गेमिङ कन्सोलको क्रेज

- शिव मुखिया

कार्तिक ८, २०७२

भिडियो गेमको बढ्दो क्रेजसँगै गेमिङ उपकरणको बजार पनि आकासिएको छ । विशालबजारस्थित गेमर्स प्याराडाइजका सञ्चालक राकेशकुमार धनुका भन्छन्– ‘नयाँ–नयाँ गेमको विकाससँगै गेमिङ डिभाइसको माग बढेको छ ।’ 

एउटा यस्तो पुस्ता छ, जो गेमिङ डिभाइसमा पैसा खर्चन अलिकति पनि कन्जुस्याइँ गर्दैन । त्यसैले त विश्व बजारमा सार्वजनिक हुनासाथ नेपाली बजारमा समेत ती डिभाइसको माग हुन्छ । नेपाली बजारमा सोनीको प्लेस्टेसन, माइक्रोसफ्टको एक्सबक्स तथा निन्टेन्डोका निन्टेन्डो डिएसका पछिल्ला संस्करणहरू उपलब्ध छन् । गेमिङ उपकरणमा सोनी, माइक्रोसफ्ट तथा निन्टेन्डो सबैभन्दा अग्रणी एवं प्रतिस्पर्धी मानिन्छन् । 

त्यसो त सन् १९५० को दशकमै विकास भएको गेमिङ कल्चरले विश्व अर्थतन्त्रमा अहिले ठूलो हिस्सा कब्जा गरिसकेको छ । उत्तर अमेरिका, युरोप, अफ्रिका, ल्याटिन अमेरिका एवं एसियामा भिडियो गेमको कारोबार ९० हजार मिलियन डलरसम्म पुगिसकेको छ । एक अनुमानअनुसार आगामी दुई वर्षमा अर्थात् २०१७ सम्ममा भिडियो गेम्सको कारोबार यसको दुई गुणा बढी हुनेछ । विश्वको दुईतिहाइ जनसंख्या भिडियो गेमसँग जोडिएको छ । ठूला–ठूला कम्पनी गेम निर्माणमा खटिएका छन् जसको कारण निरन्तर बढ्दो यसको कारोबार नै हो । 

९० को दशकमा मारिया र कान्ट्रजस्ता गेम चल्तीमा थिए भने अहिले स्मार्टफोनमा टेम्पल रन, क्यान्डिक्रसजस्ता गेम लोकप्रिय छन् । कम्प्युटर तथा टेलिभिजन स्क्रिनमा पनि थरीथरीका गेम खेल्ने क्रम बढेको छ । अहिले भिडियो गेम विश्वकै सबैभन्दा ठूलो, विकासशील, रचनात्मक एवं सांस्कृतिक उद्योगमा दरिएको छ । यसरी भिडियो गेमले व्यापकता पाएसँगै गेमिङ डिभाइसको मागसमेत आकासिएको छ । 

८ वर्षअघि सानो गेमिङ उपकरण राखेर यसको व्यवसाय थालेका राकेशकुमार धनुका अहिलेको बजारप्रति निकै आशावादी र उत्साहित छन् । राकेश भन्छन्– ‘गेम खेल्नेहरू निकै बढेका छन्, यो हाम्रा निम्ति खुसीको कुरा हो ।’ त्योभन्दा खुसीको कुरा अहिले यस्ता गेमको प्रतियोगितासमेत हुन थालेको छ । टोलटोलमा गेमिङ स्टेसन सञ्चालनमा आएका छन् । ८ वर्षअघि दुई दर्जनजति गेमिङ स्टेसन थिए भने अहिले त्यो संख्या तीन हजार नाघेको हुन् ।

गेमिङ कन्सोल सिस्टम 

यसलाई कम्प्युटर मनिटर वा टिभी स्क्रिनमा जोडेर खेल्न सकिन्छ । कन्सोलमा क्यासेट वा डिक्स लगाएर स्क्रिनमा गेमको आनन्द लिन सकिन्छ । गेमलाई नियन्त्रण गर्न कन्सोलमा राखिएको स्विच प्रयोग गर्नुपर्छ । माइक्रोसफ्ट एक्स बक्स र सोनी प्लेस्टेसन यस्तै कन्सोल हो । 

सोनीको प्ले स्टेसन 

प्ले स्टेसन संस्करणमा सोनीले तेस्रो होम भिडियो कन्सोल प्रस्तुत गर्‍यो, २००६ मा । माइक्रोसफ्टको एक्स बक्स ३६० र निन्टेन्डो वाईलाई त्यसले ठूलो टक्कर दियो । अहिलेसम्म प्ले स्टेसनको साढे ५ करोडभन्दा बढी युनिट बिक्री भैसकेको छ । ब्लु रे डिक्स, युनिफाइड अनलाइन गेमिङ सर्भिस, प्ले स्टेसन नेटवर्क तथा ३२० गिगावाइटसम्मको हार्ड डिक्सको प्रयोगले यो कन्सोललाई निकै लोकप्रिय बनायो । यसमा कल अफ ड्युटी: ब्ल्याक ओप्स जस्ता गेमको मज्जा लिन सकिन्छ । 

