तत्काललाई कस्तो घर बनाउने ?

तत्काललाई कस्तो घर बनाउने ?

जेष्ठ ८, २०७२

दुई पटकको विनाशकारी भूकम्पले नेपालका करिब ३२ जिल्लामा व्यापक जनधनको क्षति भएको छ भने करिब ५ लाख घरमा क्षति पुगेको छ । विशेषत: १२ वटा जिल्लाका विभिन्न बस्तीमा अझै पनि पर्याप्त त्रिपाल पुग्न सकेको छैन । घरमा क्षति पुग्नु, निरन्तर पराकम्पन आइरहनु तथा वर्षा आदिका कारणले जनजीवन थप कष्टकर भएको छ ।

यस्तो बेलामा तत्काल स्थायी पक्की घर बनाउन सम्भव पनि हुँदैन । यसका लागि लामो समय लाग्नुको साथै धेरै खर्च गर्नुपर्ने हुन्छ । पाल पनि धेरै समय टिक्दैन । त्यसैले सबैको ध्यान अस्थायी टहरो/कटेरो/घर निर्माणतर्फ केन्द्रित छ ।

अहिले गाउँतिर विशेषत: बाँस, काठ, त्रिपाल आदिको प्रयोग गरी टहराहरू बनाउने क्रम जारी छ । यस्ता अस्थायी/स्थायी टहरा तथा घर बनाउने विभिन्न विकल्पहरू छन् । त्यसमध्ये सरल र छरितो एउटा विकल्प हो ‘टनेल घर’ । एकै दिनमा बनाउने सकिने यो घर अहिले पुल्चोक इन्जिनियरिङका विद्यार्थीहरूले विभिन्न ठाउँमा बनाइरहेका छन् । छिटो, छरितो र सस्तो मूल्यमा बनाउन सकिने भएकाले पनि यो एउटा उत्तम विकल्प हुनसक्छ । यस्तो घर बनाउन इँटा, काठ, ढुंगा, माटो र जस्तापाता प्रयोग गरिन्छ ।

यस्तो घर इजरायल, पाकिस्तान आदि मुलुकमा प्रचलित छ । विद्यार्थीहरूका अनुसार गर्मीयाममा जस्ताबाट आउने तातो छल्न जस्तामाथि खर घाँस अथवा छ्वालीको प्रयोग गर्न सकिन्छ । परिवारको सदस्य संख्याअनुसार घरको आकार बढाउन सकिन्छ । सोहीअनुसार लागतमा केही तलमाथि हुन् सक्ने भए पनि न्यूनतम १५ हजारको हाराहारीमा यस्तो घर तयार गर्न सकिने विद्यार्थीहरू बताउँछन् ।

यसरी बनाइएको घरको एकातिर एउटा ढोका हुन्छ भने अर्कातिर दुईवटा झ्याल हुन्छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघले पनि यस्ता घर विभिन्न जिल्लामा बनाउने बताएको छ । तत्काललाई १० वटा र पछि १ सयवटा यस्ता घर निर्माण गरिने क्यानका अध्यक्ष विनोद ढकालले बताए । त्यस्तै अर्काे विकल्प बाँसको घर हो । गाउँघरतिर बाँस पर्याप्त उपलब्ध हुने भएकाले सस्तो मूल्यमै चिटिक्क परेका घर बनाउन सकिन्छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी यस्ता घरहरू निर्माण गर्न सकिन्छ । ताइवानी प्रविधिमा निर्माण हुने यस्ता घर तुलनात्मक रूपमा कम खर्चिला हुन्छन् ।

यस्तो घरमा ७ दशमलव ५ रेक्टरको भूकम्प प्रतिरोध क्षमता हुन्छ । ३५ वर्षभन्दा बढी आयु भएका यस्ता घर न्यूनतम डेढलाख रुपैयाँमै निर्माण गर्न सकिन्छ । घरको आकार र सुविधाअनुसार लागत तल–माथि हुन सक्छ । डिजाइन आकर्षक हुने भएकाले चिटिक्क देखिनुका साथै प्राकृतिक भएकाले यस्ता घर जाडो र गर्मी दुवै मौसमका लागि उत्तिकै उपयुक्त मानिन्छन् । यस्तो घर बनाउन कम्तीमा २० देखि ३० दिन लाग्न सक्छ । छानामा टिन प्रयोग गरिएका यस्ता घरका भित्ता सिमेन्टले प्लास्टर गरिन्छ । हिमालयन ब्याम्वोले अहिले यस्ता घर निर्माणको काम गरिरहेको छ ।

