केटी फ्यानहरू बढाउनु पर्नेछ

- सुव्रत आचार्य

भाद्र १३, २०७२

विल्सनविक्रम राई (तक्मेबूढा)

बाजे, कता हो अचेल ? निकै पो हराउनुभो त ?

हौ नानी, हराएको होइन । लन्डनतिर घुमेर पो आ’को त ।

बाजे आजभोलि लन्डन निकै जानुहुन्छ । लाहुरेनी बजैसँग भेट्न हो ?

कहाँ हुनु नानी, बजै त यतै छिन् । गाउँ छाड्नै मान्दिनन् । लन्डन जाम भनेको त हो नि, प्लेन चढ्न डर लाग्छ रे ।

उसो भए लन्डनतिर बाजेका मनग्गे गर्लफ्रेन्ड छन् होलान हैन ?

के भन्छ यो नानी ? यो उमेरमा कहाँ हुनु गर्लफ्रेन्ड ? सबैले तक्मेबूढा भन्छन्, मेरो बूढा भन्दैनन् कोही । उमेर ढल्किए नि रहर त कहाँ मरेको छ र ?

यसो भन्दा बजैले मार्लिन् नि ?

पढ्न जाने त हुन्थ्यो नि । पढ्नै आउन्न त्यसलाई ।

बाजेलाई ज्योति मगरले आई लभ यू भनिन् भने के गर्नु हुन्छ ?

हौ, मैले के गर्नु नि ? जे गर्नु उनैले गर्लिन् ।

अनि बाजेलाई मेरी बास्सैबाट खेदेका हुन् ?

झुसे र बकम्फुसेको सल्लाहले हिँडेका हामी ।

अब फर्केर नआउने त ?

आउँछु होला नि हौ । झुसे (माग्नेबूढा) ले के गर्छ कुन्नि ? हाम्रो सल्लाह हँुदैछ ।

अनि युट्युबमा तक्मेबूढा डटकम आइएको छ, के हो नि यो ?

ए हो, लु के हो यो युट्युब ? कुन गाडीको पाङ्ग्रामा हालिन्छ नानी ?

गाडीको ट्युब होइन बाजे, इन्टरनेटको च्यानल बनाएर त्यसमा हालेका छन् । तपाईंलाई थाहा छैन ?

लु बिताएछ मेरो नाति केटो विल्सनले । म यसै बसिरहेका बेला मोबाइलले के–के खिच्छ अनि इन्टरनेटमा पो हाल्दो र’छ । अहिले नै फुन गरेर ठीक पार्छु त्यसलाई ।

हिट हुने काम त गरिरहेकै छ उसले । बाजे किन बेकारमा रिसाउनुपर्‍यो ? बरु विल्सनको बिहे गर्ने बेला भएन भन्या ?

ए हिटै पो पार्दैछ ? उसो भए त ठिकै गरेछ केटोले । यो साल बिहे गर्ने भनेर सोचेको मात्र, भुइँचालो आइगो त के गर्नु ? अब अर्को साल गरिदिनुपर्ला । साह्रै लफंगा भै’राछ त्यो ।

विल्सनको त एउटी गर्लफ्रेन्ड नि छ भन्ने सुन्छु, बाजेलाई थाहा छ ?

गर्लफ्रेन्ड नै छ ? केही भनेन त मलाई । सुनेको कुरामा के भर पर्नु ? भरे सोध्नुपर्ला । रै’छ भने लु भगाएर ल्या भन्छु । मैले पनि उहिले नाइन्टिन फोन्टिनमा बजैलाई भगाएरै ल्या’को थिएँ । बाजेको सिको गर्नुपरेन त त्यसले ।

झुसेसँग गाईजात्रे कार्यक्रम गर्दै हुनुहुन्छ हो ?

झुसेले भन्यो । यसै बस्नुभन्दा यसो स्टेजमा देखिनुपर्‍यो भन्ने लागेर हुन्छ भन्दिएको छु । अब केटी फ्यानहरू बढाउनुपरेन ? बजै गाउँमै बस्छिन्, म यता एक्लै छु । बुरा बुझ न नानी ।

 

प्रस्तुति : सुव्रत आचार्य

प्रकाशित :भाद्र १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्