तीजका चर्चित धार्मिक स्थल

भाद्र २७, २०७२

तीजमा पशुपतिनाथबाहेक देशभरका शिवालयमा महिलाहरूको भीड लाग्छ । पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मकै सबै शिवालयमा महिलाहरू पुग्ने गरेका छन् । पशुपतिनाथ बाहेक अन्य मन्दिरहरूमा कति श्रद्धालुले दर्शन गरे भन्ने रेकर्ड पाइँदैन । यद्यपि तीजका अवसरमा पूर्वको पशुपतिनाथ भनिने अर्जुनधाराको जलेश्वरधाममा ठूलो मेला लाग्छ । अर्जुनधारा र शनिश्चरे गाविसमा पर्ने जलेश्वरधाममा भारतका सिक्किम, दार्जीलिङ र आसामदेखिका भक्तजन जल चढाउन पुग्छन् ।

 

तीज नारीहरूले सौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार शिव–पार्वतीको उपासना र पूजा गर्ने चाडका रूपमा प्रचलित छ । हिन्दू परम्पराअनुसार भाद्र शुक्ल पक्षका दिन पर्ने यो पर्वले विवाहित तथा अविवाहित नारीमा हरेक वर्ष उल्लास र रमाइलो थपिरहेको छ । यो पर्व नेपालबाहेक भारतमा पनि मनाइन्छ । तैपनि नेपाली महिलाहरू यो पर्वमा जुन उत्साहपूर्वक भाग लिन्छन्, त्यो भने अनुपम मानिन्छ । 

यो पर्वमा विवाहित हिन्दू महिलाहरू श्रीमान्को दीर्घायु, घरपरिवारमा सुखसमृद्धि एवं सफल दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्छन् भने अविवाहितहरू असल श्रीमान् पाउन ब्रत बसेको पाइन्छ । शास्त्रीय मान्यता अनुसार यो पर्व तीन दिनसम्म मनाइन्छ । यो पर्वमा शौभाग्य सामग्रीहरू छड्के तिलहरी, सिन्दूर, पोते एवं विभिन्न किसिमका राता पहिरनमा सजिएर भगवान् शिव–पार्वतीको पूजा गर्न शिवालय धाइन्छ । ‘हरितालिका तीज’का रूपमा चर्चित यो पर्वमा अघिल्लो रात दर खाइ भोलिपल्ट निराहार व्रत बसिन्छ । यो पर्वलाई थप रोमाञ्चक र रमाइलो बनाउन तीज गीत एवं नृत्यले पनि उत्तिकै भूमिका खेल्छन् ।

शिव पुराणमा शिवका दस अवतारको वर्णन गरिएको छ, जसअनुसार शिवका मन्दिरहरू पनि यिनै दस अवतारलाई आधार बनाएर स्थापना गर्नुपर्ने शास्त्रीय मान्यता छ । शिवका दस अवतारमा महाकाल, तारा, भुवनेश, षोडश, भैरव, छिन्नमस्तक गिरिजा, धूम्रवान, बगलामुखी, मातंग तथा कमल हुन् । नेपालमा यिनै दश अवतारलाई आधार मानेर सयौं शिवालय स्थापना भएका छन् र तिनै मन्दिरमा नेपाली महिलाहरूको भीड लाग्छ । तैपनि काठमाडौंको पशुपतिनाथ नेपाली महिलाहरूको प्रिय शिवालय हो । पशुपति क्षेत्र विकास कोषका अनुसार गएको वर्ष हरितालिका तिजमा पशुपतिनाथको दर्शन र मेला भर्नेहरूको संख्या ७ लाख ६० हजार पुगेको थियो । तीमध्ये श्रद्धालु तथा ब्रतालु महिलाको संख्या ३ लाख १० हजार थियो भने मेला भर्न आउने तथा घुम्न आउनेहरूको संख्या करिब ३ लाखजति थियो । करिब १ लाख पुरुष महिलाहरूको नाचगान र रमाइलो हेर्न उक्त अवधिमा पशुपति क्षेत्र प्रवेश गरेका थिए । 

तीजमा पशुपतिनाथबाहेक देशभरका शिवालयमा महिलाहरूको भीड लाग्छ । पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मकै सबै शिवालयमा महिलाहरू पुग्ने गरेका छन् । पशुपतिनाथ बाहेक अन्य मन्दिरहरूमा कति श्रद्धालुले दर्शन गरे भन्ने रेकर्ड पाइँदैन । यद्यपि तीजका अवसरमा पूर्वको पशुपतिनाथ भनिने अर्जुनधाराको जलेश्वरधाममा ठूलो मेला लाग्छ । अर्जुनधारा र शनिश्चरे गाविसमा पर्ने जलेश्वरधाममा भारतका सिक्किम, दार्जीलिङ र आसामदेखिका भक्तजन जल चढाउन पुग्छन् । त्यसैगरी मेचीनगरको उत्तरी भागमा रहेको घैलाडुब्बा पातालगङ्गा शिवालय अर्को तीर्थस्थलका रूपमा प्रख्यात छ । घैलामा जल उघाएर शिवालयमा चढाउने देवी बसेको भन्ने किंवदन्तीका आधारमा यो मन्दिरको नाम ‘घैलाडुब्बा मन्दिर’ रहेको हो । 

