आफैंलाई बाथरुम एक्टर भन्न रुचाउँछु

- कृष्ण भट्टराई

भाद्र ७, २०७२-

१ सय ५० भन्दा बढी म्युजिक भिडियोका अभिनेता हुन्— विमलेश अधिकारी । ११ वर्षअघि र्‍याम्प मोडलका रूपमा मनोरञ्जन क्षेत्रमा आएको केही समयपछि अर्कै पेसामा आबद्ध हुने योजना बनाइरहेका बेला विमलेशको भेट दिवंगत निर्देशक आलोक नेम्वाङसँग नभएको भए आज उनी यो क्षेत्रमै नहुन सक्थे । नेम्वाङसँगको भेटलगत्तै विमलेशले गायक हेमन्त शर्माको ‘जाला उडेर मेरो जाले रुमाल...’ गीतको म्युजिक भिडियोमार्फत अभिनय यात्रा प्रारम्भ गरे । प्रसन्न पौडेलको निर्देशनमा गायक शिव परियारको ‘अलिकति नजर तिम्रो...’ मा अभिनय गर्नुअघि विमलेशले केही वर्ष ग्राफिक्स डिजाइनरका रूपमा पनि काम गरे, तर उक्त भिडियोको सफलताका कारण विमलेशले अभिनयबाहेक अन्य काम गर्नै भ्याएनन । विराटनगरका यी अभिनेताले ऋचा घिमिरेको चलचित्र ‘तुलसी’ मार्फत चलचित्रमा पदार्पण गरे । त्यसयता विमलेशले ‘ब्रेकफेल’, ‘मुटु’, ‘जंगबहादुरको कोट’ सहित आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । झन्डै ६ फिट अग्ला यी अभिनेता विज्ञापनमा पनि उत्तिकै सक्रिय छन् । भिडियो निर्देशकको पहिलो रोजाइमा पर्ने विमलेशले साप्ताहिकमार्फत आफ्ना केही सेक्रेट कुरा सार्वजनिक गरेका छन् । 

चित्रकार/डिजाइनर 

आम दर्शकले मलाई अभिनेताका रूपमा चिन्नुहुन्छ, तर म कुशल चित्रकार पनि हुँ । म आफ्नो सामुन्ने आउने हरेक कुरा स्केच गर्न सक्छु, जस्तो मानिस, जनावर अथवा कुनै निर्जीव वस्तु । म कम्प्युटरमा ग्राफिक्स डिजाइन पनि गर्छु । मैले आफ्ना दुई चलचित्र ‘तुलसी’ र ‘ब्रेकफेल’ का पोस्टर आफैंले डिजाइन गरेको हुँ । 

बाथरुम एक्टर

बाथरुममा बस्दा गीत गाउनेहरूलाई बाथरुम सिंगर भनिएजस्तै म बाथरुममा बस्दा अभिनयको अभ्यास गर्ने भएकाले आफैंलाई बाथरुम एक्टर भन्न रुचाउँछु । बाथरुममा बिताउने समय सदुपयोग गर्ने क्रममा म आफूले निर्वाह गर्नुपर्ने भूमिकाको अभ्यास गर्छु । एक्सप्रेसन, इमोसन तथा पर्फर्मेन्सको उक्त अभ्यासपछि छायांकनस्थलमा म आफूलाई सहज पाउँछु । अर्को शब्दमा भन्नुपर्दा, मैले प्रस्तुत गर्ने अभिनयको जन्म बाथरुमबाटै हुन्छ ।

 

क्यारिकेचर

प्राय: हास्य कलाकारहरू क्यारिकेचर गर्न सिपालु हुन्छन् । म पनि राम्रो क्यारिकेचर गर्न सक्छु । म प्राय: नजिकका साथी, परिवारका सदस्य तथा केही अभिनेताको राम्रो क्यारिकेचर गर्छु । साथीभाइ तथा पारिवारिक जमघटमा वातावरण रमाइलो बनाउन मैले क्यारिकेचर गर्नुपर्छ, किनभने मेरो यो प्रतिभाका बारेमा मसँग नजिक सबैजसोलाई जानकारी छ । सार्वजनिक समारोहमा भने मैले आफ्नो यो कला प्रदर्शन गर्ने अवसर पाएको छैन । 

म्युजिक बिट बक्स 

आफ्नो मुखबाट विभिन्न सांगीतिक धुन निकाल्न सक्ने कलालाई म्युजिक बिट बक्स भनिन्छ । म आफ्नो मुख प्रयोग गरेर विभिन्न प्रकारका धुन सिर्जना गर्न सक्छु । मेरो यो खुबीका बारेमा थोरैलाई मात्र जानकारी छ । 

कुक

म खाना पकाउन कति सिपालु छु भन्ने कुरा मेरो परिवारका सदस्यहरूलाई मात्र थाहा छ । म खाना पकाउन भनेपछि हुरुक्क हुने व्यक्ति हुँ । मलाई भारतीय, कन्टिनेन्टल तथा अन्य केही परिकार स्वादिष्ट हुने गरी बनाउन आउँछ । म खासगरी मसला र चिल्लोरहित खाना बनाउँछु । 

खन्चुवा

म असाध्यै खन्चुवा (खानेकुरा खाइरहनुपर्ने) छु । नढाँटी भन्नुपर्दा घरमा रहँदा मेरो अधिकांश समय भान्सामै बित्छ । मलाई मिठाई, आलुका परिकार तथा झानेका परिकार स्वादिष्ट लाग्छन् । पछिल्लो समय मैले खानाको मेन्युमा केही परिवर्तन गरेको छु, कारण हो— मोटोपन । 

संकलक

म पुराना सामग्री संकलन गर्न मन पराउँछु । हालसम्म मैले विभिन्न हेन्डिक्राफ्ट, पुराना सिक्का तथा ऐतिहासिक हुलाक टिकटहरू संकलन गरेको छु । ती सामग्री संकलन गर्ने क्रम निरन्तर जारी छ ।

 

 

प्रकाशित :भाद्र ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्