बिकिनीसुट र तीज गीत फरक- शालु गौतम

- सुव्रत आचार्य

भाद्र २५, २०७२

प्राय: बिकनी सुट गराइहनुहुन्थ्यो, यसपटक त तीजको गीत लिएर आउनुभएछ ?

बिकनी सुट र तीज गीत फरक कुरा हुन् । के बिकनी सुट गर्नेले तीजको गीत गाउनु हुँदैन भन्ने छ र ?

तीज भनेको संस्कारी चाड हो नि त ?

बिकनी लगाउँदैमा मैले आफ्नो संस्कार बिर्सिएकी छैन । पौडी पोखरीमा बिकनी लगाउँछु भने तीज मनाउँदा दिदी बहिनी र साथीहरूसँग रातो साडी लगाएर तीज गीत गाउँदै नाच्छु ।

तपाईंले गीतमा भन्नुभएको छ नि, ‘छोटा लुगा फालेर रातो साडी लाएँ’, त्यो भनेको के हो ?

बिकनीमा फोटो सुट तथा स्टेजमा बेली डान्स गर्ने भएकाले मेरो छवि छोटा पहिरन लगाउने केटी भन्ने बनेको रहेछ । यसपटक तीजमा भने छोटा लुगा छाडेर रातो साडी लगाएर तीज गीत गाएँ र त्यसैअनुरूप भिडियो पनि बनाएँ ।

केश किन युरोपियनहरूको जस्तो कैलो ?

म धेरै वर्ष युरोप बसेँ, उताको संगतले केश रंगाएर कैलो बनाएँ । अहिले यो मेरो पहिचान नै भैसकेको छ ।

तपाईंले म्युजिक भिडियोमा नाच्दा विदेशीलाई नचाएछन् पनि भनेछन् हैन ?

मेरो कैलो केशले गर्दा धेरै जना झुक्किएको पाएको छु । म्युजिक भिडियोमा पनि झुक्किए रे ।

तीजको व्रत बस्नुहुन्छ ?

सानोमा जानी–नजानी बसेकी थिएँ । यसपटकचाहिँ पूरै बस्छु ।

पानी पनि नपिई ?

त्यसो त गर्दिनँ र कसैलाई त्यसो गर्ने सल्लाह पनि दिन्नँ । फलाहार वा शुद्ध खानेकुरा खाएर व्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हो ।

व्रत बसेर भगवान् शिवसँग के माग्ने ?

विवाह गर्ने उमेर भयो । दुलाहा खोज्ने फुर्सद छैन । त्यसैले भगवान् शिवलाई मलाई सुहाउने दुलाहा खोजिदिनुपर्‍यो भनेर माग्ने विचार छ ।

दुलाहा कस्तो होस् भन्ने चाहना छ ?

समझदार, विशेष गरी मेरो काममा मलाई प्रेरित गर्ने ।

अब अर्को खोजे भगवान् शिवलाई गुहार्नै पर्दैनथ्यो नि ?

माया पनि खोजेर पाइने कुरा हो र ? हुने बेलामा माया आफैं बस्छ ।

प्रकाशित :भाद्र २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्