नयाँ चलचित्र प्रदर्शन गर्न डराउनु हुँदैन

नयाँ चलचित्र प्रदर्शन गर्न डराउनु हुँदैन

असार ४, २०७२

ठप्प नेपाली चलचित्र क्षेत्रमा अब के हुन्छ ?

वास्तवमै चलचित्र गतिविधि ठप्प छ । त्रासको वातावरण अझै हट्न सकेको छैन । यो अवस्थामा नयाँ नेपाली चलचित्र रिलिज गर्न पनि डर छ । तत्काल नयाँ चलचित्र रिलिज गरिएन भने नेपाली चलचित्र क्षेत्र अझ ओरालो लाग्ने डर पनि छ । यति बेला नयाँ चलचित्र रिलिज गर्न हामी निर्माताहरूसंग पहल गरिरहेका छौं । नयाँ चलचित्र आयो भने दर्शकहरू हलसम्म पुग्ने वातावरण बन्नेछ ।

लाखौंको लगानीमा बनेको नयाँ चलचित्र रिलिज गर्ने आँट कसले देखाउलान् त ?

हो, यो अवस्थामा बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ? निकै गाह्रो छ । हामी चलचित्र भवनका सञ्चालक तथा निर्माताहरूसंग दिनहुँजसो सल्लाह गरिरहेका छौ । असारको दोस्रो सातादेखि नयाँ नेपाली चलचित्र नियमित रिलिज गर्दै जाने वातावरण बनिरहेको छ ।

त्रासमा रहेका दर्शक नआउने डर छ नि ?

१२ गतेको भूकम्प र त्यसपछिका ठूला पराकम्पनहरूले मन विक्षिप्त हुनु स्वाभाविक हो । हामी सबै डराइरहको अवस्था छ । यति भएर पनि कुनै सिनेमाघरमा सामान्य बाहेक ठूलो क्षति नपुग्नु, कतै दौडादौड भएर दर्शक हताहत भएको खबर नआउनुले यहाँका चलचित्र भवनहरू चलचित्र हेर्नका लागि सुरक्षित छन् भन्ने बुझिन्छ । काठमाडौं बाहिरका चलचित्र भवनहरूमा त कुनै असर नै परेको छैन । मात्र नयाँ नेपाली चलचित्र नभएर दर्शकहरू बाध्यतावश पुरानै चलचित्र हेर्न विवश छन् अथवा नयाँ हिन्दी तथा अंग्रेजी चलचित्रहरू हेर्न दर्शकहरू चलचित्र भवनमा पुगिरहेकै छन् ।

यो अवस्थामा तपाईंले भने जसरी बिरालोको घाँटीमा कसैले घण्टी बाँध्ने आँट गर्छ भने ?

त्यस्तो योगदान दिने निर्मातालाई हामी पनि सहयोग गर्छौं र सामान्य अवस्थामा भन्दा बढी सहयोग गर्छौं, जसले स्थिति सामान्य बनाउन पहल गर्छ, त्यस्ता चलचित्रलाई बढी पर्सेन्ट दिन तथा चलचित्र चलाउने वातावरण बनाउन हामी खटिन्छौं । त्याग गर्नेहरूका लागि चलचित्र भवनहरूले पनि सहयोग गर्नेछन् । उहाँहरूको लगानी डुब्न नदिन हामी हरसंभव प्रयास गर्नेछौं ।

असारको दोस्रो सातापछि पनि नयाँ चलचित्र रिलिज गर्न निर्माताहरूले आँट नै देखाएनन् भने नि ?

एफडी कम्पनीमा आबद्ध हामी निर्माताहरूका पनि चलचित्र छन् । कसैले आँट देखाउनु भएन भने क्रमश: हामी आफ्ना चलचित्रहरू देखाउन थाल्नेछौं । यसो गरेबापत पाइने सहयोग र सुविधा पनि हामी नै लिने छौं । सुरुवात हामीबाटै हुनुपर्छ । दर्शकहरू नयाँ चलचित्र हेर्न पाइने भयो भने चलचित्र भवनसम्म अवश्य आउनु हुनेछ ।

स्थिति सामान्य भैसकेपछि पनि त रोकिएका चलचित्रहरू जुध्ने अवस्था छ, होइन ?

स्थिति सामान्य भैसकेपछि त जो पनि आफ्ना चलचित्र रिलिज गर्न तम्सिन्छन् । त्यतिबेला एकै साता आधा दर्जन चलचित्र पनि चल्न सक्छन् भने सिंगल रिलिज गर्न खोजेर पनि नपाइने अवस्था हुनसक्छ । त्यसरी जुध्दा राम्रै चलचित्र पनि नचल्ने अवस्था आउन सक्छ । त्यसैले चलचित्र देखाउने र चलाउने स्थितिलाई विस्तारै सामान्य बनाउने अभिभारा हामी माथि नै छ । अहिले सर्वत्र स्थिति सामान्य हुँदै गैरहेको सन्दर्भमा चलचित्र क्षेत्रको स्थितिलाई सामान्य बनाउन हामीले नै योगदान गर्ने बेला आएको छ ।

प्रकाशित :असार ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्