ग्ल्यामरको क्षेत्रमा करियर

- शिव मुखिया

आश्विन ४, २०७२

आफ्नो पुस्तक ‘खुसी’मा विजय कुमार लेख्छन्– ‘नामको चाहना, प्रसिद्धिको धेरथोर भोक प्राय: मानिसलाई हुन्छ । कसैमा यो भोक सुषुप्त अवस्थामा होला, कसैमा देखिने गरी मुखरित होला । मानवीय आवश्यकताको मास्लो सिद्धान्तले यो भोकलाई चौथो नम्बरमा राखेको छ । अरू मानिसले मेरो कामको प्रशंसा गरून्, समाजमा चिनिऊँ भन्ने चाहना राख्नु सामान्य हो ।’

मानिस आफ्नो ख्याति चाहन्छ, प्रसिद्धि चाहन्छ । यो उसको नैसर्गिक गुण हो । चलचित्रको पर्दामा देखिने कलाकार, टेलिभिजनमा देखिने प्रस्तोता, रेडियोमा सुनिने आवाज, र्‍याम्पमा हिँड्ने मोडल, जहाजमा उड्ने विमान परिचारिका देखेर ‘म पनि त्यस्तै बन्छु’ भन्ने युवाहरूको मनोविज्ञान यही ‘प्रसिद्धि’सँग जोडिएको छ । यस्ता थुप्रै पेसा/क्षेत्र छन्, जहाँ धेरैको आकर्षण हुन्छ ।  

एयरहोस्टेज

एयरहोस्टेज आकर्षक मात्र होइन, उत्तीकै चुनौतीपूर्ण र रोमाञ्चक पेसा पनि हो । जस्तोसुकै अवस्थामा पनि संयमित भएर र सभ्य ढंगले सेवा दिन सक्नेहरूले यो क्षेत्रमा करियर बनाउन सक्छन् । विमानमा यात्रा गरिरहेका यात्रुको रेखदेख गर्दै सेवा सुविधा प्रदान गर्नु एयर होस्टेजको जिम्मेवारी हो । विमानले उडान भर्नु अघिदेखि अवतरणसम्म उनीहरूले शालिन, सभ्य र सहज ढंगले अनवरत रूपमा सेवा गर्नुपर्ने हुन्छ ।

यद्यपि यो पेसा जोखिमपूर्ण पनि छ । जोखिमपूर्ण अवस्थामा कसरी आफूलाई सम्हालेर सम्पूर्ण यात्रुलाई शान्त तुल्याउने भन्ने कला एयरहोस्टेजमा हुनुपर्छ । जोखिमपूर्ण अवस्थामा के गर्ने भन्ने कुरामा उनीहरूलाई प्रशिक्षित गरिन्छ । करियरको हिसाबले यो निकै राम्रो क्षेत्र हो । यो पेसामा कमाइ राम्रै हुनुका साथै देश–विदेश घुम्ने अवसर त छँदैछ ।

प्रारम्भमा एयर होस्टेजका रूपमा नियुक्ति लिए पनि वरिष्ठ एयर होस्टेज, ड्युटी चिफ एयर होस्टेज एवं चिफ एयर होस्टेज सम्मको जिम्मेवारी निर्वाह गर्न सकिन्छ । एयर होस्टेजका लागि अंग्रेजी भाषा अनिवार्य मानिन्छ । मिलनसार, सहनशील, विनम्र व्यवहार र हँसिलो मुहार एयर होस्टेजमा हुनुपर्ने गुण हो । कम्तीमा प्रमाणपत्र तह वा सो सरहको अध्ययन पूरा गरेको, अविवाहित तथा १८ देखि २५ वर्ष उमेरभित्र (अन्तर्राष्ट्रियमा २० देखि ३० वर्षसम्मका) हुनुपर्ने, न्यूनतम ५ फिट ३ इन्च उचाइ भएको, आँखामा चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग नगरेको, सामान्य दृष्टि भएको हुनुपर्ने प्रावधान छ ।

मिडिया पर्सनालिटी

टेलिभिजन तथा रेडियो यस्तो माध्यम हो, जहाँबाट एकसाथ हजारौं, लाखौं दर्शकलाई सम्बोधन गर्न सकिन्छ । यही आकर्षणले गर्दा धेरै युवा टेलिभिजन/रेडियोको कार्यक्रम प्रस्तोता, समाचारवाचक, रिपोर्टर बन्ने चाहना राख्छन् । यो जति आकर्षक पेसा हो, उत्तिकै चुनौतीपूर्ण, जिम्मेवार र संवेदनशील पनि छ । त्यसैले चाहेर पनि सबैजना ‘मिडिया पर्सनालिटी’ बन्न सक्दैनन् ।

