हङकङमा हामी उठ्ने छौं (फोटो फिचर)

- मुकुन्द बोगटी

आश्विन १७, २०७२

‘हामी उठ्ने छौं’ अभियानद्वारा हङकङमा पहिलोपटक सन्देशमूलक मनोरंजनात्मक कार्यक्रमको आयोजना गरियो । ‘नितान्त फरक र विशेष’ भनिएको उक्त कार्यक्रममा भूषण दाहालले नायक राजेश हमालसंग आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘फायरसाईड’ संचालन गरेका थिए । दर्शकको सामुन्ने भएको उक्त कार्यक्रम दर्शकले नौलो मानेका थिए । 

नायक सरोज खनाल र सदाबहार नायिकाको उपमा पाएकी करिश्मा मानन्धरले गीति नाटक ‘प्रियसीका यादहरू...’ मञ्चन गरेपछि कार्यक्रममा बेग्लै रौनक थप्यो । 

हामी उठ्ने छौं अभियानमा नव–प्रतिभाका रुपमा छनौट भएकी १२ बर्षिया पूजा राना मगरले राष्ट्रिय भावनाले ओतप्रोत गीतमा प्रस्तुत गरेको नृत्यले सुरुमै दर्शकको मन जितेको थियो । पछिल्लोसमय चलचित्र निर्देशनमा समेत जमेका दिनेश डिसीको उद्घोषण कलाले दर्शकहरूले हाँस्य आनन्द पाएका थिए । 

नाट्यकर्मीद्वय सरिता गिरी र सरोज खनालले प्रस्तुत गरेको ‘हाम्रो आवाज’ नाटकले हङकङेली दर्शकलाई पटक–पटक भावुक बनायो । ‘एक नेपाली जो जहाँ भएपनि’, भन्ने अभियानकै थिममा बोकेको नाटकले मुलुकका लागि केही गर्नुपर्छ भन्ने सार बोकेको थियो । 

अभिनेत्री सुष्मा कार्कीले ‘हिमाललाई ढाक्यो कान्छा...’ बोलको सालिन गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । दर्जनौं पटक कभर गीत बनेको रेशम फिलिलिको पिरतीको छाता ओढौंन गितमा सोही चलचित्रका नायक विनय श्रेष्ठ र नायिका मेनुका प्रधानले पहिलो पटक स्टेजमा प्रस्तुती दिएका थिए । आफ्नो गीतमा दर्शकलाई नचाउन सक्ने क्षमता राख्ने गायिका कोमल ओलीले केहीलाई स्टेजमै बोलाएर नचाईन् । 

गायक दीपक लिम्बूको ‘यहाँ देशको छ चिन्ता...’, गीतले दर्शकलाई भावुक बनाएको थियो । ‘रातो टिका निधारमा टलक्कै टल्कियो...’, गीत पृष्ठभूमिमा बज्यो । महानायक राजेश हमाल स्टेजको कुनाबाट फुक्त निस्किए । उनीसँग कुम जोड्न आइपुगिन सरिता गिरी र सुष्मा कार्की । चर्को ताली र हुटिङले हल गुन्जाएमान भयो । 

हङकङ नेप्लिज् तेक्वान्दो एसोसियसनद्वारा आयोजित कार्यक्रममा दर्शकको सहभागिता पनि विशेष रह्यो । सहभागी दर्शकले गुरुङ, राई, लिम्बू, मगर, नेवार, तामाङ, शेर्पा लगायतका राष्ट्रियता झल्कने पहिरनमा सहभागी भएका थिए भने भूतपूर्व बिट्रिस र भारतीय गोर्खाहरू पनि एकैखाले पहिरनमा कार्यक्रम हेर्न सहभागि भएका थिए । 

 

तस्बिरहरू : विनय शाह

प्रकाशित :आश्विन १७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्