बदनामी कमाएको नेपाली फुटबल

कार्तिक १३, २०७२

यतिबेला नेपाली फुटबल इतिहासकै कठिन मोडमा छ । ‘म्याच फिक्सिङ’ गरेको आरोपमा प्रहरीले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित पाँच जना खेलाडीलाई पक्राउ गरेपछि नेपाली फुटबलमा भुइँचालो गएको छ । नेपालको घरेलु लिगमा म्याच फिक्सिङ भएको कुरा धेरै अघिदेखि सुनिँदै आए पनि खेलाडीहरूलाई नै पक्राउ गरिएको घटना भने यो पहिलो हो । यसै साता उमेर विवादमा मुछिएर यू–१६ नेपाली फुटबल टिमले प्रतिबन्ध बेहोर्नुपरेपछि नेपाली फुटबल थप संकटमा पर्‍यो । नेपाली फुटबल बदनाम हुने गरी आएका यी घटनाहरू पहिलो भने होइनन् । यसअघि पनि एसियाली फुटबल महासंघका अध्यक्ष मोहम्मद बिन हमामलाई फिफा अध्यक्षमा निर्वाचित गराउन तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफ्ना छोरा गौरव थापामार्फत घूस खाएको तथ्य सार्वजनिक हुँदा पनि नेपाली फुटबल बदनाम भएको थियो । यसैगरी एन्फाको अध्यक्ष रहँदा गणेश थापाले ‘गोल प्रोजेक्ट’ का नाममा गरेका कैयौं गडबढी सार्वजनिक भएका थिए । नेपाली फुटबललाई पतनको रसातलतर्फ धकेल्ने यस्ता कैयौं घटना छन् जुन बितेका २० वर्षमा घट्दै आएका छन् । 

अफगानिस्तान र बंगलादेशसँगको खेलमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा प्रहरीले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित पाँच जना खेलाडीलाई पक्राउ गरेपछि नेपाली फुटबलमा भुइँचालो गएको छ । उक्त प्रकरणमा कप्तान सागर थापा, प्रशिक्षक अञ्जन केसीसहित विकाससिंह क्षेत्री, रितेश थापा र सन्दीप राईलाई प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा लिएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले एक वर्षदेखि गरिरहेको अनुसन्धानपछि ती खेलाडीलाई प्रहरीले पक्राउ गरेको हो । एएफसीका अनुसार स्पोर्टराडार सेक्युरिटी सर्भिस, एएफसी तथा नेपाल प्रहरीको संयुक्त प्रयासस्वरूप घटना छताछुल्ल भएको हो । नेपालको घरेलु लिगमा म्याच फिक्सिङ भएको कुरा धेरै अघिदेखि सुनिँदै आए पनि खेलाडीहरूलाई नै पक्राउ गरिएको घटना भने यो पहिलो हो । 

नेपालजस्तो सानो मुलुकमा भएको यो प्रकरणले के प्रमाणित गरेको छ भने यति बेला विश्व फुटबल नै भ्रष्टाचार र खेल मिलेमतो प्रकरणमा डुबेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफा (फेडेरेसन अफ इन्टरनेसनल फुटबल एसोसिएसन) का अध्यक्ष सेप ब्लाटर नै भ्रष्टाचारको अभियोगमा मुछिएको अहिलेको अवस्थामा नेपालजस्तो देश पनि फुटबलसँग सम्बन्धित भ्रष्टाचारको चर्चामा आउनुले फुटबलको हरेक गोलका पछाडि पैसाको लेनदेन भएको आशंका गर्नेहरूलाई बल पुगेको छ भने फुटबलको विश्वसनीयता समेत गुम्दै गएको छ । 

