दर्‍हो प्रतिस्पर्धा

दर्‍हो प्रतिस्पर्धा

- विदुर खतिवडा

असार ११, २०७२

    उच्च माध्यमिक तहको शिक्षा सञ्चालन गरिरहेका काठमाडौं उपत्यकाका निजी उच्च माध्यमिक विद्यालयहरू यतिबेला तनावमा छन् । उनीहरूमा महाभूकम्पका कारण अघिल्ला वर्षहरूझैं विद्यार्थी नपाइने हो कि भन्ने छटपटी छ । एसएलसी उत्तीर्ण उपत्यकाबाहिरका विद्यार्थी यो वर्ष काठमाडौं भित्रिने क्रम कम हुने निश्चित छ, त्यसैले यहींबाट एसएलसी उत्तीर्ण विद्यार्थीमध्ये धेरैलाई आफ्नो कलेजमा भर्ना गराउने चुनौती उनीहरूमाझ छ । खासगरी केही उमावि उपत्यकाबाहिरका विद्यार्थीमा निर्भर थिए । उपत्यकाबाहिरका अभिभावकले पनि एसएलसीपछि सन्तानलाई काठमाडौं पठाउने विगतको ट्रेन्ड यसपटक कम हुने लगभग निश्चित छ ।

    भव्य संरचना अर्थात् ‘आकर्षक प्लस टु’ भनेर प्रचार गर्ने उमाविलाई यसपटक तिनै संरचना पिरलो बनेका छन् । ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’को फर्मुलामा करोडौं खर्चिएर निर्माण गरिएका भवनलाई अचानक आइपरेको प्राकृतिक विपत्तिले नराम्रोसँग असर पुर्‍याएको छ । एकातर्फ भूकम्पले ती संरचनामाथि धावा बोलेको छ, जसलाई पुननिर्माण र मर्मत–सम्भारको खाँचो छ भने अर्कातर्फ विशाल संरचनामा विद्यार्थीले सहज रूपमा अध्ययन गर्न नसक्ने स्थिति छ । त्यसैले त्यस्ता उमाविको शैक्षिक वातावरण अब्बल भए पनि विद्यार्थी भर्ना हुन गार्‍हो मानिरहेका छन् भने उमाविहरू रातारात विद्यार्थीले रुचाउने किसिमको निर्माण संरचना तयार गर्नमा जुटेका छन् । विद्यार्थीलाई आश्वस्त तुल्याउन उनीहरूले थप मेहनत गर्नुपरिरहेको छ । कतिपय उमावि त आफू बस्दै आएको क्षेत्रबाट टाढा पुगेर कलेज सञ्चालन गर्न बाध्य छन् ।

    ‘विद्यार्थी आकर्षित गर्न विज्ञापन नगरी धरै छैन्, त्यसैले विगतमा झैं यसपटक पनि विज्ञापन गरिन्छ,’ चल्तीको एक उमाविका प्राचार्यले साप्ताहिकसँग भने– ‘भुइँचालोले गर्दा आर्थिक रूपमा कमजोर बनाएको छ, त्यसमाथि चर्को मूल्यको विज्ञापन छापेर पनि विद्यार्थी आउँछन् नै भन्ने ग्यारेन्टी छैन ।’ विगतमा विज्ञापनमा कुनै कसर नछोड्ने उक्त उमावि अहिले विज्ञापनबाट पनि आश्वस्त हुन सकिरहेको छैन, ती प्राचार्यका अनुसार परिवेश फरक छ, तर नियमित जीवनशैलीमा फर्कनैपर्ने भएकाले लक्ष्यअनुरूप विद्यार्थी नपाए पनि स्थापित उमाविहरूलाई धेरै समस्या नपर्ला । आकर्षक ब्रोसर छाप्ने विगतको ट्रेन्ड यसपटक पनि देखिएको छ ।

