एउटा सेलिब्रेटीको दु:ख

- अश्विनी कोइराला

आश्विन ५, २०७२

केही दिनअघि मेरा एक मित्र (याद रहोस्, ती मित्र तपाईं हामीमध्ये धेरैले चिनेका सेलिब्रेटी हुन् । मैले पनि उनी यति दु:खी छन् भनेर कल्पना पनि गरेको थिइन् । ) मसँग चिया पिउने निहुँले अफिस आएका थिए । चिया पिउने बाहाना मात्र थियो, उनी आफ्नो दु:ख सुनाएर मन केही हलुका हुन चाहन्थें । 

उनी र मबीच धेरै कुराकानी भए तर मुख्य बुँदा मैले त्यतिकै राखें भने अलि पूर्वाग्रही भएको जस्तो देखिन सक्छ । त्यसैले जस्ताको तस्तै राख्न चाहन्छु । 

‘अरु कुरा त ठीकै छ अश्विनीजी, तर मलाई तपाईंको मन नपरेको कुरा के भने प्रेमलाई अलि बढी आदर्श देखाउन खोज्नु हुन्छ । त्यसमा पनि महिलालाई महान नै बनाउन खोज्नुहुन्छ । यो कुरा मनपरेको छैन ।’ सामान्य कुराबाट सुरु भएको चिया गफ यसरी गम्भीरता तिर उक्लिएको थियो । 

‘महिलाहरू पुरुषभन्दा महान नै छन्, ध्यान दिएर हेर्नुहोस् त ।’ मैले उनको कुरालाई गलत सिद्ध गर्न खोजें । 

‘यत्रो जीवन भयो मैले त त्यस्ति महान महिला भेटेकै छैन । इभन मेरी श्रीमती, जसलाई मैले ४ वर्ष प्रेम गरेर विवाह गरेको थिएँ । उनी पनि फरक निस्किन् । 

‘के भो र बैनीलाई ।’ म उनकी श्रीमतीलाई बैनी भन्ने गर्छु । 

(सुरु–सुरुमा भाउजू भन्थें, उनले आग्रह गरेपछि बैनी भन्न थालेको हुँ । मलाई देख्दा दाजु जस्तै लाग्छ  रे ।)

‘थाहा छ, आजभोलि मेरी आमा मसँग बस्नुहुन्न । गाउँ जानु भएको छ, । दाजुसितै बस्न थाल्नु भएको  छ ।’ मित्रले मैले थाहा नपाएको कुरा सुनाए । 

‘कति गरे पनि मिलाउन सकिन । त्यत्रो सुटिङ, मिटिङ र भेटघाटबाट फर्कियो, घरमा तनाब भैरहेको हुन्थ्यो । कसैगरी मिलाउन सकिन ।’ उनले दु:खी हुँदै चुरोट सल्काए । 

‘अनि के भो त ?’

‘आमा गाउँ फर्कनु भयो । मलाई धेरै बोर भएको छ । उहाँले जिद्दी गरेर कान्छासँगै बस्छु भनेर काठमाडौं आउनुभएको थियो । टेलिभिजनमा मलाई देखाउने बित्तिकै गाउँलेलाई सुनाउँदै हिँड्नुहुन्थ्यो रे, मेरो कान्छो यस्तो, मेरो कान्छो उस्तो भन्दै... । आमाको स्वभाव नै त्यस्तै छ  । यो देख्दा भाउजूलाई पनि बोर लागेछ । एक दिन भाउजूले व्यङ्ग्य गर्दै भन्नुभएछ–हाम्रो बाबु ठूलो मान्छे हुनु भएको छ तर गाउँ–गाउँ सुनाउँदै हिँड्नु त राम्रो भएन आमा । बरु उतै जानु...।’

मित्रले फेरि मज्जाले चुरोट तान्दै फ्याँके र भने, ‘भाउजुको मेख मार्न त्यस्तो खुसी हुँदै काठमाडौं आउनु भएको आमा यहाँ एक वर्ष पनि टिक्न सक्नु भएन । बूढीलाई सम्झायो, आमाको दोष  लगाउँथिन् । आमालाई भन्यो, म धेर भएँ, बुढेसकाल लागेपछि यस्तै त हो नि भन्दै रुन थाल्नुहुन्थ्यो...।’

००००००००००००००००

त्यो दिन उनीसँग अरू पनि कुरा भएका थिए । उनले बाहिर गरेको कामले सफलता पाइरहेको थियो । उनको त्यो समाचार पनि टिपेको थिएँ तर आफ्नो दु:ख सुनाउन क्रममा उनले मलाई मीठो भाषामा सम्झाएका थिए । मैले लिएको प्रेम र महिलाका बारेका लेख्ने गरेका आदर्शवादी स्टाटसलाई वाहियत भनेका थिए । उनले मलाई आफ्नो कथा सुनाउँदै यति मज्जाले कुरा राखे कि उनको दु:ख र मेरो आदर्शबीच कुनै तालमेल छ कि छैन सोच्न बाध्य भएको थिएँ । 