फुटबलमा यस्तो भ्रष्टाचारका कथाहरू युरोपेली लिग फुटबलको लोकप्रियतासँगै चुलिँदै गएको विज्ञहरू बताउँछन् । युरोपेली लिग फुटबलमा म्याच फिक्सिङका कुरा अहिले साधारण हुन थालेका छन् र त्यहाँ म्याच फिक्सिङ गरिएको प्रसंगमा खेलाडीहरू निलम्बनमा पर्नु अथवा प्रतिबन्धमा पर्नु सामान्य भैरहेको छ । फुटबलमा हुने यस्तो भ्रष्टाचारले अब नेपालजस्तो मुलुकलाई समेत गाँजेको छ ।  फुटबलमा भ्रष्टाचारको यस्तो प्रवेशका पछाडि फिफा अध्यक्ष सेप ब्लाटरले भित्र्याएको ‘गोल प्रोजेक्ट’ नै मुख्य कारण रहेको विश्लेषकहरू बताउँछन् । 

कमजोर फुटबल संरचना रहेको एसिया तथा अफ्रिकी मुलुकहरूमा फुटबलको स्तर उकास्न र फुटबल संस्कृतिलाई बलियो बनाउने नाममा गोल प्रोजेक्टको अवधारणा अगाडि सारिएको थियो । यही गोल प्रोजेक्टअन्तर्गत भित्रिएको पैसामाथि सम्बन्धित मुलुकका फुटबल प्रशासक एवं राजनैतिक दलका नेता–कार्यकर्ताहरूले र्‍याल चुहाएपछि भ्रष्टाचारको सिलसिला प्रारम्भ भएको मानिन्छ । गोल प्रोजेक्टकै कारण अहिले सेप ब्लाटरको पद र प्रतिष्ठा दुवै गएको छ भने नेपालमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा तथा उनका मतियारहरू पद त्याग्न बाध्य भएका छन् । 

म्याच फिक्सिङको नालीबेली 

म्याच फिक्सिङको आरोपमा नेपाल प्रहरीले हालै पक्राउ परेका राष्ट्रिय टिमका कप्तान सागर थापा एवं प्रशिक्षक अञ्जन केसीसहित पाँच जना खेलाडी यतिबेला अनुसन्धानको दायरामा छन् । यो घटनाका विषयमा यतिबेला फुटबल समर्थकहरू सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउन व्यस्त छन् । तीमध्ये कतिपयले खेलाडीहरूप्रति आक्रोश पोखिरहेका छन् भने कतिपयले घटनाप्रति विश्वास गर्न सकेका छैनन् । 

नेपाली फुटबलमा म्याच फिक्सिङ नयाँ घटना नभएको ए डिभिजन फुटबल क्लबका पदाधिकारीहरू दाबी गर्छन् । अखिल नेपाल फुटबल संघका अधिकांश पदाधिकारी कुनै न कुनै क्लबसँग आबद्ध छन् । घरेलु फुटबलमा मुख्यत: लिगको उपाधि जित्ने र रेलिगेसन समीकरणका लागि खेल छाडिदिनेसम्मका घटना हुने गरेका छन् । नेपालको आन्तरिक फुटबलमा अहिलेसम्मकै चर्चित खेल मिलेमतो प्रकरणमा अन्नपूर्ण क्लब र रानीपोखरी क्लब (आरसीटी) बीचको खेललाई लिइन्छ । उक्त खेलमा १ सय १ गोल भएको थियो । चार दशकअघिको उक्त खेलमा सहभागी खेलाडी तथा पदाधिकारी अहिले पनि त्यतिबेलाको घटना सुनाउँदा गौरव अनुभव गर्छन् ।

२०४६ सालपछि नेपालमा खेल मिलेमतोको गति बढ्यो । २०६६ सालसम्म आइपुग्दा सहिद स्मारक ए डिभिजन लिग चल्दा घरेलु फुटबलमा खेल मिलोामतो चरमोत्कर्षमा पुग्यो । । यसअघि पदाधिकारीहरू ‘अफ दि रेकर्ड’ भन्दै खेल मिलेमतोको कहानी सुनाउँथे भने २०६६ सालपछि क्लबका प्रशिक्षक एवं खेलाडीले एक–अर्कोलाई दोषारोपण गर्दै खेल मिलोमतोका सम्बन्धमा सार्वजनिक टिप्पणी नै गर्न थालेका छन् । म्याच फिक्सिङ प्रकरणमा अहिले पाँच जना खेलाडी तानिए पनि अनुसन्धानले कतिलाई मुछ्ने हो, हेर्न बाँकी नै छ ।

