हाफटाइम

- सुरेश बादल

कार्तिक ९, २०७२-

हाफ टाइमको घन्टी बज्नासाथ सदाझैँ मेरी बैनी दगुर्दै मेरो कक्षाको ढोकामा आएर उभिई । यो उसको नियमित रुटिन थियो । मैले देखें, बिहान मिलाइवरी लगाएका स्कुल पहिरन मैलो बनाइ सकिछ । कोरेको कपाल पनि जिङ्ग्रिङ्ग बनाइसकिछ । एक दिन समय लिएर उसका बिग्रिएका सबै कुरा मिलाइदिएँ । त्यसपछि चौरमा बसाउँदै खाजाको टिफिन खोलेँ । बैनीको अनुहार खाजा देख्नेबित्तिकै निन्याउरो भयो । खाजामा सुख्खा दालमोठ चिउरा थियो । 

आज फेरि मेरी बैनीले दालमोठ–चिउरा खान मानिन । मैले भने आफ्नो भागको खाजा खाएँ । बैनी ठसक्क परेर बसकी थिई । सायद मसँग रिसाई । म पनि त निर्दोष एवं विवश थिएँ ऊजस्तै । म एक कक्षा पढ्थें । बैनी भर्खर नर्सरीमा भर्ना भएकी थिई । मैले ल्याउने खाजा मैले बोके पनि त्यो आमा वा दिदीबाट मेरो हातमा परेको हुन्थ्यो । त्यो बेला म पनि घरको परिस्थिति बुझ्दिनथें । बैनी पुतलीजस्तै छे कसरी निल्न सकोस् उसको नरम घाँटीले त्यो सारो चिउरा । हाम्रो स्कुलको खाजा सधैं –सधैं त्यस्तै हुन्थ्यो । आमाले बाहिर काम गर्न जानुपर्छ । सायद भ्याउनुहुन्न खाजा बनाइवरी पठाउन ।

भोकाएकी बैनीको मायालु अनुहार देखेर यसो खल्ती छामेँ । दुई रुपैयाँको एउटा सिक्का भेटियो । उसलाई केहि ख्वाउनुपर्‍यो भनी पसलतिर दगुरेँ । दुई रुपैयाँ जाने एउटा बरफमात्र पाएँ । त्यही किनेर आउँने क्रममा बैनीलाई कक्षातिर गैरहेको देखेँ । घण्टी बजिसकेको रहेछ । तैपनि हतार गरेर उसको हातमा चिसो बरफ थमाएँ । सिन्कामा समाउँदै उसले मलाई त्यो बरफ एक टुक्रा टोक्न भनी । म त्यो चिसो बरफको टुप्पापट्टिको एक टुक्रा टोकेर आफ्नो कक्षातिर दौडिएँ । मुखको टुक्रा चपाउँदै थिएँ– लौ जा, मैले त बरफको टुप्पामा राखिएको दूध, नरिवल र छोकडाको डल्लो टोकेछु । बिचरी बैनीलाई त सग्लो पानी मात्र परेछ । भोकी बैनीले त्यो पनि खान पाइन । मलाई त्यो दिनभर नरमाइलो लागिरह्यो ।

 

प्रकाशित :कार्तिक ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्