जलयात्रामै जिन्दगी

जलयात्रामै जिन्दगी

चैत्र ६, २०७१

डुङ्गा खियाउनु, माछा मार्नु थारू जातिको पुख्र्यौली पेसा होइन, तर दौलतपुरका गौरी थारु भने २० वर्ष अघिदेखि नै कर्णाली नदीमा डुङ्गा खियाएर मान्छे तार्ने पेसामा छन् । घरबाट घाँस काट्न आउँदा घाँस नकाटेर नदीमा माझीसित डुङ्गा चलाउन सिकेको गौरी बताउँछन् । गौरी भन्छन्- 'बर्दियाको राजापुर क्षेत्र टापुका रूपमा रहेकाले डुङ्गा नतरी बाहिर जाने अवस्था थिएन । मैले नै डुङ्गामा तारिदिएका यहाँका कतिपय विद्यार्थी डाक्टर, इन्जिनियर बनेका छन् । आफू भने यही घाटमै छु ।'

आपत्मा परेकालाई वारपार गराउँदा मात्र होइन, बाढीका बेला गाउँका अधिकांशको ज्यान मात्र होइन, सम्पत्ति पनि जोगाइदिन पाउँदा आफूलाई सन्तोष हुने थारु बताउँछन् । कर्णाली नदीमा चिसापानीदेखि भारतको सीमानासम्म करिब ६ वटा घाटमा डुङ्गा सञ्चालन हुन्छ । कैलालीका टीकापुर र बर्दियाको राजापुर जोड्ने यो घाटका गौरी भने फेरिएका छैनन् । उनले नै घाट चलाउँदै आएका छन् । थारु भन्छन्- 'यो घाट छाडेर अन्त जान मन पनि लाग्दैन र यो घाट अरू घाटभन्दा जोखिमयुक्त पनि भएकाले अरूले चलाउने आँट पनि गर्दैनन् ।'

सुरुमा उनी घाट ठेकेदारको डुङ्गा खियाएर यात्रुलाई नदी वारपार गराउँदै आएका थिए भने अहिले आफै डुङ्गाको मालिक बनेर यात्रु तार्दै आएका छन् । अरूको घरमा कमैया जीवन बाँचिरहेका गौरीलाई घाट ठेकेदार प्रेमलाल भट्टले डुङ्गा चलाउने काम दिएका थिए । करिब ७ वर्षसम्म उनले अरूकै डुङ्गा चलाए । उनी पहिले कर्णाली नदीमा असारदेखि असोजसम्म करिब ४ महिना डुङ्गा चलाउँथे भने बाँकी समय माछा बेच्थे । २०६४ सालयता कर्णाली नदीको बहाव कैलालीतर्फ फर्किएपछि भने उनको पूरै समय घाट सञ्चालनमा बित्ने गरेको छ ।

सशस्त्र द्वन्द्वका बेला माओवादीले पनि स्थानीय सत्ताको दाबी गर्दै उनलाई घाट चलाउने जिम्मा दिएका थिए । अर्कातिर टीकापुर नगरपालिकाले कार्यालयमा बोलाएर ३ वर्षका लागि उनलाई नै अमानतमा घाट चलाउन दिएको थियो । माओवादी शान्तिप्रक्रियामा आएपछि घाट ठेक्कामा सञ्चालन हुन थाल्यो । घाट सञ्चालनका लागि अरू ठेकेदारले पनि प्रतिस्पर्धा गर्न थाले । पहिलो वर्ष उनले साझेदारीमा घाट चलाए । घाट सञ्चालनबाट कमाएको रकम साझेदारलाई राख्न दिँदा रकम हिनामिना गरिदिएपछि ठेक्काबापतको रकम तिर्न आफुलाई हम्मे-हम्मे परेको थारु बताउँछन् ।

शान्तिप्रक्रिया अघि बढेपछि मानिसहरूको ओहोरदोहोर पनि बढेको छ । यो घाटबाट दैनिक २/३ सय मानिस ओहोर-दोहोर गर्ने उनी बताउँछन् । सुरुमा मासिक ३ सय तलबमा काम गरेका थारु अहिले १० लाखसम्मको ठेक्का बोल्ने भएका छन् । धेरै वर्षसम्म दौलतपुर घाट उनले नै चलाउँदै आएकाले कतिपयले यो घाटलाई गौरीघाटसमेत भन्न थालेका छन् ।

पहिले-पहिले घाटको तिहाइ (वर्षभरि नदी तारेबापत अन्न दिने) प्रणाली थियो । वर्षमा घाट ठेकेदारले तिहाइ लिएर स्थानीय बासिन्दालाई नदी तारे पनि अहिले भने तिहाइ प्रणाली हराउँदै गएको गौरी बताउँछन् । हिजोआज पनि घाटनजिकैका धेरैजसोले तिहाइ दिने गरेको थारुले बताए । उनले भने-'एक घरबाट ३५ किलो धान दिन्छन् ।'

आर्थिक अवस्थाका कारण आफुले पढ्न नपाए पनि २ छोरी र १ छोराले आर्थिक अभावमा स्कुल छोड्न नपरोस् भनी आफू लागिपरेको उनले बताए । पहिले अरूको डुङ्गा चलाएर गुजारा गर्दै आएका गौरीले अहिले ३ जना माझी राखेका छन् ।

पहिले-पहिले हातले नै डुङ्गा चलाउनुपरे पनि अहिले भने मेसिनले चल्ने डुङ्गा राखेको उनले बताए । गौरी भन्छन्- 'पहिले हातले चलाउँदा निकै श्रम लाग्थ्यो । जोखिम पनि बढी नै थियो, अहिले सजिलो छ ।'

विकासको क्रममा थुप्रै ठाउँमा पुल बने पनि कैलाली र बर्दिया जोड्ने यो घाटमा पुल बन्ने छाँट नभए पनि यो ठाउँमा पुल बनोस र मानिसहरूले सजिलै वारपार गर्न पाऊन् भन्ने चाहना रहेको उनले बताए । गौरीले भने- 'यहाँ पुल बनेछ भने व्यापारमा लाग्नेसोच छ ।'

गणेश चौधरी

प्रकाशित :चैत्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्