इलाम जिल्लासँग जोडिएको बाहुनडाँगी गाविसको सिरानमा अवस्थित ‘कृष्णथुम्की मन्दिर’ पनि प्रसिद्ध शिवालय हो । कृष्णले यो मन्दिरमा शिवलाई जल जढाएको किंवतन्दीका आधारमा यसको नाम कृष्णथुम्की रहेको बताइन्छ । त्यसैगरी महेन्द्र राजमार्गको मतारकेश्वर शिवालयमा पनि महिलाहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । 

पूर्वको सतासी कैलाशधाम अर्को महत्वपूर्ण शिवालय हो । जंगलको बीचमा रहेको यो मन्दिरको दर्शन गरे चिताएको कुरा पुग्ने विश्वासमा अन्य समयमा पनि मानिसहरूको घुइँचो रहन्छ । प्रेममा परेका युवा–युवतीहरू यो मन्दिरमा पुगेर एकआपसमा नछुट्टीने वाचा पनि गर्छन् । त्यसैगरी कन्काई धाममा पनि महिलाहरूको उल्लेख्य उपस्थिति हुनेगरेको छ । तीजमा नाचगानका साथ गाडी रिजर्भ गरेर महिलाहरू यो मन्दिर पुग्ने गरेका छन् । मोरङका विभिन्न शिवालयमध्ये विराटनगरको शिव मन्दिर धेरै महिला जम्मा हुने मन्दिर हो । मध्यबजारमा रहेको यो मन्दिरमा तीजको व्रतको दिन मुख्य बजारलाई आंशिक मात्र खुला गरिन्छ । धरान क्षेत्रमा भने तीजका अवसरमा बूढासुब्बा मन्दिरमा ठूलो भीड लाग्छ ।

अछामको वैजनाथ, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा देवी तथा घटाल बाबा, बैतडीको त्रिपुरा सुन्दरी, निङ्गलासैनी देवी, दार्चुलाको मालिकाअर्जुन मन्दिर पनि तीज दृष्टिले महत्वपूर्ण मदिर हुन् । ती मन्दिरमध्ये केही मन्दिर शक्तिपीठ भएकाले दसैंमा पनि उत्तिकै भीड हुन्छ । चाड–पर्वमा मन्दिर जानैपर्छ भन्ने धारणाले गर्दा शिवालय नभए पनि यी मन्दिरमा तीजका बेला उल्लेख्य भीड जम्मा भएको हो । 

नेपालमा रहेका चार धाममध्येको एक रिडी धाम अर्को चर्चित मन्दिर हो । यो मन्दिरमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्छ । तैपनि तीजका दिन महिलाहरू गाडी रिजर्भ गरेर टाढा–टाढाबाट पुग्ने गरेका छन् । नेपालका चार धाममध्ये दुई धाम यहि क्षेत्रमा पर्ने भएकाले पनि यस्तो भीड लागेको हो । नेपालमा मुक्ति क्षेत्र, पशुपति क्षेत्र, रुरु क्षेत्र तथा बराह क्षेत्रलाई चारधाम मानिन्छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गम स्थल पवित्र रुरु तथा कालीगण्डकी नदीको तीरमा रहेको रिडी पाल्पाको सदरमुकामबाट ३० किलोमिटर उत्तरपूर्वमा पर्छ ।

उता दिपायल सिलगढी नगरपालिकास्थित शिवालय पनि चर्चित छ । यहाँ सिलगढी नगरपालिकाका सबै जसो आमा समूह नाच्दै गाउँदै भगवान् शिवको दर्शनका लागि पुग्छन् । अर्कातर्फ म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधाम त्यो क्षेत्रको चर्चित शिवालय हो । यो शिवालय पश्चिम नेपालमा सबैभन्दा बढी भेटी संकलन गर्ने मन्दिर पनि हो । गएको तीजमा उक्त मन्दिरले एकै दिन २ लाख ५० हजारभन्दा बढी भेटी संकलन गरेको थियो । मुक्तिनाथ प्रवेशद्वारका रूपमा पनि चर्चित धार्मिकस्थल गलेश्वरधाममा यतिबेला ३० हजारभन्दा बढी भक्तजन आउने गरेका छन् । 

यता अर्घाखाँचीस्थित सुप देउराली पश्चिम नेपालको अर्को चर्चित मन्दिर हो । महाभारत र नर्तानाचल पर्वतको खोचमा रहेको यो मन्दिरमा भारतीय पर्यटकहरू समेत आउने गरेका छन् । त्यसैगरी बाग्लुङ, म्याग्दी, पर्वत सदरमुकाम लगायत जिल्लाका विभिन्न ठाउँमा तीज गीत प्रतियोगिता, सांगीतिक एवं नृत्य कार्यक्रम आयोजित हुन्छन् । महिला सञ्जाल, आमा समूह, महिला सहकारी तथा विभिन्न संघ संस्थाले तीज गीत, नृत्य तथा भोजको आयोजना गरी तीज पर्व मनाउँछन् । यी समूहहरू स्थानीय शिवालयमा पुगेर पूजा आराधनासमेत गर्छन् । 

प्यूठानको स्वर्गद्वारी मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल हो । केही वर्षअघि सम्म यो मन्दिर पुग्न यातायातको सुविधा थिएन । त्यसैले त्यहाँ विशेष भाकल वा विशेष पर्वहरूमा मात्र भक्तजन पुग्थे । अहिले यातायातको सुविधा पुगेपछि भने महिलाहरू तीजका अवसरमा पनि यो मन्दिर पुग्ने गरेका छन् । पाँच पाण्डव स्वर्ग जाादा यहीे बाटो भएर गएकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ । 

 

प्रकाशित :भाद्र २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्