चाडबाड मान्न हवाइ यात्रा

आश्विन २८, २०७२

झन्डै दुई महिनादेखि चल्दै आएको तराई–मधेस आन्दोलनका कारण पूर्वपश्चिम राजमार्गमा यातायात सेवा ठप्प छ भने यात्रा असुरक्षित भएपछि घर पुग्ने भरपर्दो साधन हवाईजहाज हुन पुगेको छ । अधिकांश यात्रु जिल्ला र घर पुग्न हवाई मार्ग नै प्रयोग गर्न थालेको सीता एयरकी मंजु धिताल बताउँछिन् । धिताल भन्छिन्– अहिले त कुनै समस्या छैन, तर दसैंतिहारमा विमान कम्पनीहरूले यात्रुको चाप थेग्न गाह्रो पर्छ । 

अहिले दैनिक २२ सय यात्रुलाई सेवा दिँदै आएको बुद्ध एयरसँग आन्तरिक उडान गर्ने आठवटा जहाज छन् । बुद्ध एयरले देशका विभिन्न आठ स्थानमा नियमित सेवा दिँदै आएको छ । दसैं–तिहारताका बुद्ध एयरबाट यात्रा गर्ने यात्रुको संख्या दैनिक झन्डै ३ हजार ५ सय पुग्छ –बस्नेत बताउँछन् । यसपालिको दसैंतिहारमा यात्रुको चाप थप बढ्ने बस्नेतको अनुमान छ । यस्तो अवस्थामा यात्रुहरूले बेलैमा टिकट सुरक्षित गर्नुपर्ने उनको सुझाव छ । होइन भने टिकट नपाइने समस्या आउन सक्छ । बुद्ध एयरले फोन तथा अनलाइनबाट पनि टिकट काट्न सकिने व्यवस्था मिलाएकाले बुद्ध एयरको टिकटमा कालोबजारीको कुनै सम्भावना नरहेको उनी बताउँछन् । विराटनगर, धनगढी, नेपालगन्ज, पोखरा, भरतपुर, जनकपुर आदि सहरमा नियमित सेवा पुर्‍याउँदै आएको बुद्ध एयरको टिकट ‘बुद्ध एयर डककम’ मा गएर बुकिङ गर्न सकिन्छ । 

आन्तरिक उडानमा सबैभन्दा बढी गन्तव्यमा सेवा पुर्‍याउँदै आएको सरकारी वायु सेवा कम्पनी नेपाल वायु सेवा निगमसँग अहिले ५ वटा आन्तरिक उडान गर्ने जहाज छन् । ती पाँचवटा जहाजबाट निगमले देशका विभिन्न २५ स्थानमा सेवा पुर्‍याउँदै आएको छ । निगमको काउन्टर, एजेन्ट तथा फोनबाट पनि टिकट बुक गर्न सकिने व्यवस्था रहेको नेपाल वायु सेवा निगमको निजी विमान कम्पनीको दाँजोमा सबैभन्दा सस्तो भाडादरमा सेवा पुर्‍याउँदै आएको छ । 

६ वटा जहाज रहेको यती एयरलाइन्सले देशका विभिन्न ९ वटा गन्तव्यमा सेवा पुर्‍याउँदै आएको छ । यति एयरलाइन्सले धनगढी, नेपालगन्ज, भैरहवा, पोखरा, भरतपुर, विराटनगर, भद्रपुर, तुम्लिङटार, जनकपुर आदि सहरमा दैनिक आतेजाते गरी ३० वटा हवाई उडान गर्दै आएको छ । त्यस्तै यति एयरलाइन्ससम्बद्ध तारा एयरले ७ वटा जहाजमार्फत लुक्ला, फाप्लु, जोमसोम, बाजुरा, जुम्ला, रुम्जाटार, लामिडांडा, खानी डाँडा, सिमिकोट, रारा, डोल्पा, भोजपुर जस्ता ठाउँमा उडान भर्दै आएको छ । दसैंतिहारमा घर जान चाहने यात्रुले कम्तीमा १५ दिनअघि टिकट काट्दा सुरक्षित र सहज रूपमा टिकट पाउन सक्ने तथा टिकट महँगो पर्ने समस्याबाट बच्न सकिने यति एयरका मार्केटिङ प्रमुख भीमराज राईले बताए । राईले यति एयरलाइन्स र तारा एयरको टिकट ‘यति एयरलाइन्स डटकम’ मा गएर काट्न सकिने जानकारी पनि दिए ।

चाडबाडमा विभिन्न गन्तव्यहरूमा छिटो पुर्‍याउन आन्तरिक हवाई सेवाले ठूलो भूमिका खेल्दै आएको छ ।  ‘चाडबाडमा सजिलो र छिटो यात्रा गर्न मात्र होइन, रहर पुर्‍याउन पनि मानिसहरू हवाई यात्रा गर्छन् ।’ हवाई व्यवसायीहरू अनुभव सुनाउँछन् । पर्यटन वृद्धिसँगै आन्तरिक हवाई यात्रुहरूको संख्या बढ्दै गएपछि अहिले देशमा आन्तरिक निजी हवाई कम्पनीहरू पनि बढ्दै गएका छन् । देशका विभिन्न ५१ विमानस्थलमध्ये चालू ३६ विमानस्थलमा विभिन्न १० वटा निजी वायुसेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

 

प्रकाशित :आश्विन २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्