चिसो खोज्दै पहाडतिर

चिसो खोज्दै पहाडतिर

जेष्ठ ३२, २०७२-

धरानसम्म उखरमाउलो गर्मी । हरियो पहाडको छातीमा लम्पसार पर्दै उत्तर लम्किएको १७ किलोमिटर लामो नागवेली सडक पार गरेर पहाडको टुप्पोमा अवस्थित चिटिक्कको भेडेटार बजार उक्लनासाथ अर्कै अनुभूति हुन्छ । भेडेटार बजारबाट ८ किलोमिटरको यात्रापछि पुगिने नमस्ते झरना गर्मी छल्न चाहनेहरूका लागि अर्को आकर्षक गन्तव्य हो । पहाडको बीचबाट एकनासले झर्ने कञ्चन झरनामा भिज्दा तराईको गर्मी बिर्सिएको अनुभव सँगाल्न सकिन्छ । यो क्षेत्र घुम्न आउनेहरूलाई झरनाको मोहकताले दोहोरिएर आउन बाध्य पार्ने अनुभव दीपक रेग्मीको छ । रेग्मीका अनुसार– ‘यो खोजेर पुग्नुपर्ने उत्कृष्ट गन्तव्य हो ।’ तराईमा बढेको उकुसमुकुस गर्मी छल्न भेडेटार पुगेर बादलसँग लुकामारी गर्दै पहाडको काखबाट झरेको कञ्चन झरनामा रुझ्दा सबैले यस्तै अनुभूति गर्छन् । गत वैशाख १२ र २९ गतेको भूकम्पपछि केही सुस्ताएको यो क्षेत्रको पर्यटकीय गतिविधिले तराईमा गर्मी बढेसँगै फेरि आफ््नो लय समातेको छ । चिसो मौसममा अर्गानिक उत्पादनको स्वाद लिन भेडेटार, नाम्जे तथा ऐतिहासिक साँगुरी गढी पुग्नेहरूले झरनामा पुगेर नरुझेसम्म यात्रा अधुरै मान्छन् । झरनामा रम्नकै लागि हिजोआज त्यहाँ सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । भारतको झारखण्डसम्मका पर्यटकको संख्या उल्लेख्य छ भने आगन्तुकको सुविधालाई ध्यानमा राखेर वनभोजस्थल, खानेपानी, पार्किङस्थल एवं शौचालय आदिलाई व्यवस्थित गरिएको छ । नजिकै सुविधासहितका होटल तथा रेस्टुराँ खुल्ने क्रम बढेको छ । करिब ८० मिटर माथिबाट खसेको झरनामा रुझेर रम्न चाहने नेपाली आगन्तुकले १२, सार्क मुलुककाले १७ तथा तेस्रो मुलुकबाट आउनेले २५ रुपैयाँ झरना व्यवस्थापन समितिलाई बुझाउनुपर्छ ।  गर्मीमा दैनिक ४ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने झरना व्यवस्थापन समितिका अध्यक्ष दिलीप सुब्बाले बताए । झरनाको विकासका लागि गुरु योजना बनाएर काम थालिएको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । दाहाल भन्छन्, ‘पदमार्ग सुधार तथा अन्य पूर्वाधार व्यवस्थापनका लागि विशेष योजना बनाएर काम गर्दैछौं, केही समयमै यसको स्तरोन्नति हुनेछ ।’

– विनोद घिमिरे

प्रकाशित :जेष्ठ ३२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्