टेलिभिजन र रेडियोको प्रकृति केही भिन्न भए पनि यसमा सञ्चालन गरिने कार्यक्रमको रूपरेखा प्राय: उस्तै हुन्छ । टेलिभिजनमा सदृश्य प्रस्तुत गर्नुपर्ने भएकाले त्यसका निम्ति स्मार्ट र शारीरिक रूपले आकर्षक उम्मेदवार चयन गरिन्छ । रेडियोमा भने सशक्त, कलात्मक आवाजको महत्व हुन्छ । देशभर खुलेका एफएम रेडियो र निजी लगानीमा खुलेका टेलिभिजनहरूले यो क्षेत्रमा प्रशस्त रोजगारीको अवसर सिर्जना गरेका छन् । यसमा करियर बनाउन चाहनेले ‘ब्रोडकास्ट जर्नलिज्म’ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान लिनुपर्छ । मानविकी संकायअन्तर्गत पत्रकारिता विषय लिएर अध्ययन गर्नेले यससम्बन्धी ज्ञान आर्जन गर्न सक्छन् ।

लेखन

तपाईंलाई मनपर्ने लेखक को हो ? प्लस टु पुस्तासँग यसको तात्तातो जवाफ छ– ‘चेतन भगत ।’ भारतीय लेखक चेचन भगत यो पुस्ताका लोकप्रिय लेखक हुन् । हाफ गर्लफ्रेन्ड, द थ्रि मिस्टेक्स अफ माइ लाइफ, टु स्टेट्स: अ स्टोरी अफ माई म्यारिज जस्ता फिक्सनले चेतन भगतलाई त्यो ठाउँमा पुर्‍याएको छ, जहाँ पुग्न युवापुस्ता लालयित देखिन्छ । त्यसो त नेपालकै युवा लेखक बुद्धिसागर, अमर न्यौपानेहरूलाई पनि आफ्नो आदर्श मान्नेहरू धेरै छन् । यसबाट के थाहा पाउन सकिन्छ भने, लेखकप्रति युवाहरूको क्रेज निकै छ । लेखन आफैंमा सिर्जनशील विधा हो । कल्पनाशिलता, विषयवस्तुको ज्ञान, शब्द भण्डार, शब्द खेलाउने कला यसका आधारभूत तत्व हुन् । लेखक बन्न कुनै शैक्षिक योग्यता हासिल गरिरहनु आवश्यक छैन । यद्यपि, धेरैभन्दा धेरै अध्ययन र चिन्तन भने हुनुपर्छ । समाजका घटना, चरित्र, प्रवृत्ति र पात्रलाई नै विषय बनाएर पुस्तक लेख्न सकिन्छ । त्यसैले लेखक बन्न टाढा जानुपर्दैन, आफ्नै वरिपरिको समाजलाई अध्ययन गरे पुग्छ ।

निर्देशन/सिनेम्याटोग्राफी

निर्देशन र सिनेम्याटोग्राफी फरक–फरक विधा भए पनि यी एकअर्काका परिपूरक हुन् । खासगरी निर्देशकमा सिनेम्याटोग्राफीको ज्ञान हुनुपर्छ । निर्देशकले मस्तिष्कमा जुन खाका तयार गरेको हुन्छ, सिनेम्याटोग्राफरले पनि त्यही अनुसारको दृश्य कैद गर्नुपर्छ । त्यसैले दुवै विधा अलग भए पनि एकअर्कासँग अभिन्न रूपले जोडिएका छन् ।

चलचित्र टिमवर्कबाट निर्माण हुन्छ । त्यसैले एउटा चलचित्र निर्माणमा निर्देशक, पटकथा लेखकदेखि लाइटम्यानसम्मको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । समग्र चलचित्र एउटा निर्देशकको परिकल्पनाको उपज हो । त्यसैले चलचित्रमा निर्देशकको स्थान सर्वोच्च मानिन्छ ।

