एसएलसीमा असफल हुँदा

- तेजन खड्का

असार ११, २०७२-

गत शुक्रबार प्रकाशित एसएलसी परीक्षाको परिणाममा अनुत्तीर्ण भएकामध्ये ८ जना विद्यार्थीले आत्महत्या गरेका छन् । परीक्षामा असफल भएपछि आत्महत्या गर्नेहरूमा उर्लाबारी मोरङकी १६ वर्षीया लक्ष्मी खड्का, तिलहार तनहुँकी १७ वर्षीया मनीषा पाण्डे, बुटवल रूपन्देहीकी १७ वर्षीया ममता पभर, मैदी धादिङका १७ वर्षीय सुनिल भारती, खजुरा बाँकेकी १७ वर्षीया सीता भण्डारी, चान्वा, धनकुटाकी २० वर्षीया मनिका पाँचकोटी, कृष्णनगर कपिलवस्तुकी १७ वर्षीया खुस्बु गुप्ता, हजरिया तथा सर्लाहीका २८ वर्षीय कुमार थापा छन् ।

 सुनपकुवा उच्च माविबाट एसएलसी दिएकी लक्ष्मी खड्का विज्ञानमा अनुत्तीर्ण भएकी थिइन । विज्ञानमा अनुत्तीर्ण भएको खबर पाएपछि निराश खड्काको शव शुक्रबार साँझ साढे ६ बजे झुन्डिएको अवस्थामा स्थानीयवासीले घरैमा भेट्टाएको अस्थायी प्रहरीचौकी उर्लाबारीेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेलले बताए । पढाइमा अब्बल लक्ष्मीले एसएलसीमा राम्रो अंक ल्याएर पास हुने कुरा साथी एवं नातागोताका सबैलाई बताउँदै आएकी थिइन् । लक्ष्मी हजुरआमासँग बसेर पढ्दै आएकी थिइन् । उनकी आमा गोमा खड्का रोजगारीका लागि विदेशमा छिन् । लक्ष्मीका बाबु भक्तबहादुर खड्काले पनि झन्डै डेढ वर्षअघि आत्महत्या गरेका थिए । उनी अनुत्तीर्ण हुने विद्यार्थी थिइनन्, मेहनतअनुसारको परिणाम नआएकोमा हामी पनि आश्चर्यमा परेका थियौं, पुनर्याेग पनि गर्न सकिन्थ्यो, उनले त आत्महत्या नै गरिसकिछन् । आफूले पढाएको विद्यार्थीले आत्महत्या गरेको देख्नुपर्दा निकै दु:ख लागेको एक शिक्षकले बताए ।

यसैगरी मनीषा पाण्डे शनिबार आफ्नै घरको माथिल्लो तलाको बलोमा चुन्नीको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी थिइन् । शुक्रबार साँझ नै ममता पभरले विषादी सेवन गर्दा अशक्त भएकाले क्रिम्सन अस्पताल, मणिग्राम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

शुक्रबार नै सुनील भारती केराबारीस्थित जंगलको रूखमा डोरीको पासो लगाई मृत्यु भएको अवस्थामा फेला परेका थिए भने मनिका पाँचकोटी विषादी सेवन गर्दा अचेत भएकाले स्थानीय स्वास्थ्यचौकीमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

खुस्बु गुप्ता आइतबार बिहान आफ्नै घरको पूर्वतर्फ रहेको बाँसको बलोमा प्लास्टिकको फित्ताले पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी थिइन् भने कुमार थापा आइतबार आफ्नै घर नजिकै रहेको बकैनाको रूखमा नाईलनको डोरीको पासो लगाई झुन्डिएका थिए ।

५२ दशमलव ५७ प्रतिशत अनुत्तीर्ण

यो वर्षको एसएलसी परीक्षामा शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउने हल्ला थियो, तर नतिजा सार्वजनिक हुँदा ५२ दशमलव ५७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए र ४७ दशमलव ४३ प्रतिशत मात्र कलेज पढ्न योग्य देखिए । विगतमा जस्तै यो वर्ष पनि सरकारी विद्यालयहरूको नतिजा निराशाजनक छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार सामुदायिक विद्यालयका ३३ दशमलव १८ प्रतिशत विद्यार्थीमात्र सफल भएका छन् ।

संस्थागत विद्यालयतर्फ करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयबाट यस वर्ष ३ लाख २ हजार ३ सय ९९ विद्यार्थी परीक्षामा सहभागी थिए । तीमध्ये १ लाख ३ हजार ३ सय ४२ मात्र उत्तीर्ण भएका छन् । संस्थागतबाट १ लाख २ हजार ९ सय ३९ सहभागी भएकोमा ९१ हजार ९ सय २५ जना उत्तीर्ण भएका छन् ।

किन गर्छन् आत्महत्या ?

