नाकाबन्दीको दसैं र घर यात्रा

- सुविन भट्टराई

कार्तिक १, २०७२

दिमागमा अनायासै गुञ्जियो, ‘दसैँ आयो ।’

करिब पाँचदेखि दस सेकेन्डसम्म मन फुरुङ्ग भए पनि त्यो नाघिसकेपछि खुसी पनि मनसम्म आउने बाटोको नाकाबन्दीमा फस्यो ।

 यी र यस्तै विचारसँगै गाउँबाट बा’को पनि फोन आयो । एकै बेतमा कति थोक आउन सकेका †

‘टिकट पाइस् त घर आउने ?’

‘काँ’बाट पाउनु बुबा ? सरकार आफ्नो व्यवस्था आफैँ गर् भन्छ ।’

‘अनि के व्यवस्था गरिस् ?’

‘के व्यवस्था गर्नु ? यसपालि नआउने अवस्था भो ।’

‘के खाएर बस्छस् त ?’

‘गोता खाएर बस्छु बा ।’ यसो भन्दा मनै अररियो ।

‘थुक्क नालायक ! तलाइँ गोता खान काठमाडौँ पठाएको हुँ ?’ उसै पनि धोध्रो बाको आवाज 

झनै धोध्रियो ।

‘के गरौँ त ? नाकाबन्दी छ ।’

‘लौ सुन्, खुरुक्क झोलाझ्याम्टा बाँध र निक्ली त्यहाँबाट ।’

‘कसरी निस्कौँ ? गाडी 

त पाइन्नन् ।’

‘अनि के त ? त्यै अनिकालमा दसैँ काट्छस् ?’

‘खै ।’ बडो लुम्रे पारामा खिस्रिक्क पर्दै जवाफ दिएँ ।

‘हेर् बाबु । तँ यहाँ यत्रा–यत्रा पहाड चढेर, चट्टान फोरेर हुर्किएको मान्छे पो होस् त । मनका मन धान बोकेको मान्छे । एक हल गोरुले जोत्ने खेत एक्लैले खनेको मान्छे । रूखका बडेमानका मूढा घण्टा–दुई घण्टामै चिर्थिस् । तीन जना बराबरले बोक्ने घाँसका भारी पनि एक्लैले बोकेको मान्छे । कहाँ गयो त्यत्रो शक्ति ? कहाँ गयो त्यो जोस, जाँगर र सीप ? याद गर् त, गाईको शुद्ध दूध, दही, घिउ खाएर हुर्किएको मान्छे पो होस् त । के काठमाडौँले त्यो सप्पै चुस्यो ?’

बाले भनेपछि झसङ्ग भएँ । मैले त आफैँलाई बिर्सिसकेको पो रहेछु । कहाँ गाउँमा कोसौँ हिँड्दा रत्तिभर नगल्ने मान्छे, आजकाल काठमाडौँमा आधा घण्टा कुरेर पन्ध्र मिनेट गाडी चढेर यात्रा गर्ने भएछु । काठमाडौँले साँच्चै अल्छे बनाएछ । चार पाइला नहिँड्दै गल्ने बनाएछ । जबदेखि गाउँबाट सहर छिरेँ, बजारजस्तै चल्ने बनाएछ । 

‘केही छैन । हिम्मतले काम लिई । थपक्क झोलामा दुई जोर कपडा हाल र हिँड् । भोलि हिँडिस् भने पर्सि राति नभए निपर्सिसम्म त पक्कै आइपुग्छस् । यत्रो दिनसम्म काठमाडौँमा कुहिएर बस्नुभन्दा दुई दिन दु:ख गरेर हिँड् । तँ बज्यालाई त्याँ हरेस खान पठा’का हौँ हामीले ? यहाँ गाई भर्खर ब्याएको छ, उसै पनि दूध खाइनसक्ने गरी छेलोफेलो छ । तँ बज्यालाई भनेरै पालेर राखेका तीन–तीनवटा खसी छन् । टन्न मासुभात खालास् । पिङ हालिहाल्छन् गाउँमा बर्सेनि । धान पाकेर चारैतिर रहरलाग्दो देखिया छ । न यहाँ कुनै नाकाबन्दी छ, न कुनै छेकबन्दी । उही गाडी जाबो पाइनँ भनेर त्याँ एक्लै कोच्चिएर बस्ने कुरा गर्छस् † खुरुक्क भोलि नै हिँडिहाल् ।’

बाका कुराले साँच्चै ऊर्जा दियो । पूरै त नभनौँ आंशिक रूपमा म पुरानो उस्बेलाको गाउँको बासिन्दाझैँ भएँ । 

भोलिपल्ट बाले भनेबमोजिम झोलामा दुई जोर कपडा हालेँ र हुइँकिएँ । सामाखुसीमा पुगेर कलंकी जाने गाडी कुर्न थालेँ । प्रत्येक गाडीका छतसमेत प्याक थिए । मेरो पालो लखरलखर हिँड्न थाले । जेसुकै होस् । कुनै बेला त्यत्रो बिघ्न घिउ खाएको ज्यान पो ! बरु एक घण्टा ढिलो पुगौँला । आखिर पुग्ने त आफ्नै गाउँ न हो † आफ्नै घर न हो । पेट्रोल नभए पनि, डिजेल नभए पनि दुईवटा खुट्टा मज्जाले चलुन्जेल जिन्दगी पनि मज्जाले चल्छ !

 

प्रकाशित :कार्तिक १, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्