श्रव्यदृश्य माध्यममा चलचित्रलाई सबैभन्दा सशक्त मानिन्छ, । यो मनोरञ्जक विधा हो । चलचित्रप्रति जुन क्रेज छ, सायदै अरू विधाप्रति होला । त्यसैले त युवापुस्ता यस क्षेत्रमा आफ्नो करियर बनाउने सपना देख्छन् । करियरको हिसाबले पनि यसलाई उन्नत क्षेत्र मान्न सकिन्छ । चलचित्र निर्देशन मात्र होइन, पटकथा लेखक, कला निर्देशक, द्वन्द्व निर्देशक, ध्वनि निर्देशक, नृत्य निर्देशक, अभिनय, सिनेम्याटोग्राफर, कोरियोग्राफर, कस्ट्युम डिजाइनर, मेकअप आर्टिस्ट, सम्पादक जस्ता चलचित्रसँग सम्बन्धित थुप्रै क्षेत्रमा करियर बनाउन सकिन्छ । नेपालमा पनि ‘फिल्म स्टडिज’को कोर्स गर्न पाइन्छ । त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा ओस्कार कलेज अफ फिल्म स्टडिजले चलचित्रसम्बन्धी विविध विषयमा पठन–पाठन गराउँछ ।

 फेसन डिजाइनिङ

फेसन डिजाइनिङको सन्दर्भ उप्काउनासाथ धेरैले प्रबल गुरुङलाई सम्झन्छन् । नेपाली मूलका प्रबल यस्ता अब्बल डिजाइनर हुन्, जसले विश्व बजारमै आफ्नो प्रभाव जमाएका छन् । हलिउड/बलिउड सेलिब्रेटीदेखि अमेरिकी प्रथम महिला मिचेल ओबामा समेत प्रवलको डिजाइनमा सजिएका छन् । प्रबल जस्तै फेसन डिजाइनमै करियर खोज्ने युवा जमात ठूलो छ ।

यो सिर्जनशील विधा हो । त्यसैले यसका निम्ति शैक्षिक योग्यताभन्दा पनि रचनात्मक क्षमताले महत्व राख्छ । नेपालमा फेसन डिजाइनिङको छुट्टै कोर्स गर्न सकिन्छ । यसका निम्ति प्लस टुमा यही विषयमा अध्ययन गर्नुपर्छ भन्ने छैन । जुनसुकै विषय अध्ययन गरेकाले पनि स्नातकमा फेसन डिजाइनिङ पढ्न सक्छन् । यसअन्तर्गत स्केचिङ, टेक्सटाइल गार्मेन्ट, ट्रेपिङ–ग्रेभिङ, मर्चेन्टाइजिङ, प्रिन्सिपल अफ म्यानेजमेन्ट, फेसन मार्केटिङजस्ता विषयमा प्रयोगात्मक शिक्षा दिइन्छ । यसैगरी गार्मेन्ट म्यानुफ्याक्चरिङ, मार्केटिङ एन्ड एड्भरटिजमेन्ट, प्रोडक्सन म्यानेजमेन्ट, इन्ट्रोडक्सन टु टेक्सटाइल, इलेमेन्ट अफ डिजाइन, प्याटर्न मेकिङ, एडभान्स मल्टी मिडियाजस्ता विषयमा ज्ञान प्रदान गरिन्छ ।

 मोडलिङ/कोरियोग्राफी

फेसन, विज्ञापन र समग्र मनोरञ्जन उद्योगले गर्दा मोडलिङलाई करियरकै रुपमा अपनाउन थालिएको छ । विभिन्न उत्पादनको प्रवद्र्धनका लागि गरिने विज्ञापन होस् वा र्‍याम शो, मोडलिङको भूमिका अनिवार्य हुन्छ । यो एउटा ग्ल्यामरस क्षेत्र हो, जहाँ युवायुवतीको आकर्षण हुनै नै भयो । छापा तथा श्रव्यदृश्य माध्यमका लागि मोडलिङ गरेर राम्रै आयआर्जन लिन सकिन्छ । अहिले विभिन्न संघसंस्थाले आफ्नो प्रवद्र्धन, प्रचारका लागि विज्ञापनको सहारा लिने गरेका छन् । यसले स्वत: मोडिलिङमा करियरको ढोका खुला गरिदिएको छ । त्यसैले अहिलेको पुस्ताका निम्ति करियरको राम्रो विकल्प हो–मोडलिङ ।

