सुपरहिरो विमल

- विदुर खतिवडा

आश्विन ८, २०७२

साफ फुटबल च्याम्पियनसिपका क्रममा पाकिस्तानविरुद्धको गर या मरको खेलमा इन्ज्युरी समयमा गोल गरेर १५ वर्षे ठिटो विमल घर्ती मगर एकाएक स्टार बनेका थिए । विमलको उक्त गोल उनको जीवनकै महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ पनि सावित भयो । त्यो खुसीले विमल आल्हादित हुनु स्वभाविक थियो, किनभने उनको त्यो एउटा गोलले राष्ट्रको शान उचो गरेको थियो । पाकिस्तानसँग लगभग हार तय भैसकेको अवस्थामा अतिरिक्त समयमा विमलले गरेको त्यो गोलले खेललाई बराबरीमा ल्याएपछि नेपाल सेमिफाइनलको यात्रा तय गर्न सफल भएको थियो । विमलले गोल गरेपछि सम्पूर्ण नेपालीले उनलाई मनैबाट धन्यवाद टक्र्याए र उनी सेलिब्रेसनको नायक बने ।

आफ्ना कारणले हासिल त्यो जितपछि विमल अत्यन्तै खुसी थिए, यद्यपि अर्को दृष्टिले भने उनी हल्का निराश पनि भए । निराश हुनुको कारण विमलको त्यो उपलब्धि हेर्न उनका बुबा यो धर्तीमा थिएनन् । ती पिता छोरा विमल चर्चित फुटबलर भएको हेर्न चाहन्थे । त्यो गोललाई विमलले दुर्घटनामा वितेका बुबाप्रति समर्पण गरे । विमल सम्झन्छन्– ‘सबैतिर मेरो चर्चा थियो, म पनि खुसी थिए, तर बुबा भैदिनुभएको भए, उहाँ मप्रति कति गर्व गर्नुहुन्थ्यो होला जस्तो लागिरह्यो ।’ विमल सानो छँदै उनका बुबा मोटरसाइकल दुर्घटनामा परेर दिवगंत भएका थिए । 

तत्कालीन फुटवल स्ट्राइकर वसन्त थापा र विमलका पिता साथीभाइ थिए । यी दुई परिवार पारिवारिक रूपमै निकट थिए । विमल सानै थिए, बुटवलको त्यो एक दिन, नेपाल प्रहरीमा उनका पिताले स्ट्राइकर वसन्त थापालाई देखाउँदै फुटबलर भनेको यस्तो हुनुपर्छ भनेर विमललाई सुनाए । ६ वर्षे विमललाई त्यो कुराले गहिरो प्रभाव पार्‍यो । ‘बुबा म फुटबलर भएको हेर्न चाहनुहुन्थ्यो भन्ने कुरा उक्त घटनापछि नै थाहा भयो,’ विमल सम्झन्छन्–‘बुबाले फुटबल खेल्नुपर्छ भनेर त त्यति भन्नुभएन, तर उहाँको अन्तर्मनको चाहना मैले फुटबलमै राम्रो करियर बनाएको हेर्ने रहेछ भन्ने बुझें ।’ त्यसो त फुटबलरका रूपमा राष्ट्रिय टिममा छनौट हुनु र त्यसमा पनि उत्कृष्ट खेलाडीको पहिचान बनाउनु अत्यन्तै कठिन काम थियो । यसकारण बाबुले छोरोलाई फुटबल खेल्ने वातावरण उपलब्ध गराए पनि छोराको फुटबल करियर कहाँसम्म पुग्छ भन्ने अनुमान भने गर्न सकेका थिएनन् । आज पिता छैनन् तर विमल नेपाली फुटबलरका रूपमा शिखर यात्रामा छन् । 

हालै सम्पन्न अन्डर नाइन्टिन साफ च्याम्पियनसिप सुरु हुनुपूर्व बेल्जियममा रहेका विमल खेल्न आउलान् कि नआउलान् भन्ने चिन्ता धेरै फुटबल प्रेमीमा थियो । विमल आए नेपालले साफ च्याम्पियनसिप जित्न सक्छ भन्ने भावनाले पनि यसमा काम गरेको थियो । नभन्दै अन्डरनाइन्टिन क्याप्टेन विमलले नेपाल आएर २२ वर्षदेखिको उपाधिको भोको नेपाललाई उपाधि दिलाए । अन्डर नाइन्टिन साफ च्याम्पियनसिपमा भुटान विरुद्धको खेलमा ह्याट्रिक गरेका विमलले अरू खेलमा गोल गर्न सकेनन् तर उनको खेलशैलीले धेरैको मन जित्यो । उनलाई विदेशी टिमले मार्क गर्दा अन्य नेपाली खेलाडीले गोल गर्ने अवसर पाए । विमल भन्छन्– ‘उमेर समूहको प्रतिस्पर्धामा भन्दा पनि राष्ट्रिय टिमका तर्फबाट नेपाललाई उपाधि दिलाउने खेलमा महत्त्वपूर्ण खेलाडीका रूपमा आफूलाई उभ्याउने चाहना छ ।’ 