    राजधानी र मोफसलका मुख्य सहरहरूमा सञ्चालित ‘ब्रिज कोर्स’ आफैंमा विद्यार्थी कब्जा गर्ने राम्रो रणनीति थियो तर यो वर्ष ब्रिजकोर्स सुरु भएको केही समयमै भूकम्प गयो, जसका कारण विद्यार्थीलाई ३ महिनाको नियमित कक्षा सञ्चालन गर्न सम्भव भएन । ३ महिनाको ब्रिजकोर्समा ३० दिन कुनै एक कलेजका बारेमा निरन्तर राम्रो प्रचार गरिन्थ्यो, जसले गर्दा विद्यार्थी उम्कने सम्भावना कम हुन्थ्यो । यसपटक अवस्था त्यस्तो पनि रहेन । उनीहरूलाई कलेज भिजिट गराउने, कलेजका तर्फबाट विभिन्न क्रियाकलापमा सहभागी गराएर पुरस्कृत गर्ने आदि गतिविधि गराउने समय नै भएन । स्थिति साम्य भैसकेपछि पनि ब्रिजकोर्सलाई निरन्तरता दिँदै विद्यार्थीलाई परामर्श दिने नाममा प्रचार त भैरहेकै छ ।

    केही समयअघि मात्र प्लस टु सरहको भारतको सिबिएसई बोर्डले सञ्चालन गर्ने परीक्षामा ८५ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भए । छेवैको छिमेकी नेपाल भने भारतको शैक्षिक क्षेत्रमा भएको यो उपलब्धि टुलुटुलु हेरी बसेको छ । जिल्लास्तरमा उच्च माध्यमिक विद्यालयको संख्या पर्याप्त भए पनि त्यहाँको शैक्षिक परिणाम लाजमर्दो छ । १ सयभन्दा बढी विद्यार्थीमा एउटै विद्यार्थी उत्तीर्ण गराउन नसक्ने सामुदायिक उमावि पनि छन्, त्यहाँको शैक्षिक स्तर सबल भैदिएको भए विद्यार्थीले स्थानीय क्षेत्रको उमावि छोडेर टाढाको उमावि धाउनुपर्ने अवस्था हुने थिएन । उमाविको संख्या बढाउनुभन्दा पनि गुणस्तरीय एवं परिणाममुखी शिक्षा प्रदान गर्नुपर्छ भन्ने मान्यतामा काम हुन नसक्दा यस्तो भएको शिक्षाविद्हरू बताउँछन् । प्रतिस्पर्धाको यो समयमा नीति–निर्माण तहमा बसेकाहरूले विद्यार्थीलाई आफ्नै भूगोलका उमाविमा अध्ययन गराउने वातावरण बनाउनुपर्छ, जसका कारण त्यो क्षेत्रका उमाविले राम्रा विद्यार्थी गुमाउन बाध्य हुनुपर्ने छैन ।

    विद्यार्थी भर्नाको चहलपहल सुरु भैसकेको छ । राजधानी र मुलुकका अन्य सहरमा यसको प्रभाव प्रस्ट देखिन्छ । विज्ञान प्रदर्शनी गर्नेदेखि विभिन्न विद्यालयका सञ्चालक, प्रिन्सिपल एवं सामाजिक रूपमा उल्लेख्य प्रभाव पार्ने व्यक्तित्वलाई भोज ख्वाउने गरिएको छ । आफ्नो कलेजमा विद्यार्थीको संख्या बढाउन यो सूत्र विगतदेखि नै प्रयोगमा आएको हो । विज्ञान प्रदर्शनीमा देखाइने लगभग सबै प्रविधि सबै कलेजमा उही नै हुन्छन्, तर उमाविहरूले प्रयोगात्मक शिक्षामा ध्यान दिएको देखाउन विज्ञान प्रदर्शनी गर्ने गरेका हुन् ।

काठमाडौं उपत्यकाभित्र मात्र करिब ५ सय उमावि सञ्चालनमा छन् । ती उमाविहरूले राम्रोसँग शैक्षिक सेवा सञ्चालन गर्न काठमाडौं र काठमाडौंबाहिरका विद्यार्थीलाई लक्षित गरेर आकर्षण दिनैपर्छ । यो वर्ष एसएलसीको परिणाममा गत वर्षको तुलनामा केही बढी प्रतिशत विद्यार्थी उत्तीर्ण भएको देखिन्छ । तथ्यांक हेर्दा गत वर्षको तुलनामा २० हजार विद्यार्थी बढी पास भएका छन् । त्यसकारण उमाविहरूले केहि मात्रामा धेरै विद्यार्थी पाउने भएका छन् ।

