विमल मलाई मेसी जस्तो लाग्छ

- अश्विनी कोइराला

भाद्र १८, २०७२

बालगोपाल महर्जन, मुख्य प्रशिक्षक, यू नाइन्टिन

चार वर्षअघि एन्फा एकेडेमीमा प्रशिक्षकका रूपमा प्रवेश गर्दा बालगोपाल महर्जन सबैभन्दा बढी पारिश्रमिक लिने प्रशिक्षक थिए । त्यतिबेला उनले त्यसको विरोधहुँदा विरोधीहरूलाई कामै देखाएर जवाफ दिने मनस्थिति बनाएका थिए । नभन्दै आज उनी नेपाली फुटबलका सबैभन्दा सफल प्रशिक्षक भएका छन् । साफ यू–१९ च्याम्पियनसिप जितेपछि खेलाडीसँगै मुख्य प्रशिक्षक बालगोपालको पनि प्रशंसा भैरहेको छ । जर्मनको डीएफबी (प्रसिद्ध अन्तर्राष्ट्रिय कोच तालिम) तथा एएफसीअन्तर्गत ‘बी’ लाइसेन्स होल्डर बालगोपालसँग नेपाली फुटबलको वर्तमान र भविष्यका सम्बन्धमा गरिएको कुराकानीे :

फुटबलमा २२ वर्षपछि हामीले साफस्तरीय पदक हात पारेका छौं । यो जितलाई कसरी व्याख्या गर्नुहुन्छ ?

यो ठूलो उपलब्धि हो । यसले निकै ठूलो महत्व राख्छ । २२ वर्षअघि हामी साफ च्याम्पियन भएका थियौं, यसले त्यसलाई निरन्तरता दिएको छ भने एन्फा एकेडेमीले काम गरिरहेको छ भन्ने पनि देखिएको छ । अहिले हामीले खेलाएका खेलाडीमध्ये ९५ प्रतिशतभन्दा बढी खेलाडी एकेडेमीले गाउँ–गाउँबाट ल्याएर प्रशिक्षण दिएका किशोर छन् । यो जितले हामीले निश्चित उद्देश्य लिएर काम गरिरहेका छौं र त्यो ठीक दिशातर्फ गैरहेको छ भन्ने सन्देश पनि दिएको छ ।

यो जित हात पर्नुका पछाडि तपाईंको कुन–कुन मेहनतले बढी काम गरेको थियो ?

एक त मैले यसमा शतप्रतिशत ध्यान दिएको थिएँ । मैले अरू कुनै काम हातमा लिइनँ । आलोचना गर्ने आशय त मेरो छैन, तैपनि कतिपय प्रशिक्षक एकछिन एन्फामा, एकछिन कुनै क्लबमा अनि एकछिनमा सेनाको गण पुगिरहनुभएको छ । यसलाई उहाँहरूले पार्टटाइम जबका रूपमा लिनुभएको छ । मेरो विचारमा राष्ट्रिय टिमका कुनै पनि समूहलाई प्रशिक्षित गर्नु भनेको केवल जागिर मात्र होइन, यो राष्ट्रिय इज्जतको कुरा पनि हो । यसलाई सिरियस रूपमा लिनुपर्छ । मैले लक्ष्य लिएर नै काम हातमा लिएको थिएँ । एउटा यो कारण हुनसक्छ । अर्को, यी युवाहरूलाई मैले ४ वर्षदेखि गाइड गरिरहेको थिएँ । कुन खेलाडीको कस्तो बानी छ, कुन बेला कसलाई कसरी फकाउनुपर्छ, कसरी काम लिनुपर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो । खेलबाहेक म उनीहरूको पारिवारिक अवस्था, व्यक्तिगत आनीबानीसँग पनि परिचित छु । यसकारण पनि मैले उनीहरूबाट बढी काम लिएँ । पार्टटाइमका रूपमा काम गर्दा यी सबै कुरा थाहा हुँदैन ।

यो चार वर्षमा आफूले खेलाडीहरूलाई के दिएँ भन्ने मान्नुहुन्छ ?

