भूकम्पले अझ दयनीय बनायो

भूकम्पले अझ दयनीय बनायो

असार ११, २०७२

नेपाली चलचित्र निर्देशनका साथै कला–संस्कृतिको उत्थानमा लागेका वरिष्ठ लेखक तथा निर्देशक हुन्– प्रताप सुब्बा (६८) । हाल उनी राजबाढी, दार्जीलिङमा बस्छन् । चलचित्र परालको आगो (२०३४) निर्देशन गरेपछि उनले भारतमा सम्मानित हुने अवसर पनि पाए । त्यस्तै बाँच्न चाहनेहरू (२०३९), मशाल (२०४२), कहीं उज्यालो कहीं अँध्यारो (२०४५) चलचित्र निर्देशन गरेका सुब्बाले २०४८ सालतिर नेपालबाटै कथानक चलचित्र दिदीको लेखन तथा निर्देशन सम्पन्न गरेका थिए । चट्याङ, भीष्मप्रतिज्ञाजस्ता चलचित्र निर्देशन गरिसकेका सुब्बाले नेपाली चलचित्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौंमा डायमन्ड एक्टिङ इन्स्टिच्युट पनि सञ्चालन गरेका थिए । दरबार हत्याकाण्डपछि भने उनी काठमाडांैबाट दार्जीलिङ फर्किए । गएको साता लिम्बुवान फिल्म प्रोडक्सनले ‘समयको धारा’ शीर्षकको चलचित्र निर्देशन गर्न उनलाई धरानमा निम्त्याएको थियो ।

हाल के गर्दै हुनुहुन्छ ?

अहिले दार्जीलिङमा आफ्नै घरमा बस्दै आएको छु । बुढेसकाल पनि लाग्यो । बसीबियाँलो गर्दै दिन बितिरहेछ ।

धरानमा सम्मानित हुँदा कस्तो लाग्यो ?

खुसी छु । मलाई मेरो कर्मको राम्रो मूल्यांकन भएजस्तो लागेको छ ।

यो उमेरमा पनि निर्देशन गर्न लाग्नुभएको हो ?

हो, साथीभाईहरूले निर्देशन गर्न लगाउनुहुन्छ । म पनि अहिलेसम्म त क्रियाशील नै छु ।

नेपालले कत्तिको सम्झिएको छ ?

नेपालले सधैं सम्झिएको छ । नेपालबाट नेपाल कलाकार संघ तथा निर्देशक समाजले मलाई लाईफ टाइम अचिभमेन्ट एवार्ड दिएका छन् ।

पुराना र नयाँ निर्देशकबीच के फरक पाउनुभयो ?

पहिले निकै मेहनत गर्नुपथ्र्यो । म्युजिक र एडिटिङमा निकै खट्नुपथ्र्यो । अहिले प्राविधिक रूपमा सबै सहज छ । कम्प्युटरले नै सबै काम गरिदिन्छ ।

पहिलेका चलचित्र राम्रा कि अहिलेका ?

पहिले सफा, सामाजिक, मिठो मेलोडी टाइपका पारिवारिक चलचित्र बन्थे । अहिले बढी अश्लीलता भएका चलचित्र बनाउन थालेका छन् । मेलोडी तथा आफ्नोपन छैन । विदेशी चलचित्रको नक्कल गर्छन्, सिर्जना छैन । चलचित्र सस्तो भएर गयो ।

अहिले भूकम्पले नेपाली चलचित्रलाई पनि असर गर्‍यो ? यसलाई माथि ल्याउन के गर्नुपर्ला ?

अब धरहराको नयाँ निर्माणसँगै सफा नेपाली चलचित्रको निर्माण आवश्यक छ । नेपाली दर्शकलाई आफ्नोपनका चलचित्र दिनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । तेस्रो दर्जाका चलचित्र बनाउनु भएन ।

नेपाली चलचित्र उद्योगको अवस्था कस्तो छ ?

नेपाली चलचित्र माओवादी द्वन्द्वले समस्यामा रह्यो । चलचित्र उद्योग निकै राम्रो भैसकेको थियो तर द्वन्द्वको त्रासले चलचित्र बन्न बनेनन् । चलचित्र निर्माता पछि हटे । अहिले भूकम्पले त्यसलाई अझ दयनीय बनाएको छ ।

नेपाल फर्कने योजना छ कि ?

तपाईंजस्तो निर्देशक फर्कनुपर्छ भन्छन् । परिस्थति बुझेर फर्कन्छु । नेपाली चलचित्र उद्योगप्रति मेरो पनि केही दायित्व छ ।

प्रकाशित :असार ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्