निन्टेन्डो वाई 

यो एक्स बक्स र सोनी प्ले स्टेसनजस्तै भिडियो गेम कन्सोल हो, जसलाई टिभी वा मनिटरमा जोडेर खेल्न सकिन्छ । यसको विशेषता के हो भने यसलाई वायरलेस रिमोटद्वारा नियन्त्रण गर्न सकिन्छ । २००६ मा प्रस्तुत भएको यो कन्सोलको करिब ९ करोड युनिट बिक्री भैसकेको छ । यसमा १२ सेन्टिमिटरको वाइ अप्टिकल डिक्स र ८ सेन्टिमिटरको निन्टेन्ड गेम्स क्युब गेम डिस्क प्रयोग हुन्छ । यसमा सबैभन्दा लोकप्रिय गेम वाई स्पोर्ट्स हो ।

 

एक्स बक्स ३६०

कम्प्युटर गेमिङको संसारमा माइक्रोसफ्टको गर्व गर्न लायक यो उपकरण आठ करोडभन्दा बढी युनिट बिक्री भैसकेको छ । २००५ मा प्रस्तुत भएपछि यसले सोनी प्ले स्टेसनलाई टक्कर दियो । डब्ली डिजिटल साउन्डयुक्त यो कन्सोलमा अनलाइन खेलाडीहरूबीच युद्ध भिडेर आनन्द लिन सकिन्छ । यो इन्टरनेटमार्फत माइक्रोसफट्को अनलाईन सर्भिस एक्स बक्स लाइभमा जोडिन्छ । यो सामूहिक रूपमा समेत खेल्न सकिन्छ । एन बक्स ३६० मा हेलो, फिफा वल्र्ड कप, एजेन्ट अन्डर फायर तथा फ्रम रसिया विद लवजस्ता एक्स बक्स गेम एकदमै लोकप्रिय छन् । यसमा डिभिडी तथा सिडी पनि प्रयोग हुन्छ । 

काइनेट 

माइक्रोसफ्टको काइनेक्ट एक मोसन सेन्सर इनपुट डिभाइस हो, जसमा एक्स बक्स ३६० जोडेर प्रयोग गरिन्छ । सेन्सर डिभाइसले प्रयोगकर्ताको शारीरिक हाउभाउअनुसार काम गर्छ । २००१ मा सार्वजनिक गरेपछि यसले भिडियो गेमको संसारमा छुट्टै आयाम थप्यो । यो गेम खेल्न कुनै कन्सोलको वटन दबाइरहनु पर्दैन, आफ्नो हात वा खुट्टाको इसारा पर्याप्त हुन्छ । प्रयोगकर्ताको गतिविधिलाई मेसिनले कमान्ड गर्छ, जुन स्क्रिनमा देखिन्छ ।

 

पोर्टेबल गेमिङ सिस्टम 

यो गेमिङ प्रणाली सानो ह्यान्डडहेल्ड डिभाइस जस्तै हो, जुन स्मार्टफोन वा ट्याबलेटमा हुन्छ । यसलाई मनिटर वा टिभीमा जोड्न आवश्यक हुँदैन । गुणस्तरीय दृश्य र साउन्ड हुने भएकाले सानै स्क्रिन भए पनि खेल्न आनन्द आउँछ । सोनीको प्लेस्टेसन पोर्टेबल (पिएसपी) र निन्टेन्डोको थ्रिडिएस यसका उदाहरण हुन् । रेजर स्विचब्लेड, गेमब्वाइ तथा वाइ यू पनि यसैभित्र पर्छन् ।

 

प्ले स्टेसन पोर्टेबल पिएसपी 

२००४ मा सार्वजनिक भएको पिएसपीको करिब सवा ७ करोड युनिट बिक्री भैसकको छ । यो अप्टिकल डिक्स फम्र्याट प्रयोग गर्ने पहिलो र एक्लो ह्यान्डहेल्ड भिडियो गेम कन्सोल हो । ठूलो स्क्रिन, शानदार मल्टिभिडियो सिस्टम र वाइफाइ इन्टरनेट कनेक्टिभिटी यसको विशेषता हो । यसलाई प्ले स्टेसन २ र ३ का साथसाथै दोस्रो पिएसपीसँग पनि कनेक्ट गर्न सकिन्छ । मास्टर हन्टर फ्रिडम ३ यसको सबैभन्दा लोकप्रिय गेम हो । लोको रोको, गड अफ वार, वर्नआउट लेजेन्डस तथा लिटिल विग प्लेनेट यसका अरू चलेका गेम हुन् । 