म खेलाडी हुँदा पनि किचकिच गरिरहने मान्छे थिएँ । वास्तवमा म राम्रोका लागि बोल्छु । जस्तो, खेलाडीहरूलाई के खान मन लाग्छ, कति खान मन लाग्छ, त्यो उनीहरूले सोधिरहनु नपरोस् । उनीहरूलाई कस्तो जुत्ता चाहियो, कस्तो मैदान चाहियो, उनीहरू के गर्दा खुसी हुन्छन् भनेर सोधिरहनु नपरोस्, उनीहरूले कुनै कुरा सोच्नेबित्तिकै आफ्नो आवश्यकता पूरा भएको महसुस गरून् भनेर लागिरहन्छु । मैले उनीहरूका माग पूरा गरेको छु भन्ने लाग्छ । त्यसबाहेक उनीहरूलाई प्राक्टिस गराउन विभिन्न टुनामेन्ट गराइरहन्छु । ४ वर्षअघि यिनै खेलाडीहरूलाई एएफसी अन्डर १४ फेस्टिबल सञ्चालन गरेँ । हामी दक्षिण एसियाली खेलमा फाइनलसम्म पुग्यौं । त्यसपछि लगातार कुनै न कुनै टुर्नामेन्ट गराउने प्रयत्न भैरहेको छ । यसले पनि अहिलेको जितलाई सहज बनायो भन्ने लाग्छ ।

अहिले प्रतियोगिता जितेका खेलाडीहरूमध्ये तपाईं कसबाट बढी प्रभावित हुनुहुन्छ ?

सबै आफ्नो ठाउँमा अब्बल छन् । अनन्त तामाङ र हेमन्त थापामगरको पढाइ पनि राम्रो छ । यसपटक विश्वास श्रेष्ठले निकै राम्रो खेले ।  बिमल घर्तीमगरको स्पिड देख्दा मलाई मेसीको सम्झना आउँछ । उनी बल लिएर दौडिएको दौडियै गोलपोस्टसम्म पुग्न सक्छन् । यता गोलकिपर सोजित गुरुङ जम्मा १६ वर्षका भए । यसपटक भारतसँगको खेलमा उनले जसरी पेनाल्टी गोल बचाए, त्यसबाट पनि उनको ठूलो सम्भावना देखिन्छ । अन्जन विष्ट तथा अनन्त तामाङको खेल पनि लोभलाग्दो छ । यसरी विश्लेषण गर्दै जाँदा सबै खेलाडीले आफ्नो ठाउँबाट राम्रो गरिरहेका छन् । सबैको खेल विश्लेषण गर्दै जाने हो भने त तपाईंको पत्रिकाको पूरै पेज भरिन्छ ।

तपाईंले नाम लिएका खेलाडीहरूका कमजोरी पनि होलान्, उनीहरूले के–के सुधार गर्नुपर्छ ?

सुरुमा गोलकिपर सोजितकै कुरा गरौं । उमेर कम भएका कारण हुनसक्छ, कतिपय खेलमा उनमा कमजोरी देखियो । भुटानसँगको खेलमा छातीले बल रोक्न खोज्दा हामीले गोल खानुपर्‍यो । यो गर्नै नहुने काम थियो । विश्वास श्रेष्ठको खेल साह्रै राम्रो छ तर उनी चारैतिर घेरिएको र प्रेसर भएको अवस्थामा पनि आफ्नै खुट्टामा बलमा राख्नुपर्छ भन्ने सोचले ग्रस्त छन् । यसलाई सुधार गर्नुपर्छ । विमलको स्पिड राम्रो छ तर मिडफिल्डबाटै बल लिएर दगुर्नु राम्रो होइन । त्यतिबेला विपक्षीले उनको बल खोस्दा आफ्नो टिमलाई हानी गर्छ भन्ने कुरा उनले बिर्सनु हुँदैन ।

यी खेलाडीहरूको भविष्यले नेपालको फुटबल माथि जान्छ कि उनीहरू सामान्य अवस्थामा रहन्छन् ?

