महाविनाशलाई अवसरमा बदलौं

जेष्ठ २२, २०७२

पवनराज फुयाल, दोहा कतार

९० सालको महाभूकम्पमा परी १७ हजारभन्दा बढी मानिसको मृत्यु र कैयौं ऐतिहासिक धरोहरको विनाश भएको थियो भने वि.सं. १३०० तिरको भूकम्पमा परी करिब एकतिहाइ नागरिकको ज्यान गएको थियो भन्ने तथ्य इतिहासमा पढ्न पाइन्छ । नेपालमा करिब–करिब प्रत्येक ७० देखि ८० वर्षको अन्तरमा महाविनाशकारी भूकम्प गैरहेको छ । यसै पनि नेपाल भूकम्पीय दृष्टिकोणले विश्वकै सबैभन्दा जोखिमपूर्ण मुलुक रहेको तथ्यलाई वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । विशेष गरी कमजोर पुराना घर र संरचनाका साथै ठूलो जनघनत्व भएको काठमाडौंमा ६ रेक्टर स्केलभन्दा माथिको भूकम्प जाँदा हुन सक्ने व्यापक धनजनको क्षतिसम्बन्धी अनुमानित विवरणहरूसमेत सार्वजनिक हुने गरेका थिए । यी सबै तथ्य थाहा भएर पनि भूकम्प जाँदा कस्तो होसियारी र पूर्वतयारी गर्नुपर्ने हो भन्ने पक्षमा हामी चुकेकै थियौं ।

आखिर हामीले जे नहोस् भन्ने चाहेका थियौं त्यो भएरै छाड्यो ! हाम्रै आँखा अघि हामीले कैयौं आफन्त गुमाउनुपरेको छ । बस्ने घर र खाने अन्नसमेत क्षणभरमै सखाप भयो । हामीजस्तै सपना बोकेका हाम्रै आफ्नै परिवारका सदस्यहरू गुमाउनुपर्‍यो । बस्ने घरबास गुमाउनुपर्‍यो । २०७२ साल वैशाख महिनाको १२ गतेको शनिबार संकटको क्षणमा बदलियो । गरिबी, बेरोजगारी र अभावको आगो दन्किएर पिल्सिएका दिनहीनहरू माथि प्रकृतिको वक्रदृष्टि पर्‍यो । विपत्ति यतिमै मात्र सीमित रहेन, फेरि लगत्तै वैशाख २९ गते दोलखाको सुनखानी केन्द्र भएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पले पुन: जनधनको क्षति भयो ।  

अबको अवस्थामा कसरी अघि बढ्ने भन्ने बिषय चुनौतीपूर्ण छ । विनाश भएका ऐतिहासिक धरोहरको पुनर्निर्माण, तत्कालका लागि पीडित जनतालाई राहत महसुस गराउने र पुन:स्थापना एवं पुनर्संरचनाका लागि व्यवस्थापनको दिगो मोडल बनाएर अघि बढ्ने अनि समग्रमा केही समयको अन्तरमा देशलाई यो चुनौतीबाट पार लगाएर समृद्धितर्फ लाने अवसरका रूपमा प्रयोग गर्ने विषय महत्वपूर्ण छ ।

यो महाविपद्पछि प्रारम्भिक रूपमा तत्कालै गर्नुपर्ने आवश्यक उद्धारको काम लगभग सम्पन्न भएको छ । अब हामी सबै यो संकटलाई कसरी व्यवस्थापन गर्ने र यो चुनौतीलाई कसरी पार लगाउने भन्ने विषयमा केन्द्रित हुनुपरेको छ । अब जनतालाई वर्षाको पानी पनि नधान्ने टहरो होइन, घर चाहिएको छ, गरी खाने आधार चाहिएको छ । गरी खाने हात र सहारा गुमाएकाहरूलाई क्षतिपूर्ति एवं सहारा चाहिएको छ ।

