Teej banner
विदेशी शिक्षाप्रति युवा आकर्षण

विदेशी शिक्षाप्रति युवा आकर्षण

चैत्र ६, २०७१

नेपालमा दस जोड दुई, स्नातक वा स्नातकोत्तर तह गरिरहेका विद्यार्थीसँग सोधियो भने धेरैकोे एउटै जवाफ हुन्छ-'विदेश गएर थप अध्ययन गर्ने ।' विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने क्रेजका कारण नै हुनुपर्छ, युवाहरूजस्तै बाहिर जाने नेपाली युवतीहरूको संख्या पनि हरेक वर्ष बढिरहेको छ । अस्टे्रलिया, अमेरिका, बेलायतजस्ता मुलुक व्यवहारिक ज्ञानका लागि अभ्यस्त देखिएकाले पनि नेपाली विद्यार्थीहरू लोभिएका छन् । व्यवस्थापन, आईटी, इन्जिनियरिङ तथा नर्सिङजस्ता विषय धेरैको रोजाइ बन्ने गरेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी विद्यार्थी व्यवस्थापनको अध्ययनका लागि विदेश जान्छन् । स्वदेशको डिग्री हासिल गरेर समेत अवसरका लागि चाकडी-चाप्लुसी गर्नुपर्ने राज्य संयन्त्रका कारण पनि दक्ष नेपाली विद्यार्थीहरूमा वैदेशिक अध्ययनको आकर्षण बढ्दो क्रममा छ । यसका लागि एकैपटक सबै शुल्क जम्मा गर्नुपर्ने झन्झट र अभावलाई पनि टारेर आफ्ना सन्तानका लागि पैसा जुटाउने आमाबाबुको देन पनि कम छैन । नेपालजस्तो विकासोन्मुख देशका विद्यार्थीहरू अवसरको खोजीमा विदेश जानुलाई सकारात्मक मानिए पनि त्यो जनशक्ति स्वदेश नफर्किने समस्याले नेपाली समाज दक्ष युवाविहीन हुने खतरा समेत बढिरहेको छ । नयाँ पुस्ताले बेलैमा विदेश गएर राम्रो शिक्षा लिने र उतै राम्रो कमाइ गरी परिवार सेटल गर्ने साझा उद्देश्य बोक्न थालेको छ । विदेशमा सिकेको सीप र लिएको शिक्षा स्वदेशमा उपयोग हुनसक्ने वातावरण बन्ने हो भने अहिलेको यो ट्रेन्ड भोलिको देश विकासका लागि महत्वपूर्ण बन्नसक्छ तर पढ्ने नाममा विदेश गएर उतै पलायन हुने युवायुवतीको संख्यामा आएको वृद्धि भने चिन्ताजनक छ ।

व्यवस्थापन मोहले बढायो विदेशको आकर्षण

आफ्नो छनोटको विषयमा स्नातक भक्तपुर, कटुञ्जेकी २३ वर्षीया प्रकृति चालिसे अन्तर्राष्ट्रिय स्तरको शिक्षासँग प्रतिस्पर्धा गर्नसक्ने बन्ने उद्देश्यका साथ स्नातकोत्तर तहका लागि अस्टे्रलिया जाने तरखरमा छिन् । उनी अध्ययन अध्ययन सकेर नेपाल फर्कने र आफ्नो सामाजिक प्रतिष्ठा एवं आर्थिक स्तर उकास्ने योजनामा छिन् । चालिसे भन्छिन्-'हाम्रो पुर्खाले धेरै सम्झौता गरे, धेरै सहे, दु:खमै जीवन बिताए, तर खासै उपलब्धि केही भएन । अबको पुस्ताले त्यस्तो दु:ख भोग्नु नपरोस् ।' नेपालको शिक्षाप्रणाली अन्तर्राष्ट्रिय स्तरको नभएको र वैश्विकरणको जमानामा अन्य देशसँग प्रतिस्पर्धा गर्ने जनशक्ति बन्न समेत विदेशमा गएर स्तरीय कोर्स गर्नुको विकल्प नभएको प्रकृतिको धारणा छ ।

