अहिलेको नागरिक दायित्व

- मनोज गजुरेल

आश्विन १७, २०७२

अहिलेको युगमा इन्धन प्राथमिक आवश्यकता हो   । इन्धनको अभावमा देश अशान्त हुन्छ, कमजोर बन्छ र थला पर्छ  । यस्तो अवस्थामा नागरिकले गम्भीर दायित्वबोध गर्नुपर्ने गजुरियल ठम्याइ छ  । अहिलेको संकट थोरै हाम्रा कारण र धेरैचाहिं छिमेकीका कारणले आएको हो  । अभावको यो अवस्थाको सामना गर्न नागरिक दायित्व के–के हुन सक्छ त  ? 

थाहा भएकै कुरा हो, इन्धन नभएपछि गाडी चल्दैनन्  । गाडी नचलेपछि अत्यावश्यक सामग्री आउँदैनन्  । तिनको अभावमा जीवन चलाउन अप्ठेरो हुन्छ  । खाद्य सामग्री नहुँदा भोकले सताउँछ  । भोक लागेपछि रिस उठ्छ  । रिसको सुरमा जे पनि हुन सक्छ  । हो, यही अवस्थामा हामीले संयमित निर्णय, संयमित बोली र संयमित काम गर्नुपर्ने हुन्छ  । 

राष्ट्र अन्यन्तै जटिल मोडमा छ  । यो अवस्था कसको कारणले आयो भन्ने विवादतिर लाग्ने बेला यो होइन, त्यसको विश्लेषण देश पूर्ण रूपमा निको भएपछि गरौंला  । अहिले समस्याको सामना कसरी गर्ने भन्ने हो  । पेट्रोल नपाएको झोक सरकारमाथि खन्याएर समस्याको समाधान निस्कँदैन  । ग्याँस नपाएको आक्रोश नेतामाथि खन्याउने बेला पनि यो होइन भन्ने गजुरियल ठम्याइ छ  ।

राष्ट्रिय विपत्तिमा प्रत्येक जनता जननेता हुन्, हरेक सचेत नागरिक जनसरकार हुन्  । यस्तो अवस्थामा अरूलाई यसो गर्नोस्, उसो गर्नोस् भनेर सिकाउन सजिलो छ, मैले के गर्नुपर्छ भन्ने ठम्याउन अप्ठ्यारो  । के गर्दा ठीक हुन्छ, के गर्दा गलत  ? भन्ने कुराको मूल्यांकन गर्ने बेला हो यो  । गजुरियल विश्लेषकले अब के गर्छ भन्ने कुराको घोषणा यस प्रकार छ :

इन्धन अभावका कारण स्कुलको गाडी आउन सकेन भने म आफ्नोमा इन्धन हुन्जेल आफैं बच्चालाई स्कुल पुर्‍याउँछु  । आफ्नो सकिएपछि सार्वजानिक यातायात प्रयोग गर्नेछु  । ती पनि चल्न छाडेपछि पैदल लाने–ल्याउने काम गर्नेछु  । पैदल हिँड्न गाह्रो भएपछि घरमै कोर्स पढाउन सहयोग गर्नेछु भन्ने गजुरियल योजना छ  ।

घरमा ग्याँस सकिन लागेको छ  । के गर्ने होला  ? यो अवस्था गजुरियल आह्वान यस्तो छ– दुई छाक खाना एकैपटक तयार गरौं  । बिहान भात खाऔं, बेलुका त्यसैलाई फ्राइड राइस बनाऔं  । दाल दुई छाकका लगि एकैपटक तयार गरौं  । सधैं भात नै खानुपर्छ भन्ने पनि छैन  । कहिलेकाहीं गोलभेंडाको अचारसँग रोटी ग्रहण गरौं  । हप्तामा एक–दुई छाक चिउरा खाँदा पनि केही फरक पर्दैन  । पानी उमाल्नुभन्दा शुद्धीकरण गर्ने औषधीको प्रयोग वा प्राकृतिक उपाय अवलम्बन गर्दा पनि इन्धनको बचत हुन्छ भन्ने गजुरियल ठम्याइ छ  । 

आफ्नोमा सकियो भने के गर्ने होला फेरि  ? त्यस्तो अवस्थामा ऐंचो–पैंचोको सूत्र प्रयोग गर्नुपर्छ  । यो नेपालीहरूको सुन्दर पहिचान हो  । नुन सकियो भने छिमेकीसँग पैंचो मागौं  । आफ्नो चिनी छिमेकीलाई पैचो दिउँm  । पैंचो भीख होइन, मित्रताको उत्कृष्ट रूप हो  । ऐंचो–पैंचोले बिग्रिएको सम्बन्धलाई सपार्ने, सुमधुर बनाउने काम गर्छ भन्ने गजुरियल ठम्याइ छ  ।

 बन्दैबन्दका क्रममा हिन्दी भाषाका च्यानल पनि बन्द भएपछि गृहिणीहरूलाई पट्यार लाग्न सक्छ  । दिन बिताउन कठिन हुन सक्छ  । यस्तो बेलाको उपयोग सकारात्मक हिसाबले गरौं  । राम्रा किताब पढौं  । करेसाबारीलाई समय दिऔं  । नेपालकै समाचार, चलचित्र तथा सिरियलहरू हेरौं  । बलिउड र हलिउडको सैर गर्ने हाम्रो मस्तिष्कलाई नेपाली संस्कृतितिर फर्काउने उत्तम अवसर पनि यही हो भन्ने गजुरीयल ठम्याइ छ  ।

मोटरसाइकलमा पेट्रोल सकियो वा सार्जजनिक यातायातका साधन पाइएन भने जुलुस निकाल्नतिर नलागौं  । समयमै विकल्पतिर लागौं  । समयमै सुतौं, चाँडै उठौं  । काममा जानु छ, अफिस पुग्नु छ भने एक घण्टा चाँडै हिँडौं  । ढिलो भएको दिन पाइलाको गति अलि बढाऔं  । स्वास्थ्य पनि राम्रो हुने, समयको सदुपयोग पनि हुने भएकाले पैदल हिंड्ने बानी बसाउनुपर्ने गजुरियल ठम्याइ छ  ।

बिर्सिएका साथीहरू खोजौं  । खोज्न आउनेसँग मित्रता गाँसौं  । साथीसँग इन्धन भए तपाईंलाई ड्रप गरिदिन्छन्  । तपाईंसँग भए साथीलाई पिकअप गर्न सक्नुहुन्छ  । दुवैसँग नभए सँगसँगै आउजाउ गर्न सकिन्छ  । बाटो पनि काटिने, दोस्ती पनि गहिरो हुने भएकाले यस्तो अवस्थामा मित्रतालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ  ।

 

प्रकाशित :आश्विन १७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्