अब के गर्ने त ? सबैभन्दा पहिले राजनीति चलखेल बन्द गरौँ । एउटा संविधान बनाउन नसकिएको तीतो सत्यलाई ह्दयङ्गम गर्दै यो कमजोरीलाई सबैले आत्म आलोचना गरौं । जनतासँग क्षमयाचना गर्दा कोही सानो हुँदैन । अनि सबै मिलेर जो जहाँ छौँ त्यहींबाट सहयोग गरौं, कसैलाई दोषारोपण नगरौं । आफ्नो ठाउँ आफैं बनाउने प्रण गरौं । यसरी बनेको प्राविधिक सरकारले गहिरो अध्ययन गरेर कम्तीमा १० वर्षे योजना बनाएर कामको थालनी गरांै, जसका लागि आवश्यक पुँजीको जोहो गरौं, व्यापक रूपमा देश–विदेशमा सहयोगको आह्वान गरौँ, अनि विदेशमा रहेका लाखौं नेपालीलाई देश निर्माणका लागि फिर्ता बोलाऊँ । यसरी अघि बढ्दा सहयोग पनि जुट्छ र साँच्चिकै देशलाई माया गर्ने नेपालीहरू एकजुट हुनेछन्, अनि देश बनाउन नेपालीहरू आफैं सक्षम छन् भन्ने कुरा पनि प्रमाणित हुनेछ । युवाहरूलाई परिचालन गर्दा पनि ज्यादा खर्चिलो र जटिल नबनाऔँ । आफ्नो गाउँ आफैं बनाऊँ भन्ने धारणाका आधारमा उनीहरूलाई परिचालन गरौँ । हरेक काम गर्दा आफ्नै हो भन्ने ढङ्गबाट गरौं । देश–विदेशमा बस्नेहरू र बाहिरबाट पढेर जानेर आएका कामहरू आफ्नै गाउँमा लागू गरौं । गाउँमै विकास र बजेटलाई सदुपयोग कसरी कहाँ र केकति तरिकाले गर्ने भन्नेकुराको विज्ञ टोलीबाट स्थलगत अध्ययन गरेरमात्र परिचालन गरौं । राजनीतिक पक्ष–विपक्षलाई विवेकशील र औपचारिक बनाउँm ।

योजना वा नवनिर्माणको खाका बनाउँदा भूकम्पबाट क्षतविक्षत संरचना एवं पीडितहरूलाई पुन:स्थापना गर्ने काम सुरु गरौं । समग्रमा देशको आधारभूत विकासका पूर्वाधारहरूलाई मूर्तरूप दिऊँ । जसका लागि देशको भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थितिको अध्ययन गरौँ, अनि त्यसैलाई आधार मानेर विकासका पूर्वाधारहरू खडा गरौँ । यसकै आधारमा बस्ती र सहरहरू बसालौँ । बस्ती र शहर बनाउँदा विशेष सावधानी तथा वैज्ञानिक तरिका अपनाऔं । घर, पुल र बाटो आदि बनाउँदा भूकम्पलगायत बाढीपहिरो तथा भौगोलिक अवस्थालाई मध्यनजर गरेर विज्ञ प्राविधिकको सुझावअनुसार मात्र काम गरौं । कृषियोग्य जमिन, व्यापारिक केन्द्र, औद्यौगिक केन्द्र, आवासीय एवं पर्यटकीय क्षेत्रहरू आदिको अवधारणा बनाएर व्यवस्थापन र परिचालन गरौँ । यसबाट रोजगारीका व्यापक अवसरहरू पनि सिर्जना हुनेछन् । सामूहिक बस्ती बसालौं, जसले गर्दा विकास–निर्माण पनि सहज हुनेछ । यी सबै कामको तयारी गर्ने क्रममा पुराना बाँकी रहेका कामहरू सहज रूपमा सम्पन्न हुँदै जानेछन्, अनि वास्तवमै अहिले नेपालमा विद्यमान गतिरोध, राजनीतिक खिचातानी तथा भ्रष्टाचारलगायतका समस्याहरू कम हुँदै जानेछन् । साथमा कैयौं वर्षदेखि अन्योलमा रहेको संविधानसभा र नयाँ नेपालको परिकल्पनाले पनि आकार लिनेछ । यो कामका लागि एउटै मात्र कुराको खाँचो छ, त्यो हो— दृढ संकल्प र आत्मविश्वास ! जुनसुकै काम पनि आफैले र अहिल्यै सुरु नगरे हुँदैन भन्ने विवेकशील र बलियो प्राविधिक सरकारले मात्र महाविनाशलाई नवनिर्माण एवं पुनर्निर्माणको अवसरमा बदल्न सक्छ ।

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्