दोलखा, मलेखुकी २० वर्षीया विमला श्रेष्ठको योजना पनि विदेशमै गएर उच्च शिक्षा हासिल गर्ने हो । नेपालमा भनेजस्तो विषय पढ्न सोचेजस्तो स्तरीय शिक्षण संस्था नभएकाले उनी पनि व्यवस्थापन विषयमा स्नातक गर्न अमेरिका जाने तयारीमा छिन् । नेपालमा 'गुणस्तरीय शिक्षाको अवसर छैन ।' उनले स्पष्ट रूपमा भनिन्-'निजी कलेजमा पढौं खर्च धेरै हुन्छ, तर अध्ययनपछि रोजगारीको ग्यारेन्टी छैन ।' विदेशमा पढ्न लगानी आवश्यक भए पनि लगानी केही समयमै फिर्ता गर्न सकिने भएकाले अमेरिका नै गएर पढ्ने योजना बनाएको विमलाको तर्क छ ।

पाँचथर, फिदिमकी खुश्बु ढुंगाना पनि अस्ट्रेलिया जाने तयारीमा छिन् । खुश्बु विदेशमा पढाइ सकेर आफ्नै देशमा आएर काम गर्ने योजनामा छिन् । सामाजिक स्टाटस र पैसा कमाउने उनको इच्छा छ । नेपालमा रोजगारीको स्तर राम्रो नभएको र आफू यस्तो स्तरमा टिक्न नसक्ने भएकाले पनि विदेश जाने सोच बनाएको उनको स्पष्टोक्ति छ । खुला विचारकी खुश्बु विदेशको पढाइ सकेपछि नेपालमै आएर राम्रो कामको थालनी गर्ने र देश विकासमा सरिक हुने योजनामा छिन् ।

विदेशको पढाइलाई नै भविष्य निर्माणको सुनौलो आधारका रूपमा लिएकी सैंबु, भैंसेपाटीकी २३ वर्षीया प्रेरणा राई पनि सोचेजस्तो भयो भने आगामी तीन महिनामा अस्ट्रेलिया पुगी त्यहाँको स्तरीय शिक्षण संस्थाको विद्यार्थी हुनेछिन् । व्यवस्थापनमै स्नातकोत्तर गर्न जान लागेकी राई पढेर स्वदेश फर्कने र केही गर्ने योजनामा छिन् । उनी विदेश जानुको एउटै कारण संघर्षअनुसारको फल प्राप्त गर्नु हो । नेपालमा काम गर्न कि सोर्स कि राम्रो सामाजिक स्टाटस आवश्यक हुने कुरा बताउने राई परिवर्तनशील जीवनको माग बढिरहेको समयमा आफूलाई आत्मनिर्भर बनाउन र अवसरले आफूलाई खोज्ने बनाउन पनि विदेश जानु बाध्यता भएको तर्क गर्छिन् ।

स्तरीय शिक्षा हासिल गर्ने भन्दै विभिन्न देशका शिक्षण संस्थासम्म पुगेका नेपाली विद्यार्थीमध्ये धेरै उतै हराउँछन् तर कतिपय स्तरीय उच्च शिक्षा हासिल गरी विदेशको अनुभव समेत स्वदेशमै लगानी गरिरहेका छन् । यस्तै एक पात्र हुन्-काठमाडौ महाराजगञ्जकी २४ वर्षीया सुभी प्रधान । लन्डनको युके युनिभर्सिटी अफ नर्थ ह्याम्पटनमा चार वर्ष लगाएर व्यवस्थापनमा स्नातक र स्नातकोत्तर गरेर स्वदेश फर्किएकी सुभी हाल तीनकुनेस्थित आफ्नो बुबाको व्यवसाय मनाङ डोमेस्टिक एयरलाइन्सको व्यवस्थापन सम्हालिरहेकी छिन् । प्रधान भन्छिन्-'नेपालमा पढेको भए यस्तो क्षमता विकास हुने थिएन ।' आफूले सोचेअनुसार डिग्री हासिल गरेर आएकी सुभी विदेशमा प्रदान गरिने व्यवहारिक ज्ञानजस्तै नेपालको शैक्षिक प्रणाली पनि परिवर्तन गरी अघि बढ्न सके बाहिर जाने र उतै पलायन हुनेहरूको संख्यामा कमी आउने बताउँछिन् ।