म उनीहरूको भविष्य सुरक्षित देखिरहेको छु । यसको अर्थ नेपालको फुटबल खेल माथि नै जान्छ भन्ने लागिरहेको छ । केही समयअघि नेपालको राष्ट्रिय टिमसँग यो टिमको प्रतिस्पर्धा गराएको थिएँ । दुवै टिमले बराबर खेले तर कतिपय अवस्थामा मेरो फुच्चे टिमले राष्ट्रिय खेलाडीहरूलाई नै आच्छु–आच्छु पारेको देखियो । तैपनि दक्षिण एसियाली देशका खेलाडीहरूको तुलनामा हामी धेरै माथि छैनांै । हाम्रा आफ्ना व्यवस्थापकीय कमजोरीहरू पनि छन् ।

नेपालका लोभलाग्दा खेलाडीको नाम लिनुपर्दा क–कसको नाम लिनुहुन्छ ?

अध्ययनशील खेलाडीको नाम लिनुपर्दा म उमेश प्रधानको नाम लिन्छु । रूपकराज शर्मा अर्का राम्रा खेलाडी हुन् । मणि शाह, गणेश थापा, हरि खड्का, उपेन्द्रमान सिंहले नेपालको नाम चम्काएका हुन् । यसरी हेर्दा हाम्रो इतिहास गौरवपूर्ण छ ।

तपाईंले प्रशिक्षण दिइरहेका युवा खेलाडी यी माथिका नामसँग जोडिन सक्लान् ? यी खेलाडीले पनि त्यस्तै इतिहास रच्लान् ?

उनीहरूमा त्यो क्षमता छ । अब हामीले उनीहरूलाई कस्तो वातावरण दिन्छौं, उनीहरूलाई कति माझ्छौं, त्यसमा उनीहरूको भविष्य निर्धारण हुन्छ । हो, हिजो हामीले डाइट खाँदा पैसाको सिलिङ तोकिएको हुन्थ्यो, आज त्यो छैन । हिजोको तुलनामा आजको अवस्था सहज छ । तैपनि विश्व परिवेश हाम्रो तुलनामा बढी टेक्निकल हुँदै तीव्र प्रगतिमा छ । त्यो हामीले पनि दिन सक्नुपर्छ ।

सरकार वा जनताबाट केही आशा राख्नुभएको छ ?

मैले कहिल्यै कुनै दलको झन्डा बोकिनँ । झन्डा बोक्ने साथीहरू अहिले राष्ट्रिय खेलकुद परिषद्देखि कता–कता जागिरे छन् । दल निकट नभएकै कारण मैले आजसम्म केही पाइनँ, किनभने म खोज्दै गइन् । खोज्नेले मात्र पाउने संस्कार बसाएका कारण यस्तो भएको हुनसक्छ । अब यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ । अहिले शुद्ध काम गरेर खेल जिताएपछि मेरो मूल्यांकन होला भन्ने आशा राखेको छु । त्यसो भयो भने देशको सेवा गर्न कसैको नजिक हुनुपर्दैन भन्ने सन्देश जान्छ ।

यो खेल जितेपछि तपाईंले महसुस गर्नुभएको सबैभन्दा रमाइलो कुरा के हो ?

देशको राजनीतिक अवस्था बिग्रिरहेको बेला फुटबल टिमले राष्ट्रिय एकताको सन्देश दिएको छ । क्षेत्रीले पास दियो, तामाङले गोल हान्यो, श्रेष्ठले सिकायो, नेपाललाई जितायो भन्ने खालको सन्देश सामाजिक सञ्जालदेखि चोक–चोकमा चलेको चर्चा देख्दा गौरव लागिरहेको छ । म राजनीति त्यति जान्दिनँ, तैपनि हामी सबै मिले मात्र देश बन्छ ।

प्रकाशित :भाद्र १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्