अहिले राम्रा साहित्य लेखिन थालेका छन्- बुद्धिसागर

- अश्विनी कोइराला

कार्तिक ७, २०७२

लेखक बुद्धिसागर युवा पुस्ताका आशा लाग्दा प्रतिभा हुन् । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका बुद्धिसागरको पहिलो उपन्यास ‘कर्णाली ब्लुज’ ले बिक्री र प्रशंसा दुवै कीर्तिमान कायम राखेको छ । आफूलाई पूर्णकालीन लेखकका रूपमा स्थापित गरेका बुद्धिसागरले आफूलाई लेखनबाटै जीविका चलाउने युवाका रूपमा पनि उभ्याएका छन् । यसपटक साप्ताहिकले बुद्धिसागरसँग लामो कुराकानी गरिएको थियो । 

इन्टरनेटको आगमनसँगै संसारभर पुस्तक पढ्नेहरूको संख्या घट्दै गएको विश्लेषण गर्न थालिएको छ । नेपालको सन्दर्भमा यो कत्तिको सत्य लाग्छ ?

इन्टरनेटका कारण संसारभरि पुस्तक पढ्नेहरूको संख्या बढेको छ । प्रेसमा छापिएका पुस्तक पढ्न कम भए पनि इलेक्ट्रोनिक भर्सनमा पुस्तक पढ्नेहरूको संख्या बढिरहेको देखिन्छ । नेपालको सन्दर्भमा भने इन्टरनेटका कारणले प्रिन्ट गरिएका पुस्तक नै बढी बिक्री भएको पाएको छु । फेसबुक, ट्विटरजस्ता सोसल मेडियाका कारण पाठकहरूले पुस्तकका सम्बन्धमा बहस गर्ने, राम्रा पुस्तक सिफारिस गर्ने काम भैरहेको छ । पहिले यो काम समालोचकको मात्र हुन्थ्यो । अहिले पाठक शक्तिशाली भएर आएका छन् । मेरो अनुभवमा इन्टरनेटले नेपाली साहित्यको विकास नै गरिरहेको छ । 

नेपाली सन्दर्भमा दसैं–तिहार फुर्सदको समय मानिन्छ । यो समयलाई पुस्तक अध्ययन गर्ने समय बनाउन केले रोकिरहेको छ ?

चाडपर्वमा पुस्तक पढ्ने वातावरण त्यति हुँदैन । टाढा–टाढाबाट आउने आफन्त एवं परिवारका सदस्यहरूसँग भेटघाट गर्ने, प्रेम साटासाट गर्ने अवसर हो यो । नेपालीहरू सामाजिक प्रवृत्तिका छन् । हामी आफन्त, परिवार तथा ठूलाबडालाई महत्व दिन्छौं । त्यसैले यो समयमा लामो बिदा भए पनि पुस्तक पढ्न सकिँदैन । जबकि यतिबेला धेरैको गोजीमा पैसा हुने भएकाले वर्षभरि निस्किएका पुस्तक किन्ने चलन छ । यतिबेला किनिएका पुस्तक फुर्सदमा पढिएको पनि पाएको छु । 

अहिलेको मौसममा नयाँ पुस्ताले कुन–कुन पुस्तक पढ्नुपर्छ भन्ने मान्नुहुन्छ ?

हामी राजनीतिबाट दिक्क भएका छौँ, अलिकति मुड फ्रेस हुने, साहित्यिक मूल्य भएका एवं आफ्नो रुचिका पुस्तक पढ्नुपर्छ । 

चलचित्र र पुस्तक अध्ययन गर्नुमा कति फरक छ अथवा पुस्तक नपढे के कस्तो घाटा हुन्छ ?

