राजनीतिले हामीलाई प्रयोग गरिरहेको छ

- अश्विनी कोइराला

भाद्र ५, २०७२

गएको चैतमा कीर्तिपुरस्थित क्रिकेट मैदानमा विनोद दासले राष्ट्रिय खेलाडीका रूपमा अन्तिम खेल खेले । खेलमैदानबाट निस्कँदा उनको आँखामा मात्र होइन, राष्ट्रिय टिमका कम्तान पारस खड्का र हजारौं खेलप्रेमीको आँखामा आँसु थिए । उनी आफ्नो संन्यासका बेला कति गम्भीर थिए भने सामाजिक सञ्जालमा लेखे, ‘म क्रिकेट बाहिर आएको छु तर मभित्रको क्रिकेट कहिल्यै बाहिर आउनेछैन । मेरो जीवनको अन्तिम पलसम्म ।’ त्यसमा कप्तान पारस खड्काले थपेका थिए, ‘कप्तान हुँदा तपाईंको नेतृत्वमा मैले धेरै कुरा सिकेको छु । मलाई यहाँसम्म ल्याइपुर्‍याउनु भएकोमा धेरै–धेरै धन्यवाद ।’ १७ वर्षदेखि क्रिकेट खेलिरहेका कलैयाका विनोद दासले सन् २००६ को प्रिमियर लिगको तीन दिवसीय खेल जितेको थियो । अन्तर्राष्ट्रिय रूपमा यो नेपालको पहिलो जित थियो । १९ वर्षमुनिका खेलाडीहरूको विश्व क्रिकेट प्रतियोगिताको छनौटमा उनको भूमिका सशक्त थियो । नेपालका लागि उनले ७६ विकेट लिएका छन् । उनले ३ वर्ष राष्ट्रिय टिमको कप्तान थिए । यही योगदानका लागि नेपाल सरकार, क्यान र व्यवसायी मिलेर ३८ लाख रुपैयाँबराबरको कार उपहार प्रदान गरेर दासको संन्यासलाई अर्थपूर्ण बनाएका थिए । क्रिकेटरका तर्फबाट यति ठूलो सम्मान पाउने उनी पहिलो नेपाली हुन् । यही विषयमा केन्द्रित रहेर साप्ताहिकले दाससँग अन्तरंग कुराकानी गरेको थियो ।

नेपालीका लागि घर र कार ठूलो सपना हुन्, यी दुवै तपाईंसँग छन् । कस्तो लागिरहेको छ ?

खेलाडीका रूपमा खेलेरै यति कुरा प्राप्त गर्नु ठूलो कुरा हो, तर अनौठो भने होइन । खेलाडी भएर दु:ख–सुख घर जोडें । १७ वर्ष जसरी मैले देशका लागि खेलें, दायाँ–बायाँ केही नसोची यसमा होमिएँ, त्यस आधारमा हेर्दा यति त हुनुपर्छ भन्ने सोचेको छु । हो, एउटा क्रिकेट खेलाडीका रूपमा जसरी मेरो बिदाइ गरियो, मेरो कामको मूल्यांकन भयो, यो मेरा लागि निकै खुसीको कुरा हो । यसअघि दीपक विष्ट, संगीना वैद्यजस्ता खेलाडीहरूले पनि यस्तै सम्मान पाएका थिए ।

 

यो सम्मानप्रति तपाईंको टिप्पणी ?

मलाई लाग्दैन, यो सम्मान मेरो योगदानभन्दा बढी हो । वास्तवमा यति त मेरो हक पनि थियो । मैले आफ्नो बिदाइ भव्यतापूर्वक होस् भन्ने चाहेको थिएँ । 

तपाईं आफ्नो खेल जीवनलाई पछाडि फर्केर हेर्दा कस्ता कुरा बढी पाउनुहुन्छ ? 

धेरै यस्ता घटना, क्षण र अवसर छन्, जसले मलाई आज पनि एक्लै मुस्कुराउन बाध्य बनाउँछ । यसो हेर्दा १७ वर्ष लामो समय लाग्न सक्छ, तर त्यो कसरी बित्यो थाहै भएन । सायद सुख बढी थिए होलान् र त्यो समय चाँडै बित्यो । दु:ख र सुखको प्याकेज हो जीवन, त्यस्तै खेलजीवन पनि । तैपनि प्याकेजमा हेर्दा दु:खभन्दा बढी सुख पाउँछु । 

कुन–कुन कुरा दु:खद थिए, कुन बढी आनन्ददायक थिए ? 