बढ्दैछन् विदेश जाने

शिक्षा मन्त्रालयमा गत आर्थिक वर्षमा मात्र २५ देखि ३० हजार विद्यार्थी पढ्न भन्दै विदेश पलायन भएको तथ्यांक छ । जसमध्ये विदेशमा गएर व्यवस्थापनमा डिग्री हासिल गर्नेहरूको संख्या बढी छ । नेपालमा नाम चलेका थुपै्र कन्सल्टेन्सीमा सम्पर्क गर्दा बाहिर जाने छात्रछात्राहरूको यकिन तथ्यांक राखिएको पाइएन । तथापि बर्सेनि यो संख्या बढ्दो क्रममा रहेकाले नेपाली विद्यार्थीहरूमा विदेश गएर पढ्ने क्रेज उत्कर्षमा रहेको बुझ्न गाह्रो पर्दैन । विगत १३ वर्षदेखि संचालित एनआइईसी एडुकेसन कन्सल्टेन्सीकी निर्देशक सपना राजभण्डारीका अनुसार नेपाली विद्यार्थीमध्ये व्यवस्थापन अध्ययन गर्न विदेश जानेहरूको संख्या अधिक छ । अन्तर्राष्ट्रिय स्तरमा रोजगारीको अवसर राम्रो भएका कारण धेरै युवाको आकर्षण विदेश पढ्न जानु भएको उनले बताइन् । राजभण्डारीका अनुसार एनआइईसीबाट सन् २०१३ मा बाहिर जान चाहने ३ हजार जनाले निवेदन दिएका थिए भने यो संख्या सन् २०१४ मा ६ हजार पुगेको छ ।

धेरै युवा स्थायी रूपमै उतै बस्ने सोच बनाएर विदेश पढ्न जाने गरेका छन् । बेरोजगारी र पढेर समेत भनेजस्तो अवसर नपाउने समस्याका कारण नेपाली विद्यार्थीमा विदेशको मोह उर्लिएको मान्छिन् कमलादीस्थित प्याक एसिया कन्सल्टेन्सीकी व्यवस्थापक सुजाता शेर्पा प्रधान । 'विदेश पढ्न र कमाउन जाने ट्रेन्ड सामान्यजस्तै भैसकेको छ ।' उनले भनिन्-'अस्ट्रेलियामा नागरिकको सुरक्षा राम्रो हुने भएका कारण विद्यार्थी त्यसतर्फ बढी आकषिर्त छन् ।' नेपालमा डिप्लोमा सक्दा जागिरको कुनै टुंगो नहुने, तर अस्ट्रेलियालगायतका देशमा भने पढाइसँगै रोजगारी पनि पाइने भएकाले नेपाली विद्यार्थीको मोह त्यसतर्फ जागेको सुजाताको भनाइ छ । पछिल्लो समयमा विदेशमा पढाइ सकेर स्वदेश फर्की केही गर्ने युवाहरूको संख्या पनि क्रमश: बढ्दै गएको प्रधानले बताइन् ।

सन् २०१२ देखि अस्ट्रेलियाको भिसा पाउन केही सहज भएको र आफूलाई ग्लोबल मार्केटमा स्थापित गराउन पनि पढाइका लागि युवायुवती विदेश जाने लहर चलेको नयाँबानेश्वरस्थित अल्फा बिटाकी निर्देशक मञ्जु शर्मा बताउँछिन् । विदेशको व्यवहारिक पढाइ हरेक युवायुवतीका लागि अवसरको ढोका बन्नुले पनि अध्ययनका लागि बाहिरिनेहरूको संख्या दिनहुँ बढ्दै गएको उनको तर्क छ । विद्यार्थीका लागि पढ्ने सुरक्षित वातावरण भएको अस्टे्रलिया नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दै गएको उनले बताइन् । शर्माका अनुसार 'विदेश अध्ययनका लागि खुलेका कन्सल्टेन्सीको राम्रो प्रबन्ध पनि त्यसको एउटा कारण हो ।'