नेपाल प्रहरीको अनुसन्धानले खेल मिलोमतोमा सबै सेटिङ मिलाउने काम राष्ट्रिय टिमका पूर्वखेलाडी तथा थ्री–स्टारका पूर्वप्रशिक्षक अञ्जन केसीबाट भएको दाबि गरेको छ । एसियाली फुटबल महासंघ एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले दिएको १ लाख अमेरिकी डलर काण्डपछि एन्फा अध्यक्ष गणेश थापाका जेठा छोरा गौरव थापा एएफसीको सुविधा सम्पन्न जागिर छोडेर नेपाल फर्किएका थिए । त्यसलगत्तै गौरव र अञ्जनले ललितपुरको पुल्चोकमा जिफोर ग्यारेज र अन्य रेस्टुराँमा लगानी गरेका थिए । 

कहाँ पुग्ला म्याच फिक्सिङ अनुसन्धान ? 

अहिले म्याच फिक्सिङ प्रकरण अनुसन्धानमा छ । अनुसन्धानको सुइरो खेलाडीमा मात्र सीमित होला कि अन्यत्र पनि मोडिएला ? धेरैका लागि चासोको विषय बनेको छ । यो प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एन्फा अध्यक्ष गणेश थापा पनि जोडिएको हुनुपर्ने धेरैको अनुमान छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत नेपालको खेलमा शंका व्यक्त गर्दै यसअघि नै समाचार सार्वजनिक गरेका हुन् । खेल मिलोमतोजस्तो गम्भीर विषयमा मुलुककै नाम जोडिँदा एन्फाले छानबिनका लागि पहल नगर्नु रहस्यमय छ ।

नेपाली फुटबलमा गणेश थापाको आदेशबिना पात पनि हल्लिँदैन भनिन्छ । यस्तो अवस्थामा यो प्रकरणको पत्र खुल्दै जाँदा गणेश थापा पनि मुछिन सक्ने आँकलन गरिएको छ र नेपाल प्रहरी त्यहाँसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उठेको छ । गणेश थापा विवादमा तानिएको यो पहिलो पटक होइन । आर्थिक अनियमितता, विधि–विधानको उल्लंघनजस्ता विषयमा उनी पटक–पटक विवादमा पर्दै आएका छन् । नेपाली फुटबलको नेतृत्वमा आएपछि उनले गरेका आर्थिक अनियमितताका सम्बन्धमा छानबिनका लागि तीन–तीनवटा आयोग बनेका थिए, ती सबै आयोगले गणेश थापालाई दोषी देखाए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

गणेश थापाविरुद्ध एन्फाकै तीन उपाध्यक्षसहितका पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोपमा संसद्को सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदि निकायमा उजुरी गरेका थिए । उक्त उजुरीका आधारमा सार्वजनिक लेखासमितिले थापाले ५८ करोड रुपैयाँ अनियमितता गरेको भन्दै कारबाहीका लागि अख्तियारमा सिफारिस समेत गरेको थियो तर अख्तियारले उक्त प्रकरणलाई तामेलीमा राख्यो । त्यसपछि अनियमितता भयो भन्दै प्रमाणसहित उजुरी गर्ने उपाध्यक्षहरू नै कारबाहीमा परे ।

अहिले गणेश थापा अझ शक्तिशाली भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सभासद् चुनिएका थापा आफ्नो पार्टी सत्ता साझेदार भए पछि थप शक्तिशाली भएका हुन् । यस्तो स्थितिमा प्रहरीको कारबाही स्वतन्त्र रूपमा अघि बढ्ने कुरामा सन्देह गर्नेहरूको कुनै कमि छैन । 

कसरी किनिए खेलाडी ?