विशिष्ट श्रेणी र प्रथम श्रेणिमा उत्तीर्ण अधिकांश विद्यार्थीको पहिलो रोजाइमा विज्ञान संकाय पर्ने भएकाले उच्चस्तरको भौतिक पूर्वाधार, ल्याब, लाइब्रेरी, कम्प्युटर सिस्टम, स्पोर्ट्स, भ्रमणका प्याकेज हरेक उमाविले राख्नैपर्छ । नियमित अध्ययनका अतिरिक्त विद्यार्थीहरूका लागि अन्य सुविधा पनि उपलब्ध गराएको उनीहरूको तर्क हुन्छ । विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति पनि पाठ्यक्रमका अतिरिक्त अन्य पक्षलाई ध्यान दिइएको उमाविहरू बताउँछन् । शिक्षाविदहरूका अनुसार प्लस टु तह विद्यार्थीका निम्ति आधारभूत तह भएकाले यो तहमा अध्यापनका अतिरिक्त अन्य कुराको लोभ जगाउनु आवश्यक छैन् ।

निजी उमाविहरूले आफ्नो शैक्षिक संस्थामा लक्षित विद्यार्थी संख्या पुर्‍याउन यस प्रकारका विभिन्न आइडिया लगाउँछन् । आफूलाई सर्वोत्कृष्ट शैक्षिक संस्था भन्ने त छँदैछ, अर्कोलाई नराम्रो भन्नसम्म पछि पर्दैनन् । भर्ना वा त्यसभन्दा अघि उमाविले विद्यार्थी र अभिभावकलाई नजिकको पाहुनालाई गर्ने स्वागतभन्दा बढी नै आत्मियता देखाउँछन् । एक उमावि सञ्चालकका अनुसार विद्यार्थी र अभिभावकलाई सहज महसुस गराउन त्यस्तो व्यवहार प्रदर्शन गरिएको हो तर देख्नेलाई केही बढी नै सद्भाव देखाइएको हो कि जस्तो लाग्न सक्छ ।

खुला बजार प्रतिस्पर्धाको अहिलेको अर्थव्यवस्थामा आफ्नो शैक्षिक संस्था उपयुक्त छ भनेर प्रचार गर्नु स्वभाविक हो, शिक्षाविद महेन्द्र पाण्डे भन्छन्– सुहाउँदो र सभ्य शैली अनुसरण गर्नुपर्छ, निजी क्षेत्रको प्रतिस्पर्धा भए पनि यो शैक्षिक क्षेत्र हो, जहाँ विद्यार्थीलाई असल भविष्य निर्माणका निम्ति सेवा प्रदान गरिन्छ ।’ ग्लोबलाइजेसनको यो समयमा विश्वभरकै संस्थागत वा निजी शिक्षालयले आफ्नो संस्थामा विद्यार्थी आकर्षित गर्न कुनै कसर छोड्दैनन् । विदेशी विश्वविद्यालय, कलेज र विद्यालयले असिमित विज्ञापन गरेर नेपालका विद्यार्थीलाई विदेश तानिरहेका बेला स्वदेशी शैक्षिक संस्थामाथी विज्ञापनमा लगाइने नियन्त्रण अस्वभाविक भएको निजी उमावि सञ्चालकहरू बताउँछन् । त्यसो त हाल भारतीय शिक्षण संस्थाहरूले पनि एसएलसीपछिको शैक्षिक कार्यक्रमका लागि विज्ञापन गरिरहेकै छन् ।

शैक्षिक व्यवसायीहरूका अनुसार एसएलसी होस् वा प्लस टु निजी क्षेत्रकै उत्कृष्ट व्यवस्थापनका कारण समग्र परीक्षाफल सकारात्मक देखिएको छ । निजी शैक्षिक संस्थाको तुलनामा सामुदायिका उमाविको परीक्षाफल धेरै नै तल भएको अवस्थामा सामुदायिकको स्तर उकास्नेतर्फ ध्यान दिन उनीहरू चुनौती दिन्छन् ।

खासगरी काठमाडौं उपत्यकामा प्लस टुहरूको संख्या बढिरहेको छ भने अर्कातर्फ विकेन्द्रीकरणको स्वभाविक प्रक्रियाअनुसार हरेक जिल्लामा राम्रा उमाविहरू स्थापित भैसकेका छन्, जसका कारण उच्च शिक्षाका निम्ति काठमाडौं आउने विद्यार्थीको संख्या कम छ । त्यसैले जिल्ला जिल्ला पुगेर, छात्रवृत्ति दिएर, विभिन्न प्रदर्शनी वा कार्यक्रम गरेर विद्यार्थी आकर्षित गर्न निजी उमाविहरू बाध्य छन् । यता शिक्षाविद्हरू भने भरसक स्थानीय स्तरको शिक्षणसंस्थामै अध्ययन गर्न विद्यार्थीहरूलाई अभिप्रेरित गर्नुपर्ने बताउँछन् ।

