प्लस टु पुस्तामा तीजको ग्ल्यामर

- शिव मुखिया

भाद्र २५, २०७२

तीज किन मनाउने ? प्लस टु जेनरेसनसँग यसको रेडिमेड जवाफ छ–‘रमाइलो गर्न ।’  यसलाई उनीहरूले साथीसंगी भेटघाट गर्ने, नाचगान गर्ने, खुसी साट्ने अवसरका रूपमा ग्रहण गरेका छन् । तीजको सांस्कृतिक, धार्मिक, सामाजिक पक्ष आफ्नो ठाउँमा छ तर उनीहरूलाई यसले भन्दा पनि फेसनमय तीजको ग्ल्यामरले तान्छ । 

तीज यस्तो पर्व हो, जसमा पहिरन, शृंगार तथा गरगहनाले खास महत्व राख्छ । हरियो, रातो र पहेंलो रंगको पहिरन लगाइने फेसन डिजाइनर समा वानो बताउँछिन् । ‘यो फेसनमय चाड हो,’ समा भन्छिन्– ‘त्यसले युवापुस्तामा यसको छुटै ग्ल्यामर छ ।’ 

तीजमा रातो तथा हरियो रंगको कुर्ता–सुरुवाल एवं लेहेंगा बढी लगाइन्छ । यस्तै गेटअपमा रातो, हरियो चुरा, टीका लगाइन्छ । मेकअपमा पनि रातोकै वर्चस्व रहन्छ– रातो लिपिस्टिक, रातो नेलपोलिस अनि रातै धागो र टीका । तीजको यो छुट्टै फेसन शैलीले प्लस टु जेनरेसनलाई पनि तान्ने गरेको छ । ‘प्राय: अरू बेला यस्तो ड्रेसअप गर्ने मौका जुर्दैन’ सम्पदा श्रेष्ठ भन्छिन्– ‘त्यसैले तीज हाम्रा लागि विशेष हुने गरेको छ ।’ 

कान्तिपुर डेन्टल कलेजमा अध्ययनरत सम्पदा तीजलाई रमाइलो जमघटको अपूर्व अवसर मान्छिन् । अरू समयमा उनलाई पढाइ, होमवर्क आदिले बेफुर्सदिलो बनाउँछ । ‘तीजमा सबै तनाव बिर्संदै रमाइलो गर्ने हो,’ सम्पदा भन्छिन्– ‘त्यसले मुड फ्रेस गराउँछ ।’ 

अहिलेको पुस्तामा धार्मिक वा साम्प्रदायिक संकीर्णता हराउँदै गएको छ । जुनसुकै जात, क्षेत्र, धर्म भए पनि उनीहरू चाडपर्वप्रति उदार बन्दै गएका छन् । किनभने यो पुस्ता समग्र जीवनलाई उत्सवमय बनाउन चाहन्छ । त्यसैले त हरेक पर्व उत्तिकै ‘सौहार्दपूर्ण र हार्दिकतासाथ सेलिब्रेट गर्नुपर्छ’ भन्ने सोच राख्छ । 

साङ्डोमा शेर्पा भन्छिन्– ‘मलाई तीज त ल्होसार जत्तिकै रमाइलो लाग्छ । सांगीतिक ब्यान्ड ‘गोर्खालिज गल्र्स’ की सदस्य हुन्— साङ्डोमा, जसको घरमा तीजले प्रवेश पाउँदैन । यद्यपि उनी भने धूमधामका साथ यो पर्व मनाउँछिन् । साङ्डोमा साथीको घरमा गएर दर खाने, नाचगान गर्ने बताउँछिन् । जसरी उनी साथीकहाँ तीज मनाउँछिन्, ल्होसारमा उसैगरी साथीहरूलाई आफ्नो घरमा निमन्त्रणा गर्छिन् । 

विधाइका कोइराला तीजमा दर खाने, नाचगान गर्ने तथा मन्दिर जाने योजनामा छिन् । उनलाई तीजको रमाइलो पक्ष भनेकै उन्मुक्त मनोरञ्जन लिन पाउनु हो भन्ने लाग्छ । ‘सबैको अनुहारमा खुसी, हाँसो देख्न पाइन्छ,’ विधाइका भन्छिन्– ‘यो नै तीजको महत्वपूर्ण पक्ष हो ।’

तीजको आफ्नै सामाजिक महत्त्व छ । चेली–माइतीबीचको सम्बन्धलाई प्रगाढ बनाउने अवसर हो— तीज । यतिबेला पराईघर गएका चेलीबेटीलाई माइतीमा हार्दिकतापूर्वक निमन्त्रणा गरिन्छ र मीठो–मसिनो ख्वाइन्छ । यो पर्वले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई सुमधुर बनाउन पनि उत्तिकै भूमिका खेलेको छ । यतिबेला विवाहित महिलाहरू आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन्, पूजाआजा गर्छन् । त्यसो त व्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर धाउने लस्करमा विवाहित मात्र हुँदैनन्, अविवाहित पनि सराबरी देखिन्छन् । किन त ? विधाइका संक्षिप्तमा भन्छिन्– ‘हुनेवाला श्रीमान राम्रो होस् भनेर ।’ 

तीजलाई अहिलेको पुस्ताले पूरै मोडिफाइ गरिरहेको टिप्पणी गर्छिन्— ज्योति दाहाल । ‘तीज फेसनजस्तो भएको छ,’ ज्योति भन्छिन्– ‘यसलाई परम्परागत मान्यताभन्दा फरक ढंगले मनाउन थालिएको छ ।’ पार्टी प्यालेस, रेस्टुराँमा जाने, चर्को ध्वनिमा हिन्दी/अंग्रेजी गीत घन्काउने अनि मदिरा पिउँदै मस्त डान्स गर्ने परिपाटीको विकास हँुदै गएको ज्योतिले बताइन् । ‘मलाई त यो शैली मन पर्दैन,’ ज्योति भन्छिन्– ‘यसले चाडको वास्तविक मर्म ओझेलमा पार्छ ।’ तीजलाई यसको महिमा बुझेर विधिपूवर्क मनाउनुपर्ने उनको तर्क छ । 

पार्वतीले महादेव वर पाउन निराहार व्रत बसेको पौराणिक कथनसँगै तीजको परम्परा जोडिएको छ । यद्यपि रसिना श्रेष्ठ व्रत बस्दैमा भावी श्रीमान् असल हुन्छ भन्ने मान्यतामा विश्वास गर्दिनन् । ‘यो एउटा आस्था हुन सक्छ,’ रसिना भन्छिन्– ‘तर अन्नपानी नखाई व्रत बसेकै भरमा राम्रो श्रीमान् पाइँदैन ।’  

अहिले व्रतलाई पनि फेसनकै रूपमा अनुसरण गरिएको रसिनाको बुझाइ छ । ‘व्रतको अर्थ बुझेर भन्दा पनि देखासेखीमा गरिरहेको जस्तो लाग्छ,’ रसिना भन्छिन् । आखिर जुनसुकै मनोकांक्षा बोकेर व्रत बसे पनि त्यसले स्वस्थ्यमा फाइदा पुग्ने उनको तर्क छ । ‘यो फास्टिङ नै त हो,’ रसिना भन्छिन्– ‘यसले पाचन यन्त्रलाई सुचारु बनाउन सहयोग गर्छ ।’ 

    

 

प्रकाशित :भाद्र २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्