वैश्विकरणको जमानामा नेपाली विद्यार्थी पनि विदेशमै गएर पढ्न लालायित हुनुलाई मनोविज्ञ विश्वबन्धु शर्मा सामान्य भन्छन् । नेपालभित्रको अन्योलको अवस्था, बढ्दो विकृति, विसंगति, असुरक्षा तथा बेरोजगारीबाट दिक्क भएका युवायुवती अवसर अनि स्तरीय शिक्षाका लागि विदेश जानुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको सुझाव छ । कतिपयमा भने बाहिर गएपछि तुरुन्तै स्थापित हुन सकिन्छ भन्ने भ्रम रहेका कारण समेत बाहिरिने नेपाली विद्यार्थीको संख्या बढिरहेको उनको दाबी छ । 'विदेशमा भन्दा बढी अवसर नेपालमै जुटाउन सकिन्छ ।' उनले भने-'तर नेपालमा शिक्षाको कुनै दीर्घकालीन योजना छैन ।'

-    शिक्षाविद् डा. तीर्थ खनियाँ

विद्यार्थी बाहिर जानुको मुख्य कारण पढाइभन्दा पनि अवसरका लागि भएको शिक्षाविद् डा. तीर्थ खनियाँको तर्क छ । देशको हालको स्थितिअनुसार यसरी बाहिर जानु सकारात्मक भए पनि युवा जनशक्तिको पलायनको ट्रेन्डचाहिँ राम्रो नभएको उनले बताए । डा. खनियाँ भन्छन्-'नेपालमा अवसर छैन, भए पनि कार्यान्वयन नभएकाले अवसरको कमी छ ।' व्यवस्थापन आजभोलि विश्वमै चलेको विषय हो । नेपालमा पनि सबैभन्दा बढी व्यवस्थापनमै विद्यार्थी उत्पादन भएका कारण यही विषयमा अध्ययन गर्न बाहिर जानेहरूको संख्या बढेको डा. खनियाँ बताउँछन् । नेपालमा व्यवस्थापन पढ्नेहरूका लागि खासै अवसर नभएको डा. खनियाँ बताउँछन् । विकाससँग राजनीति नजोडिनु यसको कारण भएको उनको तर्क छ । अस्थिर राजनीतिक स्थितिका कारण पनि देशका युवायुवती विदेश जान बाध्य छन् । राजनीतिक अन्योलबाट दिक्क भएर पढ्ने नाममा विदेश पलायन भएका युवायुवतीलाई स्वदेश फर्काउन आवश्यक अवसरका रूपमा पूर्वाधार निर्माण गर्नु आवश्यक भएको उनको धारणा छ । विदेशमा पढेका युवाहरूलाई स्वदेश फर्काउन सके उनीहरूको क्षमताका कारण देशले चाँडै विकासको फड्को मार्न सक्ने डा. खनियाँ बताउँछन् । 'पढ्न गएकाहरूलाई स्वदेश फर्काउन सके, देशले काँचुली फेर्ने थियो ।' खनियाँले भने-'देशमा अवसर नभएपछि पढ्ने नाममा विदेश जाने र त्यहाँ पढ्ने भन्दा पनि काममै व्यस्त भएर कमाउनतिर लाग्ने विद्यार्थीको संख्या बढ्दो क्रममा छ, जुन राम्रो होइन ।' देशको राजनीतिक अन्योल, असुरक्षा, शैक्षिक क्षेत्रको चरम राजनीतिको अन्त नभए आगामी दिनमा अझ बढी विद्यार्थी अध्ययनका नाममा विदेश जाने डा. खनियाँ बताउँछन् ।

प्रकाशित :चैत्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्