स्मार्ट शैलीबाट नतिजा

स्मार्ट शैलीबाट नतिजा

असार ११, २०७२

गत शनिबार एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि नतिजा हेर्न रमेश बरालले खासै हतार गरेनन् । एक प्रकारको कौतूहलता भए पनि उनी आफ्नो मोबाइलमा नतिजाको जानकारी केही समयमै आउने कुरामा ढुक्क थिए । उनले दुई दिनअघि नै नेपाल टेलिकमको मोबाइलमार्फत नतिजाका लागि प्रि–रजिस्ट्रेसन गरिसकेका थिए । नभन्दै केही समयमै उनी डिस्टिङ्सनसहित उत्तीर्ण भएको म्यासेज आयो । उनले खुसीका साथ फेरि नम्बर हेर्न टेलिकमकै वेबसाइट चहारे ।

यो वर्ष एसएलसी नतिजा हेर्ने शैलीलाई जानकी टेक्नोलोजीले थप स्मार्ट बनाउन महत्वपूर्ण भूमिका खेल्यो । जानकीले आफूले प्रचलनमा ल्याएको स्प्यारो एसएमएको मोबाइल एप्लिकेसन नै निर्माण गर्‍यो । स्मार्टफोनमा उक्त एप्स इन्स्टल गरेपश्चात् एसएमएस गर्न सकिन्छ र इन्टरनेटबिनै एसएलसीको नतिजा थाहा पाउन सकिन्छ । नेपालमा पहिलो पटक एसएलसीको नतिजा हेर्न एप्सको प्रयोग गरिएको हो । एसएलसीको नतिजा प्रकाशन भएपछि यो एप्सले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । एसएलसीको नतिजा आउने एक सातामै यो एप्स १० हजार भन्दा बढी पटक डाउनलोड भएको छ ।

पछिल्लो समयमा पहिलेजस्तो एसएलसीको नतिजा हेर्न गोरखापत्र कुर्ने चलन समाप्त भएको छ । घरमा भएको टेलिफोन वा हातमा भएको मोबाइलमार्फत सबै जानकारी उपलब्ध हुन्छ । पहिले देखि नै प्रचलित एसएमएस यसपटक पनि निकै प्रयोग गरियो । नेपाल टेलिकमको मोबाइलबाट १६०० मा धेरैले एसएमएस पठाएर यो सेवाको उपभोग गरे । त्यसैगरी कान्तिपुर मिडिया ग्रुपको ३३३ नम्बरमा एसएमएस पठाएर पनि धेरैले आफ्नो नतिजा हेरे । स्प्यारो एसएमएसको ५००१, टेलिटकको ५२२५, फोकस वानको ५५६६, आप्का नेपालको ७७२२ आदिमा म्यासेज पठाएर पनि धेरैले आफ्नो नतिजा हेरे । यी सबैमार्फत नतिजा हेर्न आफ्नो मोबाइलको म्यासेज बक्समा गई एसएलसी लेखी आफ्नो सिम्बोल नम्बर लेखेर एसएमएस पठाउन सकिन्थ्यो । नेपाल टेलिकमको फोनबाट १६०० नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्थ्यो ।

नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीको वेबसाइटलाई आधिकारिक मानिन्छ । आधिकारिक वेबसाइटको खोजी गर्नेहरूले उक्त वेबसाइट प्रयोग गरेका थिए । नेपाल टेलिकमले

आफ्नो वेबसाइटमा मार्कसिटसहितको नतिजा हेर्न सकिने सुविधा उपलब्ध गराएको छ । त्यसबाहेक एजुसञ्जाल डटकम तथा अन्य विभिन्न निजी क्षेत्रका वेबसाइटहरूले पनि नतिजाको जानकारी दिने कामलाई सहज बनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ करोड ६२ लाख ६१ हजार नेपाली टेलिफोन सेवाको पहुँचमा छन् । यो नेपालको कुल जनसंख्याको ९९ दशमलव १२ प्रतिशत हो । तीमध्ये ३९ दशमलव ६८ प्रतिशतले इन्टरनेट चलाउँछन् । टेलिफोन, मोबाइल तथा इन्टरनेट चलाउनेहरूको बढ्दो संख्याका साथै स्मार्ट प्रविधिसमेत कम्पनीहरूले भित्र्याइरहेकाले एसएलसी नतिजा हेर्न पनि स्मार्ट प्रविधि प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ ।

प्रकाशित :असार ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्