खर्चिलो खानपानलाई पैसा छैन

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७२

सानोदुम्मा, भोजपुरकी मीरा राई पूर्व माओवादी छापामार हुन् । २५ वर्षीया राई अहिले अल्ट्रा धावकका रुपमा प्राप्त सफलतापछि चर्चामा छिन् । राईसँग साप्ताहिकको ५ प्रश्न : 

अल्ट्रा रेसका बारेमा कहिले थाहा पाउनुभयो ?

पहिलोपल्ट ९ चैत, २०७० मा हिमालयन आउटडोर फेस्टिबलमा दौडिएकी थिएँ । फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको ५० किलोमिटरको उक्त दौडमा म पहिलो भएँ । त्यसपछि मुस्ताङ र मनास्लुमा दौडिन गएँ, त्यहाँ पनि पहिलो भएँ । हिमाली–पहाडी क्षेत्रमा हुने दौड नै अल्ट्रा दौड हो भन्ने कुरा दौडँदै जाँदा मात्र थाहा पाएँ ।

देश–विदेशमा १३ वटा दौड जितिसक्नु भएको रहेछ, कुनलाई विशेष मान्नुहुन्छ ?

गत वर्षको माघमा हङकङमा एसियाली स्काई रनिङ च्याम्पियनसिप जितें । उक्त सफलतापछि स्काइरनर वल्र्ड सिरिजमा सहभागी हुने मौका मिल्यो । वैशाखमा वल्र्ड सिरिजअन्तर्गतको मोन्ट–ब्लान्क (फ्रान्स) रेस पनि जिते । त्यसले मलाई विश्वमै चर्चा दिलायो । मेरा लागि ती दुवै दौड विशेष छन् ।

अबको लक्ष्य के छ ?

अहिले अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिज वरियताको दोस्रो स्थानमा छु । अब १९ सेप्टेम्बरमा स्पेनमा हुने अल्ट्रा पिरिनेउ जित्दै वल्र्ड च्याम्पियन बन्ने लक्ष्य छ ।

खानपान कस्तो छ ?

त्यस्तो खासै खर्चिलो खानपान छैन, किनभने पैसाले पुग्दैन । मासु, अन्डा, चना, स्याउ, केरा, काजुको मिलाएर खाने गरेकी छु । यसैको भरमा दैनिक २ देखि ६ घन्टासम्म दौडन्छु ।

दक्षिण एसियाली तथा एसियाली खेलकुदमा दौडिने योजना छैन ?

पाँचांै र छैटौं राष्ट्रिय खेलकुदमा पीएलएबाट ५ हजार तथा १० हजार मिटरमा दौडिएकी थिएँ तर सफल भइनँ । सानैदेखि उकाली–ओराली गर्थें, उफ्रिन्थे । अहिले पनि त्यही सजिलो लाग्छ । त्यसैले मेरो बाटो ट्रयाक वा सडक होइन, अल्ट्रा हो ।

 

प्रकाशित :भाद्र २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्