म्याच फिक्सिङ प्रकरणमा तानिएका खेलाडीहरू विगत सात वर्षदेखि अन्तर्राष्ट्रिय बुकी (दलाल) सँग खेल हार्नका लागि रकम लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले पाँच खेलाडीमध्ये अञ्जन केसी मुख्य योजनाकार रहेको तथा बाँकी खेलाडी मतियार रहेको दाबी गरेको छ । अपराध अनुसन्धान महाशाखाका प्रमुख एएसपी सर्वेन्द्र खनालका अनुसार खेलाडीहरूले मिलेमतो बापत १ करोड रुपैयाँसम्म लिएका छन् ।

प्रहरीले यो प्रकरणमा अहिले आएर हात हालेको भए पनि विश्व फुटबलमा म्याच फिक्सिङ गराएर कुख्याति कमाएका विल्सनराज पेरुमलले आफ्नो पुस्तकमा नेपालको समेत उल्लेख गर्नुले नेपालमा म्याच फिक्सिङको जरो गहिरो भएको देखाउँछ । पेरुमलको पुस्तक ‘केलोङ किंग्स’मा नेपालले सन् २००८ मा मलेसियामा भएको ‘मर्डेका कप’मा सिएरालियोनसँग को खेलमा ‘म्याच फिक्सिङ’ गरेको उल्लेख छ । उक्त पुस्तकमा ‘द सिन्डिकेट’ शीर्षकमा लेखिएको छ, ‘सिएरालियोनका खेलाडीहरू अफगानिस्तानका खेलाडीभन्दा उत्कृष्ट थिए । त्यसैले उनीहरूले अफगानिस्तानलाई ६–१ ले हराए । सिएरालियोनलाई सेमिफाइनलमा पुग्न अर्काे खेल जित्नैपर्ने थियो, जहाँ नेपाल र सिएरालियोन भिड्दै थिए । हामीले नेपालका केही खेलाडीलाई खरिद गरिसकेका थियौं । त्यसैले मैले अबु बाकरलाई बेलाएर भने— ‘हामी तिमीहरूलाई जिताइदिनेछौं । पहिलो हाफ गोलरहित हुनेछ । दोस्रो हाफमा सिएरालियोनले नेपाल विरुद्ध चार अथवा पाँच गोल गर्नेछ, यो सजिलो छ । नेपालले तिमीहरूलाई गोल गर्न दिनेछ, कुनै समस्या छैन । जाउ खेल अनि गोल गर ।’ पुस्तकमा लेखिएको छ— ‘हामीले नेपालीहरूसँग सम्पर्क गर्नुअघि नै उनीहरू भ्रष्टाचारी थिए । हामीले मलेसियन एजेन्टमार्फत नेपाली खेलाडीसँग कुरा गरेका थियौं ।’ उक्त खेल सिएरालियोनले ३–१ ले जितेको थियो । 

दसैं अघि म्याच फिक्सिङ प्रकरणमा प्रहरी हिरासत पुगेका पाँच खेलाडी नेपालमा कानुनको स्पष्ट व्यवस्था नभएका कारण ठूलो सजायबाट बचिहाले पनि बाँकी जिन्दगी फुटबल खेल्न नपाउने अवस्था आउन सक्छ । एएफसीले अनुसन्धान नसकिएसम्मका लागि नेपाली राष्ट्रिय टिमका कप्तान सागर थापासहित रितेश थापा, सन्दीप राई, विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीमाथि प्रतिबन्ध लगाए सकेको छ र यो प्रतिबन्ध विश्वभरि कायम गराउन एएफसीले फिफालाई समेत पत्र पठाएको छ । 

कसरी गरियो अनुसन्धान ? 