विमलले १४ वर्षको उमेरमै नेपाली राष्ट्रिय टिमबाट बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । त्यसको अर्को वर्ष पाकिस्तानविरुद्धको खेलमा अन्तिम समयमा उनलाई मैदान प्रवेश गराइएको थियो । उक्त खेलमा विमललाई खेलाउने प्रशिक्षकको निर्णयलाई उनले निरर्थक हुन दिएनन् । अझ सधैं उत्कृष्ट फिनिसरको खाँचो महसुस गरिरहेको नेपाली टिमलाई गोल गरेर सम्भावनायुक्त स्ट्राइकरका रूपमा आफूलाई उभ्याउन सफल भए । १३ मिनेटमै पाकिस्तानले सुन्दर गोल गरेपछि हतास मनस्थितिमा खेलिरहेको नेपालले बारम्बार प्रयास गर्दा पनि गोल गर्न सकेको थिएन् तर १५ वर्षको ठिटोले ९० मिनेटपछिको खेलमा गोल गरिदिए । त्यो १ गोलले नै विमललाई आमनेपालीमाझ चिनाइसकेको थियो । हिजोसम्म एन्फा एकेडेमीमा फुटबल खेलाडी बन्न संघर्षरत ठिटो एकाएक सेलिब्रेटी बनेको थियो । हेर्दा आकर्षक देखिने यी तन्नेरी युवतीहरूमाझ पनि उत्तिकै लोकप्रिय भए । यसैपनि फुटबलरहरू युवतीहरूको आकर्षणमा पर्छन्, त्यसमा थप ५ फिट ११ इन्च उचाइका विमलको अपिलिङ फिगर धेरैलाई आकर्षित गर्ने किसिमको छ । 

नाम र प्रसिद्धि कमाइसकेका विमल अहिले फुटबल करियरकै कारण उल्लेख्य आम्दानी गर्ने खेलाडी बन्ने पथमा अग्रसर छन् । सामाजिक सञ्जालमा पनि उनको क्रेज लोभलाग्दो देखिन्छ । उनका फ्यान फलोअर उत्तिकै छन् । फेसबुकमै उनको पेजका करिब १ लाख फ्यान छन् । विमललाई हुरुक्क भएर मन पराउनेहरू पनि छन् । उमेरमा केही वर्ष जेठी भए पनि एक सेलिब्रेटीले केही अघि विमल आफूलाई अत्यन्तै मनपर्ने भएकाले उनीसँग विवाह गर्न समेत आफू तयार रहेको बताएकी थिइन् । विमललाई प्रेमप्रस्ताव पनि आइरहेकै छन्, तर बेल्जियमको करियर राम्रो भएपछि मात्र प्रेम र विवाहका सम्बन्धमा सोच्ने उनी बताउँछन् । 

विमल भन्छन्– ‘१५ वर्षको उमेरमा मलाई पनि प्रेम गर्ने रहर थियो तर अहिले त्यस्तो सोच आउँदैन्, युवती साथीहरू छन्, उनीहरूले भेटौं भन्दा सामान्य रुपमा भेटघाट मात्र हुन्छ ।’ 

स्ट्राइकर विमललाई फुटबलसम्बन्धी विश्वचर्चित वेबसाइट गोल डटकमले दक्षिण एसियाका नेयमारको उपाधिसमेत दिइसकेको छ । गोल डटकमले केही अघि सार्वजनिक गरेको टप टेन साफ खेलाडीको सूचीमा विमललाई तेस्रो खेलाडीमा सूचीकृत गरेको थियो । उक्त सूचीमा माल्दिभ्सका अलि असफाक पहिलो, अफगानिस्तानका मनसुर फागियर दोस्रो तथा विमल तेस्रो स्थानमा थिए भने भारतका सुनिल क्षेत्री चौथो स्थानमा थिए । फिफाले समेत दक्षिण एसियाकै सम्भावनायुक्त स्ट्राइकरका रूपमा उनलाई मेन्सन गरेको थियो । फिफाको आधिकारिक वेबसाइटमा विमलको फुटबल करियरका विषयमा ‘आर्टिकल’ नै प्रकाशित भयो । 