कुनै बेला १ हजारभन्दा बढि विद्यार्थी भर्ना गरेको उपत्यकाको एक उमाविलाई गत वर्ष ५ सय विद्यार्थी पुर्‍याउन गार्‍हो भयो । यसपटक त उक्त उमाविलाई भूकम्पले थप तनाव सिर्जना गरिदिएको छ । एकपटक विद्यार्थी संख्या घटेपछि उकास्न यो वर्ष उक्त उमाविले हरसम्भव प्रयास गर्ने योजना बनाएको थियो । यद्यपि भूकम्पका कारण पुरानै स्थितिमा फर्कन गार्‍हो छ । एकपटक संख्या घटिसकेपछि फेरी उकास्न गार्‍हो हुने अधिकांश प्लस टु सञ्चालकहरूको बुझाइ छ । अहिलेको अवस्थामा त्यो उमावि त गयो भनेर अरूले गरिदिने नकारात्मक प्रचारले थप समस्या बढाएको हुन्छ ।

धेरैलाई निजी उमावि सञ्चालन गरेर उनीहरू मालामाल भएका छन् भन्ने लाग्न सक्छ, यथार्थमा २५ प्रतिशत प्लस टुले सोचेअनुरूप विद्यार्थी लिन सफल भए पनि बाँकी ७५ प्रतिशत औसत र जेनतेन हिसाबले चलिरहेका छन् । स्कुल एजुकेसनकै रूपमा उमावि शिक्षालाई बुझ्नुपर्ने तर्क धारण शिक्षाविद्हरूको भए पनि हालसम्म एसएलसीलाई नै बढी महत्व दिइँदै आइएकाले उमावि शिक्षा कलेजसरह मानिन्छ । त्यसकारण पनि उमावि सञ्चालकहरू विद्यार्थी आकर्षित गर्न प्रचार–प्रसारमा जुट्छन् ।

एसएलसी दिएर ब्रिजकोर्स वा अन्य कुनै छोटो कोर्स गरिरहेको विद्यार्थीलाई काउन्सिलिङमार्फत मोटिभेट गर्नु राम्रो भएको शिक्षाविद् एवं पपुलर एजुकेसन फाउन्डेसनका सिइओ राजकुमार महतो बताउँछन् । ‘विद्यार्थीलाई आकर्षित गर्न उमाविहरूले गर्ने क्रियाकलापलाई सामान्य रूपमा लिनुपर्छ, कसैले कलेज घुमाएर वा मोटिभेसन क्लास लिएर वा काउन्सिलिङ गरेर विद्यार्थीको आत्मविश्वास बढाउने काम गर्छ भने नकारात्मक रूपमा लिनु हुँदैन ।’ महतो भन्छन्– ‘विद्यार्थी र तिनका अभिभावकले शैक्षिक स्तर, फयाकल्टी, ल्याब, वातावरण आदि पक्ष बुझेर शैक्षिक संस्था छनौट गर्नुपर्छ ।’

राजधानी वा राजधानीबाहिरका मुख्य सहरमा उमाविहरूले दक्ष शिक्षण टोलीको व्यवस्था गरेका हुन्छन् । खासगरी विज्ञान संकायका निम्ति दक्ष शिक्षण टिम भयो भने विद्यार्थीले बुझेर अध्ययन गर्न पाउँछ, तर आफुलाई पायक पर्ने स्थानमा सामुदायिक उमाविमै चाहेको विषय अध्ययन गर्ने अवसर पाइएको छ भने आर्थिक रूपमा निम्न मध्यम वर्गले काठमाडौं वा सहर ताक्नु उपयुक्त नहुने शिक्षाविद्हरू नै बताउँछन् । प्लस टु तह भविष्य निर्माण गर्ने शैक्षिक तह हो, त्यसकारण विद्यार्थीले यो समयमा कन्फ्युज नभै सही निर्णय लिन सक्नुपर्छ । प्रतिस्पर्धाको होडबाजीमा चलेका उमाविहरूले भनेका सबै कुरा सुन्ने र फिल्टर गरेर त्यसलाई मनन गर्ने अनि सही निर्णय लिने जिम्मेवारी अभिभावक एवं विद्यार्थीको हातमा हुन्छ ।

प्रकाशित :असार ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्