सन् २००८ देखि यता नेपालले खेलेका प्राय: सबैजसो अन्तर्राष्ट्रिय खेलमा नेपाल राम्रो खेल्दाखेल्दै अन्तिममा हार्न पुग्थ्यो । यो कुराप्रति कसैले पनि चासो दिएका थिएनन् तर नेपालको राष्ट्रिय टिमले खेलेका केही खेलहरूमा भने सट्टेबाजहरूको बाजी ठोक्ने प्रवृत्ति शंकास्पद देखियो । यति नै अन्तरले हार्छ भनी मोटो रकम बाजी लगाउने अनि ठ्याक्कै मिल्ने क्रम पनि देखा पर्‍यो । स्पोर्टराडारले यो प्रवृत्ति पत्ता लगाएको थियो । त्यसपछि गोप्य रूपमा अनुसन्धान प्रारम्भ भयो । करिब एक वर्ष लामो अनुसन्धानका क्रममा सन् २००८ सम्मका खेलहरूलाई पनि छानबिनको दायरामा ल्याइयो । तीमध्ये कतिपय खेलमा नेपाली खेलाडीका नाममा भएका शंकास्पद आर्थिक कारोबार पनि भेटिए । अनुसन्धानका क्रममा देखिएका ती तथ्यहरूलाई स्पोर्टराडारले नेपाल प्रहरीलाई उपलब्ध गरायो । त्यसपछि नेपाल प्रहरीले पनि औपचारिक रूपमा आफ्नो तर्फबाट अनुसन्धान प्रारम्भ गर्‍यो । फलस्वरूप पाँच जना खेलाडी पक्राउ परे । अनुसन्धानको क्रम जारी रहेकाले यो प्रकरणमा अरू खेलाडी तथा प्रशिक्षक पनि तानिन सक्ने सम्भावना रहेको प्रहरी सूत्रले साप्ताहिकलाई बताएको छ । 

के भन्छ एएफसी ? 

एएफसीका कार्यवाहक महासचिव डाटो विन्डसर जोनले यो प्रकरणमा प्रतिक्रिया दिँदै भनेका छन्— ‘एएफसीले म्याच फिक्सिङमा शून्य सहनशीलताको नीति लिएको छ र यो विषयमा ३६० डिग्रीको निगरानी गरिरहेको छ । भ्रष्टाचार रोकथाम, पहिचान र प्रतिक्रियाको रणनीतिअनुसार काम प्रभावकारी ढंगले भैरहेको देखिएको छ ।’ उनले आफूहरूले दिएको जानकारीकै आधारमा काम गरेर नेपाल प्रहरीले सम्बन्धित आरोपितहरूलाई पक्राउ गरेकोमा प्रशंसा पनि गरेका छन् । यसैक्रममा स्पोर्टराडारका म्यानेजिङ डाइरेक्टर एन्ड्रियास क्रान्निचले आफूहरूको फ्रड डिटेक्सन सिस्टम प्रतिवेदनका आधारमा विश्वभर खेल मिलेमतो गरेको अभियोगमा १ सयभन्दा बढी खेलाडी तथा प्रशिक्षक गिरफ्तार भैसकेको बताएका छन् । एएफसीले अब यी खेलाडीहरूविरुद्ध अनुशासनको कारबाही चलाउनेछ, जसअनुसार नेपाली टिमका कप्तान सागर थापासहितका खेलाडीहरूले जीवनभर फुटबल खेल्न नपाउनेदेखि ठूलो रकम जरिवाना तिर्नुपर्नेसम्मको कारबाही हुनसक्छ । 

