कम्पनको फाइदा–बेफाइदा

- सीताराम कट्टेल

भाद्र १२, २०७२

भूकम्प आयो, गयो । परकम्प आइरहेछ, गइरहेछ । हजारौं मान्छेले ज्यान गुमाए, लाखौं घरबारविहीन बने, करोडौंको क्षति भो, कैयौं हुकुमबासीहरू सुकुम्बासी बने, करोडपतिहरू रोडपति बने, कतिलाई दसैंभो, कतिलाई दशा भो, पीडितको उद्धार गर्ने नाममा कैयौं मान्छे लखपति बने, करोडपति बने अरबपति, केही पहिले पनि पत्नीका पति थिए, अहिले पनि मात्रै पत्नीकै पति रहे । विनाशले विकासको शुभारम्भ गर्न अग्रसरता दिलाए पनि धेरैलाई मोटो रकम लुकाउने सोचको आरम्भ गर्दियो । जे नुहुन थियो भयो, विपत भयो, संकट भयो, पीडा भयो, भोक भयो । यही महाभूकम्पले कतिलाई के–के फाइदा दियो त, कतिलाई के–के फाइदा भयो त ‘रेक्टर एन्ड फेक्टर डटकम स्ल्यास त्यसको भुँडी चेट’ नामक अनलाइन र ‘झट्का एन्ड पड्का अझ पराकम्पन एसोसिएसन’ नामक भूकम्पीय प्लेट संस्थाले गरेको अनुसन्धानले भूकम्पको फाइदा र बेफाइदालाई यसरी केलाएको छ :

फाइदै–फाइदा, काइदै–काइदा

१. जस्तापाता उद्योग, ग्रिल उद्योग, हाडवेयर पसलेहरूलाई इतिहासकै स्वर्गीय समय भयो, परकम्पन त वर्षपरि आइरहे हुन्थ्यो भनेर धुप सल्काइ रहनुपर्ने अवस्था भो ।

२. गल्लीमा सानो किराना पसल खोलेर मुस्किलले दिनको २ हजारको व्यापार गर्ने किराना पसलेहरू व्यक्ति, संस्था, एनजीओ, आइनजीओले चामल, दाल, चिनी, खरिद गरेकै भरमा होलसेल पसले वने, जति झट्का त्यति पैसा पड्का, सिद्धान्त लागू भयो ।

३. मोबाइल पसलेदेखि टेलिकम, ठेलिकम, एनसेल, क्यान्सेल, फेसबुक, ठेसबुक, भाइवर…, साइबर चौपट्टै फस्टाए, कुन गाउँमा राहत लाने, कहाँ लुट्ने, राहत वितरण गर्‍या फोटो अपलोड कतिवटा गर्ने, अपलोड नगरे राहत बाँड्या कसैलाई थाहै नहुने, यी विविध कारणले यिनीहरूको धन्दा राम्रै फस्टायो ।

४. नामै नसून्या व्यक्ति, नामै नसून्या संस्थालाई राम्रो हाइलाइट हुने अवसर मिल्यो, फोटो, फेसबुकमा हालेकै भरमा कतिपय हेर्दा हेर्दै स्टार बने ।

५. इञ्जिन, बिग्रेर ग्यारेजमा थन्केर बस्या गाडीहरू समेत ठोकठाक गरेर साहूजीहरूले कुहिया चामल बोकेर गाउँ–गाउँमा पुर्‍याए । जिप मिनीटाटा र फोरहुइल गाडीहरूले त भूकम्पका परकम्पन रोकियो भने त आन्दोलन नै गर्लान्, यो विषयमा सरकार सचेत हुनुपर्छ ।

६. ब्यानर पसले र फ्लेक्स पसलेलाई भ्याइ–नभ्याइ भो, राहत बाँडनेले अर्काले किन्दिया सामग्रीको प्रमाण देखाउन पनि व्यानर पसलेलाई उँभो लाउने काम गरे ।

७. जाँड, रक्सी, चुरोट, खैनी, गुटका, तासको राम्रै खपत भो, पहिले पनि विभिन्न बहानामा खाइरहने जडियाँहरूलाई भूकम्पले मीठो वहाना बनाइदियो, कुन बेला सिद्धिन्छ थाहा छैन त्यसैले धर्ती नि फिलिलि, मान्छे नि फिलिली ।

८. पीडितको पनि राम्रो उद्धार भो, परिवारमा जम्मा ४ जना सदस्य मात्रै थिए राहत वितरणले करिब–करिब १० जनासमेत बनाइदियो । संयन्त्रले यतिसम्म राम्रो काम गर्‍यो कि लोग्नेले छुट्टै स्वास्नीले छुट्टै, छोरा–छोरीले छुट्टाछुट्टै राहत पाए । हुँदाहुँदै छ महिनापछि जन्मने बच्चाको समेत जन्मदर्ता गरेर उसको नाममा समेत राहत पचाए ।

बेफाइदा– जहिल्यै बेफाइदा

१. भर्खर विवाह गरेका दम्पतीहरू ठूलो मारमा परे, घर भत्किएको पालमा स–परिवार † थुक्क जिन्दगी ! तुरुन्त परकम्पन रोकिएन भने जन्मदरमा समेत ह्रास आउने सम्भावना बढेर गा’को छ । यो विषयमा सरकार गम्भीर हुन आवश्यक छ ।

२. ठूला–ठूला होटल र रिसोर्टले पुर्पुरोमा हात लाउनुपर्ने बाध्यता भो, शनिबार–शनिबार डेटिङ जाने युवा–युवती पनि नयाँ बसपार्कको घटना सम्झदै जंगलतिर छिर्न बाध्य भए ।

३. ठूला–ठूला हाउजिङ, अपार्टहरू सन्पाट (जुट) को मूल्यमा पनि बिक्री नहुने भए, कसैले अपार्ट भनेको झापट खाने अवस्था भो, अपार्ट र हाउजिङको नाम सुन्नेलाई टेन्सन भो अझ साहूजीहरूको हालत के होला ? साहूजीहरूको प्रेसर र सुगर नाप्ने छुट्टै डिपार्ट खोल्नु आवश्यक भो ।

४. उद्योगधन्दा, कलकारखाना चौपट भए, ५ तले घरबनाएर कौसीबाट शान दिने घरमालिकहरू छाप्रामा पुगे, १ तले घरका मालिकहरूको शान, इज्जत, प्रतिष्ठा उँचो भयो ।

५. विद्यालयहरू क्षत विक्षत भए, विद्यार्थीहरूको भविष्य अन्यौल भो, नपढ्ने लन्ठुहरूलाई मस्ती भो ।

नोट : माथि उल्लेखित कुराहरू केही यथार्थ हुन् कसैको वास्तविक जीवनमा मेल खान गए संयोग मात्र हुनेछ । संयोगभन्दा बढी भयो र मेरो ढाडले दु:ख पाए सरकारले सुरक्षाको ठेक्का पनि लिनुपर्छ । जय देश, जय नेपाल । 

प्रकाशित :भाद्र १२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्