बुद्धका आँखा हेर

बुद्धका आँखा हेर

असार ४, २०७२

सञ्चारकर्मी मधु शाहीले रचना गरेको ‘बुद्धका आँखा हेर...’ गीतको म्युजिक भिडियोलाई संगीतकार शम्भुजित बाँस्कोटाले काठमाडौंमा सार्वजनिक गरेका छन् । गायिका जुना प्रसाईं तथा ज्योतिप्रकाश विकको स्वरको यो गीतको भिडियोको निर्देशन सञ्चारकर्मी अर्जुन केआरले गरेका हुन् । चित्रकार ज्योतिप्रकाशले यो गीतलाई संगीतबद्ध गरेका छन् । म्युजिक भिडियोमा दीपकराज गिरी, जितु नेपाल, दीपाश्री निरौला, झरना थापा, निर्मला शर्मा, विनिता मरहट्ठा आदि कलाकारलाई देख्न सकिन्छ ।

प्रसिद्धि

गायक तथा संगीतकार चन्द्रकान्त पौडेलको एकल स्वर तथा संगीतको नयाँ एल्बम ‘प्रसिद्धि’ यसै साता सार्वजनिक भएको छ । लोकपप, पप, आधुनिक, गजल तथा देशभक्तिपूर्ण गीतहरूको यो एल्बमका सर्जक पौडेलले नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिषशास्त्रमा आचार्य गरेका छन् । एल्बमका गीतहरू डा. सनतकुमार वस्ती, राजेन्द्र पौडेल, नरहरि प्रेमी तथा गायक पौडेलले रचना गरेका हुन् ।

मेरो देश...

जुम्ल्याहा गायक राम–लक्ष्मण परियारले गाएको राष्ट्रिय गीत ‘मेरो देश जलिरहेछ...’ को म्युजिक भिडियो यसै साता सार्वजनिक भएको छ । ‘यथार्थ’ एल्बममा समावेश उक्त गीतमा राम–लक्ष्मणकै शब्द तथा संगीत छ । दिनेश श्रेष्ठ यो भिडियोका निर्देशक हुन् ।

बीपीको साहारा

भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न गायक बीपी वाग्ले तथा गायिका सुमन गुरुङले ‘बनौं साहारा’ शीर्षकको गीत तयार पारेका छन् । गायक वाग्लेकै संगीत निर्देशनको यो गीतको म्युजिक भिडियो यसै साता प्रिमियर गरिएको छ । युगल पोमोद्वारा निर्देशित यो म्युजिक भिडियोमा डा.भोला रिजाल, ह्यारी योञ्जन, दृश्य सुवेदी, विकास लामिछाने आदिले अभिनय गरेका छन् । 

प्रकाशित :असार ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्