श्रृंखलामा एसराज र सम्पदा

श्रृंखलामा एसराज र सम्पदा

असार ११, २०७२

अभिनेता एसराज गराज तथा अभिनेत्री सम्पदा बानियाँ टेलिश्रृंखलामार्फत दर्शकमाझ आउने भएका छन् । कान्तिपुर टेलिभिजनको अपराध–अनुसन्धानमा आधारित टेलिश्रृंखला ‘किलो ट्याङ्गो माइक’ मा एसराज र सम्पदा मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन् । श्रृंखलाका निर्देशक लक्ष्मण पौड्यालका अनुसार आगामी मंगलबारदेखिको श्रृंखलामा यो जोडीलाई देख्न पाइनेछ । ‘किलो ट्याङ्गो माइक’ प्रत्येक मंगलबार राती ७:३० बजे प्रसारण हुन्छ । यो श्रृंखलामा पुराना अभिनेता कृष्ण मल्ल लामो समयदेखि अभिनय गरिरहेका छन् ।

नक्कलीलाई सक्कली

भूकम्पपीडित कलाकार घनश्याम गौतमलाई एमाओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले भेटेरै सहयोग गरेका छन् । टेलिश्रृंखला तथा स्टेज कार्यक्रममा प्रचण्डकै नक्कल गरेर चर्चामा आएका कलाकार गौतमलाई नेता दाहालले गत सोमबार कटुञ्जे, भक्तपुर पुगेर भेटेका हुन् । प्रचण्डले घनश्यामसँग उनको समस्याका बारेमा जानकारी लिँदै भूकम्पपीडितहरूका लागि घर बनाउन सरकारले दिने भनेको सस्तो ऋण निकासाका लागि पहल गर्ने बताए । कटुञ्जे क्षेत्रमा भूकम्पबाट प्रभावित भएका स्थानीय बासिन्दाहरूका लागि दाहालले २ वटा ठूला टेन्ट पनि दिए । दाहालले आफूसंग लगेको टेन्ट, चामल, चिउरा घनश्याममार्फत नै स्थानिय पीडितहरूलाई वितरण गर्न आग्रह गरेका थिए ।

विद्यालयमा बल्छी

‘मेरी बास्सै’ का बल्छी धुर्वे अर्थात् मरिचमान श्रेष्ठ यतिबेला टेलिश्रृंखलाको छायांकनस्थलभन्दा टाढा गोरखाका विद्यार्थीमाझ रमाउन थालेका छन् । भूकम्पले गोरखाको ताकुकोटस्थित आफ्नै घर भत्किए पनि मरिचमानले ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरिसकेका छन् । बल्छी धुर्वेकै गेटअपमा प्रस्तुत हुँदै मरिचमानले हास्य प्रस्तुतिमार्फत बालबालिकाहरूको अनुहारमा हाँसो ल्याइरहेका छन् । मरिचमानले व्यक्तिगत खर्चमा ५० भन्दा बढी विद्यालय पुगेर हास्य कार्यक्रम प्रस्तुत गर्ने योजना बनाएका छन् ।

 

प्रकाशित :असार ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्