सागर उवाच

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापाले आफू निर्दोष भएको दाबी गरेका छन् । पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले म्याद थपका लागि गत मंगलबार विशेष अदालतमा उपस्थित गराउने क्रममा अदालत परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले उक्त दाबी गरेका हुन् । आफू र पक्राउ परेका आफ्ना सहकर्मीहरू परिबन्दमा परेको दाबी गर्दै थापाले भनेका छन्— ‘हामीले देशका लागि १५ देखि २० वर्ष खेल्यौं । हामीलाई अहिले सञ्चारमाध्यमको साथ चाहिएको छ । हामी निर्दोष छौं ।’ उक्त अवसरमा थापाले आफूहरूले कहिल्यै र कहीं पनि खेल मिलेमतोको आरोप स्वीकार नगरेको समेत बताए । उक्त अवसरमा सागरले आफूहरूलाई अभियोग प्रमाणित हुनुअगावै सञ्चारमाध्यमहरूले दोषीका रूपमा प्रस्तुत गरेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए । सोही अवसरमा सँगै रहेका सन्दीप राई भने अनुसन्धानको क्रम जारी रहेकाले केही नबोल्ने बताएर पन्छिएका थिए ।

गणेश थापाको भ्रष्टाचार

अखिल नेपाल फुटबल संघ (एन्फा) मा १९ बर्षसम्म अध्यक्ष रहेका गणेश थापाले आफ्नो कार्यकालमा २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको तथ्य बेलाबखत सार्वजनिक हुँदै आएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघबाट अखिल नेपाल फुटबल संघले प्राप्त गर्ने रकममा त्यस्तो भ्रष्टाचार हुने गरेको एन्फा स्रोतले उपलब्ध गराएको कागजातबाट खुलेको थियो । फिफा र एसियाली फुटबल संघ (एएफसी) बाट प्राप्त विभिन्न अनुदान सिधै व्यक्तिको नाममा जम्मा गर्ने एन्फा अध्यक्ष थापाले एन्फाको करोडौं रुपैयाँ व्यक्तिगत रूपमा चलाउँदै आएको आरोपमा मुद्दा खेपिरहेका छन् । एन्फामा १९ वर्ष अध्यक्षका रूपमा कार्यरत रहँदा थापामाथि एएफसी तथा फिफाको निर्वाचनका क्रममा ५ करोड रुपैयाँभन्दा बढी

घूस लिएको आरोप समेत लागेको थियो । 

यसबाहेक एसियाली फुटबल महासंघले नेपाललाई उपलब्ध गराउँदै आएको प्रशिक्षक भत्ताबापतको मासिक १५ हजार डलरमा पनि थापाले ठूलो घोटाला गरेको बताइन्छ । लामो समयसम्म गुपचुप रहेको  घोटालामा मासिक ७ देखि १० लाख रुपैयाँसम्म थापाले हात पार्दै आएको स्रोतको दाबी छ । जिल्ला, क्षेत्रीय तथा केन्द्रीय तहका प्रशिक्षकको नाममा युथ डेभलपमेन्ट परियोजनाअन्तर्गत आएको अनुदानमा समेत भ्रष्टाचार गरी थापाले वार्षिक १ करोड रुपैयाँसम्म घोटला गरेको आरोप लाग्दै आएको छ । नेपाली प्रशिक्षकलाई मासिक ३ हजार रुपैयाँ दिएर कागजमा भने २ सयदेखि २ सय ४० डलरसम्म भत्ता दिएको भन्दै एएफसीलाई झुटो विवरण पेस गरेर थापाले उक्त घोटाला गर्ने गरेको बताइन्छ । त्यस्तै, टेक्निकल डाइरेक्टरका नाममा फिफाबाट प्राप्त हुने मासिक १ हजार ५ सय डलर बराबरको अनुदानमा समेत थापाले हात चाटेको आरोप छ ।

