सफलताको खोजीमा बितेको वर्ष

सफलताको खोजीमा बितेको वर्ष

चैत्र २७, २०७१

२०७१ साल वैशाख १२ गते प्रदर्शनमा आएको चलचित्र 'कबड्डी'लाई दर्शकहरूले निकै रुचाए । उक्त चलचित्रमा निर्देशक निश्चल बस्नेतसमेतको लगानी थियो । 'लुट'का निर्देशक बस्नेतको लगानी तथा अभिनयको उक्त चलचित्र सफल भएपछि उनको साख अझ बढ्यो । त्यही दिन प्रदर्शनमा आएको अर्को चलचित्र 'नोभेम्बर रेन'ले पनि सफलताको स्वाद चाख्यो । आर्यन सिग्देल र नम्रता श्रेष्ठको उक्त चलचित्रमासहरभित्रको प्रेमकथा बुनिएको थियो, जसलाई युवापुस्ताले रुचायो । एकैदिन दुई चलचित्र प्रदर्शनमा आउँदा बेफाइदा हुन्छ भन्नेहरूका लागि यो एउटा राम्रो जवाफ थियो । एकैदिन रिलिज भएर पनि 'कबड्डी' र 'नोभेम्बर रेन' वर्षकै पहिलो दुई सुपरहिट चलचित्र साबित भए । यद्यपि के पनि भनिन्छ भने यो वर्षयी दुई चलचित्रले मात्र आफ्नो लगानी सुरक्षित गर्न सके ।

वर्षको आरम्भमै नेपाली चलचित्र राम्रो भए चल्छ भन्ने आशा जगाएका 'कबड्डी' र 'नोभेम्बर रेन' पछिवैशाखमै प्रदर्शनमा आएका चलचित्रहरू माया गर ल, वल्र्ड कप इन नेपाल, दमदार, रेड मनसुन तथा अकालले भने निर्माताहरूलाई निराश बनाए । निराशाको त्यो क्रम लगभग वर्षभरिनै कायम रह्यो । एउटा चलचित्रले व्यवसायिक सफलता पाएपछि त्यसपछिका साता आउने अरू चलचित्र पनि चल्छन् भन्ने अनुमान पनि यो वर्ष ध्वस्त भयो । 'कबड्डी' र 'नोभेम्बर रेन'ले वर्षको सुरुवातमै सफलताको खाता खोले पनि त्यसपछि साउन महिनासम्म आएका दुई दर्जन चलचित्र नराम्रोसँग पछारिए । त्यसमा प्रचारप्रसारमा कञ्जुस्याइँ नगरेकादेखि बिनाप्रचार सहरका भित्ताहरूमा पोस्टर टाँसेको भरमा चलाइएका चलचित्रहरू पनि थिए । प्रचार-प्रसारबिना चलाइएका चलचित्र नचल्नुलाई प्रचारप्रसारको कमीका कारण चलेन भन्नु जायज होला, तर तीव्र प्रचारप्रसारका बाबजुद नचलेका चलचित्रलाई के भन्ने ?