बताउनैपर्ने दु:खद क्षण छैनन् । केही व्यक्तिले केही भने वा गरे होलान । नराम्रो नै गर्ने ती मानिसको उद्देश्य थिएन होला तर क्रिकेटमा हामीले जे पायौं, त्यो खुसीका अघि त्यस्ता सानातिना कुराको अर्थ छैन । अहिले सम्भँmदा सामान्य कुराको कुनै मूल्य थियो भन्ने लाग्दैन । मेरो क्रिकेट जीवनमा म राम्रा कुरा नै देखिरहेको छु ।

खेलजीवनका सुखद क्षण गनाउनुपर्दा के–के पर्छन् ?

१९ वर्षमुनिका खेलाडीहरूको वल्र्डकप प्रतियोगितामा हामीले क्यानाडा, पाकिस्तान र बंगलादेशलाई हरायौं । यसले १९९९ मा विश्व क्रिकेट प्रतियोगितामा भाग लिने अवस्थामा पुर्‍यायो । यो मेरो जीवनको पहिलो खुसी थियो । मेरो कप्तानीमा खेलिएको उक्त खेलले मेरो आत्मविश्वास मात्र चुलिएन, मेरो खेलजीवनलाई सहज पनि बनायो । 

सन् २०१३ मा नेपालले टी ट्वान्टीको वल्र्डकपमा खेल्ने अवसर पायो, त्यो दोस्रो खुसी थियो । मैले त्यो खेल खेल्न पाइनँ, तर त्यो टिममा म नै खेलिरहेको छु भन्ने लागिरहेको थियो । किनभने नेपाललाई त्यहाँसम्म पुर्‍याउन मेरो पनि कुनै न कुनै योगदान थियो । 

अनि तेस्रोपल्ट जब मलाई सरकारले कारसहित बिदा गर्‍यो, त्यति बेला मेरी श्रीमती र आमाको आँखामा जुन खुसीका आँसु थिएँ, त्यसले मेरो खेल जीवन सार्थक रह्यो भन्ने लाग्यो । 

अब बाँकी जीवन कसरी बिताउनुहुन्छ ?

म ३४ पुगें । जहाँसम्म खेल जीवन सकियो भन्ने कुरा छ, त्यसो होइन । मैले राष्ट्रिय टिमबाट संन्यास लिएको हुँ । त्यो खेल छाड्दा मलाई गाह्रो भएको थियो । अब के गर्ने भनेर धेरै सोचेको पनि हो । तैपनि नेपाल प्रहरीका तर्फबाट मेरो खेल जीवन जारी नै छ । यसले मेरो खर्च पनि चलेको छ । थप कुरा के भने म सहायक प्रशिक्षकका रूपमा पनि सक्रिय छु । तैपनि यी कुरा अस्थायी छन् । केही समयका लागि यी स्थानमा रहन सक्छु । क्यानमा प्रशिक्षकका रूपमा रहन म तयार छु, सक्षम छु तर उक्त पदमा काम गर्न मैले मात्र चाहेर हुँदैन । क्यानको म्यानेजमेन्टले मलाई अवसर दिनुपर्छ । 

क्यानले तपाईंलाई अवसर दियो भने त ठीक छ तर त्यो सम्भावना कम छ भन्ने लाग्दैन ?

यो कुरा मलाई थाहा छैन । म आफ्नो तर्फबाट सक्षम छु, तयार छु । तैपनि मैले प्रशिक्षक गर्न पाउनैपर्छ भन्ने मान्दिनँ । 

त्यसो भए आर्थिक उपार्जनका लागि के गर्नुहुन्छ ?

