्ययन गर्न पठायो । अध्ययनमा ठूलो सिमेन्ट उद्योग खोल्दा कम्पनीलाई पनि फाइदा हुने र नेपालले पनि त्यसबाट ठूलो फाइदा लिने देखियो । 

बाहिर के सुनिन्छ भने विदेशीहरू नेपालमा लगानी गर्न त चाहन्छन् तर कर्मचारीतन्त्र र नेताहरूले सहयोग गर्दैनन् अर्थात् पैसा नख्वाई काम सुरु हुँदैन । विदेशीहरू भने टेबलमुनिबाट कुनै पनि काम गर्न चाहँदैनन् । यो कुरा सत्य हो ?

सत्य होइन, किनभने मलाई अहिलेसम्म कसैले यससम्बन्धी संकेत पनि गरेका छैनन् । म देशका लागि ठूलो लगानी भित्र्याउन चाहन्छु भनेर सल्लाह गर्न थालेदेखि नै सबैले सहयोग गर्नुभएको छ । नेता, कर्मचारी, पत्रकार सबैले यसलाई देशको काम मान्नुभयो । बरु हाम्रो काम सोचेभन्दा छिटो काम सुरु भयो । हामीले मेसिनसमेत अर्डर गरिसक्यौं । हामीले मकवानपुर कार्यस्थलमा समेत काम सुरु गरिसक्यौं । हाम्रो कम्पनीले एसियाकै सबैभन्दा ठूलो सिमेन्ट प्लान्ट नेपालमा लगाउँदैछ । यसबाट पनि बाहिरको हल्ला गलत हो भन्ने लाग्छ । 

कम्पनीले १० करोड रुपैयाँ भूकम्पपीडितलाई दिएको समाचार आएको थियो, यत्रो पैसा प्रधानमन्त्री कोषमा किन जम्मा गरेको ?

हाम्रो कम्पनी नाफा कमाउन मात्र कुनै देशमा जाँदैन । त्यो देशको दु:ख–सुखमा साथ पनि दिन चाहन्छ । कम्पनी खोल्न नेपाल सरकारले जसरी सहयोग गर्‍यो त्यसबाट डाङ्गोटे कम्पनीलाई यो देशको दु:ख–सुखमा हाम्रो साथ रहनुपर्छ भन्ने पर्‍यो । म आफैंले देश अप्ठ्यारोमा परेको छ, हाम्रो कम्पनीले साथ दिनुपर्छ भनेर २० करोडको प्रस्ताव राखेको थिएँ । वास्तवमा सुरुमै यति ठूलो रकम सहयोग माग गर्दा उनीहरू आश्चर्यमा परेका थिए । मैले यस्तो संकटमा सहयोग गर्नुपर्छ भनेर कन्भिन्स गरेपछि कम्पनी १० करोड दिन राजी भएको थियो । 

तपाईं नहुनुभएको भए भूकम्प पीडितलाई एउटै कम्पनीबाट यति ठूलो सहयोग आउँदैनथ्यो, यो सम्झेर कस्तो लाग्छ ?

मैले मातृभूमिप्रति गर्नुपर्ने कर्तव्य निर्वाह गरेको हुँ । यसलाई मैले ठूलो मानेको छैन । आफ्नो आमा–बुवालाई प्रेम गर्नु ठूलो कुरा होइन । तैपनि यो खुसीको कुरा भने अवश्य नै हो । 

तपाईंको पद, आम्दानी र हैसियत प्रत्येक वर्ष बढिरहेको छ । नेपाल फर्कनुहुन्छ कि उतै रमाउनुहुन्छ ?

हरेक नेपाली सकेसम्म नेपाल नै फर्कन चाहन्छ । वाहिर ऊ जति ठूलो मानिस भए पनि उसलाई कसैले चिन्दैन । जबकि यहाँ सानो प्रगति गरे पनि आफ्ना मानिसहरूले त्यसको सराहना गर्छन् । त्यसैले म नेपाल नै फर्कन्छु । यत्ति हो, डाङ्गोटे कम्पनीमै रहन्छु वा आफ्नै काम गर्छु, त्योचाहिँ अहिले नै भन्न सक्दिनँ । 

प्रकाशित :कार्तिक १६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्