फुर्सदमा चलचित्र हेर्नु ठीकै हो, तर चलचित्रले मानिसमा भएको कल्पनाशीलतालाई मारिदिन्छ । चलचित्रमा त्यही कुरा देखिन्छ, जुन निर्देशकले देखाउन चाहन्छ । जबकि पुस्तकको नायक वा नायिकाको वर्णन, उनीहरूको क्रियाकलापलाई आफ्नै तरिकाले महसुस गर्न सकिन्छ । लेखकले वर्णन गरेको गाउँसँग आफ्नो कल्पनाको गाउँ जोडिन्छ । पुस्तकका कथाहरूसँग आफूलाई एकाकार गर्न सकिन्छ । नेपाली पाठकहरूले गम्भीर साहित्यभन्दा सामान्य खालका कृति रुचाइरहेका छन्, यसले

नेपाली साहित्यलाई घाटा भए जस्तो लाग्दैन ?

नेपाली पाठकले गम्भीर साहित्य पढिरहेका छैनन् भन्ने म मान्दिन । नेपाली साहित्यका चर्चित कृतिकार बीपी कोइराला, पारिजात, मदनमणि दिक्षितका पुस्तकहरू अहिले पनि नयाँ–नयाँ संस्करणमा आइरहेका छन् । माधवीजस्तो गहन कृतिको पनि बारम्बार पुर्नप्रकाशन भैरहेको छ । नयाँ निस्किएका राम्रो कृतिको बिक्री बढिरहेको छ । फेरी गम्भीर कृति कस्तालाई भन्ने ? यसमा आ–आफ्नो मूल्यांकन हुनसक्छ । कुनै पनि कृतिको मूल्यांकन दुई दशकपछि मात्र हुन्छ । हिजो शंकर लामिछानेलाई चोर लेखक भनिन्थ्यो । भूपि शेरचनलाई तुकबन्दी जोडेर लेख्ने भनेर आलोचना गरिन्थ्यो । पारिजात माक्र्सवादी भइन् भनेर उनको पनि आलोचना हुन्थ्यो । आज उनीहरू नै अमर छन् । 

नेपालमा कस्ता पुस्तकले पाठक र साहित्यको स्तर बढाउन सक्छन् ? 

विदेशमा मानिसले जस्तो पुस्तक चाह्यो त्यस्तै पुस्तक उपलब्ध हुन्छ । लामो इतिहास भएकाले सबै उमेर समूहका, सबै विचार समूहका, विभिन्न किसिमका प्रयोग भएका कृति उनीहरूले पढ्न पाउँछन् । नेपालमा भने कि त वाल साहित्य उपलब्ध छन् कि त गम्भीर भनिएका साहित्य । बीचका पाठकहरूका रुचिलाई सम्बोधन गर्ने पुस्तक नै थिएनन् । अहिले विस्तारै सबै उमेर समूहका, सबै किसिमका रुचि भएकाहरूका लागि पुस्तक प्रकाशन हुन थालेका छन् । विभिन्न उमेर समूहलाई नै लक्षित गरेर पुस्तक लेख्ने लेखकहरू पनि जन्मन थालेका छन् र त्यसलाई प्रकाशकहरूले समेत महत्व दिन थालेका छन् । 

अहिले विकसित भएको अर्को पाटो के हो भने अहिले पाठकहरू शक्तिशाली भएका छन् । पहिले ब्रान्डेड लेखकले जे लेखे पनि त्यसलाई स्वीकार गरिन्थ्यो । अहिले लेखकले धेरै मेहनत गर्नुपर्छ । कारण एकसाथ विदेशी पुस्तक र नेपाली पुस्तक पढ्ने पाठक छन् । उनीहरू हाम्रो कृतिलाई विदेशी पुस्तक र लेखकसँग तुलना गर्न सक्छन् । 

कतिपयले के भन्छन् भने पुराना साहित्यको तुलनामा अहिले साहित्यको स्तर खस्किएको छ, सहमत हुनुहुन्छ ?

सहमत छैन । हो, धेरै पुस्तक निस्किएका छन् । धेरै निस्किएकै कारण विविधता आएको छ । दुई दशकपछि अहिले प्रकाशित पुस्तकहरूमध्ये दुई–चार पुस्तकलाई राम्रो पुस्तक भनिनेछ । बाँकी पुस्तक हराउनेछन् । यस्तो पहिले पनि भएको हो र पछि पनि हुनेछ । अहिले नै मूल्यांकन गर्नु हतार हुन्छ ।

प्रकाशित :कार्तिक ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्