दुलाहा राजा

- संजीवन महर्जन

भाद्र ३, २०७२

नेपालको इतिहासमा राजा जयस्थिति मल्लको विशिष्ट स्थान छ । यद्यपि उनी जसरी राजा भए त्यो प्रक्रियामा इतिहासकारहरू एकमत छैनन् । भक्तपुरमा प्रचलित लोकगाथा अनुसार जयस्थिति मल्ल आफ्नी महारानी राजल्ल देवीका दासजस्ता थिए । 

इतिहासकार बाबुराम आचार्यका अनुसार जयस्थिति मल्ल सिंजा साम्राज्यका शासक क्राचल्लका माहिला छोरा श्रीचल्लका जेठा छोरा थिए । सिंजाबाट उनलाई भक्तपुरको राजपाट सुम्पने सर्तमा राजकुमारी राजल्ल देवीकी दुलाहाका रूपमा भक्तपुर ल्याइएको थियो । त्यतिबेला स्थिति मल्ल मात्र नाम भएका जयस्थिति मल्लको उमेर १३-१४ वर्ष र राजल्ल देवीको उमेर ९-१० वर्ष मात्र थियो । आजभोलि पनि सिंजा अर्थात् कणर्ाली क्षेत्रका तन्नेरीलाई काठमाडौंमा असभ्य वा पाखेको संज्ञा दिनेहरूको कुनै कमी छैन । आजभन्दा झन्डै ७ सय वर्षअघि भक्तपुरकी राजकुमारीले स्थिति मल्ललाई राम्रो नजरले हेेरेको कुरामा इतिहासकारहरू विश्वास गर्दैनन् । यद्यपि स्थिति मल्ल राजकीय रूपमा चलाख युवक थिए । 

आफ्नी श्रीमतीको बेवास्ताका बावजुद पनि स्थिति मल्लले त्यतिबेला भक्तपुरबाट शासन गरिरहेका आफ्ना समवयी जयार्जुन मल्ललाई सघाउने नाममा छलकपटपूर्ण सहयोग गर्न थाले । केही वर्षसम्म राजकीय संगत गरेपछि वि.सं. १४३३ मा स्थिति मल्लले जयार्जुन मल्ललाई सत्ताच्युत गरेर आफैंलाई नेपाल मण्डलको शासक घोषित गरे । 

त्यतिबेला काठमाडौं उपत्यकाको समाज सामाजिक रूपमा अव्यवस्थित र छिन्नभिन्न थियो । सिंजाको व्यवस्थित वर्गीय समाजलाई चिनेका स्थिति मल्लले उपत्यकामा पनि त्यस्तै थिति बसाल्न सबैभन्दा पहिले कान्यकुब्जबाट कीर्तिनाथ उपाध्याय, मिथिलाञ्चलबाट रघुनाथ र रामनाथ झा तथा कुमाउबाट श्रीनाथ र महिनाथ भट्टलाई काठमाडौं बोलाएर मानव न्यायशास्त्र नामक ग्रन्थ रचना गर्न लगाए । त्यसपछि उनले सोही पुस्तकअनुरुप काठमाडौंको समाजलाई मानिसले गर्ने कामअनुसार ६४ जातिमा विभाजन गरेर उनीहरूको कामसमेत विभाजन गरे । उपत्यकाको जमिनको गुणस्तरअनुसार त्यसलाई ४ भागमा वर्गीकरण गरे । त्यसैगरी उपत्यकामा सहर, गल्ली, चोक र गाउँहरूको क्षेत्र तथा गुण निर्धारण गरेर कामअनुसार विभाजित जनतालाई पुर्नबास गराए । 

इतिहासकारहरूका अनुसार उपत्यकामा व्यवस्थित शासन प्रारम्भ गरेपछि नै स्थिति मल्लले जय-जयकार अर्थ लाग्ने गरी आफ्नो नामका अगाडि जय शब्द प्राप्त गरे । जयस्थिति मल्लपछि नै उपत्यकामा नेवारी समाज, भाषा र सभ्यताको प्रारम्भ भएको कुरामा धेरै इतिहासकार एकमत छन् । यति हुँदाहुँदै पनि डोलाका रूपमा ल्याइएको हुनाले जयस्थिति मल्ललाई उनका छोराहरू वास्तविक शासकभन्दा आफ्नी आमाका पति मात्र मान्थे । यो कुराको प्रमाणका लागि उनका माहिला छोरा तथा उत्तराधिकारी जयज्योतिर्मल्लले पशुपतिमा राख्न लगाएको अभिलेखमा उनलाई 'राजल्ल देवीका पति' मात्र भनेको कुरा अघि सारिन्छ ।

प्रकाशित :भाद्र ३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्