बुब्काको भ्रमण

बुब्काको भ्रमण

जेष्ठ ३२, २०७२

पोलभल्टमा ३५ पटक विश्वकीर्तिमान् कायम गरेका युक्रेनका सर्गेइ बुब्का हालै नेपालको भ्रमणमा थिए । अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघका उपाध्यक्षका रूपमा नेपालको भ्रमणमा आएका बुब्काले नेपाली एथलेटिक्सको विकासका लागि विभिन्न सहयोग गर्ने वचन दिए । उनले हालै गएको भूकम्पले क्षति पुगेको विश्व सम्पदा सूचीमा रहेका स्थलहरूको भ्रमण गर्दै नेपाललाई सम्पूर्ण विश्वले सहयोग गर्नुपर्ने बताए ।

नेपाललाई सहयोग गर्ने इच्छा

नेपाल आएका ठूला खेलकुद व्यक्तित्वको सूचीमा यसै साता थपिएका छन्— सर्गेई बुब्का । सन् ८० देखि ९० को बीच पोल्टभल्टमा उनले एकपछि अर्को कीर्तिमान बनाए । सोल ओलम्पिकमा स्वर्ण पदक जितेका बुब्काले ३५ पल्ट विश्व कीर्तिमान बनाए । पछिल्लो समय भने उनी विश्व एथलेटिक्स र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा व्यस्त छन् । धेरैको अनुमान छ, कुनै दिन उनले विश्व एथलेटिक्सको मात्र नेतृत्व सम्हाल्ने छैन, उनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकै समेत अध्यक्ष बन्न सक्छन् । काठमाडौं आएका बेला बुब्कासँग साप्ताहिकले राखेको पाँच प्रश्न :

भूकम्पको प्रकोपका बेला किन नेपाललाई सम्झिन मन लाग्यो ?

भूकम्पले नेपालमा ठूलो क्षति पुगेको रहेछ, मैले त्यो आफ्नै आँखाले देखें । यसअघि नेपालमा गएको भूकम्पसम्बन्धी समाचार मात्र सुनेको थिएँ । यस्तो बेला म नेपाललाई साथ दिन यहाँ आएको हुँ ।

कस्तो देख्नुभयो त ?

धेरै भौतिक क्षति भएको रहेछ, तर सबैभन्दा ठूलो मानिसको जीवन हुँदोरहेछ । विश्वको सहयोगबिना नेपाललाई माथि उठ्न गाह्रो हुनेछ । मेरा लागि यस्तो स्थितिमा नेपालीहरूमाझ हुनु पनि ठूलो कुरा हो ।

भूकम्पले नेपाली एथलेटिक्सका खेलाडीहरू पनि प्रभावित भएका छन् नि ?

म त्यसैले पनि नेपाल आएको हँु । भूकम्पपीडित नेपाली एथलेटहरूसँग भेटेर मैले उनीहरूको दु:ख महसुस गर्ने अवसर पाएँ ।

नेपाली एथलेटिक्सलाई आउने दिनमा कस्तो सहयोग हुनेछ ?

कार्यक्रम साझेदारीका रूपमा अघि बढ्नुपर्छ । त्यसका लागि मैले विश्व एथलेटिक्स संघसँग पहल गर्नेछु । मैले दशरथ रंगशालाको क्षतिग्रस्त सेन्थेटिक ट्रायकका सम्बन्धमा नेपाली पक्षसँग कुराकानी गरेको छु ।

तपाईंले यति धेरै कीर्तिमान बनाउन सक्नुको रहस्य ?

सबैभन्दा ठूलो कुरा म खेलकुदलाई माया गर्छु, एथलेटिक्सलाई माया गर्छु । यसका लागि कडा मेहनत चाहिन्छ । फेरि आफैंसँग पनि केही गर्ने क्षमता हुनुपर्छ ।

प्रकाशित :जेष्ठ ३२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्