अन्डर–१६ टिम पनि विवादमा

म्याच फिक्सिङ प्रकरणमा केही नेपाली खेलाडी मुछिएको प्रकरण सेलाउन नपाउँदै नेपाली फुटबल पुन: अर्को संकटमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत सोमबार बढी उमेरका खेलाडी खेलाएको अभियोग लगाउँदै एएफसीले अर्को वर्ष सेप्टेम्बरमा भारतमा हुने यू–१६ च्याम्पियनसिपमा नेपाललाई खेल्न प्रतिबन्ध लगाएको छ । छनौट प्रतियोगिताका क्रममा नेपाली यू–१६ का कप्तान मनीष कार्की, गोलरक्षक अर्पण कार्की तथा स्ट्राइकर रेजिन सुब्बाको एमआरआई गरिएको थियो, जसमध्ये नेपाली टिमका कप्तान मनीष कार्कीको उमेर बढी देखिएको थियो । 

अघिल्लो महिना किर्गिस्तानमा सम्पन्न एएफसी यू–१६ छनोट खेलमा नेपाल दोस्रो हुँदै च्याम्पियनसिपका लागि छनोट भएको थियो । छनौटका क्रममा नेपालले किर्गिस्तानमा जोर्डनलाई २–१ एवं घरेलु टिम किर्गिस्तानलाई ४–२ ले पराजित गरेको थियो । अन्तिम खेलमा ओमानसँग पराजित भए पनि नेपाल ५ उत्कृष्ट उपविजेताका रुपमा च्याम्पियनसिपमा छनौट भएको थियो । 

बढी उमेरका खेलाडी खेलाएको प्रमाणित भएपछि एएफसीले नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवानासमेत लगाएको छ । जरिवाना रकम एक महिनाभित्र बुझाइ सक्नुपर्ने एएफसीले जनाएको छ । उक्त प्रकरणपछि नेपालले जित हात पारेका खेलको नतिजा पनि खोसिएको छ र नेपालले खेलेका खेलहरूको नतिजा उल्टाई विपक्षीलाई ३–० को विजयी नतिजा दिइएको छ । यो प्रकरणमा एन्फाले सम्बन्धित निकायमा उजुरी गर्ने कुरा बताइसकेको छ । 

गौरव थापा प्रकरण 

सन् २०१२ मा एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको व्यक्तिगत बैंक खातामा एसियाली फुटबल महासंघका मोहम्मद बिन हमामले १ लाख अमेरिकी डलर जम्मा गरिदिएको खुलासा अमेरिकी समाचार एजेन्सी एपीले गरेको थियो । उक्त प्रकरणपछि हमामलाई भ्रष्टाचारको अभियोगमा फिफाले आजीवन प्रतिबन्ध लगाएको थियो तर प्रमाणको अभाव देखाउँदै कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टसले उक्त निर्णय उल्ट्याइ दियो । त्यतिबेला फिफाको अध्यक्षमा चुनिन सेप ब्लाटरसँग प्रतिस्पर्धा गर्न एसियाली फुटबलको नेतृत्व गरेका ६३ वर्षीय मोहम्मद बिन हमाममाथि भोट किन्न रकम खर्च गरेको आरोप लागेको थियो । हमामले आफ्नो निजी कामका लागि समेत एएफसीको बैंक खाता प्रयोग गरेको बताइएको थियो । उक्त प्रकरणमा अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले अन्तर्राष्ट्रिय अकाउन्टिङ फर्म प्राइसवाटर हाउस कुपर्सले एएफसीको लेखा परीक्षण गर्ने क्रममा गणेश थापाका छोराले समेत उक्त प्रकरणमा १ लाख डलर घूस खाएको खुलासा गर्‍यो । त्यतिबेला गणेश थापाले खुला रूपमा हमामको समर्थन गर्दै आएका थिए । उनी हमामका एकदमै निकट सहयोगीमध्ये एक मानिन्थे । त्यतिबेला गौरव थापा एएफसीको कम्पिटिसन डिभिजनमा हेड अफ युथ कम्पिटिसन्सका रूपमा कार्यरत थिए । प्रतिवेदनअनुसार उक्त घूस काण्डमा दक्षिण एसियाका भोटरहरूमध्ये सबैभन्दा बढी रकम पाउने गणेश थापा नै थिए ।

प्रकाशित :कार्तिक १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्