आज छर्लङ्ग भएको छु । ती मित्रलाई उनको फेसबुकमा एउटा कथा पठाएको छु र गौरव गर्दैछु, मेरो आदर्श गलत छैन–हुँदैन । लेखेको छु,– मित्र, मैले इन्टरनेटमा कतै रमाइलो कथा भेटें, यसमा तपाईंको नाम जोडेको छु । आशा छ, तपाईंले यो कथा राम्ररी पढेर मनन गर्नुहुनेछ । मेरो आदर्श गलत होला तर कहिलेकाहीँ आफू पनि गलत छु भन्ने मानिसलाई थाहा नहुन सक्छ । आशा छ, यो कथाले तपार्ईंलाई केही संकेत गर्नेछ । 

उनलाई पठाएको कथा जस्ताको तस्तै : 

‘एउटा ग्रामीण जोडी थियो–सायद त्यो जोडी तपाईंको आमा–बुवाको हुनुपर्छ । सम्पत्ति धेरै थिएन तर माया प्रिति उधुम थियो । गरिवी बडेमानको ढुंगो सरह थियो । त्यो ढुंगाले यसरी किचेको थियो कि ऋण लिएर दुई छोरालाई पढाउन सक्थे । कहिलेकाहीँ बिपन्नताले उनीहरूको गम्भीर प्रेम खल्बल्याउन खोज्थ्यो तर एक अर्काप्रति यति गहिरो प्रेममा थिए । जसका कारण त्यो विपन्नता उनीहरूको प्रेमअघि पराजित हुन्थ्यो । कतै न कतै आर्थिक स्रोत जुट्थ्यो र सन्तान पढाउने, दसैं मनाउने वा ऋण तिर्ने बाटो खुल्थ्यो । धेरैपटक यस्ता अप्ठ्यारो टरेका कारण पनि उनीहरूमा जस्तोसुकै अवस्था पनि टर्छ भन्ने विश्वासमा थिए । 

एक दिन अचानक ती जोडीमध्ये पति चाहींलाई कालले लग्यो । स्वस्थ हट्टकट्टा मान्छे तीन दिनको ज्वरोले नै लग्यो । अस्पताल पुर्‍याउन ढिला भयो भनेर चिकित्सकहरूले गाली गरे । ग्रामीण महिला श्रीमान् गुमाएको पीडामाथि चिकित्सकहरूको गाली खाएर फर्किइन् । सोचिन्, सबै अप्ठ्यरा टर्ने खालका हुँदैनन् । केही दु:ख स्थायी पनि हुँदारहेछन् । 

उनको काँधमा दुई सन्तानको बोझ थियो । पतिको मृत्युको पीडालाई छोराहरूको भविष्यको खुसीमा परिवर्तन गरिन् । दु:ख थेग्न गाह्रो हुँदा उनी छोराका अनुहार हेरेर खुसी हुने प्रयत्न गर्थिन् । नभन्दै दुई छोराले राम्रो प्रगति गर्दै गए । ठूलो छोरा गाउँकै विद्यालयमा मास्टर भयो । कान्छो छोरो सहरमा कलाकार बन्यो र हेर्दा हेर्दै टेलिभिजनमा देखिने, सार्वजनिक कार्यक्रममा बोल्ने र देशमा अप्ठ्यरो पर्दा दुई–चार हजार सहयोग जुटाउने सम्मको मान्छे भयो । कलाकार भएकाले होला, कम उमेरमै उसले प्रगति गरेको देखियो । 

आमा जेठाछोरासँग गाउँमै बस्थिन् । कान्छोले प्रगति गर्न थालेपछि खुसी हुँदै उनी काठमाडौं आइन् । कान्छोले लामो समय प्रेम गरेर सहरकै केटी विवाह गरेको थियो । उनी कान्छोबाट जायजन्म होला, त्यो बेला आफ्नो सहयोग बुहारीलाई चाहिएला भन्ने सोचिरहन्थिन् । उनले फोनमा बारम्बार काठमाडौं आउँदा तिमीहरूलाई नै राम्रो हुन्छ भन्ने गर्थिन् । यसरी सासू कान्छो छोरासँग र काठमाडौंसँग अत्यधिक मोहित देखेर जेठी बुहारीलाई दु:ख लाग्नु स्वाभाविक नै थियो । बुहारीले सासूलाई घुमाउरो पाराले कान्छोसँगै बस्न उक्साउन थालिन् । उनी जेठी बुहारीको परिवर्तन हुँदै गरेको व्यवहारबाट दु:खी हुन थालिन् र काठमाडौं आइन् । त्यसपछि जे घटना घट्यो त्यो तपाईंलाई थाहा छँदैछ । अर्थात तपाईंको घरमै घटेको घटना घट्न थाल्यो । तपाईं कामबाट थाकेर घर फर्कदा सासू बुहारीबीच समस्या भएको देख्नु पथ्र्याे । मिलाउने प्रयास सफल हुँदैनथ्यो । यो कलाकार तपाईंजस्तै आजित हुन थालेको थियो । 