विमलको प्रारम्भिक दिन

नवलपरासीको भुताहामा सन् १९९८ मा जन्मिएका विमलले गाउँबाटै फुटबल यात्रा प्रारम्भ गरेका थिए । ८–९ वर्षको उमेरदेखि उनी फुटबलसँग लहसिएका थिए । रूपन्देहीमा रहँदा त्यहाँको लोकल क्लब गोर्खा ब्वाइजले फुटबलको माहौल बनाएको थियो । त्यसले उनलाई फुटबल खेल्न मद्दत मिल्यो । प्रहरीमा कार्यरत विमलका पिता पनि उक्त क्लबका अफिसियलमध्ये एक थिए । ‘मलाई खुसी लाग्छ, हाम्रो गाउँमा एक जना फुटबल क्रेजी प्रशिक्षक जन्मिनुभयो, जसले आफैंले फुटबल किनेर, अन्य सामग्रीहरू जुटाइदिएर हामीलाई फुटबल खेल्न अभिप्रेरित गरिरहनुभयो ।’ विमल भन्छन्– ‘उहाँको नाम राजेश बुढाथोकी हो, जो हाल मलेसिया हुनुहुन्छ, सुरुवातमा मेरो मनमा फुटबल भावना जगाउन उहाँको ठूलो योगदान छ ।’ राजेशबाट फुटबलको स्कुलिङ सिकेका विमलका अनुसार समूहगत रूपमा सबैलाई खेल सिकाइसकेपछि राजेशले विमललाई छुट्टै पनि सिकाउँथे । विमल भविष्यको राम्रो खेलाडी बन्न सक्ने अनुमान राजेशले त्यही बेला नै गरेका थिए । विमल राजेशलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् । 

एन्फा एकेडेमीले सानो उमेरदेखि नै फुटबलको तालिम उपलब्ध गराउने उद्देश्य राखेर अन्डर टुबेल सेलेक्सन गर्ने भयो, जसमा सहभागिता जनाउन विमल काठमाडौं आए । ‘सेलेक्सनका क्रममा म रिजेक्ट भए’ विमलले सम्झिए– ‘तर अचम्म रिजेक्ट भएपछि, ममा फुटबल क्रेज अझ बढ्यो । म गाउँ फर्किएर थप अभ्यासमा जुटें ।’ त्यतिबेलाका छनौटकर्तामध्ये अहिलेका अन्डरनाइन्टिनका राष्ट्रिय प्रशिक्षक बालगोपाल महर्जन पनि एक थिए । बुटवलमा एन्फा एकेडेमी स्थापना भएर त्यहाँ पनि सानो उमेर समूहका खेलाडीलाई लिइने भयो । बुटवल एन्फा एकेडेमीले गरेको रि–सेलेक्सनमा काठमाडौंमा भएको सेलेक्सनमा असफल भएकाहरू र अन्यले सहभागिता जनाए । विमल उक्त सेलेक्सनमा भने छनौट भए । त्यसपछि बुटवलको एन्फा एकेडेमीमा उनले लगातार दुई वर्ष तालिम लिए । बुटवलमा तालिम लिने क्रममै उनको फुटबल खेल्ने कला उत्कृष्ट छ भन्ने कुरा राष्ट्रिय प्रशिक्षकले बुझिसकेका थिए । त्यसैले उनलाई अन्डर थर्टिन राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै इरानमा खेल्न जाने अवसर मिल्यो । 

‘धरान, बुटवल र काठमाडौंको एन्फा एकेडेमीका खेलाडीहरूको एउटै ब्याचलाई सेलेक्ट गरी काठमाडौंमा तालिम दिने उद्देश्य राखेर फेरि सेलेक्सन भयो,’ विमलले भने– ‘त्यसमा म छनौट भए, त्यसपछि हालसम्म ४ वर्ष सातदोबाटोस्थित एन्फा एकेडेमीमै तालिम गरिरहेको छु ।’ विमलकी आमा र १ बहिनी छिन्, जो हाल नवलपरासीमा बस्छन् । बहिनी कक्षा ११ मा अध्ययनरत छिन् । विमलले भने खेलकै कारण आफ्नो अध्ययनलाई सुचारु गर्न सकिरहेका छैनन् । 

