नयाँ वर्षका लागि नयाँ गन्तव्य

नयाँ वर्षका लागि नयाँ गन्तव्य

- युवराज गौतम

चैत्र २७, २०७१-

नयाँ वर्षलाई रमाइलो र स्मरणीय बनाउन छोटो ट्रेकिङ वा हाइकिङलाई आफ्नो गन्तव्य बनाउन सकिन्छ । काठमाडौं उपत्यका आसपासका डाँडा वा त्यहाँ भएका रिसोर्टहरू नयाँ वर्षको रमाइलोका लागि उपयुक्त छन् । सानो बजेटमा धेरै रमाइलो गर्न सकिने स्थानहरू आफैंले छनौट गर्न सक्नुपर्छ ।

खोपासी

'पनौती नगर खोपासी बजार, माया लाउँला हिंड्दै रोसी बगर' गीतले खोपासीको परिचय झल्काउँछ । काभ्रेपलाल्चोकको पनौती नगरपालिकामा पर्ने खोपासी एउटा सानो बजार हो । खोपासी आसपासका हरिया डाँडा एवं फाँटहरू घुम्न लायक छन् । बनेपाबाट १० किलोमिटर दक्षिण-पूर्वमा पहाडको काखमा अवस्थित खोपासी २०२३ सालमै विद्युत् उत्पादनका कारण चर्चामा आएको थियो । नेवार बस्ती भएकाले खोपासीमा हाँसको छोयला तथा स्थानीय रक्सीको आनन्द लिन सकिन्छ । सुन्तलाको मौसममा यहाँको सुन्तला सबैको रोजाइमा पर्छ । काठमाडौंबाट करिब डेढ घण्टाको बस यात्राबाट खोपासी पुग्न सकिन्छ ।

टौदह

काठमाडौंबाट टौदह पुगेर रमाउन धेरै समय छुट्टयाउनु पर्दैन । काठमाडौं नजिकैको यो स्थान अत्यन्तै रमणीय छ । प्रेमजोडी एवं कलेजका विद्यार्थीहरूको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ । रत्नपार्कबाट ७ किलोमिटर यात्रा गरेपछि टौदह पुग्न सकिन्छ । टौदह काठमाडौं उपत्यकाभित्रको सबैभन्दा ठूलो ताल हो ।

कुलेखानी

विद्युत् उत्पादनका लागि निर्माण गरिएको मकवानपुरको इन्द्र सरोवर घुम्नका लागि उपयुक्त गन्तव्य हो । कुलेखानी माछाका परिकार मन पराउनेहरूको विशेष रोजाइमा पर्छ । बास बस्न सामान्य होटलहरू उपलब्ध कुलेखानीमा माछा खानेहरूको सधैं भीडभाड हुन्छ । कुलेखानीबाट मार्खु, दामन, चित्लाङ आदि ठाउँसम्म हाइकिङ गर्न सकिन्छ भने इन्द्र सरोवरमा डुंगा सयर गरेर रमाउन सकिन्छ । काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरी हुँदै ५५ किलोमिटर लामो यात्रापछि कुलेखानी पुग्न सकिन्छ ।

लप्सीफेदी

काठमाडौंबाट डेढ घण्टामै पुग्न सकिने लप्सीफेदी छोटो समयको घुमफिरका लागि उत्तम गन्तव्य हो । रत्नपार्कबाट २० किलोमिटर पूर्वोत्तरमा अवस्थित लप्सीफेदीमा गाउँले परिवेशको मजा लिन सकिन्छ । त्यहाँ अहिले सुविधासम्पन्न रिसोर्टहरू पनि खुलेका छन् । रत्नपार्कबाट जोरपाटी हुँदै लप्सीफेदी पुग्न सकिन्छ । स्थानीय कुखुराको परिकार लप्सीफेदीको विशेषता हो ।

ह्वाइट गुम्बा

डुक अमिताभ माउन्टेन नामकरण गरिएको ह्वाइट अर्थात सेतो गुम्बा धेरै युवाहरूले रुचाएको गन्तव्य हो । यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भू वा सीता पाइलाबाट डेढ घण्टा हिंडेर ह्वाइट गुम्बा पुग्न सकिन्छ ।

चिसापानी

चिसापानी हाइकिङका लागि अब्बल गन्तव्य हो । नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा पैदल यात्रा गर्नुपर्छ । घना जंगल र तामाङ बस्तीहरू अवलोकन गर्दै सात घण्टा हिंडेको पत्तो पाइँदैन । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी पुग्न सकिन्छ । यहाँ बजेटअनुसार सुविधायुक्त लजहरू उपलब्ध छन् ।

भोटेचौर

चियाबगानका कारण काठमाडौं नजिकैको भोटेचौर अहिले तन्नेरीहरूमाझ 'मिनीइलाम' का रूपमा चर्चित छ । प्राकृतिक सौन्दर्यमा रमाउन मात्र होइन, तस्बिर खिचेर आनन्द लिन पनि मानिसहरू भोटेचौरमा ओइरिन्छन् । चाबहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरू छन् । साँखुबाट दुई घण्टाको बसयात्रापछि भोटेचौर पुग्न सकिन्छ । साँखुबाट हाइकिङ गर्दै गए भोटेचौरको यात्रा गर्दा अझ रमाइलो हुुन्छ ।

दल्चोकी

दल्चोकी पछिल्लो समय पर्यटकहरूको रोजाइमा परेको स्थान हो । ललितपुरमा पर्ने यो स्थान काठमाडौंबाट सहजै पुग्न सकिन्छ । लगनखेलबाट २७ किलोमिटरको यात्रापछि दल्चोकी पुग्न सकिन्छ । दल्चोकीमा बासका लागि होमस्टेको व्यवस्था छ ।

ककनी

स्टबेरी र ट्राउट माछाको स्वाद लिन नुवाकोटको ककनी उपयुक्त गन्तव्य हो । काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । ककनीमा बासका लागि सुविधायुक्त होटलहरू उपलब्ध छन् ।

प्रकाशित :चैत्र २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्