तर मित्र, तपाईंले जसरी आमालाई गाउँ फर्काउनुभयो, यो कलाकारले आमालाई घर पठाएन । बरु भन्यो, ‘आमा तपाईंले मेरा लागि धेरै गर्नुभएको छ । मैले नाम र केही दाम पनि कमाएको छु । म अरुजस्तो लाचार भएर तपाईंलाई गाउँ वा बृद्धाश्रम पठाउन सक्दिन । बरु तपाईंको ऋण तिर्न चाहन्छु । म श्रीमतीको समस्या पनि बुझ्छु, उनी मैले प्रेम गरेर विवाह गरेकी हुन् । म तपाईंको समस्या पनि बुझ्छु, तपाईंले हामीलाई साह्रै दु:ख गरेर हुर्काउनु भएको छ । त्यसैले तपाईंको ऋण तिर्न चाहन्छु । चाहे त्यसको लागि मलाई जतिसुकै दु:ख होस्... ।

छोराको कुरा सुनेर आमा मुस्कुराईन् । भनिन्, ‘ब्याजसहित दिनुपर्छ, सक्छस् ।’

‘म प्रयास गर्छु आमा ।’ छोराले दृढ श्वरमा भन्यो, ‘पुरानो ऋण हो, ब्याज पनि तिर्नुपर्छ भनेर सम्झाउनु भयो । ठीक हो । म ब्याजसहित तिर्ने प्रयास गर्छु । बरु कहिलेदेखि सुरु गरौं ?’

‘भोलि बिहानदेखि ।’

भोलिपल्ट बिहानको कुरा । बुहारी उठेर भान्सामा छिरिन् । त्यही बेला आमा चाहिँले छोराको कोठामा छिरेर एक गिलास पानी उसको ओछ्यानमा खन्याइन् । छोरा निद्रामै थियो । उ आत्तिएर सुख्खा ठाउतिर सर्‍यो र फेरि सुत्यो । आमाले अर्को गिलास पानी ल्याएर फेरी छोराको ओच्छनमा खन्याइन् । छोरा फेरि आत्तिएर उठ्यो र चिच्यायो, ‘के गर्नु भएको आमा, पागल त हुनु भएन ?’

आमा मुस्कुराइन् । तर छोराको रिस मरेको थिएन । ओछ्यानको चिसो देखाउँदै भन्यो, ‘यस्तो चिसो मौसम छ, कसरी सुत्नु ?’

‘छोरो चिसो मौसम त यहाँ भन्दा पहाडमा थियो । तर तैंले सानामा प्रत्येक दिन यसैगरी ओच्छ्यान भिजाउँथिस् । तँसँग अरु तन्नाहरू छन्, फेर्न सक्छस्, मसँग थिएनन् । यति सानो कुरामा त यसरी रिसाउँछस् भने तैले मेरो ऋण कसरी तिर्छस् ?

छोरा केही भन्न खोज्दैथियो, आमाले भनिन्, ‘यो त तेरो ऋण तिरेको होइन, केवल ऋण कसरी तिर्ने भन्ने ट्रेलर मात्रै देखाएको...।’

मित्र, तपाईंले आमाको ऋण खानु भएको छ तर आमाले मेरो ऋण तिर भन्नु भएन । बरु तपाईंहरूलाई आर्शिवाद दिएर गाउँ जानु भयो । मलाई थाहा छ, अब तपाईंकी भाउजूबाट उहाँले धेरै अपमान सहनु पर्नेछ । तै पनि उहाँले तपाईं र दाजुलाई कहिल्यै पनि मेरो ऋण तिर भन्नु हुने छैन । 

अब भन्नुहोस्, महिला महान हुन् कि होइनन् । मित्र याद राख्नुहोस्, महिला भनेको प्रेमीका मात्रै होइनन्, आमा पनि हुन् । 

(उनको जवाफ पर्खिरहेको छु, ती मित्रको कुनै जवाफ आएको छैन ।) 

 

प्रकाशित :आश्विन ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्