आहा ! नेपाल कहिले यस्तो बन्ला

- मनोज गजुरेल

कार्तिक १४, २०७२

एउटा नेपालीले विदेशमा पाइला टेक्नासाथ भन्ने पहिलो शब्द के होला ? गजुरियल विश्लेषण भन्छ, त्यो शब्द यही हो— आहा ! हाम्रो देश कहिले यस्तो बन्ला, अनि विदेशीले नेपाल टेक्नासाथ सोच्ने प्रश्न कुन होला ? रियल विश्लेषण भन्छ, त्यो प्रश्न हो— कठै, उहिले हाम्रो देश पनि यस्तै थियो होला हगि ? विदेशीको प्रश्नको विश्लेषण गर्ने हैसियत यो विश्लेषकसँग छैन । त्यसैले आज नेपालीको प्रश्नमाथि गजुरियल विश्लेषण गरिन्छ । 

सफा सडक, चिल्ला गाडी, दु्रत दौडाइ, व्यस्त मानिस, बलियो कानुन, जिम्मेवार जनता, रोजगार, शिक्षा, सुरक्षा, विकसित देशहरूको पहिचान हो । विकसित भनिएका सबै देशमा यो अवस्था नहोला । बाहिर चिटिक्क, भित्र फिटिक्क केही नहुने देशहरू पनि छन् । त्यसैले शीर्षकमा उल्लेखित प्रश्न दिमागमा ल्याउनुअघि हामीले के बुझ्नु आवश्यक छ भने विकास भनेको अग्ला भवन र चिल्ला सडकमात्र होइनन्, सुखी समाज र खुसी मन पनि हुन् भन्ने गजुरियल ठम्याइ छ ।

अहिले पचासौं लाख नेपाली परदेसिएका छन् । कोही स्थायी रूपमा त्यहाँ बसिरहेका छन् भने कोही कमाएर स्वदेश फर्कने गरी काम गरिरहेका छन् । दक्षिण एसिया छाडेर बाहिरका सबैजसो देश सबै कारणले हामीभन्दा विकसित छन् । मलेसिया, थाइल्यान्ड, हङकङ, कोरिया, जापान, अमेरिका निकै माथि पुगेका छन् । यी देशमा पुग्नासाथ हामी सबैको मनमा प्रश्न उठ्छ— आहा ! हाम्रो देशचाहिँ कहिले यस्तो बन्ला ? अब सुरु गरौं, यसको गजुरियल जवाफ । 

पहिलो कुरा, कुनै पनि देश कहिल्यै अरू कुनै जस्तो हुँदैन । त्यसैगरी हाम्रो देश नेपाल कहिल्यै जापान र अमेरिकाजस्तो बन्न सम्भव छैन । संसारका सबै देशका आ–आफ्नै सीमा र समस्याहरू छन् । आफ्नै भू–बनोट, भू–राजनीति छ । आफ्नै इतिहास, वर्तमान र भविष्य छ । परिवर्तन कुनै जादुको छडी होइन, फू गर्नासाथ स्वर्गलोकजस्तो बनोस् । त्यसैले हामीले दिमागबाट यो प्रश्न कन्ट्रोल अल डिलिट गर्नुपर्छ कि नेपाल कहिले यस्तो बन्ला ? नेपाल, नेपालजस्तो बन्न सक्छ तर सिंगापुर, स्वीजरल्यान्ड वा अरू कुनै देशजस्तो पटक्कै बन्दैन ।

तुलना दु:खको कारण हो । त्यो व्यक्ति–व्यक्तिबीचको होस् अथवा समुदाय र देशबीचको ! कहीं–कतै कुनै कुराको तुलना हुन सक्दैन । हाम्रा आफ्नै क्षमता र हैसियत छन्, तिनको पहिचान गर्नुपर्छ । तुलनाले प्रगति हुँदैन, त्यसले मानिसलाई निराशातर्फ लान्छ । देश–देशको कुरा पनि यही हो । कुनै देशको तुलना अर्को देशसँग गर्न मिल्दैन । हाम्रा आँखाले यस्तो कहिले देख्ला भन्ने प्रश्नको जवाफ नै छैन । योभन्दा अझ राम्रो देख्न सक्ला अथवा योभन्दा खत्तम पनि देख्ला, तर अरू देशजस्तो नेपाल देख्ने चाहनाले हामीलाई निराशाबाहेक केही दिँदैन ।

यसबाहेक विदेश पुग्नेहरूको मनमा अन्य प्रश्न पनि उठ्छन् । हाम्रै आँखाले यस्तो नेपाल कहिले देख्ला ? उस्तै भू–बनोट भएका देश कहाँबाट कहाँ पुगिसके, हामी कहिले पुग्ने होला ? नेपाल सिंगापुरजस्तो बन्छ कि बन्दैन ? नेपालमा पनि सफा, चिल्ला र सुन्दर बाटाहरू बनाउन सम्भव छ ? के हामी कानुनको मातहतमा बस्न सक्छौं ? हामीकहाँ पनि सबैलाई बराबरी अधिकार र कर्तव्य सिकाउने कानुन बन्न सक्छ ? क्षमताअनुसारको काम, कामअनुसारको दाम कहिले मिल्ला ? आदि–इत्यादि । 

मनमा उठेका प्रश्नमा विश्लेषणात्मक उत्तर खोज्ने प्रयास हाम्रो हुँदैन । जवाफ खोज्नुको साटो हामी दुईवटा तीर हान्छौं । पहिलो, राजनीतिलाई खराब भन्दै नेतामाथि आक्रोश पोख्छौं, कि त सतिले सरापेको मुलुक भन्दै आफ्ना कमजोरी लुकाउन पुग्छौं । गजुरियल विश्लेषण भन्छ, नेपाल कहिले यस्तो बन्ला भन्ने प्रश्न गर्न थाल्यौं भने हामी प्रश्नै प्रश्नमा अल्झी बस्नेछौं । आजैदेखि प्रश्न परिवर्तन गरौं, र सोध्न थालौं नेपाल नेपालजस्तो कहिले बन्छ ? त्यसपछि मात्र ठोस जवाफ प्राप्त गर्न सकिन्छ भन्ने गजुरियल अपेक्षा छ ।

 

प्रकाशित :कार्तिक १४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्