अर्काे विकल्प हो प्रिफेबको घर । तुलना रूपमा यसको लागत अलि बढी छ । २ शयन कक्ष, एउटा भान्सासहितको यस्तो घर बनाउन न्यूनतम ८ देखि १० लाख रुपैयाँ लाग्छ । यस्तो घर बनाउन कम्तीमा पनि एक महिना लाग्न सक्छ । अहिले नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सनलगायतका केही कम्पनीले यस्तो घर बनाउँदै आएका छन् ।

रामजी बलामी

भूकम्प र सामाजिक सञ्जाल

वैशाख १२, १३ तथा २९ गते आएका विनाशकारी भूकम्पपश्चात् ती भूकम्पका बारेमा जान्न चाहनेहरूले सामाजिक सञ्जालको पनि पर्याप्त उपयोग गरे । लगभग प्रत्येक दिन आइरहने स–साना झट्का तथा फेरि ठूलै भूकम्प जान सक्ने सम्भावनासमेत सबैले व्यक्त गर्ने भएकाले पनि आफ्ना विभिन्न विचार यस्ता सञ्जालहरूमा राख्ने क्रम बढ्यो । कतिपय अनलाइन मिडियाले गलत र भ्रमपूर्ण प्रचारसमेत गरेको पाइयो ।

सामाजिक सञ्जालको प्रयोग गर्ने नेपालीहरू पनि प्रशस्तै छन् । यो समयमा विशेष गरी फेसबुकको प्रयोग गर्नेहरूले भूकम्पको चर्चा प्रशस्तै गरे । विदेशमा बसेका नेपालीहरूले पनि आफ्नो परिवार र समग्र देशको अवस्था जान्नका लागि यसको पर्याप्त उपयोग गरे । यो समयमा भूकम्प र त्यसपश्चात् गरिएका उद्धारका बारेमा जानकारी दिनका लागि केही सरकारी संयन्त्रले समेत आफ्नो आधिकारिक ट्विटर एकाउन्ट खोले । नेपाल प्रहरी तथा अन्य सरकारी कार्यालयले त सामाजिक सञ्जालमार्फत अभियान नै चलाए ।

प्रत्येक पटक भूकम्प आएपछि कति परिमाणको आयो भनी चर्चा हुनु स्वाभाविक हो । यसका लागि विभिन्न एप्सको प्रयोग गरियो । अर्थक्वेक एलर्ट तथा अन्य एप्सको प्रयोग गरी तुरुन्तै जानकारी लिन सम्भव भयो । यद्यपि भूकम्पका बारेमा आधिकारिक जानकारी दिने नेपालकै एप्स भने थिएन । यसका लागि खानी तथा भूगर्भ विभागले आफ्नो आधिकारिक एप्सका रूपमा नेपाल अर्थक्वेक अपडेटको विकास गर्‍यो ।

भूकम्पका बारेमा जानकारी लिनका लागि नेपालको आधिकारिक वेबसाइटका रूपमा सिस्मोग्राफ डट जिओभी डट एनपीको प्रयोग गरियो । त्यसैगरी अमेरिकी जियोलोजिकल सर्भेको वेबसाइट पनि आधिकारिक रूपमा प्रयोग गरियो । यी दुईले मापन गरेका भूकम्पका नाप भने फरक फरक देखिए । वैशाख १२ गतेको भूकम्पलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ७ दशमलव ६ र वैशाख २९ को भूकम्पलाई ६ दशमलव ८ रेक्टरस्केल भन्यो भने यूएसजीएसले यसलाई क्रमश: ७ दशमलव ८ र ७ दशमलव ४ रेक्टर स्केल भन्यो । यद्यपि नेपालको भौगोलिक स्थिति नजिक भएकाले नेपालले मापन गरेको स्केल नै सही भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी दाबी गर्छन् । भूकम्पको केन्द्रबिन्दु नजिक हुँदा तरंगहरू ५५ किलोमिटरसम्मको क्रस्टबाट हिँड्छन् । त्यही केन्द्रबिन्दुबाट मापन स्टेसनसम्मको तरंगका आधारमा त्यसलाई नापिन्छ । नेपालमा भन्दा अमेरिकाबाट मापन गरेको नापमा फरक पर्नुको कारण यही हो । त्यसैले आफूहरूको मापन सही भएको अधिकारी बताउँछन् ।