विमल सफलताको आफ्नो पहिलो मोड अन्डर थर्टिन राष्ट्रिय टिमलाई प्रतिनिधित्व गरेर इरान खेल्न जाँदाको समयलाई मान्छन् । ‘त्यो मेरा लागि खेल कौशल देखाउने अवसर थियो, नभन्दै मेरो प्रदर्शन उत्कृष्ट सावित भयो ।’ विमलले भने– ‘प्रशिक्षकले व्यक्तिगत रूपमै मेरो खेलको प्रशंसा गर्नुभयो, त्यतिबेला म लेफ्ट विंगरबाट खेल्थें ।’ यस्तै अन्डर फोर्टिन खेल्न उनी जापान गए, जहाँ उनले ८ गोल गरेका थिए । नेपालमै आयोजित अन्डर फोर्टिनको खेल पनि उनको उत्कृष्ट प्रदर्शन थियो । त्यसपछि अर्को उल्लेख्य सफलता भने काठमाडौंमा आयोजित अन्डर सिक्स्टिन साफ च्याम्पियन सिप थियो । त्यसमा उनले ७ गोल गरेर आफूलाई हाइएस्ट स्कोररका रूपमा चिनाए । थाइल्यान्डमा आयोजित अन्डर सिक्सटिनको क्वालिफाइङ म्याचमा पनि उनले सुधारिएको खेल देखाए । उमेर बढ्दै जाँदा विमलको खेल परिपक्व हुँदै गयो । त्यही भएर सिनियर खेलाडीले भरिएको राष्ट्रिय टिममा पूर्ण रूपमा शारिरिक विकास नभइसकेको फुच्चेलाई प्रशिक्षकले मैदान छिराएका थिए । साफ च्याम्पियनसिपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि विमलकै नाममा छ । त्यसअघि उक्त कीर्तिमान भरत खवासको नाममा थियो । भरतले १६ वर्षको उमेरमा सिनियर टिमबाट अन्तर्राष्ट्रिय गोल गरेका थिए । मैले अन्डरसिक्सटिन साफ च्याम्पियनसिपमा हाइएस्ट स्कोररका रूपमा परिचय बनाउनु नै राष्ट्रिय टिममा प्रवेश पाउने आधार बन्यो, विमलले भने– ‘म पनि मैदान प्रवेश गर्दा गोल गर्ने एउटै लक्ष्य लिएर छिरेको थिए, नभन्दै गोल गर्न सफल भए, खुसीको सीमा नै भएन ।’

यसपटक पनि अन्डर नाइन्टिन साफ च्याम्पियनसिपको उपाधि जितेको भोलिपल्टै उनले भारतको पुनेमा सम्पन्न मैत्रीपूर्ण खेलमा सहभागिता जनाए । गोल गर्न नसके पनि ८० मिनेटसम्म मैदानमा रहेर उनले आफ्नो कुशल खेल देखाए । टिम भावना बलियो भएकाले यो समूह आत्मविश्वासी भएको उनले बताए । त्यसका लागि सरकारले खेलाडीहरूलाई पर्याप्त सुविधाका साथमा तालिम र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अभ्यास गराउनु आवश्यक भएको उनको भनाइ छ । नेपालमै पनि राम्रो ग्राउन्ड फ्यासिलिटिज दिने, खेलाडीलाई व्यक्तिगत तनावबाट मुक्त राख्ने काम गरिए नेपालको फुटबलले अझ फड्को मार्ने विमल बताउँछन् । 

एन्फा एकेडेमी काठमाडौंमा प्रवेश गरेपछि विमलले थुप्रै नयाँ साथी पाए । धरान, बुटवल र काठमाडौंबाट छानिएका उत्कृष्ट खेलाडी बीच खेल्ने मौका पाए । ‘मैले धेरै कुरा काठमाडौंको एकेडेमीबाट सिके’ विमलले भने– ‘बुटवलको एकेडेमीमा पारिवारिक वातावरण थियो, फुटबल कल्चर विकास गर्न बुटवल क्षेत्रका थुप्रै सहयोगी मनले त्यहाँको एकेडेमीलाई सहयोग गरेका थिए, मैले त्यो कुरा बिर्सन मिल्दैन ।’ किशोरहरूलाई फुटबलमा मात्र केन्द्रित गर्ने वातावरण त्यहाँको समाजले तयार गरेको थियो । विमल थप्छन्– ‘दिउँसोको समयमा विद्यालय जानेबाहेक अरू सबै समय फुटबलमा मात्र केन्द्रित हुन् भनेर त्यस्तै खालको वातावरण बनाइएको थियो ।’ आफ्नो खेल जीवनमा विमलले लेफ्ट विंगर, राइट विंगर, लेफ्ट डिफेन्सजस्ता पोजिसनबाट खेलिसकेका छन् ।

विमल सानो छँदा नै उनका पिताको दुर्घटनामा मृत्यु भएपछि परिवार चलाउने जिम्मेवारी आमामा सर्‍यो । सामान्य आयस्रोतको परिवार दिवंगत प्रहरी अभिभावकको पेन्सनको भरमा चल्नुपर्‍यो । ती अत्यन्तै कठिन दिन थिए, विमल भन्छन्– ‘अहिले मैले केही कमाउन थालेकाले अलिकति सजिलो भएको छ ।’ साप्ताहिकसँगको कुराकानीकै दिन उनी सुदूरपश्चिमाञ्चल क्लबसँग अनुबन्ध गर्दै थिए । क्लबले दिने पारिश्रमिक, राष्ट्रिय टिमको खेलाडी भएपछि प्राप्त हुने मासिक आम्दानी र बेल्जियमको क्लबमा पाइने पकेट मनि उनको परिवार धान्ने आर्थिक स्रोत हुन् । 