फरक क्षेत्रमा करियर बनाउन चाहनेहरूका निम्ति कोरियोग्राफी पनि उपयुक्त रोजाइ हुनसक्छ । कोरियोग्राफी यस्तो कला हो, जसले नृत्यको डिजाइन गर्छ । कोरियोग्राफी धेरै क्षेत्रमा प्रयोग हुन्छ । कोरियोग्राफरको काम नृत्य कलाको प्रयोग गरी संगीतको भावलाई कथाका रूपमा प्रस्तुत गर्नु हो । सिनेम्याटोग्राफी, फेसन सो, थिएटर, स्टेज, टेलिभिजन शो आदिमा कोरियोग्राफरको भूमिका महत्वपूर्ण हुन्छ ।

गायन/नृत्य

गायन तथा नृत्य एक अर्कासँग सम्बन्धित छन् । यसलाई छुट्टाछुट्टै करियरका रूपमा पनि अंगाल्न सकिन्छ । गायन/नृत्य आफैंमा कला हो र यसमा परांगत हुन कठोर साधना आवश्यक हुन्छ । आफ्नो प्रतिभा वा लगावको बलमा यो क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ । गायन र नृत्य प्रशिक्षण गराउने प्रशस्तै इन्स्टिच्युटहरू छन् । यो स्वअध्ययनबाट पनि आर्जन गर्न सकिने कला हो । नेपालमा गायनसम्बन्धी छुट्टै अध्ययन पनि गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा संगीत विधाअन्तर्गत गायन पनि सिकाइन्छ । मनोरञ्जन उद्योगले व्यापकता पाएसँगै नृत्य/गायनलाई करियरकै रूपमा अपनाउने अनुकूलता सिर्जना भएको छ । गायक बनेर नाम र दाम दुवै कमाउन सकिन्छ । नृत्य पनि यस्तै नाम र दाम कमाउन सकिने क्षेत्र हो । संगीतभित्र अनेक हाँगा छन् भने नृत्यमा पनि विविधता छ । 

अभिनय

यदि अभिनयमा रुचि छ भने यसैमा करियर बनाउन सकिन्छ । प्रसिद्धि तथा चर्चा चाहनेहरूका निम्ति यो उपयुक्त विकल्प हुनसक्छ । यसमा स्थापित हुन त्यति सजिलो छैन । कुनै कथा र परिवेशअनुसार कुनै पात्रका रूपमा आफूलाई जीवन्त प्रस्तुत गर्ने कला हुनेहरूले यो क्षेत्रमा प्रगति गर्न सक्छन् । यो क्षेत्रमा लाग्न चाहनेहरूले विभिन्न चरित्र एवं प्रवृत्तिलाई दुरुस्तै उतार्न सक्नुपर्छ । चलचित्र, टेलिचलचित्र, रंगमञ्चमा अभिनय गरेर नाम र दाम कमाउन सकिन्छ । नेपालमा अभिनयसम्बन्धी छोटो अवधिको तालिमहरू पनि सञ्चालन भैरहेको हुन्छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ओस्कार कलेज अफ फिल्म स्टडिजले पनि अभिनयको छुट्टै कोर्स पठन पाठन गराउँदै आएको छ ।

भिजुअल एडिटर/एनिमेटर

अहिले चलचित्र, विज्ञापन आदिमा भिजुअल इफेक्ट्स तथा एनिमेसनको पर्याप्त प्रयोग गर्न थालिएको छ । छायांकन गरिएको दृश्यलाई थप प्रभावकारी एवं रोमाञ्चक बनाउन भिजुअल इफेक्ट्स प्रयोग गरिन्छ । त्यस्तै, काल्पनिक एवं कृतिम दृश्यहरू राख्न चलचित्रमा एनिमेसनको सहारा लिइन्छ । एनिमेसन चित्र वा दृश्यको निरन्तर चलायमान अवस्थाको प्रक्रिया तथा प्रस्तुति हो । हातले कोरिएको चित्र, कम्प्युटरमा वनाइएका चित्र वा थ्री डाइमेन्सनल वस्तु आदिको संयुक्त प्रयोगबाट एनिमेसन तयार गरिन्छ । एनिमेसन टुडी र थ्रीडी गरी दुई किसिमका हुन्छन् । हलिउड/बलिउडका लागि नेपालमै पनि एनिमेसनको काम गरिन्छ । यसबाट राम्रो आयआर्जन त हुन्छ नै, आफ्नो प्रतिभालाई विश्वव्यापी गर्ने अवसर पनि मिल्छ ।

प्रकाशित :आश्विन ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्