भूकम्पको समाजशास्त्र २

भूकम्पको समाजशास्त्र २

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७२

यो कथा काठमाडौं उपत्यकाको दक्षिणी सहर लुभुको हो । उपत्यकाको प्राचीन बस्ती लुभुमा १९९० सालको महाभूकम्पमा पनि सग्लो रहेका केही घर थिए । प्राचीन कृषक बस्ती भएकाले त्यहाँको वातावरण पुरानो हुनु स्वाभाविक नै थियो । लुभु ताजा तरकारी, रातो जाँड र कालो छोइलाका लागि प्रसिद्ध मानिन्छ । आठ दिनसम्म चल्ने महालक्ष्मी जात्राले पनि यो बस्तीको आफ्नै विशेषता प्रकट गर्छ ।

यो प्राचीन बस्तीलाई पनि वैशाख १२ को भूकम्पले क्षतिविक्षत पार्‍यो । ८ जनाको ज्यान गयो भने दर्जनौं घाइते भए । आधाभन्दा बढी घरमा क्षति पुग्यो । त्यसपछि लगातार गएका परकम्पले गर्दा सग्ला घरहरूमा पस्ने हिम्मत कसैको भएन । सबै बाहिरै बस्न थाले । खानै पर्‍यो, त्यसैले सामूहिक भान्सा चल्न थाल्यो ।

आमनेपाली गाउँघरमा जस्तै यो गाउँमा पनि छर–छिमेकमा झै झगडा हुनु स्वभाविक हो । धेरै छिमेकीबीच बोलचाल थिएन । उँच–नीच, धनी–गरिब मात्र होइन, छोराछोरीले गरेको प्रेमविवाहका कारण पनि एक–अर्काबीच बोलचाल नभएका घटना धेरै थिए । जसै भूकम्प र लगातार परकम्प जान थाल्यो, यी एकअर्कामा नबोल्ने मानिसहरू पनि एकठाउँमा बस्न बाध्य भए । त्यसमाथि युवा समूहहरूले उनीहरूलाई बोल्न लगाए । पुरानो रिसराग त्याग्न आग्रह गरे । मृत्युले नजिक बनाएका मनुवाहरू अगुवाहरूले मध्यस्थता गरेपछि सँगै खान थाले, एकै ठाउँ सुत्न थाले । एक–अर्काका लुगा लगाउनसमेत बाध्य भए । उनीहरूले एक–अर्काको घरबाट अन्न निकाले । भेटिएका सुन र पैसामा लोभ नगरी जसको हो, उसैलाई दिए । ‘मृत्युभन्दा ठूलो कुरा केही रहेनछ ।’ भूकम्पको त्रासदीपछिको जीवन अवलोकन गर्न गएका पत्रकारहरूको समूहलाई उनीहरू भन्दै थिए, ‘भूकम्पले हामीलाई धेरै फाइदा गरायो । हामी कति मायालु रहेछौं, त्यो पनि थाहा भयो ।’ उनीहरूको मित्रता देख्दा अब फेरि शत्रुताको घटना भेट्न पनि मुस्किल पर्छ झैं लाग्थ्यो ।

केही दिनपछि राहत वितरण प्रारम्भ भयो । काठमाडौंको नजिक भएकाले दुर्गमले भन्दा लुभुवासीले बढी राहत पाउनु स्वाभाविक थियो । लुभुमा दाताहरूले लगातार राहत बाँडेको र स्थानीय युवाहरूले सकारात्मक काम गरेको थाहा पाएपछि म दोस्रो पटक लुभु पुगें । देखें, केही दिनअघिको सामूहिक भान्साको अन्त्य भएछ । सबै आफ्नै घरछेउको पालमा बसिरहेका थिए । केही घन्टा बसेपछि थाहा भयो, उनीहरूबाट मृत्युको त्रास हटिसकेको रहेछ अनि नयाँ शत्रुता सुरु भएछ ।

‘कसरी यस्तो भयो ?’ उद्धारमा खटिएका युवा ब्रमिमकुमार भन्दै थिए, ‘पहिलो पटक जसले राहत पायो, राहत नपाउनेहरूसँग उसको शत्रुता सुरु भयो । बिस्तारै सबैले राहत पाउन थालेपछि गुणस्तरीय सामग्री पाउनेसँग अन्य मानिस रिसाउन थाले । राम्रो टेन्ट पाउनेसँग कमसल पाल पाउने रिसायो । बासमती चामल पाउनेसँग उसिना चामल पाउने रिसायो । कुकर र राम्रो कराही पाउनेसँग साधारण स्टिलको थाल मात्र पाउने रिसायो । घर भत्केर बस्न नसक्ने मानिस बस्न मिल्ने घर भएको मानिसले पनि राहत पाएकोमा रिसायो । अहिले त कुनै न कुनै रूपमा एक–अर्कासँग गुनासो र शत्रुता मात्र देखिन्छ ।’

प्रकाशित :श्रावण १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्