विद्यालय जाने उमेरमा छोरोले फुटबल नै खेले पनि पढाइचाहिँ नबिगारोस् भन्ने उनकी आमाको चाहना थियो । ‘मेरो सफलतामा अहिले आमा अत्यन्तै प्रसन्न हुनुहुन्छ,’ विमलले सुनाए– ‘पढाइमा भनेजस्तो राम्रो गर्न नसके पनि छोरो एउटा लाइनमा हिँडेको छ, उपलब्धि पनि हासिल गरेको छ भनेर दंग हुनुहुन्छ ।’ छोराले अझै उपलब्धि हासिल गर्छ भन्ने विश्वास आमामा भएको सुनाउँदै विमलले आमाका सपना पूरा गर्न अझै कठिन मेहनत गर्ने कुरा पनि बताए । 

पछिल्लो समयमा नेपालमा क्रिकेटको क्रेज बढ्दो छ । क्रिकेटमा नेपालले आत्मसात् गरेका थुप्रै उपलब्धिले पनि फुटबल ओझेलमा पर्दै गएको हो कि जस्तो लाग्छ तर विमल यो कुराको खण्डन गर्छन् । ‘क्रिकेटमा राम्रो गर्नु हामी सबैको गौरवको विषय हो, तर अहिले पनि नेपालीहरू फुटबल भनेपछि हुरुक्कै हुन्छन्,’ विमल भन्छन्– ‘मलाई त अत्यन्तै खुसी लागेको छ, फुटबल स्टारका रूपमा परिचय बनाउन पाउँदा गर्व महसुस गर्छु । उमेर समूहको फुटबलमा लामो समयपछि एउटा खुसी आत्मसाथ गर्नुका पछाडि फुटबल फ्यानहरूको उत्प्रेरणाले काम गरेको उनले बताए । विमल भन्छन्– ‘आशा गरौं, सिनियर फुटबल टिमको महत्वपूर्ण सदस्यका रूपमा देशको शिर उचो पार्न अझै उत्कृष्ट फुटबल खेल्नेछौं ।’

अन्तर्राष्ट्रिय एक्सपोजर 

अन्डर सिक्सटिन साफ च्याम्पियनसिप खेल्दा बंगलादेशका कोच विमलको खेलबाट प्रभावित भए । ती डच प्रशिक्षकले प्रतिद्वन्द्वी टिम नेपालका स्ट्राइकरलाई हल्यान्ड लगेर ट्ेरनिङ गराउने प्रस्ताव राखे । हल्यान्डमा २ साताका लागि एउटा तालिममा पठाउने बंगलादेशी कोचको त्यो निर्णयलाई पनि विमलले सार्थक तुल्याए । त्यहाँका उत्कृष्ट क्लबहरूबीचको अन्डरनाइन्टिन उमेर समूहको खेलमा उनले ४ गोल गरे । त्यही खेलका क्रममा उनी बेल्जियमको एक फुटबल एजेन्टको नजरमा पर्न सफल भए । ‘राम्रो खेलाडीको खोजीमा भौंतारिरहेका एजेन्टले मेरो खेल देखेर तालिमका लागि बेल्जियम लाने प्रस्ताव राखे,’ विमलले भने– ‘तिनै एजेन्टमार्फत मैले बेल्जियमको फस्र्ट डिभिजन क्लब एन्डरलेचमा तालिम गर्न पाए ।’ एन्डरलेचको एकेडेमीमा दुई महिना तालिम लिएपछि उनले केहि ख्यातिप्राप्त क्लबको उमेर समूहसँग अभ्यास खेल खेल्ने मौका पाए । ‘मैले एसी मिलानसँग पनि खेलेँ, विमलले भने– ‘मेरो खेल जीवनको उत्कृष्ट क्षण थियो त्यो, जुनियर युरोपियन क्लबहरूसँग मैले अभ्यास खेलमा खेल्ने मौका पाएको थिएँ ।’ त्यसपछि अन्तराष्ट्रिय रूपमै ख्याति कमाएका युरोपियन फुटबल क्लबसँग पनि खेल्न सकिने रहेछ भन्ने आत्मविश्वास उनमा जाग्यो । हाल एन्डरलेचमै रहेका विमलले अभ्यास खेलका क्रममा इन्टरमिलान फेनेरबास, वेनफिका, एजेक्स जस्ता चर्चित क्लबसँग खेल्ने मौका पाएका छन् । अहिले नेपालमा रहेका विमल चाँडै बेल्जियम फर्कंदैछन् । ‘अब बल्ल वैधानिक रूपमै अनुबन्धित भएर अन्डरनाइन्टिन म्याच खेल्न पाउँछु,’ विमलले सुनाए–‘१८ वर्ष पूरा नभैसकेकाले अहिले करार गर्न सक्दिनँ । १८ वर्ष पूरा भएपछि क्लबहरूले लिने बताएका छन्, यति हो म त्यहाँको फस्र्ट डिभिजन क्लबमै अनुबन्धित हुनेछु ।’ हाल एन्डरलेचसँगको करार केही बाँकी पनि भएकाले केहि समय तालिम गरेर उनी क्लब फुटबलमा प्रवेश गर्नेछन् । एन्डरलेजका प्रशिक्षक मोहम्मद ओवाबीले यसअघि नै विमलको बायाँ खुट्टा अचम्मको भएको बताइसकेका छन् । उनलाई अझै प्रशिक्षण दिन आवश्यक भएको बताउँदै प्रशिक्षक ओबाबीले उनको बायाँ खुट्टाको अविश्वसनिय क्षमतालाई कसरी सही प्रयोगमा ल्याउन सकिन्छ भन्ने चिन्ता मात्र भएको एन्डरलेचको बेबसाइटमा उल्लेख छ । विमलले बायाँ खुट्टाले कुशल तरिकाले गोल गर्न सक्ने भएकाले उनको सम्भावना राम्रो देखिएको ती प्रशिक्षकको भनाइ छ । भविष्यमा युरोपियन क्लबमै करिअर बनाउने सपना साँचेका विमल नेपाली राष्ट्रिय टिमको सदस्य भएकाले मुलुकको प्रतिनिधित्व गरेर खेलिने सबै खेलमा सहभागिता जनाउने बताउँछन् । उनले आफू अनुबन्ध भैसकेपछि आमा र बहिनीलाई पनि युरोप लाने बताए । 