म म्यानेजमेन्टको विद्यार्थी हुँ । यतिबेला म स्नातकोत्तर गरिरहेको छु । राष्ट्रिय टिमको पूर्वकप्तान भनेर मलाई विशेष अवसर दिनुपर्छ भन्ने लाग्दैन । म कुनै काममा योग्य छु भने त्यो काम मैले पाउनुपर्छ । क्रिकेट खेलाडी भएकै आधारमा मलाई प्रतिस्पर्धामा पछाडि नपारियोस् भन्ने चाहन्छु । त्यति मात्र होइन, म के स्पष्ट पार्न चाहन्छु भने म लोकप्रिय छु, मैले यो काम गर्न हुन्छ, यो हुँदैन वा मेरो स्तरले यो काम गर्न दिँदैन भनेर भन्दिन अर्थात् ममा पब्लिक फिगर भएको दम्भ छैन । 

तपाईंजस्तो लोकप्रिय अनुहार राजनीतिमा लागेको पाइन्छ । तपाईंलाई त्यता तिर अवसर छ भन्ने लाग्दैन ?

राजनीति भनेको देश र जनताको सेवा भर्ने माध्यम हो । यो निकै राम्रो पेसा हो । म यति ठूलो कुराका लागि योग्य छु भन्ने लाग्दैन । कुनै दिन मलाई जनताको ठूलो समूहलाई लिड गर्न सक्छु भन्ने लाग्छ, त्यतिबेला सायद राजनीति पनि गर्छु होला, तर अहिलेको जुन परिस्थिति छ त्यसमा सम्भव देख्दिनँ । 

कुनै राजनीतिक दल, विशेषगरी मधेसकेन्द्रित दलले तपाईंलाई पार्टीमा आउन आग्रह गरेका छैनन् ?

छैनन्, म कुनै क्षेत्र विशेषको राजनीतिमा विश्वास गर्दिनँ । म चाहेर मधेसमा जन्मिएको होइन । मैले चाहेर आफ्नो आमा–बुवा वा त्यो ठाउँ रोजेको होइन । जब मानिसको जन्म आफूले चाहेर हुँदैन भने त्यसमा राजनीति गर्नुको अर्थ पनि म देख्दिनँ । मेरो स्पष्ट धारणा के छ भने मलाई कुनै जात, क्षेत्र वा समूदायका रूपमा नहेरियोस् । हो, व्यक्तिगत रूपमा क्षेत्रकै आधारमा कुनै भेदभाव हुन्छ भने म सहन्नँ, मैले सहेको पनि छैन । मेरो खेलजीवन यसको साक्षी छ । यदि कसैले कुनै अमूक विषयलाई लिएर राजनीति गर्छ भने त्यसमा हामी प्रयोग हुन्छौं । यसरी प्रयोग हुनु हाम्रो कमजोरी हो । 

अब नेपाली क्रिकेटको भविष्य कस्तो देख्नुहुन्छ ?

गएका दुई वर्ष यता हाम्रो प्रदर्शन कमजोर हुँदै गएको छ । हामीले विगतमा गरेका उपलब्धि जोगाउन सकेनौं । यो दु:खद कुरा हो । तैपनि हामीले डिभिजन वानमा आफूलाई उभ्याउन सफल भएका छौं । हाम्रो तालिम, खेल तालिका र यसमा भएको लगानीका आधारमा मूल्यांकन गर्दा यो पनि ठूलो कुरा हो । 

कसले ? खेलाडीले कि सरकार र क्यानले ?

खेलाडीले त गरेकै छन् । जम्मा १५ दिन राष्ट्रिय प्रतियोगिता हुन्छ । यही १५ दिनको खेल हेरेर हामी राष्ट्रिय खेलाडी छनौट गर्छौं । संसारमा १५ दिनको खेलेर राष्ट्रिय खेलाडी छानिने देश हामी मात्र हौं । यसमा खेलाडी भएकोमा म त गर्व गर्छु । सरकार र क्यान मिलेर क्रिकेटलाई विद्यालयतहसम्म पुर्‍याउनुपर्छ । रुचि भएका खेलाडीलाई ग्रासरुटबाटै ६ महिना क्रिकेट खेल्ने वातावरण बनाउनुपर्छ । खेल मैदानको स्तरोन्नति र नयाँ मैदान तयार पार्नुपर्छ । एक ठाउँ होइन, देशैभरि । 

 

प्रकाशित :भाद्र ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्