सर्प देख्दा डर लाग्छ

सर्प देख्दा डर लाग्छ

- कृष्ण भट्टराई

असार ४, २०७२

सानो पर्दामा अभिनय गर्दा–गर्दै चलचित्रमा आएका कलाकार हुन्— सविन श्रेष्ठ । चलचित्रमा आउनुअघि सविनले कान्तिपुर टेलिभिजनबाट प्रसारण भएका दुई लोकप्रिय टेलिश्रृंखला ‘क्याटमाण्डू’ तथा ‘घरबेटी बा’ मा अभिनय गरेका थिए । रेखा थापाको चलचित्र ‘अन्दाज’ बाट नेपाली चलचित्रमा डेब्यू गरेका अभिनेता सविन श्रेष्ठ यो क्षेत्रमा हेन्डसम अभिनेताका रूपमा स्थापित छन् । अभिनेत्री रेखा थापासँग ‘अन्दाज’ पछि ‘रावण’,‘हमेशा’, ‘वर्षात्’ तथा ‘दमादार’मा जोडीका रूपमा अभिनय गरेका सविनलाई रेखासँग नजिकिएको आरोपसमेत लागेको थियो । थुप्रै चलचित्रमा रेखासँग अभिनय गर्ने अवसर प्राप्त भएकाले उनीसँग नजिकिएको कुरालाई सविन संयोग मात्र मान्छन् । ‘फुलस्टप’, ‘आधि बाटो’, ‘हवल्दार सुन्तली’ आदि चलचित्रमा विभिन्न नायिकासँग जोडी बाँधिसकेका सविन एक्सन प्रधानदेखि रोमान्टिक चलचित्रसम्ममा जमेका छन् । पछिल्लो समय चलचित्र ‘लक्ष्य’ मा व्यस्त सविनका सार्वजनिक नभएका गोप्य कुरा:

सर्प

म निडर स्वभावको छु । मलाई हत्तपत्त कुनै पनि कुराको डर लाग्दैन तर जब कुरा सर्पको आउँछ, मलाई असाध्यै डर लाग्छ । नेसनल जोग्राफीमा सर्पसम्बन्धी कार्यक्रम आयो भने म च्यानल परिवर्तन गर्छु । चलचित्रमा पनि सर्पसम्बन्धी दृश्य आयो भने आँखा चिम्लन्छु । चिडियाखानामा पनि सर्प राखेको ठाउँमा जाँदै जान्नँ । अहिलेसम्म सर्पले प्रत्यक्ष रूपमा मेरो केही पनि बिगारेको छैन तर खै किन हो किन, मलाई सर्पदेखि बाल्यकालदेखि नै डर लाग्दै आएको छ ।

लङ ड्राइभ

ड्राइभिङ मेरो सबैभन्दा ठूलो सौख हो । खासगरी मलाई लङ ड्राइभ मनपर्छ, त्यो पनि आफैं ड्राइभ गरेर । म काठमाडौंबाट पोखरा, सौराहा, बुटबल तथा हेटौंडासम्म पुगिसकेको छु । लङ ड्राइभमा जाँदा म सबै कुरा बिर्सन्छु । फुर्सद भयो कि मलाई काठमाडौंमा फेला पार्न मुस्किल पर्छ, किनभने म कुनै साथीसँग लङ ड्राइभका लागि निस्किसकेको हुन्छु ।

साहस

म अरूले गर्न डराएको, हिचकिचाएको काम गर्नसधैं अग्रसर हुन्छु । चलचित्रको छायांकनका बेला कुनै संकट आइपर्‍यो भने त्यसको समाधानका लागि आफैं अघि सर्छु । चुनौतीपूर्ण काम आइलाग्यो भने मलाई सम्झिने साथीहरूको संख्या प्रसस्त छ ।

नाक

मेरो नाक अचम्मको छ । नाकको काम कुनै पनि कुराको गन्ध अथवा वासना सुँघ्नु हो तर मेरो नाकले न त गन्ध थाहा पाउँछ, न त वासना नै । थुप्रै पटक चिकित्सकसँग भेटेर मेरो नाकको यो अनौठो समस्याका बारेमा जानकारी पनि नगराएको होइन, तर अहिलेसम्म यसको समाधान फेला पर्न सकेको छैन ।

बाइक संकलन

हरेक मानिसको कुनै न कुनै कुरा संकलन गर्ने बानी हुन्छ । मेरो बानी अलि अनौठो छ । मलाई बजारमा नयाँ स्टाइल र मोडलका बाइक आयो भने त्यो किनेर घरमा राख्ने र फुर्सदमा चलाउने बानी छ । मसँग अहिले चारवटा बाइक छन् । सिबिजेड, पल्सर, स्कुटर तथा भीआर त मैले किनि नै सकेको छु । घरमा पार्किङको अभावले मन परेका सबै मोडलका मोटरसाइक किन्न त सम्भव छैन, तर यदि असाध्यै मन परेको मोडलको मोटरसाइकल बजारमा आयो भने जसरी भए पनि किनेरै छाड्छु ।

जिम

धेरैले मेरो पाखुराका बारेमा जिज्ञासा राख्नुहुन्छ । यो पाखुरा बनाउन मैले करिब एक दशकदेखि मेहनत गरिरहेको छु । म हरेक दिन बिहान केही घण्टा जिमखानामा बिताउँछु । अभिनेताका रूपमा सक्रिय रहन पनि जिम गर्नु अनिवार्य छ । जिमखाना पुगेर केही घण्टा व्यायाम गरेपछि दिनभरि नै शरीर हल्का भएको महसुस हुन्छ ।

 

प्रकाशित :असार ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्