नो पेट्रोल नो प्रोब्लम

- रामजी बलामी

कार्तिक ७, २०७२

‘स्वास्थ्यका लागि साइकलमा सरर...’ यो हरेक साइकलप्रेमीको मुखबाट निस्कने भनाइ हो । न महँगो न त चलाउन झन्झट नै । न त सवारी जामको तनाव न त पेट्रोलको पिरलो नै । को धनी, को गरिब, अचेल स्वास्थ्य र सौखका लागि साइकल चढ्नेहरूको जमात दिनानुदिन बढ्दो छ । त्यसो त मुलुकका प्रमुख सहरहरूमा साइकल सिटीको अवधारणा पनि फस्टाउँदै गएको छ । भारतको अघोषित नाकाबन्दीसँगै नेपालमा साइकलको क्रेज ह्वात्तै बढेको देखिन्छ । काठमाडौंका सडकहरूमा सामान्य साइकलदेखि माउन्टेन बाइकसमेत बाक्लै देखिन थालेका छन् ।

साइकलबाट विश्वका १ सय ५० वटा देश घुमेका पुष्कर शाह साइकलको प्रयोग बढाउन सके आर्थिक रुपले मुलुकलाई समृद्ध बनाउन सकिने बताउँछन् । ‘साइकलको प्रयोगले पेट्रोलियम पदार्थको प्रयोग कम हुन्छ जसले एकातिर स्वदेशी पुँजी बाहिर जाँदैन भने अर्कातिर वातावरण पनि स्वस्थकर हुन्छ ।’ शाहको तर्क छ । काठमाडौं महानगरपालिकाअन्तर्गतको पर्यटन तथा सम्पदा महाशाखाका प्रमुख श्रजु प्रधान पनि मुलुकको भौगोलिक अवस्था र जलवायुअनुसार पैदलयात्रा र साइकलको प्रयोग अनुकूल भएकाले यसको प्रयोग बढाउनुपर्ने कुरा बताउँछन् । मुलुकमा पेट्रोलियम पदार्थको अभावसँगै बुटवलका युवाहरूले गत साता साइकल सिटीको अवधारणसँगै बृहत् साइकल र्‍यालीको सम्पन्न गरे । ‘सोलिडारिटी टुवार्ड्स नेस्नालिटी’ भन्ने नाराका साथ सहभागीहरूले साइकलको प्रयोग वृद्धि गर्न सन्देशमूलक ब्यानरहरू बोकेका थिए ।

पछिल्लो समय उच्चपदस्थ सरकारी अधिकारी, बैंक कर्मचारी, व्यवसायी, पर्यावरण संरक्षणकर्ता, पर्यटन प्रवद्र्धकका साथै विदेशी पर्यटकहरूसमेत साइकलप्रेमी बन्दै गएका छन । वातावरणविद् भूषण तुलाधर, पूर्व विज्ञानमन्त्री गणेश शाह, रोटरी क्लबका पूर्व अध्यक्ष सुरेन्द्र ढकाल, पूर्व प्रधानसेनापति गौरवशमशेर राणा, जलस्रोत विज्ञ ज्ञानेन्द्रलाल प्रधान, व्यवसायी शेखर गोल्छा आदि पनि साइकलका सौखिन मानिन्छन् ।

शारीरिक कसरतका लागि साइकललाई उपयुक्त साधनका रूपमा लिइन्छ । अहिले ‘मर्निङ वाक’ का क्रममा पैदल हिँड्ने भन्दा साइकलमा यात्रा गर्नेहरूको संख्या ह्वात्तै बढ्न थालेको छ । जावलाखेलका युवा सुमन पोखरेल विगत एक वर्षदेखि हरेक दिन बिहान आधा घण्टा ‘साइकल ड्राइभ’ गर्ने बताउँछन् । यसले शरिरको तौल सन्तुलित राख्नुका साथै दिनभर जाँगर बढाउने उनको अनुभव छ । 

साइकल लेन र साइकल सिटीको अवधारणा

साइकल यात्रा सरल देखिए पनि हामीकहाँ सहज भने हुन सकेको छैन । नेपालमा सवारी चालकहरूको ‘ड्राइभिङ स्टाइल’ व्यवस्थित हुन सकेको छैन । ठूला सवारीले साना सवारीलाई पेल्ने प्रवृत्ति छ जसले गर्दा साइकल चालकहरू मारमा पर्ने विश्व साइकल यात्री पुष्कर शाहको अनुभव छ । शाहका अनुसार छुट्टै साइकल लेन बनाउने र हरेक सवारी चालकलाई व्यवस्थित सवारी सञ्चालनको जानकारी दिन सके साइकलको सवारी प्रभावकारी बन्न सक्छ ।