‘सुरुवातका दुई साता मलाई पनि निक्कै गाह्रो भएको थियो, मेसो नै पाउन सकिरहेको थिइनँ,’ विमलले सुनाए– ‘बिस्तारै त्यहाँको फुटबल टेक्निक बुझेपछि खेल्न सजिलो भयो ।’ विमल बेल्जियममा हुँदा नै नेपालको अन्डर नाइन्टिन क्लबले उनकै पहलमा त्यहाँ गएर १० दिन तालिम गरेको थियो ।

बालगोपाल महर्जन

राष्ट्रिय प्रशिक्षक, अन्डर नाइन्टिन राष्ट्रिय फुटबल टिम

एउटा प्रशिक्षकको दृष्टिकोणमा विमलमा कस्तो खेल प्रतिभा पाउनुभएको छ ?

विमल गडगिफ्टेड स्किलफुल प्लेयर हुन् । उत्कृष्ट खेलाडि भएकैले उनले आज यो स्थान बनाएका हुन् । उनी क्षमतावान् खेलाडी हुन् तर हामीले उनलाई ‘पोलिस’ गर्न अझ बाँकी नै छ । अन्डर फोर्टिनदेखि अन्डर नाइन्टिनसम्म मैले उनलाई प्रशिक्षण दिएको छु । राष्ट्रिय टिमको पनि महत्वपूर्ण सदस्य भएकाले उनीबाट हामीले धेरै अपेक्षा गरेका छौं । उनले मेहनत गर्दै गए भने नेपाली फुटबलको ‘सान’ बन्न सक्छन्, जसले गर्दा राष्ट्रिय टिमले पनि उपलब्धि हासिल गर्नसक्छ । यो कुरा विमलले पनि अनुभूत गर्नुपर्छ । 

व्यक्तिगत तवरमा चाहिँ विमललाई कसरी मूल्याकंन गर्नुहुन्छ ?

अन्डर नाइन्टिन समूहको टिम क्याप्टेन हुन्— विमल, तर उमेर नै किशोरवयको उत्तराद्र्धको भएकाले हुन सक्छ, केही चन्चले छन्, केटाकेटीपन छ, अझै परिपक्व हुन सकेका छैनन्, जबकि उनी राष्ट्रिय टिमको पनि महत्त्वपूर्ण सदस्य हुन् । मलाई लाग्छ, विमलले सानो उमेरमै आवश्यकताभन्दा बढी लोकप्रियता पाए, यसले कतै उनको खेललाई असर गर्ने त होइन जस्तो पनि लाग्छ । यसका लागि विमल आफैं जिम्मेवार हुनुपर्छ, अनुशासित हुनुपर्छ । आफ्नो खेल क्षमतालाई निरन्तर रूपमा विकास गर्दै लानुपर्छ । पाएको लोकप्रियतालाई खस्किन नदिन आमनागरिकको अपेक्षा अनुरूपको खेल देखाउन सक्नुपर्छ । त्यसका लागि अझै कडा मेहनत गर्नुपर्छ । 

विमलको लोकप्रियताले गर्दा उनको खेल जीवनमा केही समस्या भएको छ ?

