यसपटक युवाहरूले अनौठो शक्ति देखाए

यसपटक युवाहरूले अनौठो शक्ति देखाए

- अश्विनी कोइराला

जेष्ठ २२, २०७२-

वैशाख १२, १३ र २९ गते ठूला भूकम्प गए । हराइरहेका, पहिरोमा पुरिएका सबै हिसाव गर्दा ९ हजारभन्दा बढीको ज्यान गयो । खर्बौं रुपैयाँको धनमाल क्षति भयो । ५६ सेकेन्डको त्रासदीपूर्ण भूकम्पले जन–धनको क्षति मात्र भएन, मानिसको सोच्ने शक्ति नै हरायो । कहाँ के गर्ने भन्ने कुरा सरकार र सम्बन्धित कसैले सोच्न सकेनन् । यस्तो बेलामा घाइतेलाई अस्पताल ल्याउने, मृतकलाई पुरिएका घरबाट निकाल्नेदेखि लिएर अन्य सहयोग पुर्‍याउने काममा युवाहरू खटिए । कतिपय क्षेत्रमा भूकम्प गएको १५ मिनेटभित्र सयौं युवा परिचालित भएका थिए । सरकारले नेपाली सेना र प्रहरी परिचालन गरेपछि उनीहरूलाई सघाउने युवाहरू पनि उत्तिकै थिए । अचानक यी युवाको झुण्ड कहाँबाट आयो, कसरी परिचालित भयो भन्ने कुरा कसैले ठम्याउन सकेनन् ।

त्यतिमात्र होइन, गाउँ–गाउँमा राहत वितरण गर्ने, अस्थायी घर–विद्यालय बनाउने, जनचेतना जगाउने, मानसिक समस्यामा परेकाहरूलाई खुसी पार्ने काममा पनि युवाहरू स्वत:स्फूर्तरूपमा खटिए । यसरी खटिएका युवालाई विदेशमा बस्ने उस्तै उमेरका युवाहरूले सकेजति रकम पठाए । यिनै युवाहरूका कारण अहिले प्रभावित क्षेत्रको जन–जीवन सामान्य अवस्थामा फर्कन थालेको छ । सयौं युवा खटाउने धेरै संस्थाहरूमध्ये नेपाली युवाहरूको छाता सञ्जाल आयोन पनि एक हो । यो संस्थाले भूकम्प गएको दिनदेखि १६–३३ वर्ष बीचका दैनिक १ हजारभन्दा बढी युवा खटाएको छ । विपद्का बेलामा युवाहरूले देखाएको सक्रियताका विषयमा साप्ताहिकले आयोनका अध्यक्ष ब्रमिमकुमारसँग लामो कुराकानी गरेको थियो ।

यस पटक स्वत:स्फूर्तरूपमा युवाहरू खटिएको देखियो । हजारौं युवा अचानक कार्यस्थलमा कसरी आए ?

हाम्रो देशमा करिब १० हजार स्थानीय क्लब छन् । यस्ता क्लबले कतै सांस्कृतिक गतिविधिका काम गर्छन् त कतै खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्छन् । कसैले अन्य सामुदायिक संस्था खोलेर बसेका छन् । ती एक प्रकारले सक्रिय युवा हुन् । यी सबै देशका लागि केही गर्न चाहन्छन् । जब देशलाई संकट पर्‍यो, उनीहरूले स्वत:स्फूर्तरूपमा काम सुरु गरे ।

यिनीहरू कुनै संस्थामा संघठित भएर योजनाबद्ध रूपमा आएका थिए कि आफैं सामेल भएका थिए ?

यी क्लबमा सामेल नभएका अरू धेरै स्वतन्त्र युवाहरू पनि छन् । ती युवाका आफ्नै साथी–समूह हुन्छन् । उनीहरू सामाजिक सञ्जालमा जोडिएका हुन्छन् । अचानक आएको भूकम्पका कारण उनीहरू फेसबुक ट्विटर वा अन्य सामाजिक सञ्जालमार्फत जोडिन थाले । यस अर्थमा उनीहरू संघठित नै थिए । कसैको समूह ठूलो थियो, कसैको सानो । धेरै युवाहरू म केही गर्न चाहन्छु, मलाई पनि समूहमा राख्नुहोस् भनेर स्वत:स्फूर्तरूपमा आएका थिए ।

तपाईंले अनुभव गर्नुभएको सबैभन्दा प्रभावकारी समूह कुन थियो ?

