मञ्जु महतलाई सम्झिँदै गाएको गीतले चिनायो

- साप्ताहिक संवाददाता

आश्विन २, २०७२

कमल किरण, गायक/संगीतकार

अहिले केमा व्यस्त हुनुहुन्छ ?

केही समयअघि मात्र बजारमा आएको मेरो एकल एल्बम ‘डढेलो’ लाई सम्पूर्ण श्रोतामाझ पुर्‍याउने अभियानमा छु । दिवंगत गायिका तथा मेरी अर्धाङ्गिनी मञ्जु महतप्रति समर्पित केही गीतको यो एल्बमले श्रोताहरूको मन जितिरहेको छ ।

गायिका मञ्जु महतलाई कसरी सम्झनुहुन्छ ?

करिब पाँच वर्ष लामो वैवाहिक जीवनका क्रममा उनी असल श्रीमती त थिइन् नै, त्यसबाहेक उनले नेपाली लोकदोहोरी क्षेत्रमा समेत ठूलो योगदान दिएकी थिइन् । उनी जीवित भएको भए गएको तीजमा कति राम्रा गीत गाउँथिन् होला भन्ने सम्झेर भक्कानिन्छु ।

‘डढेलो’ का कुन–कुन गीतबाट मञ्जुलाई सम्झनुभएको छ ?

शीर्षक गीत ‘डढेलो सर्‍यो किन’ का हरेक शब्दले मञ्जुको स्कुटर दुर्घटनामा निधन भएको क्षणलाई स्मरण गराउँछ । मानस राजको शब्द तथा संगीतको यो गीत श्रोताहरूले पनि उत्तिकै मन पराउनुभएको छ । त्यसबाहेक ‘फक्रिएर फूल न फुल्दै...’ गीतमा पनि उनलाई सम्झने प्रयास गरेको छु ।

‘डढेलो सर्‍यो किन..’ गीतको भिडियो कस्तो बनेको छ ?

निर्देशक समन अधिकारीले गायिका मञ्जु महतको दुर्घटनादेखि भावपूर्ण बिदाइसम्मका काल्पनिक दृश्यहरू समावेश गर्नुभएको यो भिडियो हेरेर अधिकांश दर्शक भावुक भएको प्रतिक्रिया पाएको छु ।

सांगीतिक क्षेत्रमा आएको कति भयो ?

करिब एक दशकदेखि म यही क्षेत्रमा छु । प्रारम्भमा शन्तबहादुर गौतमसँग करिब दुई वर्ष शास्त्रीय गायनको प्रशिक्षणपछि म यो क्षेत्रमा सक्रिय भएको हुँ । २०६३ सालमा लोक पप शैलीको गीत ‘गुराँस फुल्ने गाउँमा...’ गाएयता हालसम्म मैले करिब ४० वटा गीत गाइसकेको छु ।

मञ्जु महतसँग युगल गीत गाउने अवसर पाउनुभएन ?

मञ्जुसँग २०६४ सालमा भेट भएपछि ‘कोसेली’ एल्बमका लागि सहकार्य गरियो । उनीसँग मैले एउटा मात्र गीत गाएको छु । ‘पर्खेर बस्नु है...’ गीत नै हाम्रो पहिलो तथा अन्तिम यूगल गीत हो ।

आगामी योजना के छन् ?

‘डढेलो’ एल्बमको ‘नेपाल बन्द भो’ गीतको म्युजिक भिडियो तयार पार्दैछु । दसैंपछि रोमान्टिक गीतहरू लिएर श्रोतामाझ आउँदैछु । त्यसबाहेक संगीतकर्मी मुरलीधरको ‘उडायो सपना सबै हुरीले...’ गीत रि–रेकर्ड गर्ने चाँजोपाँजो मिलाउँदैछु ।

प्रकाशित :आश्विन २, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्