विमल घर्ती मगरको लक्ष्य र चाहना

  • भोली प्रकाशित हुने साप्ताहिकमा विमल घर्ती मगरको आवरण कथाको एक अंश

- विदुर खतिवडा

विमल भन्छन्– ‘१५ वर्षको उमेरमा मलाई पनि प्रेम गर्ने रहर थियो तर अहिले त्यस्तो सोच आउँदैन्,

आश्विन ७, २०७२

फुटबलरका रूपमा सफल करियर बनाइसकेपछि नेपाली भूमिमा फुटबलको विकास गर्ने लक्ष्य र सपना बुनेका छन् विमल घर्ती मगरले । कम्तीमा नवलपरासीमा अत्याधुनिक फुटबल एकेडेमी स्थापना गर्ने उनको धोको छ । किशोरवस्थामा फुटबल कल्चरको विकास गर्न एकेडेमीको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ । म पनि एकेडेमीकै उत्पादन हुँ, विमलले भने– ‘त्यसैले नेपालको फुटबलस्तर उकास्न देशका विभिन्न स्थानमा एकेडेमी सञ्चालनमा ल्याउनुपर्छ ।’

घरको साधारण खाना रुचाउने विमल खेल जीवनलाई हानि गर्ने कुनै कुरा सेवन गर्दैनन् । अध्ययनमा औसत विद्यार्थी भए पनि उनी पुस्तक अध्ययनमा पनि रुचि राख्छन् ।  कमेडी तथा जोक्सका पुस्तक उनलाई धेरै मन पर्छन् । युरोपमा रहदा ब्रेड र पास्ता खाने विमल मादक पदार्थ, धूमपान सेवनजस्ता कुराबाट टाढै छन् । मुलुकभित्रको मनपर्ने स्थान पोखरा बताउने विमल विदेशमा इंग्ल्यान्ड मनपर्ने स्थान भएको बताउँछन् । उनलाई मनपर्ने नेपाली फुटबलर विजय गुरुङ हुन् । विजयको खेल कौशलबाट सधैं प्रभावित रहेको बताउने विमल लिग फुटबलमा विजयले खेल्ने कुनै पनि खेल छुटाउँदैनथे ।

विदेशी फुटबलरमा उनको पहिलो रोजाइ लियोनल मेस्सी हुन् । मेस्सीको फिनिसिङ उनलाई उत्कृष्ट लाग्छ । ‘मेस्सी बराबरको खेलाडी बन्न नसके पनि’ विमलले भने– ‘एसियाका उत्कृष्ट स्ट्राइकरमध्ये एक बन्ने चाहना छ ।’ मेस्सी मनपर्ने भएपछि मनपर्ने फुटबल क्लब बार्सिलोना नै हुने भयो । त्यस्तै मनपर्ने विदेशी भूमि इंग्ल्यान्ड भएकाले त्यहाँको चर्चित क्लब म्यानचेस्टर युनाइटेड पनि उनलाई मन पर्छ । 

ख्यातिप्राप्त फुटबलरमध्ये एभर्टनका लुकाकुलाई विमलले प्रत्यक्ष भेटेका छन् । बेल्जियमका राष्ट्रिय खेलाडी लुकाकु पनि हाल विमलले तालिम गरिरहेको एन्डरलेच क्लबकै उत्पादन भएकाले उनले भेटघाटको अवसर पाएका हुन् । नेपालका अन्डरनाइन्टिन प्रशिक्षक बालगोपाल महर्जन पनि उनलाई धेरै मनपर्ने व्यक्तित्व हुन् । बालगोपालबाट आफूले धेरै कुरा सिकेको उनले बताए । 

हरियो रंग मन पराउने विमल क्याजुअल वेयरमा आफूलाई फिट पाउँछन् । औपचारिक समारोहबाहेक सर्ट, पाइन्ट, हाफ पाइन्ट र टिसर्टमा हिँड्न सहज हुने उनको अनुभव छ । हल्का किसिमका सुज उनको प्राथमिकतामा पर्छन् । रोमान्टिक र कमेडी चलचित्र हेर्न रुचाउने  विमल राम्रा नेपाली चलचित्रले पनि उत्तिकै दर्शक पाउने बताउँछन् । 

फुटबलपछि उनलाई मनपर्ने खेल क्रिकेट हो । सानो छँदा क्रिकेटमा रुचि राख्ने र खेल्ने विमल फुटबलमा सक्रिय भएपछि क्रिकेट खेल्न छोडेको बताउँछन् । क्रिकेट म्याच भरसक नछुटाउने विमललाई पारस खड्काको ब्याटिङ मन पर्छ । फुटबलर भएका कारण व्यवसायिक फुटवलको जननी इंग्ल्यान्डमा गएर खेल्ने उनको धोको छ । 

इंग्ल्यान्डमै खेल्न नपाए पनि त्यहाँको कुनै क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाए पनि मेरो इच्छा पुरा हुन्छ, विमल भन्छन् । सामाजिक सेवाको क्षेत्रमा भविष्यमा एसओएस फाउन्डेसनलाई सहयोग गर्ने लक्ष्य राखेका विमल शिक्षा खेलाडीका निम्ति आवश्यक भएको बुझ्दा–बुझ्दै पनि करियरका कारण समय दिन नसकेकोमा भने पछुतो महसुस गर्छन् । डिस्को टाइपका गाना मन पराउने विमल अनिल सिंहका गीत विशेष रुचाउँछन् । अनिलले गाएको इन्जिन गाडीमा आफूलाई अत्यधिक मनपर्ने गीत भएको उनले बताए ।

 

 

 

प्रकाशित :आश्विन ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्