‘विवेकशील नेपाली’ भर्खरै दर्ता भएको युवाहरूको राजनीतिक समूह हो । यो समूहमा विदेशमा पढेर नेपाल फर्किएका, नेपालमै राम्रो जागीर खाइरहेका, कलेज अध्ययनरत वा गाउँ–गाउँमा राम्रो काम गरिरहेका युवाहरू छन् । उनीहरू देशमा भैरहेका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउँछन् । सामाजिक सञ्जालमा यो समूहको राम्रो पकड छ । जब भूकम्प गयो, मोबाइल र सामाजिक सञ्जालका कारण सेवामा जुट्न आग्रह गर्न थालियो । केही घन्टाभित्रै सयौं युवा आ–आफ्नो क्षेत्रमा खटिन थाले । जो जुन स्थानमा छ, त्यहि स्थानबाट काम सुरु गरे ।

त्यो संख्या कति थियो ?

हरेक दिन कम्तीमा १ हजार ५ सय देखि १ हजार ८ सयसम्म युवा परिचालित भएको खबर आएको थियो । भूकम्प गएको केही घन्टामा उनीहरूको चिकित्सक टोली वीर अस्पताल र शिक्षण अस्पतालमा खटिएको थियो । अर्को टोली मृतक झिक्ने, अस्पताल पुर्‍याउने र मानिसलाई नआत्तिन सुझाव दिइरहेको थियो । विदेशमा बस्ने आफ्ना सदस्यलाई उसले तुरुन्तै सहयोग पठाउन आग्रह गर्‍यो र राहतमा जुट्यो । मेरो जानकारीमा आए अनुसार यो समूहले ३ सय गाउँमा १ हजार ५ सय युवा खटाएर ३ करोडभन्दा बढीको राहत वितरण गरेको छ । यो संस्थाको कामलाई मैले महत्व दिनुको अर्को कारण के हो भने अरु धेरै समूहले त्योभन्दा बढी रकम खर्च गरेर राहत बाँडे तर त्यो व्यवस्थित भएको देखिएन । विवेकशील नेपालीको काम अरूभन्दा व्यवस्थित थियो ।

तपाईं अध्यक्ष भएको संस्था आयोन नेपालभरिका क्लबहरूको छाता संगठन हो । यसले सबैभन्दा राम्रो काम गर्नुपथ्र्यो, होइन र ?

आफ्नो कामको प्रशंसा आफैंले गर्नु राम्रो होइन । यो अरुले मूल्यांकन गर्ने कुरा हो । यो विपद् व्यवस्थापनमा हामीले जे गर्‍यौं, त्यो सन्तोषजनक छ । हाम्रो काम देखेर सरकारले पुर्ननिर्माणका लागि १ हजार २ सय युवा दिन आग्रह गरेको छ । दातृनिकायले ती युवालाई कार्यक्षेत्रमा खटिन विभिन्न किसिमका सामग्री दिन जति पैसा चाहिन्छ, हामी दिन्छौं भनेका छन् । यसको अर्थ हाम्रो काम सरकार, दातृनिकाय तथा जनताको नजरमा पर्‍यो ।

के–के काम गर्नुभयो ?

भूकम्प गएको भोलिपल्टदेखि हामीले प्रत्येक दिन १ हजार २ सय युवालाई एक महिनासम्म लगातार खटायौं । डेढ करोड रुपैयाँ खर्च गर्दै हामीले ९ हजार ७ सयभन्दा बढी परिवारलाई सहयोग गर्‍यौं । त्यसमा १ सय ७० वटा अस्थायी बसोवास, ५ सय ५० जनालाई तालिम, १७ जिल्लाका ३ सय समाजिक समूहसँग काम गर्‍यौं । हामीले २ सय ७० ट्रक खाद्यान्न, ४० हजार १ सय १३ प्याकेट औषधि, ९ हजार ५ सय पाल वितरण गरेका रहेछौं ।

भूकम्पपछि धेरै युवासमूह उद्धारमा खटिएको देखियो, उनीहरूको कार्यशैली एकै प्रकारको थियो कि भिन्न भिन्न खालको थियो ?

यसपालि अनौठो के देखियो भने युवा समूह अचानक जम्मा भयो र जो जहाँ छ, त्यहीँबाट काम सुरु गर्‍यो । विदेशमा हुने युवाहरूले पैसा पठाउन थाले । नेपालमा हुनेहरू जुन ठाउँमा छन्, त्यहीँबाट युवाहरूलाई संघठित गराउन थाले । कतिले कार्यक्षेत्रमा काम गर्न थाले ।

लुभुको सानो उदाहरण दिन्छु । जब भूकम्पले लुभु बस्ती सखाप भयो, युवाहरूले घरबाट लास निकाल्ने, घाइतेलाई अस्पताल पुर्‍याउने तथा विस्थापितहरूलाई बारीमा राख्ने काम गर्न थाले । त्यहाँ प्लास्टिकको घरमा टनेल खेती गरिन्छ । त्यही टनेलमा विस्तापितहरूलाई राखियो । तिनीहरू गाउँकै युवा थिए । उनीहरूले सबैलाई उत्तिकै महत्व दिएर उद्धारमा खटिए । मेरो घर तेरो घर भनेनन् । यसले बोलचाल बन्द भएका मानिसहरू पनि बोल्न थाले । यस्तो दृश्य बुङ्मति, ठिमी र भक्तपुरमा पनि देखियो । साथीहरूको रिपोर्टअनुसार १७ वटै जिल्लाका प्रभावित गाउँहरूमा स्वत:स्फूर्तरुपमा युवाहरू यहि शैलीमा खटिए । कम्तीमा प्रारम्भिक काममा स्थानीय युवाहरूको ठूलो सक्रियता देखियो ।

यसले समाजमा के परिवर्तन ल्यायो भन्ने मान्नुहुन्छ ?

