फरक परिचय, फराकिलो मन

फरक परिचय, फराकिलो मन

जेष्ठ ८, २०७२

महाभूकम्पपछि विश्वभरका मानिसहरूको ध्यान नेपालमा केन्द्रित भएको छ । विदेशी राष्ट्रका प्रमुखहरू, व्यापारीहरू, दातृ निकायहरू, ठूला व्यावसायिक संस्थाहरूका साथै व्यक्तिहरूले स्वत:स्फूर्त रूपमा नेपालीहरूलाई धमाधम राहत पठाइरहेका छन् । कतिपय मानिसहरू प्रभावित गाउँमै पुगेर पीडितहरूको मन बुझाइदिने प्रयास गरिरहेका छन् । फराकिलो मन भएका ती व्यक्तिहरू भूकम्प पीडितहरूका लागि सहयोगी हात भएर गाउँसम्म पुगिरहेका छन् । विभिन्न अभियान सञ्चालन गरेर ख्याति कमाएका स्वदेश तथा विदेशका केही व्यक्तिहरूका बारेमा साप्ताहिकको लेखाजोखा :

हिमानी शाह, पूर्वयुवराज्ञी

हिमानी कोष स्थापना गरेर केही वर्ष अघिदेखि समाज सेवामा क्रियाशील पूर्वयुवराज्ञी हिमानी शाह महाविपत्का बेला ‘सानो सहयोग’ अभियान लिएर प्रभावित क्षेत्रमा पुगिरहेकी छिन् । छोरीहरू पूर्णिका र कीर्तिकालाई साथलिएर उनी सयौं सहयोगीहरूका साथ गाउँसम्म पुगिरहेकी छिन् । कोषका पदाधिकारीहरू तथा पूर्वराजपरिवारका सदस्यहरू पनि हिमानीसँगै हिँडिरहेका छन् । सुरुमा व्यक्तिगत खर्च गरेर राहत वितरण गरेकी हिमानीलाई अहिले नेपालका विभिन्न व्यवसायी तथा भारतबाट पनि सहयोग जुटिरहेको छ । काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा पुगेर हिमानीले भूकम्पपीडितहरूलाई आफ्नै हातले खाद्यान्न तथा घर निर्माणका सामग्रीहरू वितरण गरिरहेकी थिइन् ।

योग गुरु रामदेव, पतञ्जली योग पीठ

१२ गतेको महाभूकम्पका बेला टुँडिखेलमा योग शिविर सञ्चालन गरिरहेका रामदेव र आचार्य बालकृष्ण भूकम्पलगत्तै पीडितहरूका लागि राहत वितरण गर्न सक्रिय भएका थिए । रामदेवले नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पहिलोपटक नेपालमा महाविपत् आइपरेको जानकारी गराएर राहतका सामग्री पठाइदिन आग्रह गरेका थिए । त्यसपछि उनले पतञ्जलीकै अगुवाइमा ३० जिल्लामा राहत पुर्‍याउन ३३ वटा कार्यालय सञ्चालन गरेर काम सुरु गरेका थिए । सयौं थान पाल, कम्बल, लत्ताकपडा, टर्च लाइट रामदेवकै नेतृत्वमा प्रभावित क्षेत्रमा वितरण गरिएको थियो । त्यसपछि पनि पतञ्जली योग पीठ भूकम्पपीडितहरूका लागि राहत अभियानमा सक्रिय छ ।

मास्टर गड एन्जल, हेवेन्लीपाथ अभियान

उदयपुरको मैनामैनीमा जन्मिएका भक्तकुमार राई स्वर्गिक मार्ग अर्थात् हेवेन्लीपाथ अध्यात्मिक अभियानका सञ्चालन गरेर ख्याति कमाएका युवा हुन् । हरेक व्यक्तिले प्रेमको भावना विकास गर्दै ‘प्रेमवाद’ दर्शनलाई स्थापित गर्नुपर्छ भन्ने मान्यताका पक्षपाती ‘मास्टर गड एन्जल’ उपनामले चर्चित राई यतिबेला महाविपत्तिमा उदाहरणीय काम गरिरहेका छन् । सयौं अभियन्ताहरूलाई साथ लिएर राहत सामग्रीसहित उनी दैनिकजसो प्रभावित क्षेत्रमा पुगिरहेका छन् । उनले हालसम्म आधा दर्जन जिल्लाका प्रभावितहरूलाई भेटेर खाद्य सामग्री मात्र नभै आर्थिक सहयोग पनि गरिरहेको प्रेमवादका संगीत संयोजक थिरज राईले जानकारी दिए ।

रवि सिंह, सामाजिक अभियन्ता

नेपालमा शिख समुदायको उपस्थिति न्यून छ तर महाविपत्का बेला नेपालीहरूको दु:खमा उनीहरूले दिएको साथ भने प्रशंसनीय बन्न पुगेको छ । नेपालमा व्यवसाय गरेर बसेका रवि सिंहको अग्रसरतामा नेपालका हजारौं भूकम्पपीडितहरूलाई नि:शुल्क खाना खुवाएर शिख समुदायको सहयोगी मन यतिबेला चर्चामा आएको छ । दिल्लीस्थित शिखहरूको सर्वोच्च संस्था शिरोमणि गुरुद्धारा प्रबन्धक कमिटीको अगुवाइमा यतिबेला नेपालमा रहेका शिख समुदायका सदस्यहरू रवि सिंहको नेतृत्वमा भूकम्प प्रभावित साँखु, बुङमती, खोकना आदि क्षेत्रमा नि:शुल्क खाना वितरणमा सक्रिय भएको थियो । त्यस्तै सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङसम्म पुगेर उक्त समुदायले नि:शुल्क खाना ख्वाउनुका साथै टेन्ट, भाँडाकुँडा आदि सामग्रीहरू वितरण गरेको थियो ।

आदित्य दाहाल, गुगल ब्वाई

‘नेपाली गुगल ब्वाई’को उपमा पाएका साढे चार वर्षीय बालक आदित्य दाहालको सानो सहयोगले पनि यतिबेला ठूलो चर्चा पाएको छ । ‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो, धर्म हो, यसलाई आफ्नो कर्तव्य सम्झी पीडितको उद्धारमा लागौं, जुटौं र सहयोग गरौं’ भन्ने अभियान सञ्चालन गरिरहेको आदित्य संरक्षण प्रतिष्ठानमार्फत् २ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन गरेर आदित्य आफैंले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । उनको यस्तो सहयोगलाई धेरैले प्रशंसा गरेका छन् ।

प्रकाशित :जेष्ठ ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्