निन्टेन्डो थ्री डिएस

सोनीले जस्तै जापानको अर्को कम्पनी निन्टेन्डा पनि भिडियो गेमिङ डिभाइस उत्पादन गर्ने ठूलो कम्पनी हो । यसले पहिले गेम ब्वाइ र पछि निन्टेन्डो डिएस क्याटगोरीको ह्यान्डहोल्ड भिडियो गेम कन्सोल सार्वजनिक गरेको थियो । निन्टेन्डो डिएस २००४ मा रिलिज भयो, जुन गुणस्तरिय ब्याट्री लाइफ र स्क्रिन ब्राइटनेसका कारण निकै रुचाइयो । यो पातलो र सुन्दर डिभाइस थियो, जसका दुई अरू संस्करण निन्टेन्डो डिएसआई र डिएसआई एक्सएल पछि सार्वजनिक गरियो । अहिले निन्टेन्डो–३ डिएस बढी चल्तीमा छ । यसमा अटोस्टीरियोस्कोपी प्रविधिका कारण थ्री डी इफेक्ट पैदा गरिएको छ । यसमा निन्टेन्डग्स एन्ड क्याट्स र लेजनड्स अफ जेल्डाजस्ता गेम लोकप्रिय छन् । 

गेमब्वाइ अडवास 

निन्टेन्डोको गेमब्वाइ सबैभन्दा पहिले १९८९ मा रिलिज भएको थियो, तर आज सतौं–आठौं पिँढीको भिडियो गेम कन्सोल्स आइसकेको छ । यसको करिब १२ करोड प्रति बिक्री भयो । यसको क्षमता सीमित छ र यसमा पुरानो किसिमको गेम टेट्रिस, पोकेम्यान, बेसबल तथा टेनिस आदि प्रमुख छन् ।

 

एडिक्सनबाट बचौं

भिडियो गेमले व्यापकता पाएसँगै यसको नकारात्मक पक्ष पनि देखिन थालेको छ । अहिले कतिपय युवा यस्ता गेममा निर्लिप्त देखिन्छन् । आफ्नो काम तथा पढाइ छाडेर भिडियो गेममै हराउनेहरूको पनि कमी छैन । एक अध्ययनअनुसार अमेरिकाको ९० प्रतिशत जनसंख्या भिडियो गेम खेल्छ, जसमध्ये १५ प्रतिशत गेमको कुलतमा फसेका छन् । कुलतको सिकार भएकाहरू निरन्तर १० देखि २० घन्टासम्म गेममै भुलिइरहेको हुन्छन् ।

 

एक घण्टाभन्दा वढी नखेलौ

अक्सफोर्ड युनिभर्सिटीको एक अध्ययनअनुसार यदि कुनै बालबालिकाले दैनिक करिब १ घण्टा भिडियो गेम खेल्छन् भने त्यसले उनीहरूको अध्ययनमा समेत सकारात्मक प्रभाव पार्छ । त्यस्ता बालबालिकाहरू आफ्ना स–साना समस्या समाधान आफैं खोज्न अभ्यस्त हुन्छन् । यी गेमले लक्ष्य हासिल गर्ने भावना उत्पन्न गर्छन्, जसले विद्यार्थीमा प्रतिस्पर्धाको भावना प्रबल हुन्छ । यद्यपि धेरै समय गेम खेल्दा शरीर र मस्तिष्कमा नकारात्मक असर पर्छ । 

विश्वका उत्कृष्ट १० भिडियो गेम 

-  ग्रान्ड थेफ्ट ओटो–५ (यो स्ट्रिट क्राइममा आधारित गेम हो ।)

-  स्टार वार (यो मल्टिप्लेयर अनलाइन रोल प्लेइङ गेम हो ।)

- ग्रान्ड थेफ्ट–४ (यसमा कारमुनि रहेको रेडियो स्टेसनबाट मिसन नियन्त्रण गरिन्छ ।)

-  रेड डेड रिडेप्शन (यो सिकारी जोनको जीवनमा आधारित गेम हो ।)

-  डिज्नी इनफिनिटी (यसमा डिज्नी र पिकसरको दर्जनौं चरित्र बनाइएको छ ।)

- टम राइडर (यसमा न्यू जेनरेसनको क्यारेक्टरका रूपमा प्रयोग गरिएको छ, जो युवालाई एकदमै रुचाउँछन् ।)

- अल प्वाइन्ट वुलेटिन (यो मल्टिप्लेयर अनलाइन गेम माइक्रोसफ्टका लागि विकास गरिएको हो ।)

- ग्रान्ड टुरिज्म (यो विश्वको उत्कृष्ट रेसिङ गेम हो ।)

- शेनम्यु (यो साहसिक गेम हो, जसको क्यारेक्टर टिनएजर्स हुन्छ ।)

-  क्राइसिस–३ (यसमा सन् २०४७ को न्युयोर्क सिटीको कल्पना गरिएको छ ।)

 

प्रकाशित :कार्तिक ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्