भूकम्पपश्चात् उद्धार राहतका क्रममा नेपाली युवाहरूले उल्लेख्य रूपमा कार्य गरे । आफूले गरेका सहयोग कार्यलाई सामाजिक सञ्जालमा पोस्ट गरेर प्रचारमुखी कार्य गरेको आरोप पनि धेरैलाई लागेको छ । कामै नगर्नुभन्दा काम गरेर प्रचार गर्नुलाई पनि राम्रै मान्न सकिने धेरैको

धारणा रह्यो ।

ट्विटरमा भूकम्प जानकारी

भूकम्पका बारेमा जानकारी लिनका लागि अहिले धेरै साइट उपलब्ध छन्, तर पनि भरपर्दो र आधिकारिक साइट कसलाई मान्ने भन्ने धेरैले समस्या अनुभव गरेका छन् । यो अवस्थामा अहिले नेपालका विभिन्न सरकारी निकायले आफ्ना आधिकारिक ट्विटर एकाउन्ट खोलेका छन् । यी एकाउन्टलाई फलो गर्दा भूकम्पका बारेमा आधिकारिक जानकारी प्राप्त गर्न सकिन्छ । यस्ता केही महत्त्वपूर्ण ट्विटर एकाउन्टहरू :

Prime Minister Relief Fund

@ Nepal_PM_Fund

National Emergency Operation

Centre @NEoCOfficial

Nepal Police @NepalPoliceHQ

Armed Police Force @nepalapf

Nepal Army @nepalarmy94

Earthquake Relief Portal

@ NITC_EQ_PORTAL

FNCCI Operation Relief

@ OperationRelief

Kathmandu Living Labs

@ KTMLivingLabs

Nepal Rises @nepalrises

Rapid Response Team

@ RRTnepal

Bibeksheel Nepali @bibeksheelnp

Ministry of Foreign Affairs

@ MofaNepal

भूकम्पसम्बन्धी नेपाली एप्स

खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले ‘नेपाल अर्थक्वेक अपडेट’ नामक एप्सको निर्माण गरेको छ । यसका बारेमा जानकारी राख्न चाहनेहरूका लागि केन्द्रले उक्त एप्सको विकास गरेको हो । भूकम्पसम्बन्धी अन्य एप्सहरू प्रशस्तै भए पनि नेपालका लागि यो आधिकारिक एप्स हो । यसले प्रत्येक दिन, महिना र वर्षभरी आएका सबै भूकम्पका वारेमा पछिल्लो जानकारी उपलब्ध गराउँछ । यसले भूकम्प गएको समय र यसको केन्द्र तथा म्याग्निच्युडसम्बन्धी जानकारी दिन्छ । यो बाहेक भूकम्पका बारेमा फोनबाट जानकारी राख्न चाहनेहरूका लागि समेत केन्द्रले नै टोल फ्री नम्बरको पनि व्यवस्था गरेको छ । टोल फ्री नम्बर १६१८०१४४१०१४१ मा कल गर्दा भूकम्पका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।

बिपत्तिको सूचना मोबाइलमा

नेपाल टेलिकम र नेपाल रेडक्रस सोसाइटीबीच प्राकृतिक विपत् पूर्वतयारी तथा न्यूनीकरणका लागि आवश्यक प्रणाली जडान तथा सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौताअन्तर्गत नेपाल टेलिकमले इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेडक्रिसेन्ट सोसाइटिज (आइएफआरसी) को सहयोगमा ट्रायोलोजी इमर्जेन्सी रिलिफ एप्लिकेसन (टिइआरए) जडान गरेको छ । उक्त सिस्टमले प्राकृतिक विपत्तिको सम्भावना भएका वा विपत्तिमा परेका नेपाल टेलिकमका उपभोक्ताको मोबाइल फोनमा आवश्यक जानकारीसहितको एसएमएस निरन्तर रूपमा पठाउनेछ । दैवीप्रकोपसँग सम्बन्धित सूचना गृह मन्त्रालय तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा तयार गरी विपत्ति हुनुअगावै, विपत्तिको समयमा र विपत्तिपश्चात् पठाइनेछ । प्रारम्भमा यो प्रणाली कोसी नदी किनाराका बासिन्दा तथा भूकम्पपीडित गरी ११ लाख जनसंख्यालाई जानकारी उपलब्ध गराउनका लागि छिट्टै प्रयोगमा ल्याउन लागिएको छ ।

प्रकाशित :जेष्ठ ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्