श्रीमान् / श्रीमती

- सुविन भट्टराई

भाद्र ५, २०७२

म बूढीको कथा ? खै, के सुन्नुहुन्छ र ? मेरो उमेरजस्तै थोत्रे भैसक्यो । सप्पैतिर चाउरिसके । तपाईंको पुस्ताले खै के पो देख्नुहुन्छ नि मेरा गन्थनमा ? तैपनि भन्छु । सुन्नुस् † मेरो जो वर्तमान छ, त्यो तपाईंहरूको भविष्य पनि हुनसक्छ ।

तपाईंहरूले सुन्नु नै भएको होला । उसबेलामा बच्चैमा बिहा गर्दिन्थे । म पनि त्यही जमानाकी मान्छे । बच्चैमा मेरो बिहा भयो । 

आ † म पनि के हुस्सु † उस बेलादेखिको कुरा किन सुनाउनुपर्ने ?

अँ, बिहा, माया, प्रेम, सप्पै कुरा थाहा पाउने हुँदासम्म छोरो पनि जन्मिसकेको थियो । एउटा छोरोपछि चारवटी छोरी भए । अहिले ती सप्पै छोराछोरी परदेशमा छन् । हाम्रा हातमा त शून्यमात्रै छ । घरमा बूढा र बूढीमात्र छौँ । 

बूढा के गर्नु नि † दिनभरि तास खेल्न हिँड्छन् । 

उसबेलामा बूढाको नोकरी थिएन । साह्रै कष्ट भो । मलाई बिहा गरेर दिँदा घरखेत र खानदान हेरेर दिए । उतिबेलामा अहिलेजस्तो छोरीचेली दिँदा केटाको इलम हेर्ने चलन थिएन । देवर जेठाजुबीच अंशबन्डा हुँदा आफ्नो भागमा पर्ने सम्पत्तिले छोराछोरी पढाउन र घर चलाउन पनि हम्मे–हम्मे पर्न थाल्यो । आफू आधापेट खाएर पनि लोग्ने र छोराछारीलाई भोकै सुताइनँ । गरिबी यतिसम्म थियो कि आफ्नो फरिया उध्रिँदासमेत मुख सिएरैँ बसेँ । आज नराम्रो भए के त ? भोलि त सुखका दिन फिर्नेछन् † चार जना बाँचेका सन्तान थिए । तीन जना जन्मिदा मरे । कति चोट सहेर बाँचेँ । हप्ता दिनको सुत्केरी ज्यान उक्सिन नपाउँदै काममा पेलिन थाल्थेँ । 

दुई वर्षअघि उहाँ बिरामी पर्नुभो । पेटको ठूलै अप्रेसन गरेको । सत्र दिनसम्म अस्पताल बस्यौँ । रातैभरि ‘हँ हँ ‘गर्नुहुन्थ्यो । कपाल मुसारिदिन्थेँ । कहाँ दुख्या छ, त्याँ पत्तो लगाएर फुकिदिन्थेँ । ‘अब बाँच्दिनँ होला बूढी’ भन्नुहुन्थ्यो । ‘छोराछोरी बोलाइदे’ मात्र भनिरहने । म हौसला दिन्थेँ । ‘नआत्तिनुस्’ भन्थे । मन लागेको खानेकुरा बनाएर ख्वाउँथेँ । दिसापिसाब गराउने, कपडाहरू फेराउने, ख्वाउने पियाउने सप्पै गर्नुपर्ने..........।

आ, मैले यी सबै कुरा किन पो भन्नुपर्‍या र ? हरेक स्वास्नीले आफ्नो लोग्नेलाई यति त गरिहाल्छन् नि † कुनै नौलो कुरै छैन हगि ?