मैदानमा त मैले त्यस्तो अनुभूति गर्नुपरेको छैन, क्याप्टेनका रूपमा उनले आफूले बहन गर्नुपर्ने जिम्मेवारी बुझ्नु आवश्यक छ । उनी राम्रो खेलाडि हुँदाहँुदै पनि त्यसलाई निरन्तरता दिन नसक्दा पछि पर्छन् कि भन्ने हाम्रो चिन्ता हो । उनले मेहनत गरे भने त्यसलाई मेन्टेन गर्न सक्छन् । पछिल्लो समयमा उनमा ‘स्टारडम’को भावना विकास भएको सुनेको छु । कसैलाई नगन्ने, वास्ता नगर्ने प्रवृत्ति बढेको छ भन्ने सुन्छु, त्यसलाई उनले त्याग्नुपर्छ । अब परिपक्व बन्नुपर्छ । 

प्राविधिक हिसाबले विमलका सबल पक्ष के हुन् ?

रनिङ विथ बलमा विमललाई कसैले भेट्न सक्दैनन् । गोल स्कोरिङ गर्ने, बलको पोजिसन मिलाउने, ट्याकल गर्ने, स्विचिङ गर्ने अद्भुत क्षमता छ उनमा । उनले कुनै पनि समयमा गोल गर्न सक्छन् । बल पाइसकेपछि त्यसलाई सही दिशा प्रदान गर्ने क्षमता उनमा छ । खेलाडीका हिसाबले उनी धेरै राम्रो स्थानमा छन् । 

बेल्जियमको प्रशिक्षणले विमलको खेलस्तरलाई कत्तिको सुधारेको छ ?

बेल्जियम जान पाउनु बिमलको सौभाग्य हो । उनले फस्ट डिभिजनको क्लबबबाट युरोपियन खेलाडीसँग खेल्न पाएका छन् । तुलनात्मक रूपमा दक्ष युरोपियन प्रशिक्षकबाट तालिम पाएका छन् । त्यहाँको तालिमले उनको खेल अझ राम्रो भएको छ । राम्रो युरोपियन क्लबले उनलाई अनुबन्ध गरेर खेलाउने सम्भावना पनि छ । नेपाली फुटबलर युरोपमा गएर खेल्नु नेपाली टिमका लागि पनि गर्वको कुरा हो । उनले भोलि देशका लागि पनि राम्रो खेल्न सक्छन् । 

लव खत्री

सिनियर फिफा रेफ्री

विमल कस्ता खेलाडी हुन् ?

उनी खेलाडी र म प्रशिक्षक भएकाले हामी एउटै मैदानमा अभ्यास गरिरहेका हुन्छौं । जहाँ म विमलको खेल क्षमतालाई नजिकबाट बुझ्न पाउँछु । विमल राम्रा खेलाडी हुन् । फुटबलको क्षेत्रबाट नेपालको नाम अझ उचाइमा पुर्‍याउन सक्ने क्षमतावान् खेलाडी हुन्— विमल । तालिमका क्रममा उनमा केही विशेषता पाउँछु, जुन एउटा खेलाडीका लागि अत्यावश्यक हुन्छ । ठूलालाई आदर गर्ने, साथीभाइसँग मिलनसार रहने उनको स्वभावले मलाई प्रभावित तुल्याएको छ । 

फिफा रेफ्री भएको हिसाबले उनको खेलशैलीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

रेफ्रीको हिसाबले मैले मैदानमा त विमललाई धेरै म्याच खेलाउन पाएको छैन्, तर उनले खेलेका म्याचहरू हेरेको छु । अनुशासित नै देख्छु । खराब एटिच्युड पाएको छैन । अहिले उनी सुदुरपश्चिमाञ्चल क्लबमा आबद्ध भएका छन्, अब मैले उनलाई म्याच खेलाउन पाउँछु । आशा गर्छु, उनले उत्कृष्ट खेलाडीका रूपमा आफ्नो खेल प्रदर्शन गर्दा अनुशासनलाई पनि ख्याल गर्नेछन् । 

खेलाडीका रूपमा विमलको भविश्य कस्तो देख्नुहुन्छ ?

नेपाली राष्ट्रिय टिमको खेल क्षमता राम्रो हुँदाहँुदै पनि सधैं स्ट्राइकरको कमी महसुस हुन्छ । गोल गर्ने स्ट्राइकरको खडेरीलाई विमलको उपस्थितिले परिपूर्ति गर्छ भन्ने लाग्छ । विमलको भविष्य एकदमै राम्रो छ । उनले युरोपियन क्लबमा तालिम लिन पाएका छन्, त्यहाँको राम्रो क्लबबाट खेल्ने मौका पाए भने उनको खेल जीवन अझ उज्ज्वल हुन्छ । 

राम्रो खेलाडी अनुशासित हुन कत्तिको आवश्यक छ ?

