वडा नम्बर छ र नेपाली सिनेमा

- मनोज गजुरेल

आश्विन २२, २०७२

धेरै भयो नेपाली सिनेमाको कुरा नगरेको  । आजको विश्लेषणमा यही विषयमा कुरा गरौं भन्ने गजुरियल ठम्याइ रह्यो । ठम्याइ यस कारण रह्यो कि राम्रा–नराम्रा जस्ता भए पनि हाम्रालाई माया गर्ने बेला हो यो । अहिले हामी हिन्दुस्तानी राजनीति र हिन्दी सिनेमाको प्रहार खेपिरहेका छौं । त्यसबाट मुक्त हुन नेपाली चलचित्रलाई प्रोत्साहित गरेर नागरिकहरूलाई सांस्कृतिक रूपमै नेपाली बनाउन सकिन्छ भन्ने गजुरीयल निष्कर्ष छ । 

एउटा समय थियो, यो विश्लेषक नेपालका नायिकाको खुब उछितो काड्थ्यो । भन्थ्यो कि उनीहरू बडो गज्जबसँग अंग्रेजी बोल्छन् । एक्चुअल्ली, आईमिन, आउच्च, ओह, नो जम्मा यति पाँचवट शब्दलाई जिब्रो बटाटेर बोल्न जानेपछि नायिका भइन्छ भन्ने गजुरियल बङ्ग्याइ थियो, तर अहिले समय बदलिएको छ । शिक्षाकोस्तर, चेतनास्तर र बौद्धिकस्तर निकै माथि भएका नायिकाहरू अहिले नेपाली सिने क्षेत्रमा उपस्थित छन् । उनीहरूले हौसला पाउनुपर्छ, हामी आशावादी हुनुपर्छ ।

यो क्षेत्रमा अंग्रेजी भाषामा राम्रो दख्खल भएका नायिकाहरूको आगमन भैसकेको छ । उनीहरूको शैक्षिक स्तरलाई लिएर गरिने उक्त व्यङ्ग्य साँच्चिकै पुरानो भैसकेको गजुरियल ठम्याइ छ । उदाहरणका लागि प्रियंका कार्की, निशा अधिकारी, नम्रता श्रेष्ठजस्ता नायिकाले त्यो व्यंग्यलाई गलत सावित गराइदिएका छन् । यो नेपाली सिनेमाको सकारात्मक पाटो हो भन्ने गजुरियल ठम्याइ छ ।

हिरोइन र नायिका शब्द उस्तै भए पनि गजुरियल अर्थ फरक छ । 

सिनेमा खेलेपछि जो पनि हिरोइन हुन सक्छन् तर नायिका बन्नलाई पर्दामा र नपर्दामा दुवैतिर क्रियाशील रहन सक्नुपर्छ । नेपाली चलचित्रले बिस्तारै नायिकाहरू पनि पाउँदै गएको गजुरियल बुझाइ छ । सिनेमाको पर्दामा प्रभाशाली हिरोइन निशा अधिकारी सगरमाथा चढेर पर्दाबाहिर पनि नायिका बनेकी छिन् । केकी अधिकारीहरू सिनेमाबाहिर पनि सामाजिक कामहरूमा क्रियाशील देखिँदा भन्न सकिन्छ, नेपाली हिरोइनहरू नायिका पनि बन्ने अवस्थातर्फ अग्रसर छन् ।

हिरोको कुरा पनि त्यस्तै थियो । उतिबेला ठूलो छाती भएपछि हिरो बनिहालिन्थ्यो । अलिकति पैसा लगानी गरेपछि मेन रोल मिलिहाल्थ्यो । हिरो जो पनि बन्न सक्थ्ये तर नायक बन्न गाह्रो थियो । चलचित्रमा देखिने हिरोइज्ज बाहिरचाहिं आवारागर्दीमा परिणत हुन्थ्यो । अहिले स्थिति बदलिएको छ । जीवन लुइँटेल कविता लेख्छन् । राजबल्लभ कोइराला कथा लेख्छन् । दयाहाङ सात्विक छन्, दीपक ध्यान गर्छन् । सिनेमाका हिरोहरू समाजमा पनि नायकोन्मुख भैरहेकाले बौद्धिक समाजले नेपाली चलचित्रलाई माया गर्नुपर्ने गजुरियल आह्वान छ ।

सिंगो सिनेमाको पनि कुरा गर्नुपर्छ । हिजोअस्ति नेपाली सिनेमालाई पनि धेरै व्यंग्य गरियो । आजभोलि पनि गरिनेछ । हाम्रा अधिकांश सिनेमामा लास्टमा हिरोले जित्थे, एक जनाले दस जनालाई मार्न सक्थ्यो । हिरो देख्नासाथ गुन्डाहरूको भागाभाग हुन्थ्यो । संवाद मिलेको हुँदैनथ्यो । आग्राको कथा गाग्रामा लगेर जोडिन्थ्यो । 

अहिले समय बदलिएको छ । कथामा केवल सिनेमाको कथा नभएर जनजीवनका व्यथाहरू पनि पाइने गरेको छ । राम्रा सिनेमा बन्ने क्रम बढेको छ । लुट, टुल्के, वडा नम्बर ६ जस्ता चलचित्रले नेपाली सिनेमाप्रतिको पुरानो बुझाइमा परिवर्तन ल्याइरहेको गजुरियल ठम्याइ छ ।

गजुरियल विश्लेषकले पछिल्लो सयममा वडा नम्बर ६ को भ्रमण गर्‍यो । लामो समय टेलिभिजनमा जमेका कलाकारहरूको यो वडा नम्बर ६ को यात्रा गरिसकेपछि गजुरियल मनमा विश्लेषणहरू दौडिइरहेका छन् ।

अब नेपाली सिनेमा सामाजिक दायित्वबोधको मार्ग द्रुतगतिमा अघि बढिरहेको छ । पातलो शरीर भएका मात्र नायिका र बलिया पाखुरावाला मात्र नायक हुन्छन् भन्ने परम्परा तोड्ने क्रम अगाडि बढेको छ । कथामा जोकैजोक वा बिजोगैबिजोग मात्र होइन, आँसु र हाँसोलाई सँगै लान सकिने रहेछ । विदेशी सिनेमातिर भौंतारिएका नेपाली पर्यटकहरूलाई तानेर आन्तरिक पर्यटनको विकास गर्न सफल भएको छ वडा नम्बर ६ । वडा अध्यक्ष दीपकराज गिरी तथा उनको समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई । 

अन्त्यमा, नेपाली माटो, मन एवं आवश्यकतालाई पहिचान गरेर बनिरहेका, बन्न लागेका अनि बनाउने सोच बनाइरहेका सबै सर्जकलाई अग्रिम शुभकामना ।

 

प्रकाशित :आश्विन २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्