डनको कथा फ्लप

राजेश हमाल, सुनिल थापा, दयाहाङ राई, सौगात मल्ल, निशा अधिकारी, हषिर्का श्रेष्ठजस्ता चर्चित कलाकारका साथै रक गायनबाट कहलिएका रविन तामाङ तथा मोडलिङ क्षेत्रका चर्चित कोरियोग्राफर प्रशान्त ताम्राकारलाई लिएर स्वयं आफू नायक भएको अभिनेता तथा निर्देशक अर्पण थापाको चलचित्र 'मुखौटा'ले प्रचारप्रसारमा कुनै कमी रहन दिएको थिएन । जेठको अन्तिम शुक्रबार प्रदर्शनमा आएको अत्यधिक बजेटको उक्त चलचित्रलाई दर्शकले सिधै अस्वीकार गरे । भूमिगत अपराधको जालो, लागूऔषधको अवैध व्यापार, हत्या, आतंक तथा डनहरूको दैनिकीमा आधारित उक्त चलचित्रले पानी पनि मागेन । 'सायद', 'बाटोमुनिको फूल' जस्ता दर्शकले रुचाएका चलचित्रका निर्देशक सुरज सुब्बा नाल्बोको 'मेरो भ्यालेन्टाइन', 'माई प्रमिस' एवं 'वन वे'ले पनि दर्शकको साथ पाएनन् । यीमध्ये 'वन वे'ले प्रचार-प्रसारमा कुनै कञ्जुस्याइँ गरेन । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको निर्माण कम्पनीबाट तयार पारिएको उक्त चलचित्रमा दीपक मनाङे उर्फ राजीव गुरुङको समेत लगानी थियो । चलचित्र वन-वेले पनि डनकै कथा भनेको थियो । यसमा पनि भूमिगत अपराधको जालो, लागूऔषधको अवैध व्यापार, हत्या, आतंक तथा डनहरूको दैनिकी आदि समेटिएको थियो । यो चलचित्रमा देखाइएको डनको कथा पनि दर्शकले अस्वीकार गरे । नम्रता श्रेष्ठ, अनुप बरालसहित र्‍याप गायनमा लाहुरेका रूपमा चर्चित आशिष रानाको मुख्य भूमिका रहेको अपराध, डनगिरी, तस्करी, हत्याजस्ता विषयमा केन्दि्रत चलचित्र 'ताण्डव'ले पनि दर्शक पाएन । यसैगरी सौगात मल्ल, विजय लामा, प्रियंका कार्की, अनुप बराल आदिको ग्याङस्टर चलचित्र 'षडङ्ग' पनि चल्न सकेन ।

'सेम्पेथी’ले मात्र

यो वर्ष नेपाली चलचित्रले दुई होनहार चलचित्रकर्मीलाई अल्पायुमै गुमायो । नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक आलोक नेम्वाङलाई गुमाउनुपर्दा चलचित्रकर्मीहरू मात्र होइन, चलचित्रप्रेमीहरू पनि निकै शोकमा परेका देखिए । विवाह गरेको महिना दिन नपुग्दै गम्भीर रोगका कारण संसार छाडेका श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र 'कोहिनूर' प्रदर्शन हुँदा उनी जीवनको अन्तिम सास गन्दै थिए । साउन २३ गते शुक्रबार चलचित्र रिलिज भयो । दिल्लीमा उपचार गराइरहेका नायक श्रेष्ठको साउन २४ गते शनिवार राति निधन भयो । उनको निधनको खबर आएपछि आइतबारदेखि चलचित्र 'कोहिनूर' हेर्नेहरूको भीड देशैभरका चलचित्र भवनहरूमा उर्लियो । एकातिर लाखौं मलामीका साथ उनको अन्त्यष्टि गरियो, अर्कातिर उनको अन्तिम चलचित्रले नेपाली चलचित्रको इतिहासमै कीर्तिमान कायम गर्‍यो । अन्तत: 'कोहिनूर' अहिलेसम्मकै सबैभन्दा बढी आय आर्जन गर्ने नेपाली चलचित्र साबित भयो । भन्नेहरू भन्छन्— नायक श्रेष्ठको असामयिक निधनको 'सेम्पेथी' का कारण मात्र'कोहिनूर'ले अभूतपूर्व सफलता पाएको हो ।