भूकम्पको सुरुवातका दिनमा मृत्यु र छिमेकीले गरेको सहयोगका कारण एक अर्कामा नबोल्ने मानिसहरू पनि बोल्न थाले । भूकम्पले समाजलाई एक पार्‍यो । एक सातापछि जब गाउँ–गाउँमा रातह पुग्न थाल्यो, समाजलाई फेरी मनमुटाव र द्वन्द्वमा पार्न थाल्यो । यसको कारण के थियो भने जुन मात्रामा क्षति भएको थियो, त्यसअनुसार सहयोग पुगेन । थोरै पुग्दा बलवानले रातह लियो । कमजोर पछि पर्‍यो । जब पर्याप्त सामग्री पुग्न थाल्यो, मैले राम्रो चामल पाइन, मैले राम्रो पाल पाइन, उसले पायो भनेर एक अर्कासँग झगडा गर्न थाले । यसरी मिलेको समाज राहतले फेरि बिगार्‍यो । अब त अवस्था कस्तो छ भने आफ्नो घर बनाउन छाडेर राहत पर्खेर बस्ने समूहहरू पनि छन् ।

यसलाई मिलाउन फेरी पनि युवाहरू नै चाहिन्छ । त्यसमाथि पुर्ननिर्माणको कुरा छ । तपाईंहरूको भूमिका के हुन्छ ?

सरकारले जुन–जुन समूहले ठूलो मात्रामा युवा परिचालन गरेका थिए, उनीहरूको कामलाई नियाली रहेको रहेछ । अहिले सरकारले ती युवा समूहहरूलाई पुर्ननिर्माणका लागि प्रयोग गर्न चाहेको छ । हाम्रो संस्थासँग पनि १ हजार २ सय युवा मागिएको छ । हामीले सम्झौता गरिसक्यौं । युथ एक्सनसँग पनि ६ सय युवाको सम्झौता भएको छ । यस्ता एक दर्जन संस्थासँग सरकारले सम्झौता गरेको छ ।

यी युवा कहाँबाट जुटाउनु हुन्छ ?

हामीले प्रत्येक स्कुल–कलेजसँग राष्ट्र पुर्ननिर्माणका लागि केही विद्यार्थी दिनुहोस् भनेका छौं । यो प्रत्येक युवाका लागि आफ्नो करियर अघि बढाउने सुनौलो अवसर हो । सरकारले ती युवालाई काम गरेको सर्टिफिकेट दिन्छ । यसले भोलिको करियर सहज हुन्छ । यो कुरा बुझेका जुनसुकै युवा काम गर्न तयार हुन्छन् । मुख्य कुरा उनीहरूको काम नै पढाइ हुन्छ । अर्को कुरा देशभरि १० हजार क्लब छन् । ती क्लबबाट पनि युवासाथीहरू आउनु हुन्छ । त्यसैले स्रोतको कमी हुन्छ जस्तो मलाई लाग्दैन ।

राजनीतिक संगठनमा पनि प्रसस्त युवा छन्, उनीहरूको चर्चा छैन किन होला ?

राजनीतिक दलले ढिलै भए पनि कार्यक्षेत्रमा युवाहरूलाई खटाएको छ । यद्यपि राजनीतिक दलसँग सरकारले सम्झौता गर्न नमिल्ने भएकाले विवेकशील नेपाली र अन्य ठूला दलका युवा कार्यकर्ता खटाउन मिल्दैन । त्यसैगरी खेलकुद संघका सयौं साथीहरूले पनि हामीसँग सम्पर्क राखिरहनु भएको छ । अहिले हरेक युवा केही गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेका छन् ।

तपाईंहरूले १ हजार २ सय युवा खटाउँदा करोडौं खर्च लाग्छ, स्रोत कसरी जुटाउनु हुन्छ ?

केही रकम सरकारबाट पाइन्छ । दोस्रो विदेशमा पढिरहेका, काम गरिरहेका, साथीहरू तथा नेपाली उद्योगपतिहरूले सहयोग गर्छु भनिरहनु भएको छ । विश्वसनीय संस्था हुने वित्तिकै खर्चको समस्या हुँदैन, केवल सदुपयोग हुन्छ भन्ने विश्वास हुनुपर्छ ।

 

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्