काठमाडांैमा सडक विस्तार गर्दा साइकल लेनका बारेमा ठूलै बहस भएको थियो, जसअनुसार केही क्षेत्रमा साइकल लेन पनि बनाइएका छन् । तिलगंगादेखि सिनामंगलसम्म तथा माइतीघरदेखि तिनकुनेसम्म साइकल लेन निर्माण भएको छ । त्यसका साथै कलंकी–कोटेश्वर, कालिमाटी–बल्खु, नक्साल–बालुवाटार, बालाजु–बाइपास आदि सडकमा पनि साइकल लेन बनाउने तयारी भैरहेको छ । काठमाडौं उपत्यकालाई सन् २०२० भित्र साइकल सिटीका रूपमा विकास गर्ने अवधारणासमेत आएको छ ।

बढ्दो व्यापार

अघोषित नाकाबन्दीसँगै नेपाली बजारमा साइकलको माग बढेको व्यवसायीहरूको अनुभव छ । यसअघि दैनिक ३ वटासम्म साइकल बिक्री हुँदै आएकोमा अहिले ८ वटासम्म बिक्री हुने असनका व्यवसायी विक्रम बज्राचार्यले बताए । नेपाली बजारमा न्यूनतम ७ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मका माउन्टेन बाइक उपलब्ध छन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३ लाख ७८ हजार ७ सय ८९ थान साइकल नेपाल भित्रिएको थियो ।

नेपालमा चीन, भारत, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, दक्षिण कोरिया, रूस, साउदी अरेबिया, सिंगापुर, ताइवान, थाइल्यान्ड आदि मुलुकबाट साइकल आउने गरेको व्यवसायीहरू बताउँछन् । नेपालमा विशेषत: जाइन्ट, ट्रेक, सन्तोषा, एपेक, एवन, क्युब, भिटेक, फिनिक्स, हिरो, रोटेक्सजस्ता ब्रान्ड बढी बिक्री हुने गरेका छन् । 

साइकल एक फाइदा अनेक

स्वास्थ्यका लागि : शारीरिक तन्दुरुस्त र कसरतका लागि साइकलको यात्रा उत्तम मानिन्छ । साइकलमा यात्रा गर्दा शारीरिक अभ्यास हुने मात्र होइन जोस, जाँगर पलाउने र तौललाईसमेत सन्तुलनमा राख्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । साइकलमा यात्रा गर्दा बढी शक्तिको प्रयोग हुने र पसिना निस्कने भएकाले शारीरिक स्वस्थ्यताका लागि साइकलको यात्रा उत्तम मानिन्छ । 

प्रदूषण नियन्त्रण

काठमाडौं लगायत मुलुकका प्रमुख शहरी क्षेत्रमा वायु र ध्वनि प्रदुषण एउटा ठूलो समस्याका रुपमा देखा परेको छ, जसले विभिन्न स्वास्थ्य समस्या उत्पन्न गरिरहेको छ । श्रवणशक्तिमा कमजोरी आउने, श्वासप्रश्वास समस्या, पाचनप्रक्रियाजस्ता थुप्रै समस्या देखा परेका छन । त्यसकारण ध्वनि र वायु प्रदूषण नियन्त्रणका लागि साइकलमैत्री सहर आवश्यक छ ।

मितव्ययी

साइकल प्रयोग गर्नुको अर्काे फाइदा हो— मितव्ययिता । साइकलका लागि न पेट्रोल चाहिन्छ, न त विद्युतीय चार्ज नै । समय–समयमा हावा हाल्न र कहिलेकाहीं बिग्रिंदा मर्मत गर्नबाहेक अन्य कुनै खर्च लाग्दैन । सामान्यत: ८/१० हजार रुपैयाँमै राम्रो साइकल चढ्न पाइन्छ । 

जामबाट मुक्ति

साइकल चढ्नुको अर्काे फाइदा हो जामबाट मुक्ति । जस्तोसुकै जाममा पनि फुत्त छिर्न सकिने, पैदलमार्गबाट समेत डोर्‍याउन मिल्ने भएकाले साइकल निकै उपयोगी हुन्छ । काठमाडौंमा हुने सडक जामका लागि साइकल ठूलो वरदान नै हो । 

दुर्घटनामा कमी

एक अध्ययनले साइकल र मोटरसाइकल प्रयोगकर्ताहरू बढी दुर्घटनामा पर्ने गरेको देखाएको छ । यस्तो दुर्घटना ठूला सवारी चालकको लापरवाही र पूर्वाधारको अभावले भएका हुन् । साइकलमैत्री सडक र आचारसंहिताअनुसार चल्ने ठूला सवारीसाधन भए यस्तो दुर्घटना हुने थिएन । नेपालमा ठूला सवारी साधनहरू साइकललाई हेपेर ओभरटेक गर्छन् । यसले पनि साइकल प्रयोगकर्ताहरू दुर्घटनामा पर्ने गरेका छन् । साइकल चालकहरूले आफ्नो लेनअनुसार साइडबाट यात्रा गर्दा यस्ता जोखिम मोल्नुपर्दैन ।

प्रकाशित :कार्तिक ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्