जनताको पिटाइ खाने राजा

जनताको पिटाइ खाने राजा

चैत्र २१, २०७१

नेपालको इतिहासमा थरीथरीका चर्तिकला गर्ने थरीथरीका राजाको कथा पढ्न पाइन्छ । तीमध्ये एक हुन्- काठमाडौंका राजा सदाशिव मल्ल । राजा सदाशिव मल्ल नेपालमा पहिलोपटक चाँदीको मुद्रा प्रचलनमा ल्याउने राजा महिन्द्र मल्लका उत्तराधिकारी थिए । त्यतिमात्र होइन, पाटनस्थित वास्तुकलाको अनुपम नमुना महाबौद्ध मन्दिर पनि यिनै राजाको शासनकालमा निर्माण गरिएको थियो । घोडचढीका सौखिन राजा सदाशिव मल्लको तबेला -घोडा राख्ने ठाउँ) मा दर्जनौं घोडा रहेको अनुमान गरिन्छ । ती घोडालाई कतिसम्म राजकीय सुविधा दिइएको थियो भने ती घोडाले आमजनताको खेतबारीमा पसेर फसल बर्बाद गरिदिँदा पनि कुनै कानुन लाग्दैनथ्यो । किसानहरूले मुआब्जासमेत पाउँदैनथे । त्यतिमात्र होइन, यी राजा व्यभिचारी पनि थिए । राम्रा तरुनी देख्नै नहुने, दरबारमा झिकाइहाल्नुपर्ने स्वभावका कारण त्यतिबेला काठमाडौंका जनता राजा सदाशिव मल्लसँग आजित भैसकेका थिए । उनीहरू मौका कुरेर बसेका थिए भने राजा सदाशिव मल्ल कहिले मर्ला र शान्तिको सास फेर्न पाइएला भन्ने कामना पनि गर्थे ।

एक दिन अचानक राजा सदाशिव मल्ल आफ्ना आठपहरियाहरूलाई छलेर घोडा कुदाउँदै काठमाडौं र भक्तपुर राज्यको सिमाना मनहरा फाँट पुगे । त्यहाँ काम गरिरहेका किसानहरूले उनलाई चिनेपछि तत्कालै घेराउ गरेर कुट्न थाले । आफ्नै जनताले त्यसरी कुट्न थालेपछि राजा सदाशिव मल्ल काठमाडौंतिर भाग्नुपर्नेमा भक्तपुरतिर भाग्न पुगे र आफ्नो गल्ती थाहा पाएपछि उनले भक्तपुरका राजा त्रैलोक्य मल्लसँग शरण मागेर आफ्नो ज्यान जोगाए ।

यता काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए । गद्दीच्युत राजा सदाशिव मल्लले भक्तपुरमा शरणमा रहँदा पनि आफ्नो व्यभिचार कायमै राखेपछि राजा त्रैलोक्य मल्लले आजित भएर उनलाई आफ्नै दरबार परिसरमा थुनिदिए । थुनामै रहँदा राजा सदाशिव मल्लको मृत्यु भएको इतिहासकारहरूको अनुमान छ । राजा सदाशिव मल्ल थुनिएको भक्तपुर दरबारको त्यो ठाउँलाई अहिले पनि सदाशिव चोकका नामले चिनिन्छ ।

प्रकाशित :चैत्र २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्