दर्शकको चासो घट्दै

गाँस, बास, कपास अर्थात खाना, बसोबास र आरामको उचित व्यवस्थापछि मात्र मानिसको चाहना मनोरञ्जनतर्फ मोडिन्छ । मनोरञ्जन गर्न पनि मानिसहरूसँग धेरै विकल्प छन् । तीमध्ये चलचित्र एउटा गतिलो विकल्प हो । त्यसमा पनि नेपाली चलचित्रभन्दा अगाडि नेपालका चलचित्रप्रेमीहरू हिन्दी र अंग्रेजी चलचित्र रोज्छन् । विशेषगरी यहाँ हिन्दी चलचित्रको बजार ठूलो छ । करोडौंको लगानीमा बन्ने हिन्दी चलचित्र सीधै नेपालमा सार्वजनिक हुने र त्योसँगै हरेक शुक्रबारजसो नेपाली चलचित्रको व्यवसायिक युद्ध हुने गरेको छ । आफ्नो देशमा आफ्नै भाषाको चलचित्र सार्वजनिक गर्न पनि ठूलो बजेटका हिन्दी चलचित्र सार्वजनिक हुने मितिसँग डराउनुपर्ने अवस्था छ । बिग स्टारका हिन्दी चलचित्रसँग नेपाली चलचित्र प्रदर्शन नगर्ने अघोषित नियमजस्तै बनिसकेको अवस्थामा नेपाली चलचित्र दर्शकको दोस्रो विकल्पमा पर्नु स्वाभाविक हो । यस्तो अवस्थामा पनि चर्चा र हल्ला गरिएका केही चलचित्रले समेत यो वर्ष दर्शकलाई निराश बनाए । सबैलाई एउटै तराजुमा राखेर जोख्ने नेपाली स्वभावका साथै केही चलचित्रले निराश बनाएपछि नेपाली चलचित्रप्रति दर्शकको दृष्टिकोण सकारात्मक हुन सकेको छैन । यो वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रले अधिकांश दर्शकको मोह भंग गरिदिएपछि राम्रा मानिएका चलचित्रको व्यवसायमा समेत प्रभाव पर्‍यो । महिला उत्पिडनमा बनेको 'माला', युवाप्रेम र समाजप्रतिको दायित्वमा आधारित 'उत्सव', विश्वकै कान्छा निर्देशकको निर्देशनमा बनेको पारिवारिक चलचित्र 'लभ यु बाबा' भ्रष्टाचारविरुद्ध 'सम्बोधन' जस्ता चलचित्र त्यही चपेटामा परेको मान्न सकिन्छ । भनिन्छ- मागभन्दा बढी चलचित्र निर्माण, प्रस्तुतिमा विदेशी चलचित्रको प्रभाव, चाहिनेभन्दा बढी प्रयोग, कथाभन्ने शैलीमा कमजोरी आदि कारणले दर्शकमा नेपालीको चलचित्र हेर्ने अभिरुचि कम हुँदै गएको छ ।

बक्स अफिस नहुँदा

चलचित्र विकास बोर्डले यो वर्ष पनि चलचित्रको व्यवसायिक तथ्यांक देखाउने प्रणाली बक्स अफिसलाईप्रयोगमा ल्याउन सकेन । गएको वर्ष नै जडान गर्ने बताइएपनि यो वर्ष पनि विभिन्न विवादका कारण त्यो सम्भव भएन, जसले गर्दा कतिवटा चलचित्र प्रदर्शन भए ? कतिवटा सफल भए ? कति फ्लप भए ? जस्ता सामान्य तथ्यांक खोज्न पनि निकै अप्ठेरो छ । विशेषगरी वाषिर्क रूपमा सरकारी निकाय चलचित्र विकास बोर्डले प्रदर्शनमा आएका चलचित्रहरूको तथ्यांक निकाल्नुपर्ने हो, तर वर्षको अन्त्यसम्ममा विभिन्न मिडियालाई वाषिर्क समीक्षा गर्न चाहिने रिलिज डाटासम्म पाउन गाह्रो छ भने चलचित्रले कति कलेक्सन गरे भनेर बुझ्न सकिने कुरै भएन । विकास बोर्ड मात्र होइन, चलचित्र प्रदर्शकहरूको संस्था नेपाल चलचित्र संघ एवं निर्माताहरूको संघ चलचित्र निर्माता संघले समेत आवश्यक तथ्यांक उपलब्ध गराउन नसक्दा चलचित्र उद्योगको यथार्थपरक समीक्षा गर्न गार्‍हो भएको हो ।

प्रकाशित :चैत्र २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्