वर्ष कलाकारको सम्मान

वर्ष कलाकारको सम्मान

चैत्र ६, २०७१

चलचित्र पत्रिका 'फिल्मीखबर' को छैटौं वाषिर्कोत्सवको अवसरमा विश्वकै कान्छा निर्देशक सौगात विष्ट तथा नायिका प्रियंका कार्कीलाई चलचित्र वर्ष व्यक्तिका रूपमा सम्मान गरिएको छ । विष्टले आठ वर्षको उमेरमा 'लभ यू बाबा' चलचित्र निर्देशन गरेर विश्व कीर्तिमान कायम गरेवापत र प्रियंकाले २०७१ सालमा सर्वाधिक चलचित्रमा अभिनय गरेकाले उक्त सम्मान दिइएको हो ।

लालजोडीमा युवराज

लक्ष्मण सुवेदीको चलचित्र 'लालजोडी' मार्फत संगीतकार सन्तोष श्रेष्ठले चलचित्रमा डेब्यू गर्ने भएका छन् । श्रेष्ठको संगीतमा चलचित्रको दोस्रो गीत 'घिटीघिटी बाँचेको छु...' गायक युवराज चौलागाईंको स्वरमा रेकर्ड भएको छ । यसअघि चलचित्रको पहिलो गीत राजेशपायल राई तथा मनीषा पोखरेलको स्वरमा रेकर्ड भैसकेको छ ।

ठमेल डटकम

गोपीकृष्ण मुभिजको नयाँ चलचित्र 'ठमेल डटकम' मा अनुपविक्रम शाही तथा नरेन लिम्बू मुख्य भूमिकामा अनुबन्ध भएका छन् । यो चलचित्रको निर्देशन राजकुमार शर्माले गर्दैछन् ।

सपना तिम्रो मेरो

चलचित्र 'सपना तिम्रो मेरो' को शीर्षक गीतको भिडियो सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यद्वारा निर्देशित यो चलचित्रमा सविन श्रेष्ठ, सुशान्त कार्की, जान्वी बोहराले अभिनय गरेका छन् । अर्जुन पोखरेलद्वारा संगीतबद्ध उक्त गीतमा शान्तिम कोइराला र दुर्गा खरेलको पाश्र्व गायन छ ।

पोखरामा ब्रासलेट

निर्मल शर्माको दोस्रो चलचित्र 'ब्रासलेट' को छायांकन पोखरा तथा तनहुँ वरपरका क्षेत्रमा हुने भएको छ । केशव भट्टराईले निर्माण गर्ने यो चलचित्रका लागि कलाकारहरूको छनौट प्रक्रिया जारी छ ।

पत्रकारको नयाँ नेतृत्व

चलचित्र पत्रकार संघ हेटौंडा शाखाको गत शनिबार सम्पन्न संघको वार्षिक साधारणसभाले मणिराज गौतमलाई सर्वसम्मतले अध्यक्ष छनौट गरेको छ । गौतमको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश दाहाल, सचिवमा श्रीराम दाहाल, कोषाध्यक्षमा कपिल खड्का तथा सहसचिवमा अमृता नेपाल छन् ।

सत्याको थालनी

निर्देशक कृष्ण पौडेलले गत आइतबार गीत रेकर्डिङ गर्दै नयाँ चलचित्र 'सत्या' निर्देशन गर्ने घोषणा गरेका छन् । चलचित्रमा जीवन लुइँटेल र वर्षा शिवाकोटीको मुख्य भूमिका रहनेछ ।

पोखरामा मुहूर्त

चलचित्र 'टु आवर्स अफ माई लाइफ' को शुक्रबार पोखरामा शुभमुहूर्त गरिएको छ । पोखराकै कलाकारहरूको मुख्य भूमिका रहने यो चलचित्रमार्फत गोविन्द बाँस्तोलाले निर्देशनमा डेब्यू गर्दैछन् ।

प्रकाशित :चैत्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्