परीक्षाफल प्रकाशित हुनासाथ कैयांै विद्यार्थी कमजोर मानसिकताका कारण आत्महत्या गर्न पुग्छन् । यसको मुख्य कारण पारिवारिक नै हो । किनभने जब एसएलसी परीक्षा आउँछ तब पहाडै खस्न लागेजस्तो, के–के न हुन लागेजस्तो, एसएलसी उत्तीर्ण गर्नै पर्ने बाध्यात्मक परिस्थिति खडा गरिन्छ । यद्यपि विद्यार्थीको बौद्धिक क्षमता कति छ, उसले पढ्न सकेको छ कि छैन भन्ने कुरामा ध्यान पुर्‍याइँदैन । जब परीक्षाफल प्रकाशित हुन्छ अनि अनुत्तीर्ण हुने विद्यार्थीलाई परिवारदेखि समाजसम्मले हेर्ने दृष्टिकोण नै परिवर्तन हुन्छ ।

आफ्नो असफलतामा चिन्तित भएर रुमल्लिरहेको मानिसलाई जब परिवार र साथीभाइले पनि हेप्न र नराम्रो दृष्टिले हेर्न थाल्छन्, तब उसले आत्महत्याबाहेक अरू कुनै विकल्प सोच्न सक्दैन । साथीभाइले एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न थाल्दा आफ्नो एक वर्ष खेर गएकोमा पिर परिरहेको मान्छेले आफ्नै परिवारबाट समेत समर्थन नपाएपछि अन्तत: उसले रोज्ने बाटो हो– आत्महत्या । सम्भवत: यही कुरालाई मनन गरेर पनि होला, शिक्षा विभागले ग्रेड सिस्टम प्रयोग गर्ने भएको छ ।

कसरी न्यूनीकरण गर्ने ?

वास्तवमा एसएलसी मात्र होइन, कुनै पनि परीक्षा ठूलो कुरा होइन, भन्ने बुझ्नु आवश्यक छ । परीक्षामा अनुत्तीर्ण हुँदैमा जीवन बर्बादै हुने होइन भन्ने कुरा बुझ्नु र बुझाउनुपर्छ ।

छोराछोरी अनुत्तीर्ण भए भनेर हेप्नुभन्दा पनि अर्को पटक कसरी पढाएर उत्तीर्ण गराउने भन्नेतर्फ सोच्नुपर्छ । किनभने हेप्दैमा अनुत्तीर्ण नतिजा उत्तीर्ण हुने हो र ? छोराछोरी किन अनुत्तीर्ण भए वा किन पढ्न मन गर्दैनन् र के गर्दा त्यसको समाधान निस्कन्छ भन्नेतर्फ सोच्नुपर्छ ।

निजी र सामुदायिकको खाडल

हिजोआज शिक्षाक्षेत्रमा तीव्र प्रतिस्पर्धा छ । गुणस्तरीय शिक्षाकै लागि निजी विद्यालयहरू पनि खुलेका छन् । निजी विद्यालयमा शुल्क महँगो भए पनि नतिजामा भने सन्तोष गर्ने ठाउँ छ । निजी र सामुदायिक विद्यालयबीच यही कुराले गर्दा ठूलो खाडल छ । एउटै गाउँमा बस्ने दुई विद्यार्थीमध्ये निजीमा पढ्ने प्रथम श्रेणीमा उत्तीर्ण हुन्छ, तर सामुदायिक विद्यालयमा पढ्ने भने मुस्किलले उत्तीर्ण हुन्छ । उच्च शिक्षामा जाँदा पनि यही असमानता कायम रहन्छ । सरकारले निजी तथा सामुदायिक विद्यालयबीचको यो खाडल कसरी पुर्ने योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।

दोष अभिभावकको पनि

नतिजा सन्तोषजनक नआउनुमा अभिभावकको पनि उत्तिकै दोष छ । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू अपवादबाहेक अधिकांशलाई परिवारको आर्थिक अवस्थाले नै पिरोलिरहेको हुन्छ । गाउँघरमा अझै पनि काम सकेर मात्र विद्यालय जानुपर्ने बाध्यता छ । अभिभावकहरू छोराछोरीले कुनै काम फत्ते नगरे विद्यालय जानै नपाउने सजाय दिनसमेत पछि पर्दैनन्, जसले गर्दा पढ्ने वातावरण हराउँदै जान्छ । अर्कातर्फ कतिपय अवस्थामा विद्यार्थीहरू परिवारको शारीरिक तथा मानसिक यातनाको सिकार समेत हुन्छन् । यसले विद्यार्थीमा पढाइप्रति वितृष्णा बढ्दै जान्छ । त्यसैले अभिभावकले आफ्ना छोराछोरीलाई पढ्ने वातावरण मिलाउनुका साथै, कतिको पढ्छन् भन्ने कुरा विद्यालयमा गएर बुझिरहनु उपयुक्त हुन्छ ।

प्रकाशित :असार ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्