तर होइन † यी कुरा सम्बन्धित छन् । पछिल्ला कुराहरूसँग । भन्नैपर्छ ।

अँ, पछि बिस्तारै उहाँ तङ्ग्रिन थाल्नुभो । म उहाँलाई आफ्नो काँधमा उहाँको हात राख्न लगाएर घर–आँगनमा डुलाउँथे । उहाँलाई के–के गर्न मन पर्छ सप्पै जहाँ जसरी भए पनि जुटाइदिन्थेँ । कुनै पनि कसर राखिनँ । उहाँ बिस्तारै पुरानै अवस्थामा फर्किनुभो । म खुसीले असाध्यै फुर्किएँ । 

हो, उहाँ पुरानै अवस्थामा फर्किनुभो । नयाँ भएर होइन । जुवातासका अड्डामा फेरि जान थाल्नुभो । उहाँलाई चाँडै ठीक हुनु रै’छ, तास खेल्नलाई । 

ठीकै छ † उहाँलाई त्यो खुसी दिने चीज हो । पतिको खुसी नै पत्नीको खुसी । म पनि खुसी भैदिएँ । खुसी हुनु भन्ने पनि बानी नै हो रै’छ । आफ्नो खुसी त आफ्नै पोल्टोमै छँदै छ नि, अरूको खुसीले दिने खुसीले पनि बिछट्ट रमाइलो दिँदो रहेछ । 

तर स्थिति यहाँनेर यसरी आएर बिग्रिदियो । भ्रमहरू यसरी टुटे कि कति टुक्रा भए, बालुवाका कणजस्तै गनेरै नभ्याइने भो ।

धेरै दिनयता सञ्चो थिएन । छातीमा गाँठो आएको थियो । कता शरीरमा के भएजस्तो, केही असन्तुलितजस्तो हुन थाल्यो । उहाँलाई भनेँ, छिमेकीसँग अस्पताल जा भन्नुभो । ठीकै छ † छिमेकीसँग अस्पताल गएँ । जाँचहरू भए । रिपोर्टहरू आए । ब्रेस्ट क्यान्सर भनेर रोगको निदान गरें ।

उहाँलाई सुनाएँ । अस्पताल गैरहनुपर्ने भो । उहाँलाई त फुर्सदै थिएन । अप्रेसन गर्नुपर्ने भो । अप्रेशसका दिनचैँ उहाँ अस्पताल बस्नुभो । नभए उहाँको अनुहार बेला–बेलामा जाँच्न आउने डाक्टरजस्तै झल्याकझुलुकमात्र देखिन्थ्यो ।

घरमा आएपछि त झन् उहाँ मेरो कोठै छिर्न छाड्नुभो । पहिले सँगै सुत्थ्यौँ । पछि उहाँ अर्कै कोठामा सुत्न थाल्नुभो । घरीघरी ढोकाबाट चिहाउनुहुन्थ्यो र अलप हुनुहुन्थ्यो । म सकी–नसकी काम गर्ने प्रयास गर्थें । सुग्घरी बस्न पनि नसक्ने भएँ । उहाँलाई र घरलाई सम्हाल्दा–सम्हाल्दा आफूलाई चैँ सम्हाल्नै नसक्ने भैसकेको छु । उहाँ भरसक मेरो अगाडि नै पर्नुहुन्न । दुब्लाएर हाड र छालामात्र बाँकी छ मेरो । अशक्त छुँ । औषधी खाँदा पनि हात थरर काँप्छन् । एक वचन आएर ‘औषधी खाइस् बूढी ?’ भन्दिएमात्रै पनि आधा बिमार बिसेक हुन्थ्यो । 

आफ्नै बूढाको कुरा अरूसँग यसरी गर्नु कत्तिको राम्रो हुन्छ ? जान्दिनँ † तर मनको गाँठो त क्यान्सरभन्दा खतरनाक हुँदो रै’छ । शरीर मर्छ कि बाँच्छ कुनै ठेगान छैन, तर मेरो मनको दाहसंस्कार उहाँले गरिदिसक्नुभएको छ ।

रूपचन्द्र विष्ट भन्थे, श्रीमती चिनिने सबैभन्दा राम्रो मौका, श्रीमान्सँग पैसा नभएको बेला हो अरे । अनि श्रीमान् चिनिने सबैभन्दा असल मौका श्रीमती बिरामी भएको बेला अरे । मलाई आजकाल यो वाक्यले एकदमै छुन्छ † सम्भवत: मैले आफ्नो श्रीमान् चिनेर होला ।

 

प्रकाशित :भाद्र ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्