हरेक पेसा र क्षेत्रमा मात्र होइन, समग्र जीवनमा मानिस अनुशासित हुन आवश्यक छ । खेलाडी त अझ बढी अनुशासित हुनुपर्छ । राम्रा भनिएका खेलाडी अनुशासित नहुँदा उनीहरूको खेल जीवन बिग्रिएका उदाहरण विश्वभर छन् । यो कुरालाई विमलले ख्याल गर्नुपर्छ । नेपालको प्रतिनिधित्व गर्ने खेलाडी हो भन्ने बुझेर उनले आफ्नो खेल जीवनलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्छ । 

विमलका विशेषता के–के हुन् ?

तीव्र गतिमा बल दौडाउने तरिका, स्किलफुल खेल प्रस्तुत गर्ने क्षमता उनका मुख्य विशेषता हुन् । गोल स्कोर गर्ने क्षमता पनि अरूभन्दा विशिष्ट छ । वान स्टेप सट पनि राम्रो छ । पावरफुल सट हान्न सक्छन् । तुलनात्मक रूपमा उनको शारीरिक उचाइ राम्रो छ, हाइट बेनेफिटका कारण उनले स्ट्राइकरका रूपमा राम्रो खेल्न सक्छन् । विमलले अझै मेहनत गर्नुपर्छ, किनभने उनको उमेर धेरै भएको छैन, त्यसो भएको खण्डमा उनी एसियाली रिजनकै उत्कृष्ट खेलाडी बन्न सक्छन् ।

शिव सुवेदी, स्ट्राइकर

अन्डरनाइन्टिन राष्ट्रिय फुटबल टिम

मित्रताका हिसाबले विमल तपाईंलाई कस्ता लाग्छन् ?

हामी अन्डर टुबेलदेखिका साथी हौं । त्यसयता एन्फा एकेडेमीको होस्टलमा एउटै कोठामा बस्दै आएका छौं । थुप्रै वर्ष सँगै बस्दा हाम्रो मित्रता अझ प्रगाढ भएको छ । अहिले हामी असाध्यै मिल्ने साथी हौं । उनको खेल कौशल त अब्बल छ नै, साथीभाइसँगको सम्बन्ध पनि उत्तिकै प्रिय छ । सहयोगी र मिलनसार स्वभावले गर्दा सबै साथीभाइसँग उनको राम्रो सम्बन्ध छ । विमलमा आफूभन्दा सानालाई माया–स्नेह गर्ने र ठूलालाई आदर–सम्मान गर्ने गुण छ । 

खेलाडीका रूपमा चाहिँ विमलको क्षमतालाई कसरी मूल्याकंन गर्नुहुन्छ ?

विमल एकदमै राम्रा खेलाडी हुन् । सानो उमेरमै उनले आफ्नो खेल प्रतिभा प्रस्ट्याइसकेका छन् । म पनि स्ट्राइकर भएकाले उनको खेल क्षमतालाई नजिकबाट बुझ्न सक्छु । मैदानमा पाएको मौका सदुपयोग गर्नसक्ने खेलाडि हुन्— विमल । उनी फोकस्ड भएर मैदानमा उपस्थित हुन्छन् । समग्रमा उनको खेल शैली उत्कृष्ट छ । 

खेलाडीका रूपमा विमलले सुधार्नुपर्ने पक्ष केही देख्नुभएको छ ?

एउटा खेलाडीले अझ भनौं स्ट्राइकरले पाएको मौका सदुपयोग गर्ने देखिको अर्को विकल्प हुँदैन । विमलले मौका पाउँदा त्यसलाई गोलमा परिणत गर्न सकून् भन्ने मेरो शुभेच्छा सधैं रहन्छ । त्यसैले यो कुरामा ध्यान दिए हुन्थ्यो जस्तो लाग्छ । 

विमलको मन नपर्ने बानी ?

रिसाउँछन्, स–साना कुरामा पनि रिसाउने बानी सुधार्नुपर्छ । रिसाएका बेला उनी अक्सर कसैसँग बोल्दैनन् । अरू त त्यस्तो नराम्रो पक्ष केही देख्दिनँ । 

खेलाडीका रूपमा अन्तर्राष्ट्रिय स्तरमा विमलले आफ्नो छवि निर्माण गर्ने कत्तिको सम्भावना छ ?

कुनै पनि खेलाडीले मेहनत गर्‍यो र उसले राम्रो सुविधा पायो भने धेरै राम्रो गर्न सक्छ । विमलमा यो सम्भावना प्रचुर देख्छु म । हामी दुई फुटबलका बारेमा धेरै कुरा गर्छौ, विमलले धेरै कुरा बुझेका छन् । बेल्जियमको तालिमले पनि उनलाई थप सबल बनाएको छ । कुनै दिन विमल अन्तर्राष्ट्रिय क्लबको राम्रो खेलाडीका रूपमा चिनिन सक्छन्, त्यसो भए अचम्म मान्नुपर्दैन । मेहनत र अवसर मुख्य कुरा हो ।

प्रकाशित :आश्विन ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्