कसले जित्ला तिलोत्तमा गोल्डकप

कसले जित्ला तिलोत्तमा गोल्डकप

- टोपराज शर्मा

जेष्ठ २२, २०७२

चार वर्षदेखि आयोजना हुन नसकेको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको १८ औं संस्करण गत सोमबार प्रारम्भ भएको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा जेठ २५ गतेसम्म चल्ने यो प्रतियोगितामा तीन विभागीयसहित नेपालका सात तथा भारतको एक टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पश्चिमाञ्चलकै पुरानो र प्रतिष्ठित मानिएको यो प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ क्लब, भारतको दार्जीलिङ–११, रुपन्देही–११, कास्कीको भ्याली स्पोर्टस् क्ल्ब, झापा–११ तथा धरान फुटबल क्लबले भाग लिएका छन् ।

लामो समयको अन्तरालपछि गोल्डकप आयोजना भएकाले चर्को गर्मीका कारण असहज बनेको मौसममा पनि खेलप्रेमी दर्शकहरू आफूलाई मन परेको टिमप्रति समर्थन जनाउन र खेलमा रमाउन रंगशालामा उत्साहजनक रूपमा उपस्थित हुने गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ७५ हजार तथा उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महाभूकम्प प्रभावित कुनै एक जिल्लामा एउटा विद्यालय भवन निर्माण सहयोगार्थ प्रतियोगिता आयोजित गरिएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।

तत्कालीन बुटवल नगर पञ्चायत आयोजक भै २०३३ सालमा सुरु भएको तिलोत्तमा गोल्डकपको पहिलो विजेता सिद्धार्थ खेलकुद परिषद् रुपन्देही हो भने १७औं संस्करणको विजेता जावलाखेल युथ क्लब हो ।

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्